काठमाडौं । नेकपा एमालेले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरेको छ । स्थानीय तहको निर्वाचनका विषयलाई लिएर नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार
आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले संगठितरुपमा पार्टी बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गरे ।
“एमाले मधेश मै जन्मेर हुर्केको पार्टी हो, लोकप्रिय पार्टी अनि तराई–मधेशमा एमालले गरेको विकासका कारण जनताको मन जित्न सफल भएको छ, त्यसकारण एमाले पहिलो पार्टी हुन्छ ”–उनले भने ।
महासचिव पोखरेलले एमालेलाई मधेशी विरोधी भनेर दुष्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा माओवादी केन्द्र बीच महागठबन्धन भए पनि एमाले बलियो पार्टी भएको जिकिर गरे ।
पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचनका समयमा एमालेको उम्मेदवारलाई घेराबन्दीमा पार्ने प्रयास गरिएको र एमाले विरोधी प्रचार गरिए पनि प्रदेश नं २ मा पार्टीले ५० प्रतिशतभन्दा बढी मत ल्याएर पहिलो पार्टी हुने सुनिश्चित भएको धारणा व्यक्त गरे ।
पार्टीका प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले तराई–मधेशमा एमालेलाई हराउनका लागि विभिन्न खालका षडयन्त्र शुरु भएको भए पनि एमालेप्रतिको विश्वास, सद्भाव र पे्रमका हिसाबले जीत सुनिश्चित भएको बताए । रासस