पोखरा । आसन्न निर्वाचनमा बहालवाला मन्त्रीमध्ये अत्यन्तै अप्ठ्यारो अवस्थामा कोही छन् भने ती हुन्, गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का ।
०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि असोज २९ गते खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका खड्कालाई पार्टीले समानुपातिक तर्फबाट प्रदेश सांसद बनायो ।
गण्डकीमा ३६ निर्वाचन क्षेत्रमध्ये त्यति बेला कांग्रेस ६ वटामा मात्र विजयी भएको थियो । खड्कासहित नौ सांसद समानुपातिकतर्फबाट आएका थिए ।
प्रदेशमा एकचौथाइ सांसद रहेको कांग्रेसका तर्फबाट उनी सार्वजनिक लेखा समितिको सभापति बने । विभिन्न राजनीतिक उतारचढावपछि कांग्रेस अहिले सत्तामा छ । र, सबैभन्दा बढी बजेट भएको मन्त्रालय उनै खड्काले पाएका छन् ।
कांग्रेसका ६ मध्ये मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा मात्र प्रत्यक्षतर्फ विजयी भएका हुन् । समानुपातिकतर्फबाट आएर पनि संसद्को महत्त्वपूर्ण समितिदेखि सरकारमा मालदार मन्त्रालय हासिल गर्नुमा खड्काको चातुर्यले काम गरेको हो भन्नेमा दुईमत छैन ।
तर, आउँदो मंसिर ४ गते हुने निर्वाचनपछि संसदीय राजनीतिमा रहने हो कि होइन भन्ने सबैभन्दा ठूलो चिन्ता खड्कालाई नै छ । उनी आफैँ भन्छन्, “मसँग प्रत्यक्ष लड्नुको विकल्प छैन । टिकट पाइनँ भने मेरो संसदीय राजनीति सकिन्छ ।”
खड्का दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिक प्रणालीबाटै संसद् छिरेका थिए । त्यति बेला उनी अखण्ड नेपाल पार्टीका अध्यक्ष थिए । जातीय नारा घन्काएर सांसद बन्न सफल भएका थिए ।
०७० जेठ ९ गते निर्वाचन आयोगमा उनको पार्टी दर्ता भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले भाग लियो । प्रत्यक्षमा कतै जितेन । समानुपातिकतर्फ ३६ हजार ८२३ र प्रत्यक्षतर्फ १२ हजार ५९० मत पायो । समानुपातिक मतका आधारमा खड्का संविधानसभा सदस्य बने । उक्त पार्टीका तर्फबाट उनी एक्ला सांसद थिए ।
तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
०७४ असोजमा खड्काले अखण्ड नेपाल पार्टी कांग्रेसमा विलय भएको घोषणा गरे । उनी प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद हुँदै मन्त्री बने । तर, अबको राजनीतिक भविष्यबारे उनी नै अन्योलमा छन् ।
कांग्रेसमा प्रदेश र प्रतिनिधिसभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसदलाई दोहोर्याएर सिफारिस नगर्न निर्देशन दिइएको छ । त्यही कारण आफ्नो संसदीय राजनीति सकिन लागेको आभास मन्त्री खड्काले गरेका छन् ।
संसदीय राजनीतिलाई अगाडि बढाउने उनको एक मात्र विकल्प भनेको प्रत्यक्ष निर्वाचन हो । उनले संघमा नभई प्रदेशसभातर्फ प्रत्यक्षमा एक ठाउँबाट आकांक्षा राखेका छन् । त्यो निर्वाचन क्षेत्र कास्की २ ‘ख’ हो । यहाँबाट अघिल्लो निर्वाचनमा कांग्रेसकै विन्दुकुमार थापा विजयी भएका थिए । उनी पनि बहालवाला मन्त्री हुन् । उनको पनि पुनः यही क्षेत्रमा दाबी छ ।
मन्त्रीद्वयबीच प्रतिस्पर्धा हुनुको मुख्य कारण अबको मुख्यमन्त्री बन्ने लालसा नै हो । यस्तो अवस्थामा पार्टीले प्रदेशसभामा अघिल्लो निर्वाचन जितेका थापालाई नै दोहोर्याए खड्काको संसदीय राजनीतिको ‘च्याप्टर क्लोज’ नै हुन सक्नेछ ।
आफूले प्रतिनिधिसभाको टिकट पाए पनि जित्न नसक्ने उनको ठहर छ । “मैले प्रदेशसभाको र विन्दुजीले प्रतिनिधिसभाको टिकट पाएको खण्डमा दुवै क्षेत्र जित्न सकिन्छ । अर्को कुरा, उहाँसँग समानुपातिकमा पनि बस्ने विकल्प छ । तर, मेरो छैन,” खड्काले भने ।
मन्त्री थापाको जोडबल पनि प्रदेशमा नै हो । आन्तरिक रूपमा उनले आफ्नो तयारी अगाडि बढाइसकेका छन् ।
टिकट नपाउने र संसदीय राजनीतिबाटै अलग रहनुपर्ने त्रासमा खड्का रहेकै बेला शुक्रबार पोखरा महानगरपालिका–१६ मा आयोजित एक कार्यक्रमले कास्की कांग्रेसमा तरंग ल्याएको छ । त्यसलाई कतिपय नेता–कार्यकर्ताले ‘मन्त्रीको गुट भेला’को संज्ञा दिएका छन् । कतिपयले अनुशासनको कारबाही गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार त्यहाँको वडा कार्यसमितिको ब्यानरमा ‘कुमार खड्का समर्थक भेला’ नामक कार्यक्रम गरिएको हो । आयोजकमा पनि नेता कुमार खड्का समर्थक भन्ने राखिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा समेत ‘विकासप्रेमी नेता कुमार खड्का समर्थक समूह’ नामबाट पेज खोलिएको छ । उक्त पेजमा शुक्रबार मन्त्री सम्मिलित कार्यक्रमको तस्बिर राखिएको छ ।
त्यहाँ आउँदो निर्वाचनमा कास्की २ ‘ख’मा कुमार खड्कालाई टिकट दिइनुपर्ने माग गरिएको छ । खड्का नै सक्षम रहेको र जनताले पनि खड्कालाई नै चाहेको लेखिएको छ ।
“कसैले कसैमाथि आलोचना र टिकाटिप्पणी गर्नुभन्दा पनि आकांक्षा राख्नुभएका नेताहरूले म कति सक्षम छु, यो अहिलेको २१आँै शताब्दीमा जनता के चाहिरहेका छन्, यो बुझेर म म सम्झिनोस् । आकांक्षा भएका नेताहरूलाई पनि पार्टीले उच्च मूल्यांकन साथै कदर गर्नुपर्दछ,” उक्त फेसबुक पेजमा लेखिएको छ ।
खड्कालाई उमेदवार बनाएको खण्डमा कांग्रेससहितका अरू दलहरू, स्वतन्त्र नागरिकले पनि समर्थन गर्ने भन्दै उक्त भेला आयोजना गरिएको थियो । कार्यक्रममा बोल्नेहरूले मन्त्री खड्काले टिकट नपाए विद्रोह हुने चेतावनी समेत दिए । कार्यक्रमको विषयलाई लिएर कास्की कांग्रेसभित्र मन्त्री खड्काको विरोध भएको छ ।
कास्की कांग्रेस सभापति किशोरदत्त बरालले आफूले कार्यक्रमबारे बुझ्न लगाएको प्रतिक्रिया दिए । कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटले भने ब्यानरमा देखिएअनुसारको कार्यक्रम पार्टीको जिम्मेवार व्यक्ति र मन्त्रीले गर्न नहुने बताए । यसले गठबन्धनको मर्म र आसन्न निर्वाचनलाई प्रभावित बनाउने उनको भनाइ छ ।
अर्का सचिव भानु ढकालले सम्बन्धित इकाइ, टोल, भ्रातृसंस्थाहरूले निर्वाचनलक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए । पोखरा–१६ को कार्यक्रममा आपत्ति नभए पनि त्यहाँ प्रयोग गरिएको ब्यानर असुहाउँदो रहेको उनले टिप्पणी गरे ।
“पार्टीको हितमा हुने कार्यक्रमलाई जारी राख्नुपर्छ । तर, व्यक्तिवादी, कुनै उमेदवारलक्षित कार्यक्रमहरू चाहिँ नगर्न अनुरोध गर्दछु,” ढकालले भने ।
खड्काले आफू कार्यक्रममा सहभागी भएको स्वीकार गर्दै कुनै गुटको भेला नभएको प्रस्ट पारे । ब्यानरको बारेमा आफ्नो पनि सहमति नभएको उनको भनाइ छ ।
“मेरा शुभचिन्तकले गरेको कार्यक्रममा गएको हुँ, यो कुनै गुटको कार्यक्रम होइन । कुमार खड्काले काम गरेको छ, उसले टिकट पाउनुपर्छ भनेर दबाब दिन राखेको कार्यक्रम हो, अन्यथा केही होइन,” खड्काले भने ।
गुट र समर्थक शब्दप्रति उनको आपत्ति छ । “अन्य उमेदवारहरूले पनि भेटघाट तीव्र बनाएका छन्, कि त्यसलाई पनि गुट भेला भन्नुपर्यो,” उनले भने, “होइन भने चुनाव आउँदै छ, उमेदवारको आकांक्षी हुँ, मैले भेटघाट पनि गर्न नपाउने ?”