काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । हिजो शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारनी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँटलाएै टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।
हिजोको बैठकमा उपस्थित एक नेताका अनुसार शनिबार औपचारिक रूपमा बैठक नै बसेन । अनौपचारिक रूपमा ‘गफगाफ’ मात्र भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनीष सुमनले जानकारी दिए ।
उनका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा उपस्थित भएनन् । उनी पार्टीको कामले जिल्लामा रहेकाले आउन ढिला भएको सुमनले बताए ।
“हाम्रो उपेन्द्रजी आउनुभएको थिएन, त्यसैले खासै छलफल भएन । उपेन्द्रजी आउँदाआउँदै ढिलो भयो,” उनले भने । सोही कारण बैठक नभई बालुवाटरमा सामान्य कुराकानी मात्र भएको उनको भनाइ छ ।
यसअघि, आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको भनिएको थियो । शीर्ष नेताले उक्त प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष निकाल्ने बताइएको थियो । तर, प्रवक्ता सुमनले कार्यदलले लिखित प्रतिवेदन नै नबुझाएको जिकिर गरे ।