काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूलाई महिला सहकर्मीले लगाएको दुर्व्यवहारको आरोप झुटो भएको दाबी गरेका छन् । डा. पुकारले पत्रकार सम्मेलन गर्दै घटनामा उजुरीकर्ता महिला सहकर्मीले मेडिकल इथिक्स मिचेर गल्ती गरेको र यही गल्ती ढाकछोपका लागि विभिन्न निकायमा उजुरी गरेको बताएका छन् ।
ती महिला सहकर्मी घटना भएको दिन शल्यक्रियाका लागि ढिलो आइपुगेको उनको भनाइ छ । शल्यक्रिया गरिरहेका बिरामीको धेरै रक्तश्राव भइरहेको र बिरामी बचाउने क्रममा आफू आएर शल्यक्रिया प्रक्रियामा सहभागी हुने क्रममा ती सहकर्मी आवेसमा आएको उनको भनाइ छ ।
विभागीय प्रमुखसँग सल्लाह नै नगरी अपरेसन सुरु गर्नु, बिरामीको अत्याधिक ब्लिडिङ हुँदा पनि सिनियरलाई खबर नगर्नु मेडिकल नर्म्स इथिक्सविपरित भएको उनको भनाइ छ । “ती सहकर्मीले अपरेसन थिएटरमा डिस्टर्ब र होहल्ला गर्न थालेपछि मैले बिरामीको अवस्था जटिल छ, जसरी माहोल शान्त बनाउन बाहिर गइदेउ भनेर अनुरोध गरेको हो दूव्र्यवहार गरेको होइन,” डा. पुकारले भने ।
आरोप लगाउने महिला सहकर्मीले कन्सल्टेन्टको नाताले आफूलाई नसोधी शल्यक्रिया सुरु गरेको र यसअघि पनि पटक पटक यस्ता गल्तीहरू दोहोर्याएकाले छानबीन र कारबाही गर्न माग गरेका छन् । यसअघि डा. पुकारले सो घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पाँच बुँदे विवरणसहितको पत्र बुझाएका छन् ।
डा. पुकारमाथि ती महिला सहकर्मीले आफूलाई पटकपटक दूव्र्यवहार गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा गरी चारवटा निकायमा एउटै व्यहोराको उजुरी गरेकी थिइन् । डा. पुकारले ती महिला चिकित्सकलाई आफूलाई अस्वाभाविक, अमर्यादित एवं लज्जास्पद अभिव्यक्ति दिई मानमर्दन गर्ने गरेको, आफ्नो कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउने गरेको, चरित्रहत्या गर्ने किसिमको व्यहार गरेको तथा हत्तोत्साही गराउने व्यवहार गरेकोजस्ता आरोप उजुरीमा उल्लेख छन् ।