site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिस्टर ज्ञवाली ! तिमीले गरिखाँदैनौ भनेपछि...
SkywellSkywell

रेडियो नेपालमा ७ बजेको समाचार पढ्ने अवसर विरलैले पाउँथे । तिनै थोरै भाग्मानीमध्येका एक थिए, सुधन ज्ञवाली । प्रवीण गिरी, पाण्डव सुनुवार, नवराज लम्सालको स्वर सुनेर हुर्किएका सुधन कालान्तरमा तिनै व्यक्तिहरूसँग सहकार्य गर्न पुगे ।

रेडियो नेपालले बोल्न सिकायो । थोरबहुत परिचय दियो । जति होस्, दालभातको जोहो गर्ने पैसा दियो । सुस्त गति नै किन नहोस्, जिन्दगी चलिरहेको थियो । आन्तरिक कुरा जस्तो होस्, बाहिर देख्नलाई जिन्दगी आहा ! नै थियो ।

एक दिन सुधनले रेडियो नेपालका हाकिमसँग भनेँ, ‘म रेडियो नेपाल छोड्दै छु ।’ 

KFC Island Ad
NIC Asia

‘कहाँ जाँदै छौ ?’ 

‘सर, केही नयाँ खोजमा ।’

Royal Enfield Island Ad

‘डीभी पर्‍यो ?’ 

‘होइन ।’

‘तपाईं जहाँ हुनुहुन्छ, यहाँ आउन युवापुस्तामा मर्न तयार हुने जमात छ ।’

‘तपाईंको डिसिजन गलत छ ।’

‘छैन सर ।’

‘केही नयाँ खोजमा जाँदै छु ।’

‘नयाँ खोजमा त थाहा छैन सुधनजी, नयाँ खोचमा चाहिँ जरुर जाँदै हुनुहुन्छ ।’

हुन पनि हो, सुधन कहाँ जाँदै थिए, कुनै स्पष्ट रोडम्याप थिएन । मात्र रहर थियो । वर्षौँसम्म अरूका कुरा सुनाएका सुधनलाई आफ्ना कुरा सुनाउने भोक जागेको थियो ।

संयोग भनौँ या मिहिनेत, सायद दुवै भन्दा अझ न्याय होला । राजीनामा दिएर हिँडेको दुई वर्षपछि सुधन रेडियो नेपालमा स्टोरी टेलिङ गर्न पुगे ।

12khariphoto (3)1662463786.jpg

सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले ललितपुरको गोदावरीमा स्टोरी टेलिङको वर्कसप आयोजना गरेको थियो । स्टोरी टेलरका रूपमा आइपुगेका थिए, जर्मनी र अमेरिकाका स्टोरी टेलर । नेपालमा भएकाले नेपाली त हुने नै भए । बिहान ६ देखि राति ८ बजेसम्मको वर्कसप थियो । त्यहाँ स्टोरी टेलर सुनाउँथे, स्टोरी अर्थात् कथा । कति आफ्नै कथा कति अरूका कथा । कति कथा नसुनेका हुन्थे, कति सुनेका । तर, कथा भन्ने शैली आहा ! कति मिठो । सुधन लोभिन्थे ।

यस्ता कथा त नेपालमा कति छन् कति । कति त आफ्नै छन् । कति देखेका र सुनेका छन् । हाम्रोजस्तो देशमा त पाइला–पाइलामा कथा छन् । नदेखेका कथा खोज्न सकिन्छ । अलि पर सुदूरपश्चिम र माथि कर्णाली उक्लिए त कथा नै कथा ।

योभन्दा पनि अचम्म त सुधनलाई कथा सुनिँदो रहेछ, कथा पनि सुनाउन सकिँदो रहेछ भन्ने लाग्यो । कथा बिक्री समेत हुँदो रहेछ, त्यो पनि देश–विदेशमा भन्ने थाहा पाए । अनि, उनले निर्णय गरे– म पनि यस्तै स्टोरी टेलर हुन्छु । स्टोरी सुनाउँछ, बिक्री गर्छु । र, यसैलाई पेसा बनाउँछु । रेडियो नेपालको जागिर छोडिदिन्छु । 

तर, सुनाउने कसरी ? 

कस्तो ? 

नेपालमा त सुनाउँला नेपाली भाषामा, विदेशमा ?

अंग्रेजी भाषा उनलाई फिटिक्कै आउँदैन थियो । जिन्दगीको आफ्नो सबैभन्दा ठूलो कमजोरी नै यसैलाई ठानेका थिए । ठूलठूला अवसरको बाधक यसैलाई मानेका थिए । 

एसएलसीको फर्स्ट डिभिजन होल्डर उनलाई गाउँ जाँदा गाउँले र आफ्ना आफन्तले भन्थे– तिमी रेडियोमा मात्रै अल्झिएर बस्ने मान्छे होइनौ, यतिले पुगेन सुधन । तिमी त फर्स्ट डिभिजिनमा पास भएको मान्छे, त्यही बेला साइन्स पढेको मान्छे, यति मात्रै गरेर हुँदैन ।

सुधन सजिलै भन्दिन्थे– डाक्टर, इन्जिनियर हुन मेरो पारिवारिक कमजोर आर्थिक पृष्ठभूमिले रोक्यो । खाजा खान दिनको पाँच रुपैयाँ जुटाउन नसक्ने परिवारको म कसरी डाक्टर पढ्न आधा करोड खर्च गर्न सक्थेँ ?

डाक्टर, इन्जिनियर बन्न त उनलाई परिवारको कमजोर अर्थतन्त्रले रोक्यो, तर अरू थुप्रै विकल्प थिए । जस्तै, पराराष्ट्र सेवामा प्रवेश गरेर राजदूत हुन सक्थे । बोल्नमा थोरबहुत माहिर छँदै थिए, च्यानल मिलाएर राजदूत हुन ठूलो कुरा थिएन । यो त एउटा उदाहरण थियो, यस्ता सयौँ विकल्पका बाटाहरू थिए । मात्र आफू अब्बल हुनुपर्ने थियो । त्यसको बाटो आफैँले पहिल्याएर यात्रा गर्नु थियो ।

तर, जब उनी साइन्सको बाटो छोडेर आम नेपालीले पढ्ने मानविकी संकायमा छिरे, ठूलाठूला साहित्यकारका ठूलठूला साहित्य पढ्नुपर्ने भयो । त्यो पनि अंग्रेजीमा । अंग्रेजीमा एउटा वाक्य पनि शुद्ध लेख्न कठिन हुने उनले त्यही बेला हो, अंग्रेजीमा कमजोर रहेछु भनेर खुट्ट्याएको । यही भाषाका कारण थुप्रै अवसर र प्रगतिबाट वञ्चित हुनेछु भन्ने उनलाई महसुस भयो । पछि अनुभूत गर्दै गए– अंग्रेजीको पहाड उक्लिन नसक्दा म जहाँको त्यहीँ छु ।

त्यही गोदावरीको वर्कसपमा एक अमेरिकी कोचले सोधिन्, ‘तिमी के बन्न चाहन्छौ, मिस्टर ज्ञवाली ?’

‘यो कस्तो प्रश्न हो ? म यो १५ दिनमा जे बन्न चाहन्छु, तिमी बनाउन सक्छौ ?’ सुधनको प्रश्न थियो । 

उनले जोड दिएर भनिन्, ‘पहिला भन्नु त पर्‍यो ।’

जे सहज छैन, त्यही भन्दिछु सोच्दै उनले भने, ‘म यो देशको प्रधानमन्त्री बन्न चाहन्छु, बनाउन सक्छौ ?’

‘मिस्टर ज्ञवाली, रोक्यो के ले ?’

सुधनसँग ‘तुरुप’हरू प्रशस्तै थिए । त्यहीमध्येको एउटा तुरुप फाल्दिए, ‘पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था र अंग्रेजी भाषाले रोक्यो मलाई ।’

उनले भनिन्, ‘मिस्टर ज्ञवाली, तिमीले आफू अंग्रेजीमा कमजोर छु भनेर थाहा पाएको कति वर्ष भयो ?’

‘१० वर्ष भयो,’ सुधनले जवाफ दिए । 

12khariphoto (4)1662463786.jpg

उनले भनिन्, ‘मिस्टर ज्ञवाली, यो १५ दिनको ट्रेनिङमा आज हामी तेस्रो दिनको सेसनमा कन्भरसेसन गर्दै छौँ । तिमी यो ट्रेनिङमा बसेर आफ्नो समय बर्बाद नगर । किनभने, यो तिम्रा लागि होइन । तिमीले जिन्दगीमा केही गर्न सक्दैनौ । यदि, अरू कुनै क्षेत्र छ भने त्यसैलाई रोज र त्यतै जाऊ । संसारमा कोही त्यस्तो व्यक्ति हुन्छ, जसलाई आफ्नो कमजोरी थाहा भएको १० वर्ष होस् र १० वर्षपछि पनि उसमा त्यो १० वर्षदेखिको कमजोरी जस्ताको तस्तै हुन्छ । त्यो मान्छेले जिन्दगीमा केही पनि गर्न सक्दैन ।

सुधनको मुटुमा तीर पस्यो, ‘हो त, म के हेरेर बसेँ यतिका वर्ष ?’
 
त्यस दिनदेखि हो, सुधन अंग्रेजीमा लिप्त भएर लागेको । उनकै शब्दमा, “त्यो दिनदेखि म अंग्रेजीमा बसेँ, अंग्रेजी सुतेँ, अंग्रेजीमै नुहाएँ, अंग्रेजी नै ओढेँ । बुझ्नु नबुझ्नु आफ्नै ठाउँमा थियो, अंग्रेजी फिल्म हेरेँ । अंग्रेजी गीत सुनेँ । र, अहिले म अंग्रेजीमा मजाले सर्र बोल्न र लेख्न सक्छु । आज थुप्रै अंग्रेजीका अवसरहरू सदुपयोग गरिरहेको छु ।” 

केही दिनअघि स्टोरी टेलिङकै लागि अमेरिका पुगेर फर्किएको अनुभव साट्दै गरेका उनी त्यसअघि बेलायत पुगेर फर्किएका रे ! यसैगरी आफ्ना र आफूले देखे/खोजेका कथा सुनाएर ।

० ० ०

सुधनले आफ्नो कमजोरी पत्ता लगाए । त्यसलाई करेक्सन गरेर आफैँले खोलेको ट्रयाकमा आज यात्रा गरिरहेका छन् । सुनाउन आफैँसँग प्रशस्त स्टोरी छन् । स्टोरी टेलिङका लागि जाँदा उनका आँखैअगाडि ठोक्किन आइपुगेका कथा पनि धेरै छन् ।

केही दिनअघि उनी कथा सुनाउन पोखरा गएका थिए, त्यहीँ देखे उनले स्टोरी टेलिङको कथा । त्यही कथा गएको शुक्रबार बाह्रखरीमा आइपुगेका सुधन यसरी सुनाउँदै थिए– पोखराका सडकका विभिन्न ठाउँमा ड्रेन खनिएको थियो । ती ड्रेनमध्ये कतै स्ल्याब राखिएको थियो, कतै राख्नै बाँकी थियो । नेपालको चेरापुञ्जी, आसाम भनेर चिनिने पोखरामा यति ठूलो पानी पर्‍यो, ड्रेनको माथिमाथि भेल बग्न थाल्यो । १६/१७ वर्षकी दिदीले भाइलाई हातमा समाएर हिँडिरहेकी थिइन् । सडकबाट उनीहरू घरमा जान ड्रेन पार गर्नुपर्ने थियो । भेलले कहाँ स्ल्याब छ, कहाँ छैन केही देखिएको थिएन । संयोगले दिदीले स्ल्याबमा टेकिन् । दुर्भाग्य, भाइले स्ल्याब नहालेको ठाउँमा पाइला राखे । ११ वर्षे भाइको हात दिदीको हातबाट फुस्कियो । २०० मिटर तल प्रहरीले ११ वर्षे बालकको मृत शरीर फेला पारे । सडक विभागको लापरबाहीका कारण आफ्नै आँखाअगाडि दिदीले भाइ गुमाइन् । ‘यो स्टोरी हामीले राज्यलाई सुनाउनु पर्दैन र ? राज्यलाई सचेत गराउनु पर्दैन र ?’ उनी प्रश्न गर्छन् ।

० ० ०

केही वर्षअघि दसैँको बिदामा घुम्न काठमाडौंबाट पोखरा पुगेको साथीहरूको एउटा समूहको डेस्टिनेसन हुन्छ, घान्द्रुक । घान्द्रुक जान उनीहरू बोलेरो जीप चढ्छन् । बोलेरो उकालो चढ्दै हुन्छ । अलिमाथि पुगेपछि एक कामदारले भन्छन्– दसैँका लागि बाटोमा ढुंगा सोलिङ भइरहेको छ, यहाँभन्दा माथि गाडी जाँदैन । केही समय कुर्नुपर्छ ।

अन्नपूर्ण गाउँपालिका–१०, कलाभीरको उकालोमा गाडीमा ब्रेक लाग्दैन । गाडी पछाडि चिप्लिएर २०० मिटर तल खस्छ । एकै परिवारका चौधरी दिदीबहिनीसहित आठजनाको मृत्यु हुन्छ ।

12khariphoto (1)1662463782.jpg

यो घटनालाई किन सुनाउने ? “यस्तै घटना अन्त हुन नदिन । बाटो निर्माणकार्य हुँदै छ भने त्यसको जानकारी पहिला सुगम ठाउँमा नै दिइनुपर्छ । हाम्रोमा कर्णाली राजमार्गजस्तो अप्ठ्यारो सडक छ । यसलाई बिर्साउने कैयौँ सडक हरेक पहाडमा छन् । फेरि यस्तै घटना हुन नदिन कामदार वा सम्बन्धित पक्षले ठाउँमै बोर्ड राखिदिए मात्रै पनि यसरी अकालमा धेरैजनाको ज्यान जाने थिएन कि ?,” उनी भन्छन् ।

सुधन यस्ता कथाहरू सुनाइरहन्छन् । जहाँ सन्दर्भ र आवश्यक पर्छ, भनिरहन्छन् । सुन्नु/नसुन्नु एउटा कुरा, व्यवहारमा उतार्नु अर्कै कुरा । तर, जे होस् सुधनले आफ्नो कर्तव्य सम्झिएका छन् । चाहे त्यो सरकारी निकाय होस् वा कर्पोरेट हाउस, कथा सुनाएरहेकै छन् ।

० ० ०

सुधन जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३०० चिकित्कलाई स्टोरी सुनाइरहेका थिए । त्यही ३०० चिकित्सकको भीडबाट एक चिकित्सकले भने– सर, मसँग पनि तपाईंलाई सुनाउने कथा छ । भलै, तपाईंको जस्तो मिठो शैली र शब्दहरू मसँगै छैनन् ।

ती चिकित्सकले भने– देशका नागरिकको औसत आयु ७० वर्षभन्दा माथि भइरहेका बेला कर्णालीवासी त्योभन्दा निकै कम बाँच्छन् । कारण, यहाँको खानपान, रहनसहन, काम, अभाव, गरिबी थुप्रै छन्, जुन धेरैलाई थाहै छ । भलै, त्यसको न्यूनीकरणमा नलाग्नु त्यो अर्कै कुरा भयो । एकजना महिलालाई लेवर पेन सुरु हुन्छ, बच्चा सजिलै जन्मिँदैन । परिवार र आफन्तले झारफुक र धामीझाँक्री गर्छन् । तर, त्यति गर्दा पनि बच्चा जन्मिने संकेत नदेखेपछि स्ट्रेचरमा रगत बगाउँदै गरेकी सुत्केरी, व्यथा लागेकी महिलालाई आफन्तले अस्पताल लिएर आउँछन् । उनीहरूलाई धेरै कुरा सोध्ने हामीसँग फुर्सद नै हुँदैन । हामी अपरेसनका लागि तयार भइहाल्नुपर्छ । सकेसम्म आमा र बच्चा दुवैलाई बचाऔँ भन्ने हाम्रो चाहना हुन्छ । अथवा, बच्चा वा आमा कसलाई कसरी बचाउन सकिन्छ, अवस्था हेरेर हामी अपरेसन सुरु गर्छौँ । अप्रेसनका क्रममा हामी अर्धचेत अवस्थाकी महिलालाई ‘आमा यता पल्टिनोस्, आमा यता फर्किनोस्, आमा यसो गर्नोस्’ भन्छौँ । अपरेसन सक्सेस हुन्छ, अनि हामी भन्छौँ– आमा, अब उठ्नोस्, तपाईंको बच्चा हेल्दी छ । जब काउन्टरमा आएर हामी सोध्छौँ उनको डिटेल, उनको उमेर हुन्छ, मात्रै २१ वर्ष । म ३५ वर्षको मान्छे २१ वर्षकी महिलालाई आमा भनिरहेको हुन्छु । किनकि, उनी देखिन्छिन् नै त्यस्तै । उनले विवाह गरेर दुई–तीनवटा बच्चा जन्माइसकेकी हुन्छिन् । हामी ३५ वर्ष उमेर पुग्दा भर्खर बिहेको कुरा घरमा चलाउँदै हुन्छौँ ।

12khariphoto (2)1662463782.jpg

सुधन भन्छन्, “यो हामीले अरूलाई सुनाउने कथा होइन र ? काठमाडौंको मान्छेले बिहेको तयारी गर्दैगर्दा कर्णालीको मान्छे जिन्दगीको मध्यान्तर पार गरिसकेको हुन्छ भने यो हामीले सुनाएर दबाब सिर्जना गर्ने कथा होइन र ?”

त्यसैले त सुधन आजसम्म ७६ जिल्ला पुगिसकेका छन् । स्टोरी टेलिङ गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro