पोखरा । कांग्रेसले प्रदेशसभा तथा प्रतिनिधीसभामा प्रत्यक्ष तथा समानुपातिक क्षेत्रबाट सांसद बन्न आकांक्षीको नाम संकलन गरिसक्यो । सोमबार अबेरसम्म कांग्रेस गण्डकी प्रदेश पार्टी कार्यालय तेर्सापट्टिमा जिल्लाबाट आएका नाममाथि छलफल चलेको थियो । नाम काँटछाट गर्ने अधिकार नभए पनि प्रदेशले उमेदवारका आकांक्षीमाथि राय लेख्न पाउँछ ।
प्रदेशसभाको क्षेत्रीय कार्यसमितिले प्रदेशसभाका उमेदवारको नाम संकलन गर्छ भने प्रतिनिधिसभाले प्रतिनिधिसभा निर्वाचनमा आकांक्षीको नाम । यी दुई समितिलाई बढीमा तीनजनाको नाम सिफारिस गर्नसक्ने अधिकार छ । सो अधिकार प्रयोग गर्दा आन्तरिक चुनाव पनि यी समितिले गर्न पाउँछन् ।
तर, गण्डकीका ११ जिल्लामध्ये प्रदेशसभाका ३६ तथा प्रतिनिधिसभाका १८ क्षेत्रमा कतै पनि चुनाव भएन । गठबन्धनसहित चुनावमा जाने पार्टीका शीर्षस्थ नेताहरूको निर्णय भइसकेका कारण तल्ला तहका यी समितिले अधिकार प्रयोग गरेनन् । आएका नाम हुबहु जिल्ला कार्यसमितिमा पठाए । ती नाममा जिल्लाको अधिकार भनेको पनि त्यही राय लेख्ने हो । रायसहित ११ जिल्ला कार्यसमितिले प्रदेश पार्टी कार्यालयमा नाम सिफारिस गर्ने हो ।
राति अबेरसम्म पनि प्रदेश पार्टी कार्यालय सोही राय लेख्ने काममा जुटिरहेको कांग्रेस गण्डकी महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
नवलपुरबाट प्रदेशसभामा प्रत्यक्ष चुनाव जितेका लामिछानेले प्रदेशको पार्टी कार्यालयको बारेमा जानकारी दिइरहँदा उनकै गृहजिल्ला नवलपुरले चाहिँ अहिलेसम्म नाम पठाएको छैन ।
२ प्रतिनिधीसभा र ४ प्रदेशसभा क्षेत्र रहेको नवलपुरमा सोमबार रातिसम्म नै जिल्ला कार्यसमितिको बैठक चलिरहेको थियो । यो त भयो, प्रक्रियाको कुरा ।
तर, नवलपुर गण्डकीका मुख्यमन्त्रीको पनि जिल्ला हो । प्रदेश, प्रतिनिधिसभा क्षेत्र कहिँबाट पनि प्रत्यक्ष तथा समानुपातिक सिफारिसमा नपरेका/नबसेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अबको कदम के हो ? सबै जिल्लाले नाम सिफारिस गरेर प्रदेशमा छलफल भइरहँदा नवलपुरले चाहिँ किन नाम पठाउन सकेको छैन ?
प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आकांक्षीको नाम सूचना नै जारी गरेर टिपाइरहँदा अर्बपति सांसद विनोद चौधरीले प्रतिनिधिसभाका दुवै क्षेत्रबाट नाम टिपाए । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य पोखरेलको नाम किन कहिँबाट सिफारिस भएन ?
प्रदेश तथा प्रतिनिधिसभाका क्षेत्रीय समितिले दिएको नाम टिपाउने म्यादभित्र न प्रत्यक्ष न समानुपातिक कतै पनि मुख्यमन्त्री पोखरेलको नाम छैन ।
तनहुँबाट नवलपुर झरेर राजनीतिको आधार क्षेत्र बनाएका पोखरेल के संसदीय निर्वाचनबाट टाढिन खोजेका हुन् ?
जिल्लाको राजनीतिमा सक्रिय र पोखरेलप्रति निकट सम्बन्ध राख्ने नवलपुरका एक नेता भन्छन्, “करिबकरिब त्यस्तै हो । उहाँ अब प्रदेशको मुख्यमन्त्री भइसक्नुभयो, त्यसकारण प्रदेशसभा लड्नुहुन्न । संघमा पनि चुनाव लड्नुहुन्न ।”
संघमा चुनाव लड्न मुख्यमन्त्रीले आँट नगर्नुको अर्को कारण बीपीपुत्र डा. सशांक कोइराला हुन् ।
२०६४ मा सुरक्षित क्षेत्र खोज्दै तत्कालीन नवलपरासी १ मा कोइरालाको इन्ट्री भएपछि संघीय चुनावको ढोका पोखरेलको लागि सदाका लागि नै बन्द भयो । अहिले पनि यो क्षेत्रबाट सशांकले चुनाव लड्ने इच्छा राखेका छन् । त्यहाँका नेता तथा कार्यकर्ता सशांकको इच्छा हुन्जेलसम्म उनी नै निर्विरोध उमेदवार भन्ने गरेका छन् । २ मा मुख्यमन्त्री आफैँ जान चाहँदैनन् । त्यसकारण मुख्यमन्त्री पोखरेल संघीय चुनाव लड्दैनन् भन्ने निश्चित छ । प्रतिनिधिसभाको सम्बन्धित समितिले पनि उनको नाम सिफारिस गरेको छैन ।
रह्यो, प्रदेशसभाको निर्वाचन । बहालवाला मुख्यमन्त्री प्रदेशसभामा नै फेरि लड्ने भनेको मुख्यमन्त्री नै हुनका लागि हो । “प्रदेशसभा लडेर मुख्यमन्त्री हुने हो, जुन उहाँ अहिले नै हुनुहुन्छ । त्यसकारण पनि उहाँ प्रदेशसभामा लड्ने मनस्थितीमा हुनुहुन्न,” ती नेताले भने ।
प्रदेशसभाको सम्बन्धित क्षेत्रीय समितिले १ (क) बाट पनि मुख्यमन्त्री पोखरेलको नाम सिफारिस भएको छैन ।
प्रदेशसभा, प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकमा कहिँ पनि चुनाव लड्ने इच्छा मुख्यमन्त्रीले नराखेकै हुन त ? मुख्यमन्त्रीकी स्वकीय सचिव रञ्जना वाग्लेले भनिन्, “प्रत्यक्ष चुनाव लड्नुहुन्न । प्रतिनिधिसभा १ मा समानुपातिकमा सिफारिस हुनुभएको छ ।”
वाग्लेले समानुपातिकमा सिफारिस भएको भने पनि प्रतिनिधिसभा क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको होइन । भदौ १८ गते बसेको क्षेत्रीय कार्यसमिति बैठकले आकांक्षीका नाम सिफारिस गर्दा प्रत्यक्षमा ६ जना र समानुपातिकमा ११ जनाको नाम सिफारिस गरेको थियो । त्यहाँ मुख्यमन्त्री पोखरेलको नाम छैन ।
तर, नवलपुर कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले मुख्यमन्त्रीको नाम १ बाट समानुपातिकमा परेको जानकारी दिए । जिल्लालाई नाम हेरफेर गर्ने अधिकार नभए पनि नवलपुर जिल्ला कांग्रेसले मुख्यमन्त्रीको नाम पनि समानुपातिकमा राखेर प्रदेश समितिमा पठाउने तयारी गरिरहेको छ ।
तर, निकटका नेताको भनाइअनुसार प्रदेश तथा प्रतिनिधिसभाको सदस्य बन्न मुख्यमन्त्री स्वयं इच्छुक होइनन् । “प्रदेशसभाको मुख्यमन्त्री भइसकेपछि प्रतिनिधिसभामा जान खोजे पनि कोइरालाका कारणले उनले टिकट पाउँदैनन, समानुपातिकमा बस्ने उनको इच्छा होइन,” उनले भने ।
अर्कातर्फ, उनका परिवारका सदस्यहरु अमेरिकामा छन् । उनीहरूले पनि प्रत्यक्ष चुनाव नलड्न सुझाव दिइरहेका छन् । मुख्यमन्त्री पत्नी पनि बिरामी अवस्थामा रहेका कारण प्रत्यक्ष चुनावमा लड्नको लागि उनको पनि भित्री इच्छा छैन ।
“मुख्यमन्त्री चुुनाव लड्नुहुन्न, समानुपातिकमा पनि बस्नुहुन्न । कुनै पनि समितिले सिफारिस गरेको छैन । उहाँले बस्दिन नै भन्नुभएको हो । अर्कातर्फ उमेर पनि बढी नै भइसक्यो,” उनले भने, “मुख्यमन्त्री भइसकेपछि प्रदेशको च्याप्टर क्लोज भयो । पार्टी राजनीतिमा केन्द्रीय सदस्य नै हुनुहुन्छ । परिस्थिति त्यस्तै भयो, धेरै सिट जित्यो भने राष्ट्रियसभामा एकपटक प्रयास गर्नुहुन्छ ।”
जिल्ला समितिले समानुपातिकमा मुख्यमन्त्रीको नाम माया गरेर हालिदिएको उनले बताए । तर, मुख्यमन्त्रीको इच्छा हुँदैहोइन । अमेरिकामा रहेका छोराहरूले पनि उनलाई चुनाव नलड्न सुझाएका छन् ।
राजनीतिक परिवारका पोखरेलको परिवारबाट अरु पनि सांसदका आकांक्षी छन् । तनहुँबाट रामचन्द्र पोखरेल १ बाट समानुपातिकमा आकांक्षा राखेका छन् ।
ती नेताले भने, “पोखरेल परिवारबाट एकजनाले पाएपछि कन्भिन्स हुन्छन् । पार्टी राजनीतिमा चारवर्ष रहनुहुने भयो । मुख्यमन्त्रीको संसदीय राजनीतिको च्याप्टर क्लोज भयोभन्दा हुन्छ ।”
कृष्णचन्द्र पोखरेल– पोहोर झन्डै दलको नेताबाट निकालिए, अहिले बने मुख्यमन्त्री