विराटनगर । प्रमुख राजनीतिक दलले मोरङबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उमेदवार बन्न आकांक्षीहरूको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी केन्द्र र जसपाले आकांक्षी उमेदवारको नाम सिफारिस गरेका हुन् ।
क्षेत्र नं. १ मा कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम पठाएको छ । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा सो क्षेत्रमा विजयी भएका थिए । एमालेले यो क्षेत्रबाट घनश्याम खतिवडा, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्र तामाङको नाम सिफारिस भएको पार्टीका जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए । माओवादी केन्द्रले प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ मा कांग्रेसले मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । एमालेले ऋषिकेश पोखरेलको नाम सर्वसम्मत रुपमा पठाएको छ । पोखरेलले २०७० सालको निर्वाचनमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ मा कांग्रेसका रिजालसँग पराजित भएका थिए । माओवादी केन्द्रले गणेश उप्रेती (सुशील)को ना सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ मा कांग्रेसले डा. सुनील शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ । शर्मा नोबेल मेडिकल कलेजका संचालक हुन् । अघिल्लो चुनावमा उनी एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । एमालेले ढकालको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दीपक) र खेम सुन्दास (अरुण)को नाम पठाएको छ ।
मोरङको क्षेत्र नम्बर ४ मा कांग्रेसले महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दीलिप गच्छदारको नाम सिफारिस गरेको छ । एमाले नेता विनोद ढकालको नाम सर्वसम्मत गरेको छ । यो क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेसका आचार्यलाई माओवादीका अमनलाल मोदीले पराजित गरेका थिए । योपटक पनि माओवादीले मोदीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ५ मा एमालेले योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । कांग्रेसले पुनः अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले बताए । २०७४ सालको निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनका शिवकुमार मण्डलले अर्याललाई पराजित गरेका थिए । यो पटक पनि माओवादीबाट मण्डल सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ६ मा एमालेले पूर्वमन्त्री लालबाबु पण्डित र प्याब्सनका पूर्व केन्द्रिय अध्यक्ष टिकाराम पुरीको नाम पठाएको छ । पण्डितसँग अघिल्लो पटक कांग्रेसका डा. शेखर कोइराला पराजित बनेका थिए । यो पटक कोइरालासहित डा. डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ । माओवादीले हेमबहादुर कार्की, नवीन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरिएको जनाएको छ ।