पोखरा । कांग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसद सिफारिस गर्दा बहालवाला समानुपातिक सांसदलाई सिफारिस नगर्न निर्देशन दिए । यसले गर्दा समानुपातिकमा दोहोरिएरै भएपनि सांसद बन्ने धेरैको चाहना पूरा नहुने भयो ।
कांग्रेसले प्रत्यक्षमा २३ सिट जित्दा ४० सिट समानुपातिकमा जितेको थियो । समानुपातिकबाट सांसद बनेकाहरूले अब सांसद बन्न प्रत्यक्ष निर्वाचन नै लड्नुपर्ने हुन्छ ।
कांग्रेसको विधानको धारा ३३ मा भनिएको छ, “प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उमेदवार हुन पाउने छैन ।”
महामन्त्रीको यही परिपत्रका कारण अर्बपति सांसद विनोद चौधरी समानुपातिक कोटाबाट संसद् छिर्न पाउने छैनन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा उनले प्रत्यक्ष निर्वाचन लड्न चाहेका छन् । सोही कारण उनले दुवै ठाउँबाट आफ्नो नाम टिपाएका छन् ।
गत चुनावमा नवलपुर १ मा महामन्त्री डा. शशांक कोइरालाले चुनाव जितेका थिए । गण्डकीबाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन जित्ने कांग्रेसबाट कोइराला मात्रै एक उमेदवार थिए । उक्त क्षेत्रमा फेरि पनि कोइरालाले आकांक्षा राखेका छन् ।
नवलपुर कांग्रेस नेता तथा कार्यकर्ताहरू चाहिँ कोइरालाले आकांक्षा राखेपछि उनले नै टिकट पाउने दाबी गर्छन् ।
उसोभए कोइरालाको निर्वाचन क्षेत्रमा चौधरीले किन नाम टिपाए त ?
स्रोत भन्छ दुवै क्षेत्रमा नाम टिपाएपनि चौधरीले क्षेत्र नम्बर २ का लागि टिकटको बार्गेनिङ गरेका हुन् ।
उक्त निर्वाचन क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेका तिलक महत विजयी भएका थिए । जहाँ अहिलेपनि उनै महतको नाम एकल सिफारिस भएको छ ।
सो क्षेत्रबाट पनि चौधरीले उमेदवारी दिएका छन् । क्षेत्रीय कार्यसमितिले आकांक्षीको नाम संकलन गर्दा चौधरी स्वयम् पुगेका थिए ।
गत स्थानीय तहको चुनाव हेर्दा कांग्रेस सबैभन्दा बिग्रेको पनि नवलपुरमा नै हो । ०७४ मा आठमध्ये छ पालिका जितेको कांग्रेस अहिले दुईमा खुम्चिएको छ ।
अर्कातर्फ गठबन्धन पनि भएका कारण नवलपुरका दुवै क्षेत्र कांग्रेसले नै पाउँछ भन्ने पनि टुंगो छैन ।
तर, सांसद बन्ने हुटहुटी र कांग्रेस पदाधिकारीसँग राम्रो सम्बन्ध बनाएका चौधरी जसरी पनि टिकट ल्याएर प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् ।
नवलपुरकै एक क्षेत्रीय नेताका अनुसार, “प्रत्यक्षमा टिकट पाएपनि चौधरीको हकमा चाहिँ चुनाव जित्न भने सहज छैन ।”
यो गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि जिल्ला हो ।
शशांकले चुनाव जितेको क्षेत्र नम्बर १ बाट कोइराला र चौधरीसहित छ जनाले प्रत्यक्षमा आकांक्षा राखेका छन् ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य, डा. शशांक कोइराला, केन्द्रीय सदस्य विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, प्रदेश सांसद ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम दर्ता गराएका छन् । त्यस्तै, समानुपातिकतर्फ उमेदवार बन्नका लागि ११ जनाले नाम दर्ता गराएका छन् ।
त्यसैगरी समानुपातिकतर्फ हेमराज कोइराला, महेन्द्रभक्त अधिकारी, धनबहादुर मास्की राना, मैना कामी, भानु सिग्देल, विनाकुमारी थनेत, डा. गंगा सापकोटा, रामबहादुर खड्का, सत्यनारायण खनाल, प्रेमबहादुर विश्वकर्मा र प्रेमबहादुर विश्कर्मा (प्रकाश)ले नाम दर्ता गराएका कांग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।
क्षेत्र नम्बर २ मा पनि चौधरीको अलवा प्रत्यक्षमा कांग्रेसका नेताहरू गणेशमान श्रेष्ठ, उदय राज अर्याल, भरत भुसाल, दोमनबहादुर भण्डारी, चन्द्रबहादुर राना, चेतप्रसाद पौडेल, टेकप्रसाद श्रेष्ठ, डा. ज्ञानेन्द्र पौडेल, रामप्रसाद महतोले उमेदवारीका लागि आवेदन दिएका छन् ।
त्यस्तै समानुपातिकतर्फ समानुपातिक (पुरुषतर्फ) चन्द्र बहादुर दरै, बुद्धिसागर उपाध्याय, जोगबहादुर थारू, जिवलाल पाठक, राजेन्द्र भट्टराइ, समानुपातिक (महिलातर्फ) विमला सापकोटा, पुनम नगरकोटी, लक्ष्मी चौधरी, गौरी बिक, खुस्बु चौधरी, विमला बिकले आवेदन दर्ता गराएका हुन् ।
एमालेले नवलपुर २ मा महतको एकल उमेदवारी परेको छ भने १ मा चाहिँ तीनजनाले आकांक्षा राखेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कृष्ण पौडेल, रविन्द्र अधिकारी र नारायण प्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ । समानुपातिकमा दीपक अधिकारी, सुनिता खातुन र रेखा पौडेलको आवेदन परेको छ ।