site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमा प्रभावशाली नेतालाई हारको भय : निधिको ‘स्टन्ट’ ?
SkywellSkywell

जनकपुरधाम । आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा अधिकांश दलबाट उमेदवारको नाम सिफारिस भइसकेको छ । सिफारिस सूची हेर्दा एकै व्यक्तिको नाम धेरै क्षेत्रबाट प्रस्ताव गरिएको देखिन्छ । केही शीर्ष नेताको नाम भने समानुपातिकतर्फ सिफारिस गरिएको छ । त्यसो हुनुमा नेताहरूमा हारको भय र गठबन्धनभित्र क्षेत्र र सिट बाँडफाँट नहुनु प्रमुख कारण रहेको कतिपय व्यक्तिको बुझाइ छ ।


जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम पाँच जिल्लाका सात ठाउँबाट सिफारिस गरिएको छ ।

अर्कोतर्फ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिकतर्फ सिफारिस भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पनि समानुपातिकतर्फ जाने संकेत गरिसकेका छन् ।

KFC Island Ad
NIC Asia

निधि समानुपातिकमा ‘स्टन्ट’ कि बाध्यता ?
कांग्रेस नेता विमलेन्द्र निधिको नाम शुक्रबार धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट समानुपातिकतर्फ सिफारिस गरियो । प्रत्यक्षतर्फ उक्त क्षेत्रबाट उनीनिकट प्रमेश्वर महासेठ, जिल्ला सभापति योगेन्द्र पञ्जियार र गणेश तिवारीको नाम सिफारिस गरिएको छ ।

निधिले गएको साता जनकपुरधाममा सार्वजनिक मञ्चबाटै चुनाव नलड्ने घोषणा गरेका थिए । यद्यपि, पार्टीले सुरक्षित ठाउँबाट टिकट दिए मधेसबाहेकको क्षेत्रबाट पनि प्रतिस्पर्धा गर्न तयार रहेको निधिले बताउँदै आएका छन् ।

सत्ता गठबन्धनभित्रै घात हुने अवस्था देखेर निधि समानुपातिकमा जान चाहेको उनीनिकट नेताहरू बताउँछन् । उनी पछिल्लो समय पार्टीपंक्तिभित्रै पनि कमजोर देखिएका छन् । त्यसकारण पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा नगर्ने घोषणा गरेको हुन सक्ने कतिपयको आकलन छ ।

“निधिजी सिनियर नेता हुनुहुन्छ । उहाँको आवश्यकता सदनलाई छ,” निधिनिकट एक नेताले भने, “उहाँ बीपीजीको अनुयायी पनि हुनुहुन्छ । त्यसकरण उहाँले पहाडबाट लड्ने इच्छा देखाउनुभएको छ ।”

तर, कतिपयले निधिको चुनाव नलड्ने निर्णयलाई राजनीतिक ‘स्टन्ट’का रूपमा बुझेका छन् ।

०७४ को निर्वाचनमा करिब तीन हजार मतान्तरले मात्र निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । त्यति बेला लोसपालाई नेकपा (एमाले)ले आन्तरिक रूपमा सघाएको थियो ।

“निधिको राजनीतिक स्टन्ट पनि हुनसक्छ । यसअघि एमाले नेत्री जुली महतो चुनाव नलड्दा निधि थोरै मतले पराजित भएका थिए । नेकपाको जुली समूहले त्यति बेला लोसपा नेता राजेन्द्र महतोलाई समर्थन गरेको थियो,” प्राध्यापक अशोक साह भन्छन्, “निधि चाहन्छन्– राजेन्द्र महतो र जुली महतो दुवैको उमेदवारी परोस्, त्यसपछि उनले आफ्नो उमेदवारी घोषणा गर्न सक्छन् । जसले उनलाई जितमा सहज हुने अनुमान छ ।”

जनता र पार्टी नेताहरूको भावना बुझ्न पनि निधिले यसप्रकारको निर्णय लिएको हुन सक्ने उनको अनुमान छ । जनता र पार्टीबाट दबाब आए चुनाव लड्ने उनको रणनीति हुन सक्ने साह बताउँछन् ।

यस क्षेत्रको सभापति निधिका भाइ श्याम निधि हुन् । निधिले धनुषा–३ बाट व्यवसायी महासेठलाई उमेदवार बनाएर अघि सार्ने निश्चितजस्तै छ । उनले साधारण सदस्य समेत नरहेका महासेठको नाम सिफारिस गराउँदा टिकट बिक्री गरेको आरोप पनि लागेको छ ।

महासेठ सृष्टि उद्योग प्रालि र रामजानकी रियल स्टेट प्रालिका अध्यक्ष तथा पी महासेठ एन्ड कम्पनीका प्रोपराइट हुन् । सिफारिस भएका अर्का व्यक्ति पञ्जियारको घर धनुषा–४ मा पर्छ । उनी कांग्रेसको १४औँ महाधिवेशनमा निधि समूहबाट नै जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

विगतमा 
निधि ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । त्यसअघि, ०५६ मा राप्रपाका कृष्ण प्रतापसँग हारेका थिए ।

मधेस आन्दोलनका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भएका थिए । ०७० मा पनि जिते ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट ‘लो प्रोफाइल’का नेकपा (माओवादी केन्द्र)का राम सिंह उमेदवार थिए । पछि वाम गठबन्धनले महतोलाई नै समर्थन गरेको थियो । सर्लाही छोडेर पहिलोपटक धनुषा आएका महतोले निधिलाई झन्डै तीन हजार मतान्तरले हराए । अहिले परिस्थिति फेरिएको छ । लोसपा पनि पहिलेजस्तो स्थितिमा छैन ।

यादव सात ठाउँबाट सिफारिस
जसपा अध्यक्ष यादवको नाम धनुषा, सप्तरी, सिरहा, बारा र मोरङ गरी सात क्षेत्रबाट प्रतिनिधिसभाका लागि सिफारिस गरिएको छ । सिरहा र बारामा दुई/दुई क्षेत्रबाट उनको नाम सिफारिस गरिएको छ । धनुषा–३ बाट उनलाई आग्रहसहित सिफारिस गरिएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ र मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट पनि उनको नाम सिफारिस गरिएको छ । यादवले प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका छन् । यसपालि पनि त्यस्तो सम्भावना रहेको जानकारहरू बताउँछन् ।

उनले पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जिते । दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी आए । सप्तरी–२ बाट चुनाव जिते ।

यादवले आफ्नो ठाउँ सुरक्षित गर्न र मधेसमा लोकप्रिय रहेको सन्देश दिन यति धेरै ठाउँबाट सिफारिस भएको जसपा नेताहरूको जिकिर छ ।

यादवको नाम सिरहा–१ र २ बाट सिफारिस गरिएको नेता राकेश गुप्ताले जानकारी दिए । उनका अनुसार ०६३ को मधेस आन्दोलनको उद्गमस्थल लहान भएको र त्यही भावनाअनुरूप अध्यक्षको उमेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता–कार्यकर्ताको मागानुसार नाम सिफारिस गरिएको हो ।

पार्टी अध्यक्षको नाम आएपछि ०७४ को निर्वाचनमा पराजित राजलाल यादवले आफ्नो दाबी छाड्दै प्रदेशसभा सदस्य ‘ख’बाट उमेदवारी घोषणा गरेका छन् । प्रदेशसभा सदस्य उमेदवारका लागि उनको नाम सिफारिस गरिएको छ । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उमेदवार बनेका यादव १३ हजार ३५१ मतसहित तेस्रो स्थानमा थिए । त्यो क्षेत्रबाट कांग्रेसका दिवंगत नेता प्रदीप गिरि २३ हजार ९५१ मतसहित निर्वाचित भएका थिए ।

सिरहा–२ बाट यादवसँगै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र नेता शत्रुधनप्रसाद सिंह कोइरीको नाम सिफारिस गरिएको जसपा सिरहाका सहसचिव लालबहादुर साहले जानकारी दिए । क्षेत्रको सिफारिस सूची जिल्लामा प्राप्त भएको उनले बताए । नामावली अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

बारा–२ र ३ बाट पनि यादवको नाम सिफारिस गरिएको छ । क्षेत्रले गरेको सिफारिसबारे जिल्ला कमिटीमा छलफल भइरहेको जसपाका बारा अध्यक्ष अजय पटेलले बताए ।

“क्षेत्रबाट जिल्लामा आएका सिफारिसबारे जिल्ला कार्यकारिणी समितिले निर्णय गर्ने कि विस्तारित बैठकले निर्णय लिने भन्नेबारे छलफल भइरहेको छ,” उनले भने ।

०७४ को निर्वाचनमा बाराका यी दुवै निर्वाचन क्षेत्र उपेन्द्र यादव नेतृत्वकै पार्टीले जितेको थियो । बारा–२ बाट जसपाका तत्कालीन महासचिव रामसहाय यादव विजयी भएका थिए । बारा–३ बाट जसपाका तत्कालीन जिल्ला अध्यक्ष रामबाबु यादवले जितेका थिए ।

बारा–२ बाट यादवबाहेक हालका सांसद रामसहाय यादव र प्रयागराय यादवको नाम सिफारिस भएको पटेलले बताए ।

बारा–३ बाट यादवबाहेक अरू पाँचजनाको नाम क्षेत्रीय समितिबाट सिफारिस भएको जिल्ला अध्यक्ष पटेलले बताए । उनका अनुसार हालका संघीय सांसद रामबाबु यादव, पहिलो संविधानसभा सदस्य प्रमोद गुप्ता, केन्द्रीय सदस्य प्रकाश चापागाईं, युवा नेताद्वय सुनील दास र मनीष यादवको नाम क्षेत्रबाट सिफारिस गरिएको छ ।

अध्यक्ष यादवले कुन ठाउँबाट उमेदवारी दिने भन्ने निर्क्योल भइसकेको छैन । यसअघि निर्वाचित भएको सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उमेदवारी दिने निश्चितजस्तै छ । डा. राउतको उमेदवारी पर्न सक्ने भएकाले यादव दोधारमा छन् ।

महन्थ समानुपातिकतर्फ जाने संकेत
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट तत्कालीन राजपा नेपालका तर्फबाट निर्वाचित सांसद हुन् । योपटक उनले युवालाई अवसर दिने पार्टीका नेताहरू बताउँछन् ।

०७४ मा महन्थले २७ हजार पाँच मत ल्याएर निकटम प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा (एमाले)का नेता विजय चौधरीलाई हराएका थिए । चौधरीले आठ हजार ९७७ मत पाएका थिए ।

एमालेले अब यस क्षेत्रबाट रामदियाल मण्डललाई उमेदवार बनाउने तयारी गरेको छ । जसपाबाट दीपेन्द्र झाले उमेदवारी दिने तयारी गरेका छन् ।

नेपाल के गर्छन् ?
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्छन् भन्ने टुंगो लागेको छैन । यद्यपि, उनी रौतहट फर्कने चर्चा छ । ०७४ मा उनी वाम गठबन्धनका तर्फबाट काठमाडौं–२ बाट निर्वाचित भएका थिए । अहिले पनि काठमाडौं–२ बाट उनको एकल नाम सिफारिस भएको छ ।

गएको स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले राम्रो परिणाम ल्याउन नसकेपछि नेपाल सुरक्षित मानिएको रौतहट–१ बाट प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro