काठमाडौं । यो वर्ष अपेक्षा गरिएका अधिकांश नेपाली चलचित्र रिलिज भइसकेका छन् । ‘चिसो मान्छे’, ‘दोख’, ‘पानी फोटो’ रिलिज भइसकेका छन् । ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनरत छन् । अब रिलिज हुन बाँकी ‘ऐना झ्यालको पुतली’ छ । यो वर्ष धेरैले अपेक्षा गरेका चलचित्र थिए, यी । तर, प्रदर्शन हुन बाँकी ‘ऐना झ्यालको पुतली’बाहेक सबैले अपेक्षित दर्शक पाएनन् । यीमध्ये अधिकांशले लगानी गुमाए ।
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘प्रकाश’ले त कम सो पाएको भन्दै असन्तुष्टि नै जनाइयो । यसको निर्माण युनिटले पत्रकार सम्मेलन नै गर्यो । ‘प्रकाश’का मुख्य कलाकार प्रदीप खड्काले हल सञ्चालकले ‘प्रकाश’जस्ता चलचित्र बन्दै बन्नु हुन्न भन्ने सन्देश दिएको आरोप लगाए । आफ्नै चलचित्रलाई पाखा लगाएर विदेशी सिनेमालाई काखी च्याप्ने काम गरिरहेको र यसले नेपाली सिनेमालाई हतोत्साही गर्ने काम गरेको टिप्पणी गरे ।
यीमध्ये अधिकांश चलचित्र औसतभन्दा माथि रहेको समीक्षा आएका थिए । तर पनि यी चलचित्रलाई दर्शकको साथ मिलेन । भलै, ‘प्रकाश’ अहिले केही मात्रामा चलिरहेको छ । तर, जति अपेक्षा थियो त्यति छैन ।
अपवादकै रूपमा यो वर्ष ‘कबड्डी–४’ ले अनपेक्षित बक्सअफिस कलेक्सन गर्यो । यसपछि राम्रो हाइप बनाएका र ठूलो अपेक्षा गरिएका चलचित्र नै चलेनन् । किन ?
कारण खोतल्दै जाँदा धेरै हुनसक्छन् । तर, निर्देशक सुजित विडारी यसमा मुख्यतः तीन कारण रहेको बताउँछन् । चलचित्रका पात्रले दर्शकलाई आफूसँगै हिँडाउन नसक्नु सुजितका नजरमा नेपाली चलचित्र नचल्नुको एउटा कारण हो । “पात्रलाई दर्शकले हेरिहरहेको छ । तर, त्यो पात्रको यात्रामा दर्शकले सँगै यात्रा गर्न सकिरहेको छैन । दर्शकले जुन दुःख वा खुसी अनुभूत गरिरहेको छ, त्यो दुःख र खुसी दर्शकले अनुभूत गर्न सकिरहेको छैन,” सुजित स्पष्ट पार्छन् । दर्शकलाई आफूसँगसँगै आफ्नो यात्रामा हिँडाउने कसिलो कथा र प्रस्तुतिसहिको सिनेमा आवश्यक रहेको उनको धारणा छ ।
नराम्रा सिनेमाको छायामा राम्रा सिनेमा परेको उनको अनुभव छ । अधिकांश सिनेमा नराम्रा आउने र बनेका एकाध राम्रा सिनेमाको मूल्यांकन एउटै डालोमा राखेर गर्ने गरिएको उनको भनाइ छ । “हाम्रोमा केही सिनेमा राम्रा पनि बनेका छन् । तर, अधिकांश सिनेमा नराम्रा बन्दा नेपाली सिनेमा हेरिरहेका दर्शकलाई त्यो पनि त्यस्तै त होला नि भन्ने बुझाइ हुने गरेको मैले पाएको छु,” सुजित भन्छन्, “यसको मारमा राम्रा सिनेमा र त्यसका मेकर परिरहेका छन् । अहिले भइरहेको पनि यही हो भन्ने लाग्छ ।”
त्यसो त अझै पनि ‘लार्जर देन लाइफ’ सिनेमाका दर्शक नै नेपालमा धेरै रहेको उनी बताउँछन् । यो सत्यलाई पनि नकार्न सकिने सुजितको भनाइ छ ।
चलचित्र समीक्षक अनुप सुवेदी अपेक्षित चलचित्रले नै अपेक्षा पूरा नगर्नु दर्शकको साथ नपाउनुको मुख्य कारण भएको बताउँछन् । यसअघि बनिसकेका सिनेमाको स्तरमा पनि चलचित्र नबन्नु दर्शकको न्यून उपस्थिति हुनुको कारण रहेको उनको बुझाइ छ । “यसअघि नै अहिले रिलिज भएका चलचित्रभन्दा राम्रा चलचित्र बनिसकेका छन् । ‘नुमाफुङ’, ‘सेतो सूर्य’, ‘कालो पोथी’जत्तिको पनि चलचित्र बनेनन्,” समीक्षक अनुप भन्छन् ।
‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘नुमाफुङ’लाई ठूलो संख्यामा दर्शकले हलमा नहेरे पनि नराम्रो पनि नभनेको उनी स्मरण गर्छन् । केही समययता रिलिज भएका चलचित्रलाई कसैले राम्रो र कसैले नराम्रो लेखेको भन्दै उनी भन्छन्, “कम्तीमा कालो पोथी, सेतो सूर्य, नुमाफुङलाई नराम्रो भनेर कसैले भनेका थिएनन् ।”
यद्यपि, राम्रो भन्दैमा सबै सिनेमा चल्छन् भन्ने नहुने उनको तर्क छ । धेरै दर्शकको रोजाइमा पपुलर सिनेमा पर्ने भन्दै अनुप भन्छन्, “जुन सिनेमा सरल छ र पपुलर कास्ट छ, स्टारडम र प्रचारमा तामझाम गरिएका हुन्छन्, त्यस्ता सिनेमाले धेरै दर्शकलाई तान्छ । यो नेपालमा मात्रै होइन, विश्वकै ट्रेन्ड हो ।”
समाजसँग जोडिएका तर तामझाम कम भएका चलचित्र खासै धेरै दर्शकको रोजाइमा नपर्ने अनुप बताउँछन् । “अहिले नेपाली फिल्मको गुणस्तर कम छ भन्ने कुराहरू आइरहेका छन् । स्टोरी टेलिङ भएन भन्ने गुनासा सुनिएका छन्, यसमा सत्यता छ,” अनुप अगाडि थप्छन्, “यो नेपाली सिनेमाका लागि चिन्ताको विषय हो ।”
मेकिङ बलियो हुन सके बक्सअफिस रिपोर्ट कमजोर भए पनि त्यसकै आधारमा चलचित्र नराम्रो भनेर खोट लगाउन नसकिने अनुपको धारणा छ ।
नराम्रा सिनेमाको बाढीले राम्रा चलचित्र पनि बगाइरहेको निर्देशक दिवाकर भट्टराई बताउँछन् । महिनामा ८/१० सिनेमा रिलिज हुँदा मुस्किलले एउटा राम्रो हुने र ती नराम्राको भीडमा राम्रा चलचित्र पनि हराइरहेको दिवाकर सुनाउँछन् ।
दक्षिण भारतीय सिनेमाको प्रभाव बलिउडमा परिसकेको अवस्थामा नेपालमा पनि ‘मास बेस’ चलचित्रको खोजी भइरहेको उनको भनाइ छ । त्यसैले ‘केजीएफ’, ‘पुष्पा’ र ‘आरआर’पछि भारतका अधिकांश चलचित्रले राम्रो व्यापार गर्न नसकेको दिवाकर बताउँछन् ।
“दर्शक यति धेरै जजमेन्टल भइसके, सिनेमाको पोस्टर, ट्रेलर हेर्नबित्तिकै यो सिनेमाको हैसियत यो हो भनेर थाहा पाउने भइसके,” उनी भन्छन्, “तर, हामी मेकर दर्शकसँगै अपग्रेड हुन सकेका छैनौँ ।”
चलचित्र राम्रो बनाएर मात्र नहुने भन्दै उनी आफूले बनाएको सिनेमाको ब्रान्डिङ गर्न नसके त्यो छायामा पर्ने बताउँछन् । अन्यथा, राम्रा चलचित्र पनि नराम्राकै ओझेलमा पर्ने उनको चिन्ता छ । “अहिले प्रेमगीत–३ ले जसरी ब्रान्डिङ गरिरहेको छ, त्यसरी नै हामीले आफ्नो चलचित्रको प्रचार गर्नुपर्छ,” उनी भन्छन्, “यति धेरै चलचित्रमा यो नै चलचित्र किन हेर्ने भनेर दर्शकलाई जानकारी पनि दिनुपर्छ । हैन भने भीडमा हराउने उत्तिकै सम्भावना छ ।”
युट्युब पनि नेपाली दर्शक हलसम्म नजानुको कारण भएको दिवाकरको जिकिर छ । चार/पाँच महिनापछि युट्युबमा हेर्न पाइन्छ भने पैसा तिरेर किन हेर्ने भन्ने दर्शकको ठूलो संख्या रहेको उनको भनाइ छ । “हाम्रोमा सित्तैको कन्टेन्ट मजाले जान्छ । तर, राम्रो भए पनि पैसा तिर्नुपर्छ भने हेरिँदैन । सित्तैमा पाइन्छ भने किन पैसा तिर्ने भन्ने पनि ठूलो जमात छ,” दिवाकर भन्छन् ।
बक्सअफिसमा नेपाली चलचित्रको कमजोर उपस्थितिको अर्को कारण टिकटको मूल्य भएको दिवाकरको विश्लेषण छ । सिंगल थिएटरमा शुक्रबार र शनिबार ठूलो संख्यामा उपस्थित हुने दर्शकलाई मल्टिप्लेक्सले आकर्षण गर्न नसकेको उनी बताउँछन् । “सिंगल थिएटरमा शुक्रबार र शनिबार ठूलो संख्यामा आउने दर्शक ती हल नहुँदा अहिले मल्टिप्लेक्सले आकर्षण गर्न सक्नुपर्ने हो,” उनी भन्छन्, “तर, त्यो काम हुन सकेको छैन । डेढ सय रुपैयाँमा त्यहाँ टिकट पाइन्थ्यो, अहिले कम्तीमा चार सय पर्न थालिसक्यो । ती दर्शकलाई पनि तान्ने वातावरण बनाउनुपर्छ ।”