
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूमा डेङ्गु संक्रमितको चाप बढेको छ । उपत्यकामा डेङ्गु संक्रमितको संख्या बढेसँगै अस्पतालका आकस्मिक कक्षदेखि आईसीयूसम्मै पुग्न थालेका छन् ।
डेङ्गुको लक्षण लिएर आउने बिरामीको चाप अत्यधिक बढेपछि क्षेत्रपाटी अस्पताल (क्षेत्रपाटी निःशुल्क चिकित्सालय)ले टेन्टमा समेत राखेर परीक्षण गरिरहेको छ ।
अस्पतालका प्रबन्धक समीर बज्राचार्यकाअनुसार शंकास्पद लक्षण लिएर दैनिक ओपीडीमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशतमा डेङ्गु संक्रमण पुष्टि हुने गरेको छ ।
“ओपीडीमा आउने बिरामीको चाप अत्यधिक छ, इमर्जेन्सीमा रहेको छ बेडले नधानेपछि दसवटा बेड टेन्टमा राखेर सेवा दिइरहेका छौँ, टेन्टमा भएका बेडहरू पनि अधिकांश समय भरिएकै हुन्छन्,” प्रबन्धक बज्राचार्यले भने ।अस्पतालमा अहिले १६ जना उपचाररत छन् ।
यता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जनरल वार्डमा मात्रै १५ जना डेङ्गुका बिरामी उपचाररत छन् ।
अस्पतालका सूचना अधिकारी नवराज गौतमकाअनुसार इमर्जेन्सी र ओपीडीमा आउने ६० प्रतिशत बिरामीमा डेङ्गु पुष्टि हुने गरेको छ । यही संख्यामा संक्रमित बढ्दै गए अस्पतालमा कोभिड संक्रमणकालको जस्तै अवस्था आउने देखिएपछि अस्पतालले सोहीअनुसार भौतिक तयारी अघि बढाएको गौतमले बताए ।
त्रिवि शिक्षण अस्पताल टिचिङमा पनि कोभिड–१९ संक्रमित राखिएका बेड खाली भइरहँदा डेङ्गु संक्रमित धमाधम बढ्न थालेका छन् ।
आइतबारसम्म ११ जना डेङ्गु संक्रमित भर्ना भएर उपचाररत रहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा नै डेङ्गु संक्रमण देखिएपछि जोखिम झनै बढेको अधिकारीको भनाइ छ ।
त्यस्तै, वीर अस्पतालमा आइतबारसम्म डेङ्गुका २१ जना बिरामी उपचाररत रहेको अस्पतालको तथ्यांक छ ।
उपत्यकाकै काठमाडौं मोडेल, ललितपुरको पाटन लगायत अस्पतालमा पनि डेङ्गुका बिरामीको चाप बढ्दै गएको अस्पतालहरूको तथ्यांक छ ।
आईसीयूमा पनि डेङ्गु संक्रमित
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आईसीयूमा तीनजना डेङ्गु संक्रमित उपचाररत छन् ।
अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. बिमल चालिसेकाअनुसार अस्पतालमा उपचाररतमध्ये अधिकांशमा अत्यधिक ज्वरो आउने पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएका छन् ।
सिकिस्त डेङ्गु संक्रमण देखिएमा प्लेटलेट्स, हेमोग्लोविन, ह्वाइट ब्लड सेल्स घटेर जाने लगायत कलेजोमा असर पनि देखिन सक्छ । यस्तो अवस्थामा बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ ।
तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र अरुमा सामान्य असर देखिने हुनसक्ने डा. चालिसे बताउँछन् ।
सन् २०१९ मा नेपालमा डेङ्गुले प्रकोपको रूप लिएको थियो, सो वर्ष डेङ्गु संक्रमणबाट छ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
सबैभन्दा बढी डेङ्गु संक्रमित काठमाडौं उपत्यकामा
यो वर्ष उपत्यकामा ललितपुर महानगर वडा नं. ५ मा गत असार ९ गते डेङ्गुको पहिलो केस देखिएको थियो ।
ललितपुरका सानेपा, लगनखेल, थसिखेल हुँदै महालक्ष्मीसम्म देखिएको डेङ्गु संक्रमण भदौ १० गतेसम्म आइपुग्दा सातसय २६ जनामा देखिइसकेको छ । यो संख्या दिनहुँ थपिँदै गएको र अबको एक महिना अझै बढ्ने जोखिम रहेको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख सतिस बिष्ट बताउँछन् ।
त्यस्तै, काठमाडौंमा यो वर्ष डेङ्गु संक्रमितको संख्या दुईसय ९३ पुगेको छ । संक्रमितमध्ये दुईसय ४४ जना अगस्टमा मात्रै थपिएको काठमाडौंका स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीले बताए ।
भक्तपुरमा पनि यो संख्या २० भन्दा बढी रहेको स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार यो वर्ष देशभर डेङ्गु संक्रमितको संख्या एक हजार एकसय २६ पुगेको छ, जसमध्ये एक हजार ३९ जना काठमाडौं उपत्यकामा छन् ।
गत वर्षहरूको आँकडा हेर्दा यो वर्षपनि असोज अन्तिमसम्मै डेङ्गु संक्रमण बढेर जाने महाशाखाको आकलन छ । तर, यो वर्षका तीन महिनामा नै देखिएको संक्रमितको संख्या पोहोरको दोब्बर भएको महाशाखाका महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
आर्थिक वर्ष २०७७/७८ मा चारसय ९३ जनामा सीमित डेङ्गु संक्रमण गत आर्थिक वर्ष बढेर पाँचसय ४० जनामा देखिएको थियो ।
यो वर्ष साउन अन्तिमसम्ममा नै गतवर्षको भन्दा दोब्बर बढी जनसंख्यामा संक्रमण देखिनुले यो वर्ष डेङ्गु संक्रमण उच्च संख्यामा बढ्नसक्ने अनुमान महाशाखाले गरेको छ ।
अघिल्ला वर्ष डेङ्गु प्रभावित जिल्लाहरूमा सरकारले नियन्त्रणका कार्यहरू गरिरहेको भएपनि पहाडी जिल्लाहरूसँगै नयाँ नयाँ स्थानमा संक्रमण फैलिँदै गएकाले चुनौती थपिएको डा. दाहाल बताउँछन् ।
डेङ्गुका लक्षणहरू
संक्रमितहरूमा सामान्यतया उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखिन्छन् ।
तर, गम्भीर प्रकृतिको डेङ्गु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षणहरू देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्छ ।
डेङ्गु संक्रमण प्रत्यक्ष मानिसबाट मानिसमा नसरे पनि संक्रमित लामुखट्टेले अर्को व्यक्तिलाई टोकेमा संक्रमण फैलिन सक्छ ।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट जोगिने उपाय
डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै भएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।
डेङ्गु संक्रमण गराउने ‘एडिज’ साँझ–बिहानको समयमा सक्रिय हुन्छ । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन ।
साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, साँझ बिहान सकेसम्म बाहिर ननिस्कनु, निस्कनै परे लामो बाहुला भएको लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपायहरू हुन् ।
त्यस्तै घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनु र डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनु डेङ्गुबाट बच्ने प्रभावकारी उपायहरू हुन् ।
प्रकोपकै रूपमा फैलिन सक्ने डेङ्गुलाई रोकथाम र नियन्त्रणका लागि सतर्क रहन ढिला नगर्न र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान अघि बढाउन डा. बास्तोलाको अनुरोध छ ।