पथ प्रदर्शक र भरियाबिनै नक्सा र किताबको भरमा पदयात्रामा जाने गरेका विदेशी पर्यटक नै अधिकांश हराउने गर्छन् । हुन पनि उनीहरु नक्सा र किताबको भरमा आफूखुसी ट्रेकिङ गर्न जाने र सकेसम्म खानेकुरासमेत (टिनबट्टाको खानेकुरा) आफ्नै देशबाट ल्याउने गरर्छन् । कुनैकुनै विदेशी पर्यटकले त होटल÷लज र रेस्टुराँमा तोकिएको मेनु (मूल्य) मा पनि सकेसम्म घटाउन आग्रह गर्छन् । आग्रह गर्दा भएन भने दबाबसमेत दिन्छन् स्थानीय होटल÷लज सञ्चालकलाई ।
नेपालमा घुम्न आएर हराएका विदेशी पर्यटकको चर्चा गर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा पुग्नुपर्ने हुन्छ । सो वेला गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडी ओल्फगाग हेनरिक सोहीसालको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छर्काभोट–दुनै–ढोरपाटन–पोखरा गएकोमा ७ महिनासम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुलाई स्थानीय केही व्यक्तिले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । तर, अचम्म के भने त्यो बेला सरकारले अन्यत्र झैँ माथिल्लो डोल्पामा पनि विदेशीलाई भ्रमण गर्न बन्देज लगाएको थियो । यद्यपि, ओल्फगाग त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएको भनेर ती दुईको लास भेटिएपछि उक्त दैनिककै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा उल्लेख छ ।
यता २०६० मा पनि बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरीखोलामा लुटिएपछि अरुण भ्यालीतर्पm लागेका थिए । लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजीमा लागेकी थिइन् । तर, उनी भेटिए नभेटिएको बारेमा कतै समाचार छापिएन । राजधानी काठमाडौंकै रानीवनमा २०६२ मा फ्रेन्च र जर्मन महिलाद्वय सेलिन र, ग्रुन्ची महिनौसम्म हराए । पछि फ्रेन्च दूतावासले खोजी गर्दा सेलीको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । ग्रुन्चीको खोजीको लागि पनि उनको केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केहीपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो ।
त्यसो त २०६४ भदौमा पोखराको ड्याम साइडबाट एकजना जापानी पर्यटक हराएपछि उनका बाबु जापानबाट आएर आफ्नो छोराको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती हराएका जापानी पर्यटक भेटिए नभेटिएको अत्तोपत्तो भएन ।
नेपाल घुम्न आउने विदेशी पर्यटक जतिसुकै ‘अगतिला’ भए पनि, खर्च गर्न दाँतबाट पसिना काड्ने ‘मक्खीचुस’ नै भए पनि उनीहरुको व्यक्तिगत सुरक्षाको लागि समेत ‘एक पर्यटक : एक नेपाली’को नीति लागु गरिनुपर्छ भनी पंक्तिकारले उठाउँदै आएको हो ।
सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूर्ण क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो हराए । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा ३,००० (तीनहजार) अमेरिकी डलर पुरस्कार दिने भन्दै उनकी पत्नी साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा जताततै ठाउंँठाउँंमा आफ्नो पतिको तस्बिरसहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन् । तर, त्यसरी खोजी कार्यका लागि लागिपरे पनि साजिदा रित्तो हात नै पर्किनु पर्यो । सन् २०१६ को नोभेम्बरमा पनि लाङटाङ क्षेत्र घुम्न गएका दुई विदेशी एक कोरियन र एक डच (नेदरल्यान्डका) पर्यटक हराएका थिए । उनीहरु पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । उनीहरु हराएको समाचार आए पनि भेटिए, नभेटिएको समाचार आएन ।
त्यस्तै सन् २०१७ मा पनि रुवी भ्याली (गणेश हिमाल क्षेत्र) मा आफूखुसी, गाइड वा भरिया नलगी घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि संभवतः धेरै दिनको भोक र तिर्खाले मरिन् भने पुरुष पर्यटकलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो ।
यही १४ साउनमा गोरखापत्र दैनिकमा आएको समाचारअनुसार सोलुखुम्बुको नाम्चेभन्दा माथि विदेशी पर्यटक एक्लै जान नपाउने भनी जिल्ला प्रहरी कार्यालयले कडाइ गरेको छ । तर, नेपाल सरकारले केन्द्रीय तहबाट गरेको कडाइ वा निर्देशन नभएकोले विदेशी पर्यटकले सो निर्देशन मान्छन् वा मान्नै पर्छ भन्ने छैन । त्यसैले आगामी सिजनदेखि लागु हुने गरी नेपाल सरकारले ‘एक पर्यटक, एक नेपाली’को नीति लागु गरे विदेशी पर्यटक सुरिक्षत हुन्थे । साथै, तालिम लिएर पनि बेरोजगार भएर बस्नुपरेका नेपाली ट्रेकिङ गाइडहरुलाई (अथवा भरिया नै सही) रोजगारीको अवसर पनि हुन्थ्यो ।