काठमाडौं । देशका केही स्थानमा मंगलबार वर्षा भएको छ । छिटपुटदेखि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र (दिउँसो साढे ३ बजेसम्म) ललितपुरमा पनि पानी परेको छ । मंगलबार दिउँसो लगनखेल, जावलाखेलमा ‘फाटफुट’ पानी परेको महाशाखाका मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन् ।
“वर्षाको रेकर्डहरू संकलन गर्दै छौँ । उपत्यकाको दक्षिण क्षेत्रमा पानी परेको छ, लगनखेलमा फाटफुट पानी पर्यो,” उनले बाह्रखरीसित भनिन्, “काठमाडौं जिल्लामै चाहिँ पानी परेको छैन ।”
उनका अनुसार, काठमाडौंमा पानी पार्ने खालको बादल विकास भएको थियो । पानी नै परेको अवस्था भने होइन ।
पछिल्लो एक घण्टा (दिउँसो साढे ३ बजेसम्म)मा कास्कीको लुम्ले, रोल्पा, बागलुङ, लमजुङको खुदीबजार, धनकुटालगायत स्थानमा वर्षा मापन गरिएको उनले बताइन् । “छिटपुटदेखि हल्का वर्षा हो, ठूलो पानी परेको होइन,” उनले भनिन् ।
देशका केही स्थानमा हिमपात पनि भएको छ । सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, सोलुखुम्बुको लुक्लामा हिमपात भएको उनले जानकारी दिइन् ।
काठमाडौंमा आज साँझसम्म वर्षाको सम्भावना रहेको उनले बताइन् । “साँझसम्म छिटपुट वर्षाको सम्भावना देखिन्छ, वर्षा भइहाले पनि एक/दुई ठाउँमा हुने हो,” उनले भनिन् ।
हिउँदयाममा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने हो । पानी पार्ने यो प्रणालीले मनसुनजस्तो ठूलो प्रभाव नपार्ने उनले स्पष्ट पारिन् ।
“मनसुनजस्तो यो ठूलो स्थानमा हुँदैन, आइसोलेटेड टाइपको, केहीकेही स्थानमा हुने हो,” उनले भनिन्, “हामीले उपत्यकाका एक/दुई स्थानमा वर्षा हुने भनेका थियौँ ।”
महाशाखाले यसअघि काठमाडौंसहित देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको थियो ।
पश्चिमी न्यूनचापीय प्रणाली धेरै मजबुत नहुने र यसले ठूलो क्षेत्र नओगट्ने उनको भनाइ छ । बदली (आकाशमा बादल) भए पनि आजै साँझदेखि त्यो क्रमिक रूपमा घट्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।