काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सोमबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेल समर्थकको अवरोधका कारण स्थगित भए आफ्नो क्लबले तीन अंक पाउनुपर्ने बताएका छन् ।
लिभरपुल र युनाइटेडबीच सन् २०२१ मेमा हुनुपर्ने खेल समर्थकको अवरोधका कारण स्थगित भएपछि अर्को मितिमा खेलाइएको थियो । युनाइटेडका समर्थकले क्लबका मालिक ग्लेजर परिवारको ओल्ड ट्राफोर्डमा विरोध गरेका थिए ।
सोमबार हुने खेलमा पनि समर्थकले अर्को आन्दोलनको तयारी गरेको समाचार बाहिरिएको छ । सोमबार राति युनाइटेडले लिभरपुललाई आतिथ्यता प्रदान गर्दै छ ।
“खेल नहुने योजना बन्दै छ ? त्यस्तो भएमा हामी बस चढेर घर फर्किनेछौँ । तर, मलाई आशा छ, त्यस्तो हुँदैन । यदि, खेल भएन भने हामीले तीन अंक पाउनुपर्छ,” लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, “त्यस्तो अवस्थामा हामीले केही गर्न सक्दैनौँ । समर्थकले खेल हुन दिएनन् भने यसअघिजस्तो पुनः खेल्न सकिँदैन । व्यस्त खेलतालिकामा त्यस्तो गर्नु उपयुक्त पनि हुँदैन । हामी खेलका लागि तयार छौँ र त्यस्तो अवस्था आएमा सधैँ अर्को टिमले अंक पाउनुपर्छ । किनकि, उनीहरूले त्यसका लागि तयारी गरेका हुन्छन् ।”
गएको सिजन प्रिमियर लिग इतिहासमै पहिलोपटक दर्शकको अवरोधका कारण खेलतालिका परिवर्तन गरिएको थियो । त्यो खेल कोभिड–१९ महामारीका कारण बन्द रंगशालामा खेलाइएको थियो । यद्यपि, हजारौँ समर्थक रंगशालाअगाडि भेला भएका थिए ।
खेल हुन नदिने योजनाबारे सोधिएको प्रश्नमा युनाइटेडका प्रशिक्षक इरिक टेन ह्यागले भने, “म यति मात्र भन्न सक्छु कि मालिकहरू जित्न चाहन्छन् । समर्थक र हामीले त्यसमा साथ दिने हो । यस क्लबमा आएको लामो समय भएको छैन । त्यसकारण यस विषयमा मलाई विस्तृतमा जानकारी पनि छैन । तर, हामी एकजुट हुनुपर्छ र मिलेर लड्नुपर्छ ।”
लिभरपुल र युनाइटेड दुवै जारी सिजन पहिलो जितको खोजीमा छन् । लिभरपुल पहिलो दुई खेल बराबरीमा रोकिएको छ , युनाइटेड लगातार दुई खेलमा पराजित भएको छ ।
चिर प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध खेल्दा युनाइटेडका प्रशिक्षक टेन ह्याग आफ्ना खेलाडीले जुझारु प्रदर्शन गरून् भन्ने चाहन्छन् । उनी भन्छन्, “आफ्नै शैलीमा खेल्नुपर्छ । एउटा टिमका रूपमा प्रदर्शन गर्नुपर्छ । नियम र सिद्धान्तलाई पछ्याउँदै कडाभन्दा कडा मिहिनेत गर्नुपर्छ । त्यसो भएमा मनोबल बढ्छ । हामीसँग योजना छ । खेल्ने आफ्नो शैली छ । तर, खेलमा भने फरक भइरहेको छ । पक्कैै पनि ब्रेन्टफोर्डसँग ४–० ले हार्दा धेरै कुरा बिग्रिएका छन् । तर, मनोवृत्ति नै सही थिएन भने धेरै कुरा भनिराख्नु आवश्यक छैन ।”