काठमाडौं । थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ह्युमन मिल्क बैंक सञ्चालनमा आएको छ । अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंकको उद्घाटन गरेकी छन् । मिल्क बैंकको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ह्युमन मिल्क बैंकले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल सरकार र युनिसेफको सहयोगमा सञ्चालनमा ल्याइएको मिल्क बैंकबाट मासिक एक हजार शिशु लाभान्वित हुनसक्ने अस्पतालले जनाएको छ । मिल्क बैंकमा आफ्नो शिशुलाई खुवाएर बढी भएको दूध आमाहरूले दान गर्न सक्नेछन् । यसरी दान गर्दा आमाहरूको विभिन्न स्वास्थ्य परीक्षण गरेपछि पम्पको माध्यमबाट दूध निकालिनेछ ।
तुरुन्तै दान गर्ने दूधलाई बोतलमा संकलन गरी फ्रिजमा राखिनेछ भने लामो समयसम्म राख्ने दूध माइनस २० डिग्री सेल्सियस तापक्रममा राखेर ६ महिनासम्म पनि प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । विभिन्न कारणले आमाको दूध खान नपाएका शिशुहरूलाई खुवाइनेछ । अमृत कोष नाम दिइएको मिल्क बैंक व्यवस्थापनका लागि १० जनाको टिम खटाइएको छ ।