काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसद्ले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताए ।
उनले चुनावी स्वार्थका लागि विदेशीहरूसँगको साँठगाँठमा गठबन्धन सरकारले हतारमा नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाए ।
सअघि एमाले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनको दाबी छ । संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरीत रहेकाले मान्य नहुने पोखरेलले बताए ।
अब नागरिकतासम्बन्धी कानुन निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थिरताको प्रमुख कारक बनेको पनि बताए ।