काठमाडौं । कुनै समय थियो, ‘गाईजात्रा’ भनेपछि मान्छे अडियो क्यासेट नै किन्न लालायित हुन्थे । भिडियो र प्रहसनको त कति क्रेज थियो होला ? समयको बहावसँगै परिवर्तनको चक्र पनि घुम्यो । अवस्था उल्टो भइदियो । अडियोको त्यो पर्खाइ इतिहास भयो । रंगमञ्चको पर्दा अगाडि पनि दर्शक झुम्मिन छोडे ।
यो कटुसत्य स्वीकार्न स्वयं हास्यकलाकार पनि तयार छन् । तर, कारण हे हो ? यसमा भने फरक–फरक मत छ । कोही स्वयं कलाकार नै कारक रहेको तर्क गर्छन् । कोही प्रविधिलाई दोष दिन्छन् । यद्यपि, एउटा कुरामा भने सबै सहमत छन्, ‘गाईजात्रा’ हुन छोड्यो । त्यसको क्रेज सोत्तर भयो ।
हास्यकलाकार मनोज गजुरेललाई गाईजात्रा व्यंग्य कार्यक्रममा पहिलाको रौनक अब रहेन भन्न हिचकिचाहट छैन । “गाईजात्रा भनेर मान्छे पर्खिएर बस्थे, त्यो क्रेज भने घटेको छ,” यसको कारण पनि छ उनीसँग, “प्रविधिको विकास र प्रयोग बढ्यो ।”
सामाजिक सञ्जालको प्रयोग बढ्नु र त्यसका प्रयोगकर्ताको संख्या उच्च हुनु गाईजात्रा कार्यक्रमको क्रेज घट्नुको मुख्य कारण भएको उनको ठम्याइ छ । युट्युब, फेसबुक, टिकटक, टेलिभिजनलगायत माध्यममा त्यससँग मिल्दाजुल्दा सामग्री छिनछिनमा आउने भएकाले यसको पर्खाइ घटेको मनोजको निष्कर्ष छ ।
डिजिटल प्रविधिले पनि गाईजात्रा कार्यक्रमको क्वालिटी खस्काएको उनी बताउँछन् । कोरोनाको समयमा डिजिटल गाईजात्रा गरिएको र त्यसले रंगमञ्चलाई बिर्र्साएको मनोज सुनाउँछन् । अहिले लाइभ प्रहसन गर्दा दर्शक आउँछन्/आउँदैनन् भन्ने शंका कलाकार मात्र होइन, आयोजक र स्पोन्सरलाई पनि हुने र त्यसले कलाकारलाई अल्छी बनाइरहेको उनको भनाइ छ ।
पर्वका रूपमा रहेको गाईजात्रा कार्यक्रम विस्तारै पातलियो । रंगमञ्चको पर्दा उघ्रिन छोड्यो । ठाउँको ठाउँ दर्शकको हाँसो, ताली र गाली सुनिन छोड्यो । र, यो ‘मिस’ गरिरहेका छन् हास्यकलाकार दीपकराज गिरी । उनलाई अहिले पनि ठूलो हलमा खचाखच दर्शकको अगाडि उभिएर गाईजात्रे प्रहसन गर्न मन छ । काँचको पर्दामा होस् वा सेतो पर्दामा, जतिसुकै दर्शकले हेरे तापनि दर्शकको अगाडि उभिएर प्रत्यक्ष दिएको प्रस्तुतिजस्तो उनलाई केही गरे पनि लाग्दैन । त्यसैले त दीपकलाई रंगमञ्चको भोक मेटिएकै छैन । यो तिर्खा समय मिले कुनै वर्ष मेटाउने उनमा रहर छ । देशभर प्रहसन गर्दैै हिँड्ने मन छ ।
एकनासले आफ्नै गतिमा घडीको सुई घुमिरहन्छ । तर, त्यही घडी आफ्नो हातमा बाँधेको मान्छे सधैँ एकनासको कहाँ हुँदो रहेछ र ! दीपक प्रश्न गर्छन्– तपाईं अहिले रेडियो नाटक सुन्नुहुन्छ ? जवाफ उनी आफैँसँग छ । भन्छन्, ‘सुन्नु हुन्न । तर, रेडियो नाटक त बजिरहेकै छ ।’
कुनै समय केको पालो कुनै समय केको । कुनै विधा कुनै समय लोकप्रियताको शिखर चड्छ, कुनै बेला ओर्लिन्छ । अहिले हरदिन युट्युब, टेलिभिजनलगायत सामाजिक सञ्जालमा विभिन्न सामग्री आउँछन् । त्यसमा दर्शक झुम्मिएको उनको ठम्याइ छ ।
केही वर्षयता दीपकसहित केही हास्यकलाकारको टोली चलचित्र निर्माणमा व्यस्त छ । उनीजस्तै अरू कलाकार पनि कोही ठूलो पर्दामा त कोहीलाई काँचको भ्याइनभ्याइ छ । त्यसैले गाईजात्रा कार्यक्रमप्रति दर्शकमा क्रेज घट्नु र कलाकार स्वयं अन्त्यै व्यस्त हुनु पनि त्यसप्रतिको रौनक घट्नुको अर्को कारण भएको दीपक बताउँछन् । एउटै कलाकार दिनमा सिफ्ट मिलाएर दुई–तीनतिर काम गरिरहेको उनी सुनाउँछन् ।
एकातिर व्यस्त कलाकार, अर्कातिर हरक्षण उपलब्ध हास्यसामग्री । त्यसैले गाईजात्रा नै पर्खिएर बस्ने समय रहेन । हातहातमा रहेको एन्ड्रोइड फोनमा मनोरञ्जनका सामग्री भेटिएपछि किन पर्खिनु दर्शकले गाईजात्रा ? दीपकको सारांश हो यो ।
“टेलिभिजनका सिरिजहरूमा कलाकारलाई भ्याइनभ्याइ छ । हप्तामा ७० वटाको हाराहारीमा सिरिज निर्माण भइरहेका छन्,” उनी भन्छन्, “कलाकार व्यावसायिक हुँदा पनि गाईजात्रातर्फ कम ध्यान दिएको हुनसक्छ । हामी आफैँ फिल्म बनाइरहेका छौँ । स्टेजमा गरिने प्रहसनबाट न्यून आय हुने भएकाले पनि यो अहिले पहिलो रोजाइमा नपरेको हुनसक्छ ।” दर्शकको बाक्लो उपस्थिति भए पनि लामो ‘प्रोसेस’ हुने भएकाले २५/३० जनालाई भाग लगाउँदा अपेक्षित र सन्तोषजनक पारिश्रमिक हात नपर्ने सत्यलाई भुल्न नसकिने दीपक बताउँछन् ।
हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तलगायत पहिलो जेनेरेसनले गाईजात्रा कार्यक्र गर्न छोड्यो । दीपक–जितुको दोस्रो पुस्ताले पनि पहिलो जेनेरेसनकै पाइला पछ्यायो । त्यसपछिको नयाँ पुस्ता पनि देखिएको छैन । एकाध हास्यकलाकार टेलिभिजनमा रेकर्डेड पफर्मेन्स देखाइरहेका छन् ।
हरेक दिन टेलिभिजन, फिल्म र सामाजिक सञ्जालमार्फत भए पनि दर्शकसँग जोडिने भएकाले गाईजात्रा कार्यक्रप्रतिको मोह कम हुँदै गएको हुन सक्ने दीपक अनुमान लगाउँछन् ।
एक दशक ‘तीते–जिरे गाईजात्रा’ गरेका जितु नेपाल विस्तारै गाईजात्रा नै मासिँदै गएको बताउँछन् । पछिल्लो समय गाईजात्रा कार्यक्रम गर्ने वातावरण नै नरहेको उनको अनुभव छ । नेतामै ‘गाईजात्रे क्रियाकलाप’ हुँदा खास गाईजात्रा कार्यक्रमको आवश्यकता नै नरहेको उनको व्यंग्य छ ।
“पहिला हामीले गाईजात्रा गर्दा नेताहरूलाई व्यंग्ग्य लाग्थ्यो । किनभने, नेताहरूका धेरै आन्तरिक कुरा बाहिर आएको हुँदैन थियो,” जितु भन्छन्, “अहिले नेताहरू नै एकार्काविरुद्ध तँछाड मछाड गरेर गालीगलौज र आलोचनामा उत्रिएका छन् । देखाउने र भन्ने कुरा नै गोप्य नरहेपछि कसरी चाखलाग्दो गाईजात्रा हुन्छ ?”
नेताहरू आपसी गालीगलौजमा उत्रिँदा व्यंग्य गर्नुको मजै बाँकी नरहने उनी सुनाउँछन् । “नेताहरू सिधासिधा एकले अर्कोलाई गाली गरिरहेका छन् भने हामीले घुमाएर व्यंग्य गर्दा त्यो कति प्रभावकारी हुन्छ भन्ने हो,” उनको प्रश्न छ, “व्यक्ति नांगो भएपछि देखाउने कुरा के नै बाँकी रहन्छ र ?” अब राजनीनिक विषय व्यंग्यका लागि त्यति धेरै उर्वर क्षेत्र नरहेको उनी बताउँछन् ।
नेताहरू संसद्मै खुलेआम ‘न्यायालयमा भ्रष्टाचार छ’ भन्दै हिँडेको स्मरण गर्दै उनी भन्छन्, “हामी अदालतको अवहेलना हुन्छ भनेर अदालतका विषय व्यंग्यका सामग्र्री बनाउन पनि डराउँथ्यौँ । अहिले नेता र सांसद नै फलानो न्यायाधीशले भ्रष्टाचार ग¥यो भन्दै हिँडेपछि देखाउन के नै बाँकी रह्यो र ?”
नेताले नेतालाई नै ‘चोर’ र ‘फटाहा’ भनेपछि यसमा थप व्यंग्य गर्नुको औचित्य र सान्दर्भिकता नरहेको जितुको ठहर छ ।
चासो र सरोकार राख्ने विषय सामाजिक सञ्जालमार्फत चौबीसै घण्टा हातहातमा रहेका मोबाइलमा उपलब्ध हुुनु पनि गाईजात्रा कार्यक्रमको क्रेज घट्नुको अर्को कारण भएको जितुको ठहर छ ।
अहिले ‘गाईजात्रा’ गर्नलाई ठूलो चुनौती रहेको जितु बताउँछन् । जिम्मेवारी लिएका संस्थाले तदारुकता नदेखाएकोप्रति उनको असन्तुष्टि छ । “सरकारी सेवा–सुविधा भोग गरेर बसेका जिम्मेवार संस्था नाचघर, प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी निकायलाई चासो छैन,” जितु सरोकारवाला निकायलाई झक्झक्याउँछन्, “हामी कलाकारलाई कसैले लौ गरौँ भन्दा हामी तयार पनि हुन्थ्यौँ होला । तर, हामी आफैँ अग्रसर भएर गर्न कठिन छ । हामी कलाकार आयोजक बन्नु कि, स्पोन्सर खोज्नु कि, दर्शक खोज्न हिँड्नु कि कन्टेन्ट बनाउन लाग्नु ?”
जितुको तर्कमा सहमत छन्, हास्यकलाकार अर्जुन घिमिरे (पाँडे) पनि । सम्बन्धित सरकारी निकायले चासो नदिनु र अग्रज कलाकारले वास्ता नगर्नु गाईजात्रामा प्रहसन नहुनुको मुख्य कारण भएको उनी बताउँछन् । नेपालीको पहिचान र गौरवका रूपमा रहेको गाईजात्रालाई अग्रज र अनुभवी कलाकारले निरन्तरता दिनुपर्ने तथा सरोकारवाला निकायले पनि आयोजना गर्नुपर्नेमा उनको जोड छ ।
संस्कृतिकै रूपमा रहेको आफ्नो संस्कारलाई बचाउनु कलाकारको पनि दायित्व भएको अर्जुन बताउँछन् । नाफा हुन्जेल गर्ने र नाफा घटेपछि बेवास्ता गर्नु नैतिक रूपमा पनि उचित नहुने उनको भनाइ छ ।
“प्रज्ञा प्रतिष्ठान, नाचघरजस्ता सरकारी निकायले पनि सहयोग गर्नुपर्छ । मिहिनेत गर्ने कलाकारले उठेको सबै पैसा हल भाडामा बुझाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ,” अर्जुन भन्छन्, “विज्ञापन एजेन्सीले गर्दा मात्रै हुने तर एजेन्सी सक्रिय नहुँदा कलाकारले पनि निच मार्नु हुँदैन ।”
संस्कृति रक्षा गर्दै विद्यमान विकृति र विसंगतिको अन्त्यका लागि कलाकार गोलबद्ध हुनुपर्ने र त्यसका लागि अग्रज तथा अनुभवी कलाकारले अग्रसरता लिनुपर्ने उनको धारणा छ ।
सिर्जनशील व्यक्तिका लागि व्यंग्य गर्ने सामग्रीको खाँचो नहुने भन्दै उनी अगाडि थप्छन्, “काम गर्न सक्ने सिर्जनशील व्यक्तिले हरेक कोणबाट सामग्रीबारे सोच्न र निर्माण गर्न सक्छ । हरेक दिन युट्युब वा टेलिभिजनमा कन्टेन्ट आउनु र रंगमञ्चमा बसेर दर्शकका अगाडि प्रहसन गर्नु फरक कुरा हो ।”
हरेक सो ‘सोल्डआउट’ भएको उनी स्मरण गर्छन् । नाफामुखी सोच र एजेन्सीको छत्रछायामा रमाउने परम्पराको अन्त्य भए गाईजात्रा कार्यक्रमलाई पुरानै लयमा फर्काउन सकिनेमा अर्जुन ढुक्क सुनिन्छन् ।