काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय छ । सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।
गएको शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न कार्यदल गठन गरिएको हो । भदौ पहिलो साता सिट बाँडफाँडको टुंगो लगाउने उनीहरूको निर्णय छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।