site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लडेको मान्छे फेरि उठ्छ
SkywellSkywell

काठमाडौं । यो वर्ष अपेक्षा गरिएका कलाकार तथा निर्देशकका चलचित्र नै अपेक्षित रूपमा चलेनन् । समीक्षा राम्रै पाए पनि कमर्सियल रूपमा चलचित्र सफल भएनन् । अपेक्षा गरिएका तर आशातित रूपमा नचलेका चलचित्र हुन्, ‘चिसो मान्छे’, ‘दोख’ र ‘पानीफोटो’ ।

आर्ट हाउस भनिने चलचित्र किन चलिरहेका छैनन् भन्ने कारण खोज्नुपर्ने समय आएको अभिनेता विपीन कार्की बताउँछन् । कर्मसभन्दा आर्टलाई प्राथमिकता दिएर बनाइएका चलचित्र लगातार अपेक्षित रूपमा नचलेपछि विपीन यसको कारण खोज्नुपर्नेमा जाेड दिन्छन् ।

“हामीले राम्रा भनिएका चलचित्र किन चलिरहेका छैनन्, मेकरले सोच्नुपर्ने समय आएको छ । गम्भीर सिनेमा हेर्ने ट्रेन्ड बसेको छैन भन्ने पनि लागेको छ,” विपीन भन्छन्, “हामीले आर्ट मुभी हेर्ने ट्रेन्ड विकास गरिसकेका छैनौँ कि भन्ने लागेको छ । पहिला आर्ट मुभी हेर्ने ट्रेन्ड सेट गरेर यस्ता चलचित्र बनाउने हो कि ?”

KFC Island Ad
NIC Asia

आर्ट र कमर्सको फ्युजन भएका चलचित्र बनाएर विस्तारै बानी पार्दै आर्ट हाउस मुभी बनाउनुपर्नेमा उनको जोड छ । दर्शकले नबुझेर पनि राम्रा चलचित्र नचलिरहेको हुन सक्ने उनको आशंका छ ।

यद्यपि, आर्ट हाउस मुभीको निर्माणमा उल्लेख्य रूपमा कमी नआउने उनको विश्वास छ । योङ जेनेरेसन र फेस्टिभलका लागि मात्र लक्षित गरेर चलचित्र बनाउने मेकर पनि रहेको उनको भनाइ छ । कतिपय मेकर ‘म नेपाली चलचित्र बनाउँछु, तर नेपालमा रिलिज गर्दिनँ’ भन्ने पनि रहेको उनी स्मरण गराउँछन् ।

Royal Enfield Island Ad

कुनै दिन मूल्यांकन होला !
चलचित्र ‘पानीफोटो’ आर्थिक रूपमा मात्र अपेक्षित सफल नभएकाले यसबाट आफू विचलित नभएको निर्देशक, लेखक तथा कलाकार खगेन्द्र लामिछाने बताउँछन् । दर्शकले चलचित्र मन नपराएको र कमर्सियल रूपमा पनि असफल भएको भए त्यसको केही असर पर्थ्यो होला भन्दै खगेन्द्र भन्छन्, “मैले पशुपतिप्रसादबाट भन्दा धेरै प्रतिक्रिया यो चलचित्रबाट पाएँ, त्यसैले म निराश छैन । मनले चाहेको काम गरेको हुँ । आफूले जसरी भन्न खोजेको थिएँ, त्यसरी नै भन्न सकेँ, यो नै ठूलो कुरा हो ।”

संसारभर नै आर्टिस्टिक मुभी कम चल्ने गरेको भन्दै खगेन्द्र आर्थिक रूपमा मात्र कम व्यापार भएको सुनाउँछन् । यसलाई अपेक्षित नभए पनि आफूले धेरै अस्वाभाविक रूपमा नलिएको उनले बताए ।

“अहिले पनि फिल्म युनिभर्सिटीमा पढाइ हुने धेरै सिनेमा कमर्सियल रूपमा सक्सेस नभएका नै हुन्छन् । यसको अर्थ हलमा नचल्दैमा वा अपेक्षा गरेजस्तो व्यापार नहुँदैमा निराश भइहाल्नु पर्दैन,” खगेन्द्र भन्छन्, “सिनेमाको मूल्यांकन चलेकै समयमा हुन्छ भन्ने हुँदैन । सिनेमा कलेजमा पढाइने सिनेमा वर्षौँपछि मूल्यांकन भएर पढाइ भइरहेको हुन्छ । मेरो र मैले बनाएजस्ता सिनेमाको मूल्यांकन दुई अथवा पाँच वर्षपछि हुनसक्छ ।” 

आर्टिस्टिक र कमर्सियल दुवै प्रकारका चलचित्र सँगसँगै बनाउँदै जानुपर्ने अवस्था आएको खगेन्द्रको निष्कर्ष छ । कमर्सियल रूपमा सफल भएर यो क्षेत्रमा टिकिरहन कमर्सियल र आर्टिस्टिक भ्यालु बोेकेका चलचित्र समाजका कथा भन्न एकैसाथ बनाउँदै जानुपर्ने अवस्था आएको उनको भनाइ छ ।

समाज बुझाइको एउटा चरणमा पुगेपछि आर्ट हाउस मुभीको उच्च मूल्यांकन र बजार हुने खगेन्द्रको बुझाइ छ । युरोपमा अहिले कमर्सियल मुभी नगन्य संख्यामा बन्ने गरेको उदारण दिँदै उनी नेपाली समाज त्यो स्तरमा पुगी नसक्दाको परिणाम भएको जिकिर गर्छन् ।

अपेक्षा गरिएका सिनेमा किन चलिरहेका छैनन् ?
राजनीति र माओवादीको विषय तथा कोरोनाको ‘ट्रमा’का कारण अपेक्षा गरिएका चलचित्र सोचेजस्तो नचलेको हुन सक्ने खगेन्द्रको अनुमान छ । कोभिड–१९ को ट्रमाबाट अझै दर्शक चाहेर पनि निस्किन नसकिरहेको उनी बताउँछन् ।

“सिनेमा हलमा अहिले पनि हँसाउने चलचित्रमै दर्शक आकर्षित भएको देखिएको छ । यसका पछाडि हामी अझै पनि सुषुप्त रूपमा कोभिडको ट्रमामा छौँ जस्तो लाग्छ । देखिने र अनुभूत हुने गरी नरहे पनि म पनि कतै न कतै कोभिडको ट्रममा छु कि जस्तो लाग्छ,” उनी भन्छन्, “त्यसैले दर्शक हलमा हाँस्न नै जाने हो भन्ने मनस्थितिमा हुनुहुन्छ कि जस्तो लाग्यो ।”

खगेन्द्रले खुट्ट्याएको अर्को कारण हो, राजनीतिक विषय । नेपाली युवामा राजनीतिप्रति वितृष्णा छ । त्यही कारण राजनीतिक विषयको सिनेमा नहेरौँ भन्ने मानसिकतामा दर्शक रहेको हुन सक्ने उनी बताउँछन् ।

“तेस्रो कारण, माओवादीको विषय भन्नेबित्तिकै दर्शकको हेर्ने दृष्टिकोण नै फरक हुने गरेको मैले पाएँ । माओवादी भन्नेबित्तिकै नामै सुन्न नचाहने मैले पाएँ,” खगेन्द्र भन्छन्, “माओवादी भन्नेबित्तिकै उसको सपोर्टमा चलचित्र छ भन्ने मनोगत धारणा बनाउने गरेको पाइयो । मैले लेखेको टलकजंग भर्सेस टुल्के होस् वा यही पानीफोटो, मैले माओवादीको न विरोध गरेको छु न त सपोर्ट नै । मैले त विषय उठान गरेको हुँ ।”

राजनीति र माओवादीप्रति आमनागरिक रुष्ट हुँदा त्यसको परोक्ष असर सिनेमामा पनि परेको खगेन्द्रको निष्कर्ष छ ।

निर्देशक दीपेन्द्र के खनाल गम्भीर सिनेमामा दर्शकको चासो नदेखिएको स्वीकार गर्छन् । खगेन्द्रको तर्कमा सहमत उनी लामो समय कोरोनाको त्रासमा बसेका दर्शक त्यसको ट्रमाबाट अझै मुक्त भइनसकेको बताउँछन् । त्यसैले दर्शक हलमा दुई घण्टा भए पनि हाँस्न र रमाउने उद्देश्यले नै जाने गरेको पाइएको उनको भनाइ छ ।

चलचित्रको ग्रोथ रोकिने भयो
मिहिनेत गरेर बनाइएका चलचित्रको व्यापार कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव मेकिङमा पर्ने दीपेन्द्र बताउँछन् । आफू नै अब गम्भीर सिनेमा बनाउने वा नबनाउने भन्ने सोच्न बाध्य भएको उनको भनाइ छ । उनी अगाडि थप्छन्, “म हरेक सिनेमामा प्रयोग गर्दैै आएको मान्छे त अब सिरियस सिनेमा गर्ने कि नगर्ने भन्ने सोचमा छु । जबसम्म मेकर आर्थिक रूपमा सुरक्षित र सवल हुँदैन, तबसम्म उसले प्रयोग गर्न सक्तैन ।”

मिहिनेत गरेर बनाएको ‘चिसो मान्छे’ले अपेक्षित व्यापार नगरेपछि दीपेन्द्र अहिले ‘लाइट’ विषय उठाउँदै ‘चंगाचेट–२’ निर्देशनको तयारीमा छन् । यो नाम उनले चलचित्र विकास बोर्ड पुगेर दर्ता गराइसकेका छन् ।

“दर्शकजस्तो चलचित्र हेर्न चाहनुहुन्छ, त्यस्तै चलचित्र बनाउनुको विकल्प अब हामीसँगै रहेन,” उनी भन्छन्, “त्यसैले अब लाइट विषयमा चंगाचेट बनाउँदै छ ।”

एस्थेटिक भ्यालु भएका चलचित्रका लागि ०७९ निकै महत्त्वपूर्ण वर्ष भएको उनले बताए । तर, यस्तै चलचित्र हेर्न हलसम्म दर्शक नजाँदा आउँदा दिनमा यसको असर समग्र चलचित्रको ग्रोथमा देखापर्ने उनको धारणा छ । सिरियस सिनेमा हेर्न दर्शक हलसम्म नजाँदा त्यस्ता चलचित्रको निर्माण कम हुने र त्यसले नेपाली चलचित्र क्षेत्रको गुणस्तरीय विकास नै रोकिने उनको आकलन छ ।

“चलचित्र भनेको दृश्य भाषा हो । चलचित्रले कथा भन्नुपर्छ । चलचित्र आफ्नै विषय, भाषा र प्रस्तुतिको हुनुपर्छ भनेकाले नै हामीले एस्थेटिक भ्यालु भएका चलचित्र बनाएका हौँ,” दीपेन्द्र भन्छन्, “हामीले बनाएका चलचित्र नराम्रा नै भएर नचलेको भए हामीले बनाउन जानेनौँ वा सकेनौँ भन्ने हुन्थ्यो । हेरेका दर्शकले राम्रो भन्ने, समीक्षा पनि राम्रो आउने तर हलसम्म दर्शक नजाने भनेको फिल्म लिट्रेसी नै कम छ भनेर बुझ्नुपर्छ ।” 

अभिनेता विपीन कार्की समीक्षात्मक आँखाले हेर्ने र मूल्यांकन गर्न सक्ने दर्शकका लागि मात्र लक्षित गरेर चलचित्र बनाउनुभन्दा पनि सबैले सहजै बुझ्ने चलचित्र अहिलेको आवश्यकताजस्तो देखिएको बताउँछन् । आमदर्शकलाई लक्षित गरेर उनीहरू इंगेज हुने गरी आर्ट र कर्मसको फ्युजन गर्न सके सफल भइने उनको विश्वास छ ।

साउथ नै सही !
पछिल्लो समय नेपाली मात्र होइन, बलिउड सिनेमाको पनि करिब उस्तै अवस्था छ । बलिउड सुपरस्टारका सिनेमामा पनि दर्शकको मोह छैन । साउथका चलचित्रमा भने दर्शकको ओइरो छ ।

यसको सन्देश दर्शक लाइट विषयमा मनोरञ्जन गरिरहेका छन् भन्ने रहेको दीपेन्द्रको बुझाइ छ । सामान्य विषयमा बनाइएका चटपटे चलचित्र नै दर्शकले रुचाइरहेको भन्दै अब मेकर पनि त्यसैतर्फ ढक्लकिनुपर्ने समयले माग गरिरहेको उनी बताउँछन् ।

‘आरआरआर’, ‘पुष्पा’, ‘केजीएफ–२’ जस्ता चलचित्रमा दर्शक देखिनु तर सिरियस सिनेमामा चासो नदेखाउनुले मेकरहरू विचलित अवस्थामा पुगेको दीपेन्द्रको अनुभव छ ।

गम्भीर सिनेमामा किन गर्ने लगानी ?
सिनेमामा लगानी मात्र गर्ने निर्माताले अब तत्काल गम्भीर सिनेमामा लगानी नगर्ने उनको ठहर छ । जसले चलचित्रलाई आर्टको बिजनेस हो भनेर आउने गरेको छ, ऊ अब आर्टिस्टिक सिनेमामा लगानी गर्न हच्किने दीपेन्द्र बताउँछन् ।

“हामी निर्देशक र निर्माताले आर्टिस्टिक सिनेमाको महत्त्व बुझेर रिस्क लिएर केही लगानी गर्नु बेग्लै कुरा हो । तर, जो बिजनेस मात्रै सम्झिएर लगानी गर्दै आएका छन्, अब उनीहरू किन आउने ? आउनुपर्ने कारण छैन ।” नेपाली सिनेमाको बजार र रिटर्न्सबारे अध्ययन गरेर आउने लगानीकर्ता आर्टिस्टिक सिनेमामा पैसा लगाउन हच्किने उनको भनाइ छ । 

लगातार राम्रो समीक्षा पाउने तर व्यापारिक रूपमा चलचित्र सफल नहुँदा त्यसको सिधा असर मेकरमा देखिने अभिनेता विपीन बताउँछन् । “समीक्षा राम्रो पाए पनि व्यापारिक रूपमा चलचित्र राम्रोसँग चलेन भने त्यसको असर स्वाभाविक रूपमा निर्माता र निर्देशकमा पर्छ,” विपीन अगाडि थप्छन्, “आफूले बनाउन खोजेजस्तो चलचित्रको व्यापार बजारमा छैन भने यस्तो चलचित्रमा लगानी गर्न निर्माता झस्किन्छ ।”

खगेन्द्र निर्माताहरू आकर्षित नभए पनि सानो बजेटमा सानो टिम बनाएर आर्टिस्टिक चलचित्र निर्माण गर्नुपर्ने धारणा राख्छन् । मन र विचार मिल्नेहरूको समूह बनाएर नेपााली चलचित्रको ग्रोथका लागि पनि सिनेमामार्फत कथा भन्न छोड्न नहुने उनी बताउँछन् ।

लडेको मान्छे उठ्छ 
चलचित्र निर्माता महेन्द्र अधिकारी भने लडेको मान्छे उठेर पुनः हिँड्ने सत्यलाई भुल्न नहुने बताउँछन् । एउटा तहमा पुगेर कथा भनिएकाले यसलाई ‘फेलियर’भन्दा पनि ‘अटेम्पप्ट’का रूपमा बुझ्नुपर्नेमा उनको जोड छ ।

“हामी जुन चलचित्रका बारेमा कुरा गरिरहेका छौँ, यी चलचित्र एउटा लेवलका छन् । यी चलचित्र फेलियर भएर नचलेका होइन । सुन्दर प्रयास भएकाले हतोत्साही हुनुपर्ने कारण छैन,” महेन्द्र प्रस्ट पार्छन्, “दुई÷तीनवटा चलचित्र सोचेअनुसार चलेनन् भन्दैमा आत्तिनु पर्दैन । कहिलेकाहीँ काम राम्रो हुँदाहुँदै पनि विभिन्न कारण त्यसको सही मूल्यांकन हुँदैन, चाहे त्यो चलचित्रका हकमा होस् वा अन्य कुनै पनि काम गर्दा होस् ।”

छोटो समयको अन्तरालमै करिब एकै–एकै प्रकृतिका चलचित्र आउनु पनि कमजोरी भएको उनको निष्कर्ष छ । ‘चिसो मान्छे’, ‘दोख’ र ‘पानीफोटो’ छोटो समयको अन्तरालमै रिलिज हुनु पनि अपेक्षाकृत हलमा नचल्नुको मुख्य कारण हुन सक्ने उनी बताउँछन् । लगातार सिनेमा हेर्न जाने संस्कृति नरहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ । आमदर्शक छोटो अन्तरालमै चलचित्र हेर्न जाने अवस्था नरहेको यथार्थ भुल्नु पनि गल्ती भएको हुन सक्ने उनको ठहर छ ।

“लडेको मकैको बिरुवा जसरी जरा हालेर जस्तै हुरी र पानीमा पनि नलड्ने गरी उठ्छ, त्यसैगरी अहिलेको पाठ र सिकाइबाट सिकेर हामी उठ्नुपर्छ,” चलचित्र ‘प्रकाश’का निर्माता समेत रहेका महेन्द्र भन्छन्, “चलचित्रमा लगानीको अभाव हुन्छ भन्ने मलाई लाग्दैन । इमानदार टिमले कन्भिन्स गरेको खण्डमा निर्माता भेटिन्छ । तर, इमानदार मेकर चाहिन्छ । राम्रो काम गर्ने टिम चाहिन्छ ।”

चलचित्र राम्रो बनाएर मात्र नहुने भन्दै उनी त्यसको उचित प्रचार पनि हुनुपर्नेमा जोड दिन्छन् । नेपालमा धेरै प्रोडक्सन हाउसले प्रचारमा अझै पनि उचित ध्यान दिन नसकेको र नयाँ–नयाँ तौरतरिका र डिजाइन गर्न नसकेको महेन्द्रको बुझाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro