पोखरा । गण्डकीको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको उमेर कति ? यो प्रश्नको जवाफ स्वयं पोखरेलले दिँदैनन् । प्रदेश सभा सचिवालयका अन्य कर्मचारीहरूलाई पनि जानकारी नदिन उर्दी छ ।
कारण उनै पोखरेल ६० वर्ष पुग्दैछन् । र, उमेरहद लाग्ने हुँदा उनले पाँचवर्षे कार्यकालभरि नियुक्ति खाइरहन ऐनले दिँदैन । त्यसकारण केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकमार्फत उक्त उमेरहदलाई सच्याउन लागिएको छ ।
२०७५ साल असार ११ गते तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री हरिबहादुर चुमानले प्रदेश सभा सचिवालय ऐन, २०७५ लाई प्रदेशसभा बैठकमा पेस गरेका थिए । तत्कालीन नेकपा सरकारले ल्याएको यो विधेयक पारित हुन दुई वर्षभन्दा बढी समय कुर्नुपर्यो । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभाको व्यवस्थापनका विषयमा विरोध जनाउँदै आएको थियो ।
तर, २०७७ साल साउन ४ गतेको प्रदेश सभा बैठकले यो विधेयक पारित गर्यो ।
प्रदेश सभा नियमावलीको नियम १२६ अनुसार प्रदेश प्रमुख समक्ष पेस भएको मितिले १५ दिनभित्र यो विधेयक पारित गर्नुपर्ने थियो । यो विधेयक एक महिनापछि अर्थात् भदौ ८ गतेमात्रै प्रमाणीकरण भयो ।
यही ऐनले प्रदेशसभाको सचिव नियुक्तिको बाटो खुलाएको थियो । प्रदेशका प्रमुख सचिव पछिको दोस्रो वरीयतामा रहने प्रदेश सभाका सचिवको नियुक्ति राजनीतिक हुन्छ ।
सचिवको योग्यताको विषय ऐनको दफा ८ ले गरेको छ ।
उक्त दफामा नेपाली नागरिकदेखि लिएर, स्नातकोत्तर सहित १० वर्षको अनुभव, राजनीतिक दलको सदस्य नरहेको, विदेशी राष्ट्रको स्थायी अनुमतिपत्रका लागि आवेदन नदिएको वा नलिएको हुनुपर्ने व्यवस्था छ ।
सोही दफाको (ज) मा सचिवको उमेरहदको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, “पैँतालिस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर पूरा नभएको हुनुपर्छ ।”
दफा १० मा सचिवको पद रिक्त हुने अवस्था छ । त्यसको ‘ग’ मा पनि साठी वर्ष उमेर पुरा भएमा पद रिक्त हुने उल्लेख गरिएको छ ।
सचिवको पद रिक्त हुने अवस्थाको बारेमा ‘ग’ मा उल्लेख गरिएको छ, “निजको उमेर साठी वर्ष पूरा भएमा ।”
यो ऐन संशोधन गर्न खोज्नुको मुख्य कारण यही उमेरहद हो ।
केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको ऐनको ३० नम्बरमा रहेको यो ऐनमा जम्मा तीनवटा संशोधनको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । त्यसमध्ये दुईवटा भाषिक संशोधन हुन् । मुख्य चाहिँ उमेरहद बढाउने नै हो ।
उमेरहद बढाउनका लागि संसद्का वर्तमान सचिव पोखरेलको वास्तविक उमेर कति हो ? २०७७ साल भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरी २२ गते सभामुखसँग आफ्नो पदको शपथ लिएका पोखरेलको कार्यकाल कहिलेसम्म छ त ?
शपथ लिएकै दिन पत्रकारले उनको उमेर सोध्दा उनले, “मेरो उमेर त यो पहिलो कार्यकाल भ्याउँछ, उमेर भन्नुभन्दा पनि । म मेरो कार्यकाल भ्याउँछु, कानुनले पाँच वर्ष भन्छ, बिचमा के हुन्छ थाहा छैन,” भनेका थिए ।
तर, स्रोतका अनुसार उनको कार्यकाल अब केही महिनामात्र बाँकी छ । त्यसकारण ऐन संशोधनको चर्को लबिङमा उनी लागेका छन । उनको फेसबुकलाई आधार मान्ने हो भने २०७९ असोज २७ गते उनी ६० वर्ष पुग्नेछन् । तर, यसको पुष्टि भने पोखरेलले गरेनन् । संसद् सचिवालयले उनको उमेरबारे जानकारी दिन मानेन ।
उमेरहदकै कारण पदरिक्त हुने भएपछि मन्त्री रिझ्याउनेदेखि सभामुखसम्म निकटतालाई उनले प्रयोग गर्न खोजेका छन् । सभामुखमार्फत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि 'अरू प्रदेशमा भएको व्यवस्था' भन्दै ऐन संशोधन गर्नुपर्ने सन्देश पठाएका छन् ।
तर, यसमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने मानेको छैन ।
पोखरेललाई नै उनको उमेरबारे प्रश्न गर्दा उनले आफ्नो जन्म मिति भनेनन् । बरु चैतसम्म कार्यकाल रहेको भन्ने जवाफ दिए ।
“मेरो पदावधि भनेको सभामुखमा भर पर्छ । सभामुखले गर्ने हो । मेरो अहिल्यै सकिँदैन,” उनले भने । उनले आगामी चैतसम्म आफ्नो समय रहेको दाबी गरेका छन् ।
२०७७ भदौ २२ गते शपथ लिएर जिम्मेवारी सम्हालेका पोखरेलको कार्यकाल उमेर हद नलागे २०८२ भदौ २१ गतेसम्म रहन्छ ।
पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका पोखरेलले प्रदेशसभामा नेकपाको बहुमत रहेका बेला प्रदेश सभाको सचिवको जिम्मेवारी पाएका हुन् ।
लामो समयदेखि पोखरामा रहेर वकालत गर्दै आएका पोखरेलले छोरेपाटन उच्च माविमा कक्षा ११ र १२ लाई पनि पढाउँदै आएका थिए । उनी सभामुख नेत्रनाथ अधिकारी, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलगायत माओवादी नेताहरूसँग निकट छन् ।
सभामुख अधिकारीले भने अरू प्रदेशमा पनि कार्यकाल ६५ वर्षसम्म रहेको हुँदा समानता कायम गर्नका लागि ऐन संशोधन गर्न लागिएको जानकारी दिए ।