काठमाडौं । नेइमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति नान्टेसलाई ४–० ले हराउँदै फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।
पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई गएको सिजनको अन्त्यमा क्रिस्टोफर गाल्टियरले प्रतिस्थापन गरेका थिए । गाल्टियरको प्रशिक्षणमा पीएसजीले इजरायलको टेल अबिबमा सहज जित निकाल्न सफल भयो । नेइमार आफैँले दुई गोल गरे भने लियोन मेसीको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए ।
मेसीले गरेको गोलबाट पीएसजीले २२औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेइमारले फ्रीकिकमा पीएसजीको अग्रता दोब्बर बनाए । ५७औँ मिनेटमा सर्जियो रामोसले तेस्रो गोल थपे । खेल सकिन आठ मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा अर्के गोल थपे ।
त्यसअघि, जेन–चार्लेस कास्टेलेट्टोले रातो कार्डको सामना गरेपछि नान्टेस १० खेलाडीमा सीमित बनेको थियो ।
फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले पछिल्ला १० मध्ये नौ फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।