site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम गीत’को अफर त्यागेका प्रदीप अष्ट्रेलिया उड्ने तयारीमा थिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक दिन कक्षामा चुलबुले, चटपटे र चकचके केटाको खोजी भयो । सबैको आँखामा उनै परे प्रदीप (खड्का) । नपरून् पनि किन, निर्विकल्प उनै थिए । कहिलेकाहीँ चकचके नै सही, अवसर उनकै पोल्टामा पर्‍यो ।

नेपालवान टेलिभिजनबाट ‘भुराभुरीको हल्लाखल्ला’ भन्ने कार्यक्रम दैनिक प्रसारण हुन्थ्यो । त्यसमा बुधबारको शृंखलाको नाम नै ‘चकचके’ । सडक–सडकमा गएर मान्छेलाई उल्लु बनाउँदै ‘प्रयाङ्क’ गर्नुपर्थ्यो । काम सुहाउँदो मान्छे छनोट गरिएको थियो । प्रदीप पनि सडकमा गएर मान्छेलाई उल्लु बनाउँदै हिँड्थे । चुलबुले स्वभाव, त्यसमै मजा थियो उनलाई ।

नेपालवान केबल टेलिभिजन थियो । जसको घरमा केबल छ, त्यहाँ मात्र आउँथ्यो । त्यसैले कार्यक्रमको फिडब्याक प्रदीपले पाएका थिएनन् । आफैँले समेत हेर्न नपाएको कार्यक्रमको के फिडब्याक !

Prabhu Bank
Agni Group
NIC Asia

मात्र उनले अनुभूत गर्थे, ‘म स्कुल बंक गरिरहेको छु ।’ उट्पट्याङ भएर सोच्दा– एक दिन भए पनि पढ्नु परेन, क्या मजा ! गम्भीर भएर सोच्नेलाई– पढाइ छुटिरहेको छ, क्या बोर !

टीभीमा देखिने केटो 
एक दिन आफन्तको विवाहमा गएका प्रदीपलाई आफ्नै उमेर समूहका केटाहरूले भने, ‘यो त टीभीमा देखिने केटो होइन र !’

Global Ime bank

प्रदीपले अप्ठ्यारो मान्दै छड्के आँखाले हेर्दा देखिरहेका थिए, केटोकेटहरूले उनलाई हेरिरहेका थिए । 

“मलाई पहिलोपटक कसैले अटेन्सन दिँदा, आफूलाई चिन्दा कस्तो फिल हुँदो रहेछ भनेर थाहा पाउँदा रोमाञ्चक फिल भयो,” दुई दशक अगाडि फर्किँदै प्रदीप सुनाउँछन्, “सार्वजनिक रूपमा मान्छेले चिन्दा कस्तो हुँदो रहेछ भनेर मैले पहिलोपटक त्यो दिन फिल गरेँ । अनि, मलाई लाग्यो– मान्छेले चिन्नुपर्दो रहेछ । चिनिने मान्छे हुनुपर्दो रहेछ ।” 

विडम्बना ! एक वर्षपछि कार्यक्रम बन्द भयो । उनको टेलिभिजनयात्रा रोकियो । चकचके भए पनि पढाइ कमजोर थिएन । तीक्ष्ण दिमागका प्रदीप कक्षामा फर्स्ट हुन्थे ।

इख नै सही 
एसएलसी सकियो । अब के पढ्ने ? गाइड गर्ने कोही थिएन । डिस्टिङसन आए साइन्स, फर्स्ट डिभिजन आए कमर्स भन्ने ट्रेन्ड थियो । डिस्टिङसन त प्रदीपको आयो, तर उनले सोचे– साइन्स पढ्यो भने डक्टर, इन्जिनियर हुने हो । १०–४ को जागिर त मलाई गर्नै मन छैन ।

व्यवस्थापकीय काममा प्रदीपको चाख थियो । त्यसैले उनले एकल निर्णय गरे, कमर्स पढ्ने । भर्ना भए । लक्ष्य प्रस्टै थियो, म्यानेजर । 

आफ्नै साथीले एक दिन भन्यो, ‘चोरेर डिस्टिङसन ल्याएको रै’छस्, त्यही भएर कमर्स पढ्न थालिस् । सक्ने भए त साइन्स नै पढिहाल्थिस् नि !’

प्रदीपको म्यानेजर हुने रहर उसलाई के थाहा । तर, उसले जसरी भन्यो, त्यसले प्रदीपको मुटु घोच्यो । ‘यसलाई देखाउन भए पनि साइन्स पढ्छु ।’

पाटन क्याम्पसमा भर्ना भए । बिहान प्रसादी एकेडेमीमा कमर्स पढ्ने उनी दिउँसो पाटन क्याम्पसमा साइन्स पढ्न थाले । यो बारे घरमा थाहै दिएनन् । कारण, घरले दुईतिर पढ्न नदिन पनि सक्थ्यो । तर, उनमा जसरी पनि त्यो साथीलाई साइन्स पढेको सर्टिफिकेट देखाउने इख जागेको थियो ।

प्लस टुपछि अधिकांश साथी सीए पढ्न गए । प्रदीपलाई लाग्यो– यो डक्टर, इन्जिनियरभन्दा के फरक छ ? उही १०–४ को जागिर त हो अडिट फर्ममा । मलाई त म्यानेजरियल कन्ट्रोलर बन्नु छ, सीए पढेर हुँदैन ।

त्यसपछि उनले पढ्न थाले बीबीए । अथोरटी पोजिसनमा बस्ने चाहले उनले साइन्स र सीए छोडे ।

पहिचानको भोक
‘चकचके’ले पहिचान र चिनारीको भोक जगाइदिएको थियो । मान्छेले चिन्नुपर्छ भन्ने लोभले पहाड नाघेको थियो । कसरी चिन्छन् मान्छेले ? उनले बुझेको त उही टीभी एंकर हो । टीभी एंकर भए घरघरमा हेरिन्छ, मान्छेले चिन्छन् । घरघरका कोठामा पुग्न प्रदीप धाउन थाले टेलिभिजन स्टेसन । चिनेको त्यही नेपालवान टेलिभिजन थियो । निकेश खड्का, पुष्पा जोशी, सुरज शाहलाई चिनेका थिए । प्रदीपले प्रस्ताव गरे– टेलिभिजन होस्ट बन्नुपर्‍यो ।

उनीहरूले अडिसन लिए, ‘टेलिभिजन कार्यक्रम चलाएर देखाऊ त ।’ टेलिभिजन होस्ट हुने मन पो हो त, तयारी गरेको भए पो आउनु । जानेनन् ।

‘तिमी कार्यक्रम चलाउन सिक्दै गर । त्यतिन्जेलसम्म मार्केटिङमा काम गर । स्पोन्सर पनि खोज्दै गर ।’ 

मान्नैपर्‍यो ! एंकर बन्न गएका प्रदीप मार्केटिङमा पुगे ।

नेपाल टेलिभिजनमा दिनेश डिसी ‘खोजी प्रतिभाको’ कार्यक्रम चलाउँथे । त्यसमा पनि प्रदीप काम त गर्थे, तर प्रोगाम म्यानेजरको । जहाँ जाऊन्, जोसँग ठोक्किऊन् उनलाई होस्ट कसैले बनाएन । होस्ट बन्न त पाएनन्, तर प्रोगाम प्रोडक्सन कसरी हुन्छ, त्यो भने उनलाई आइडिया भयो । 

अब होस्ट बन्न सक्तिनँ 
विस्तारै उनलाई लाग्न थाल्यो– म होस्ट बन्न सक्तिनँ । त्यसैले बोल्नु नपर्ने काम गर्नुपर्छ । 

‘कार्यक्रम होस्ट गर्न नसके पनि ती कार्यक्रममा बज्ने गीतमा मोडलिङ गर्छु । त्यहीँबाट मलाई सबैले चिनिहाल्छन्,’ उनले सोचे ।

दुईवटा म्युजिक भिडियो पनि खेले । तर, त्यसले सन्तुष्टि दिएन । एकातिर खोजेको सन्तुष्टि मिलेन, अर्कोतिर लिप्सिङ र फेसियल एक्सप्रेसन दिन पनि कहाँ सहज रहेछ र ! दिन बित्दै थिए । नयाँनयाँ कामको अनुभव थपिँदै थियो । तर, होस्ट बन्ने रहर पूरा हुनै सकेन ।

त्यसपछि उनको बाटो मोडियो र्‍याम्प वकतर्फ । सोचेका थिए– अरूले तयार पारिदिएको लुगा पहिरिएर हिँडिदिने न हो । 

५' ६" को हाइट लिएर र्‍याम्पमा वाक ? ढोकै खुलेन प्रदीपका लागि ।

कपाल पाले हिरो बनाइदिने अफर 
प्रदीपको भेट भयो, ब्याकग्राउन्ड स्कोरर एलिस कार्कीसँग । एलिसकैमा भेट भएका एक चलचित्र निर्देशकले उनलाई अफर गरे, चलचित्रको हिरो । तर, त्यसका लागि प्रदीपले कपाल पाल्नुपर्ने थियो । हिरो हुन पाए कपाल पाल्नु कुन ठूलो कुरा ! सुरु गरे पाल्न । 

“मलाई त्योभन्दा पहिला हिरो बन्नुपर्छ भन्ने थिएन । मात्रै टेलिभिजन स्क्रिनमा देखिनुपर्छ भन्ने थियो । हिरो बन्ने सोच उहाँले मेरो दिमागमा भरिदिनुभएको हो,” प्रदीपले पुराना दिन सम्झिए, “त्यो बेला मेरो दिमागमा जन्मिँदै हिरो भएर जन्मिने हो भन्ने थियो । लुक्स, हाइट, वेट राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीको जस्तो हुनुपर्छ भन्ने थियो । मजस्तो फुच्चे हिरो हुनसक्छ भन्ने त मैले कल्पना पनि गरेको थिइनँ ।”

कपाल पाल्ने मात्र होइन, प्रदीप ती निर्देशकको पछि पनि लाग्न थाले । दिनहुँ सँगै हुन्थे प्रदीप । उनको सुटिङ सेट जहाँ हुन्थ्यो प्रदीप त्यहीँ हुन्थे । “मसँग बाइक थियो । त्यो दाइलाई पछाडि राखेर म एक वर्ष सँगै हिँडे ।” 

वर्ष बित्यो । कपाल पनि लामो भयो । आफ्नो बाइकको पछाडि बस्दाबस्दै उनले दुईवटा सिनेमा बनाए । तर, प्रदीप हेरेको हेर्‍यै ! बल्ल थाहा पाए– उसले त ढाँटेको पो रहेछ ।

हिरो त ती निर्देशकले प्रदीपलाई बनाएनन्, तर उनले काम गरेको देखे । सिनेमा मेकिङको काम कसरी हुँदो रहेछ, थाहा पाए । कसरी हुन्छ सिनेमाको काम ? ‘टेलिभिजन कार्यक्रम आधा घण्टाको हुन्छ, सिनेमा दुई घण्टाको । फरक यति मात्रै रहेछ,’ प्रदीपले अनुभूत गरेका थिए । 

इखले जन्माएको स्केप 
इख बोक्ने प्रदीपको स्वभाव नै हो । उनले निर्णय गरे– तिमीले मलाई हिरो नबनाएर के भयो त, म आफैँ सिनेमा बनाएर हिरो बनेर तिमीलाई देखाउँछु ।

त्यसपछि उनले दर्ता गरे, ‘प्रदीप मिडिया ।’ २१ वर्षीय प्रदीपसँग जोडिए,  अनन्त घिमिरे र कमल श्रेष्ठ । अनि, सुरु भयो आफैं सिनेमा बनाउने चक्कर । एकातिर इख, अर्कातिर आफ्नै आँखाले मेकिङको प्रोसेस देखेका प्रदीपलाई लागेको थियो– सजिलो नहोला, तर मिहिनेत गर्‍यो भने बनाउन सकिन्छ ।

प्रदीपले सोचे– एडिटर छ, डिरेक्टर छ, म्यानेज मात्र गर्‍यो भने सिनेमा बन्छ ।

त्यो बेला आफूलाई नायकभन्दा पनि म्यानेजरका रूपमा हेरेको प्रदीप सम्झिन्छन् । “आजसम्म पनि म प्रकाशभन्दा अगाडि म्यानेजमा पनि सहभागी भएर उपलब्ध स्रोत र साधनमा बसेर सकेसम्म राम्रो काम गर्ने प्रयास गरिरहेको छु भन्ने लाग्छ,” प्रदीप नायकत्वभन्दा बाहिरको स्किल सुनाउँछन् ।

चलचित्र त बनाउने भए, तर बजेट ? मुख्य चुनौती नै त्यही थियो । तीनजनाले बराबर लगानी गर्ने भद्र सहमति भयो ।

सिनेमा बनाउने, तर स्क्रिप्ट खोइ ? थिएन । प्रदीपले जति देखे, सुटिङदेखिको काम देखेका थिए । प्रि–प्रोडक्सनको काम कसरी हुन्छ थाहै थिएन ।

स्टोरी चाहियो । थिएन । “मलाई त डिरेक्टरले नै स्टोरी लेख्ने हो भन्ने लाग्थ्यो,” उनी आफ्नो कच्चा उमेर, रहर र जोसको कुरा सुनाउँछन् ।

भलै, प्रदीप हलिउडका सिनेमा मस्त हेर्थे । डाटाबेस उनको राम्रो थियो । हलिउडका विभिन्न फिल्मबाट आफूलाई म्याच हुने फिल्मको क्लिप्स निकाले । विन्डोज मुभी मेकरमा सिन वाइज भिडियो एडिट गरेर दुई घण्टा १५ मिनेटको भिडियो तयार पारे । विभिन्न फिल्मबाट निकाले पनि त्यो कथा कुनै फिल्मसँग मिल्दैन थियो । ड्रग एडिक्डको कथा बोल्ने त्यो स्टोरी प्रदीपले अनन्तलाई देखाए । अनन्त कन्भिन्स भए ।

अन्ततले स्टोरी बोर्ड बनाए । स्क्रिप्ट त लेखियो, तर न त्यसमा बजेटिङ छ न त लोकेसन र प्रोडक्सन नै ।

भोलि के खिच्ने ? कलेज । कहाँ खिच्ने ? आफैँ पढेको कलेज लर्ड बुद्धमा गएर कन्भिन्स गर्थे प्रदीप । क्लासमा विद्यार्थी चाहियो । विद्यार्थी भेला पार्थे र सुटिङ गर्थे ।

बाइकको सिन । खोइ बाइक ? प्रोडक्सन म्यानेजर आफैँ थिए, साथीहरूलाई बोलाएर बाइक लिएर आओ त भनेर बोलाउँथे ।

“होलीको सिन छ, दुई/तीन सय क्राउड चाहिने सिन छ, डिस्कोको सिन छ, मैले भोलि यो सिन छ भनेपछि अघिल्लो दिन म्यानेज गरेका सिन हुन् अधिकांश,” प्रदीप भन्छन्, “आजलाई यति पैसा चाहिन्छ होला भनेर हामी घरबाट जेनतेन म्यानेज गरेर पैसा ल्याउँथ्यौँ । ठूलो अमाउन्ट भनेको मैले एकैपटक दुई लाख रुपैयाँ निकालेको हो ।”

तीनजनाको करिब १०/१० लाख रुपैयाँ लगानी गरेर दुई वर्ष लगाएर चलचित्र ‘स्केप’ बनाएको कथा सुनाउँछन् प्रदीप ।

सिनेमाको चक्करमा वितरकदेखि प्रदर्शकसम्म प्रदीपका मिल्ने साथी भइसकेका थिए । प्रोजेक्सन रुममा आफैँ गएर आफ्नो फिल्म प्ले गर्न मिल्नेसम्मको सम्बन्ध विकास गरिसकेका थिए । चलचित्र रिलिज भयो । मल्टिप्लेक्समा पनि राम्रै स्थान पाएको चलचित्र बिहीबारसम्म प्रदर्शन भएको थियो । तर, दुई वर्ष लगाएर ३० लाख नगद खर्च गरेको सिनेमाको रिटर्न्स जिरो ।

डिजिटल राइट्सबाट आएको एक लाख रुपैयाँ थियो । त्यो पैसाले कमल दुबई गए ।  

परिवारको डर
‘स्केप’ रिलिज हुँदासम्म त घरबाट छोराको रहर हो, पूरा गरोस् न त भन्ने थियो । पैसा दिन्थे । तर, जब ‘स्केप’ रिलिज भयो । त्यसपछि छोरो सिनेमाको चक्करमा बिग्रिने हो कि भन्ने परिवारमा पर्न थालेको थियो । बुवाआमाले भन्न थालेका थिए, ‘अब दिगो काम गर्नुपर्छ । सधैँभरि भर नभएको कामका पछि भागदौड गरेर जिन्दगी चल्दैन ।’ अनुभूत त प्रदीपले पनि गरेका थिए । मात्र उनले त्यो बाटो समाइसकेका थिएनन् । 

नामको भोक मेटियो ? 

“कहाँ मेटिनु, आफन्तका लागि स्पेसल शो थियो । त्यसबाहेक कसैले चिनेन,” प्रदीप हाँस्छन्, “त्यो बेलासम्म पहिचान बनाउन सजिलो छैन भन्ने मैले बुझिसकेको थिएँ ।”

अनि, उनले शंकल्प गरे, ‘म योभन्दा धेरै टाइम, इनर्जी र मनी केही खर्च गर्न सक्तिनँ ।”

सफल नै नभई के सन्न्यास भन्नु ! भन्न मिल्ने भए उनलाई भन्न मन लागेको थियो– चलचित्र क्षेत्रबाट म सन्न्यास लिन्छु ।

सुन्धाराको हलमा ‘स्केप’को अन्तिम शो हेरेर उनले मनमनै संकल्प गरे, ‘यो हलमा यो शो अन्तिम भएजस्तै यो सिनेमा क्षेत्र पनि मेरा लागि पहिलो मात्रै होइन, अन्तिम पनि हो ।’

कामबिना लेटनाइट प्रदीप बाहिर बस्दैनथे । स्कुल, कलेजमा डिस्टिङसन ल्याउने छोरो आवारा भएर बिग्रिएको छैन भन्नेमा प्रदीपका बुवा–आमा ढुक्क थिए । तर, छोराले दिगो काम गरोस् भन्ने उनीहरूको चाह थियो । प्रदीपले हरदिन आमाबुवाको अनुहार पढिरहेका थिए । त्यसले उनलाई बेचैन बनाइहेको थियो ।

अब अष्ट्रेलिया
त्यसपछि उनले निर्णय गरे परदेशिने । अष्ट्रेलिया उनको रोजाइको देश बन्यो । प्रक्रिया सुरु गरे, स्टुडेन्ट भिसाको प्रोसेस सुरु भयो ।

जुन/जुलाईको इनटेक थियो । अप्रिलमा बैंक प्रोसेस गर्नुपर्ने प्रदीपको क्यालेन्डर थियो । मार्चमा भूकम्प आयो । भूकम्पले अष्ट्रेलिया जान रोकिरहेको थियो ।

प्रदीपलाई पत्रकार र प्रोडुसरको फोन तारन्तार आइरन्थ्यो । तर, प्रदीप कसैलाई रेस्पोन्स नै गर्दैनथे । म्यासेजको पनि रेस्पोन्स गर्दैनथे । कारण, उनलाई चलचित्र खेल्नु नै थिएन । ‘निर्माता सन्तोष सेनले चलचित्र बनाउँदै छन् रे, खेल्ने ?’ भनेर सोधियो । उनले भनिदिए, ‘म फिल्म खेल्दिनँ । विदेश जाँदै छु ।’

‘अन्तिम सर्को’, ‘मैदान’ लगायत चलचित्रबाट उनलाई अफर आएको थियो । तर, प्रदीपले त्यो पनि इग्नोर गरिसकेका थिए ।

त्यो समाचार...
भूकम्पका कारण घरको बैंक प्रोसेसका लागि घरको भ्यालुएसन भएको थिएन । एक दिन उनले कतै देखे– ‘प्रेम गीत’का लागि नयाँ कलाकार चाहिएकाले अडिसन आह्वान गरिएको छ ।

न्युज पोर्टल कलिउड अपडेटका दयाराम घिमिरेसँग उनको राम्रो चिनजान थियो । प्रदीपले फोन गरेर भने, ‘म नयाँ त होइन, तर अडिसन दिन तयार छु भनेर एउटा समाचार छपाउनुपर्‍यो ।’

‘न्युज होइन, इन्टरभ्यु नै देऊ आएर । अहिले मेरो अफिसमा आऊ,’ दयारामले भने ।

“म गएँ । उहाँले तिमी आफैँ न्युज लेख, म पोस्ट गर्दिन्छु भन्नुभयो । म आफैँले न्युज लेखेँ । उहाँले पोस्ट गरिदिनुभयो,” प्रदीप भन्छन्, “काम गर्ने सोच भएर मैले यो गरेको थिइनँ । टाइमपास मात्रै गरेको थिएँ । चलचित्रमा काम गर्ने हो भने अफर आउँदा गइहाल्थेँ नि !”

सन्तोष सेनले समाचार देखेछन् । उनलाई अचम्म लागेछ । “यत्रो दिनदेखि बोलाउँदा यो मान्छे काम गर्दिनँ भनेर भागेको भाग्यै छ । आज अडिसन दिन तयार छु भन्ने समाचार आइरहेको छ भन्दै सन्तोष दाइको फोन आयो,” प्रदीप नोस्टाल्जिक हुन्छन्, “उहाँले आफ्नो अफिसमा बोलाउनुभयो । आउँदा डान्स गरेको भिडियो पनि लिएर आउनु भन्नुभयो ।”

गम्भीर विष्टको स्टुडियोमा पुगेर डान्सको क्लिप बनाएर त्यही बोकेर सन्तोषको अफिसमा पुगे प्रदीप ।

तर, जब प्रदीप सन्तोषकोमा पुगे, सन्तोष र निर्देशक सुदर्शन थापाले भने, ‘यदि, तिमी इन्ट्रेस्टेड हो भने अडिसन दिनु पर्दैन । हामीले तिमीलाई नै खोजिरहेको हो । सिधै सेलेक्ट गर्छौँ ।’

सन्तोषको ‘चंखे संखे पंखे’ र प्रदीपको ‘स्केप’ एउटै स्टुडियोमा काम गर्दा सन्तोषले प्रदीपलाई नोटिस गरेका रहेछन् ।

सन्तोषले सर्त तेर्स्याए, ‘तिमी बाहिर जान लागेको रै’छौ । बाहिर जाने हो भनेचाहिँ तिमीलाई लिन सकिँदैन । किनभने, तिमी बाहिर गएपछि उतै हराउँछौ । यहाँ बस्नेले यो अवसर पायो भने नेपाली फिल्म इन्डस्ट्रीमा केही गर्छ । तिमी क्यामेरा फेस गरिसकेको भएकाले अफर गरेको हो ।’

प्रदीपको मनले भन्यो, ‘फिल्म यसरी डुबिरहेको समय छ, तपाईं स्वयं एउटा फिल्म डुबेपछि अर्को बनाउने होइन । मैले अर्को फिल्म खेल्न त तपाईंले बनाउनु पनि पर्‍यो नि ।’

प्रदीपले सन्तोषलाई भने, ‘भइहाल्छ नि दाइ, म तपाईंका दुइटा सिनेमा खेल्छु । विदेश जान्नँ ।’

तर, प्रदीपलाई चंखे संखे पंखे डुब्छ, प्रेम गीत पनि डुबेपछि कसरी अर्को सिनेमा बन्नु, म विदेश गइहाल्छु भन्ने नै थियो । मनमा जे भए पनि प्रदीपले कमिटमेन्ट गरे । सन्तोषले विश्वास गरे । प्रेम गीत निर्माण भयो । हिरो भए, प्रदीप ।

रिलिज नहुँदै अफर
‘प्रेम गीत’को गीत ‘म यस्तो गीत गाउँछु’ र टिजर रिलिज भएपछि प्रदीप धेरै मेकरमाझ नोटिस भए । उनलाई सिनेमाबाट अफर आउन थाल्यो ।

“तर, त्यो बेला पनि मेरो मनमा प्रेम गीत रिलिज भएपछि डुब्छ र म अष्ट्रेलिया उडिहाल्छु भन्ने नै थियो,” प्रदीप आफ्नो गुप्त कुरा खोल्छन्, “अब त मैले मेरो भविष्य सोच्नुपर्छ, करिअर बनाउनुपर्छ भन्ने थियो । त्यसैले मैले जति अफर आए पनि फिल्म साइन नै गरिनँ ।”

सन्तोष ‘२० वटा सिनेमा बनाउन पैसा पुग्छ, एउटा न एउटा सिनेमा त हिट बनाएरै छाड्ने हो’ भन्थे । प्रदीप सुनिरहन्थे ।

खोजेकै यही 
जब फिल्म रिलिज भयो, फिल्म त उनले सोचेभन्दा फरक भइदियो । सिनेमा रुचाइयो । जब हलमा दर्शकको भीड बढ्यो, प्रदीपले खोजेको पहिचान (पपुलारिटी) उनले पाए । जब सेलिब्रिटीको स्वाद चाखे, तब उनले अनुभूत गरे– मैले खोजेको कुरा त यही त हो । विदेश जाने सोच त मेरो बाध्यताको बाटोले देखाएको विकल्प पो थियो त ।

दर्शकले माया दिए । प्रदीपलाई लाग्न थाल्यो– यो मायालाई लत्याएर म विदेश पलायन हुनु हुन्न । दर्शकको माया मलाई दिएको जिम्मेवारी पनि हो । यसलाई मैले सँगालेर राख्नुपर्छ । र, निभाउनुपर्छ । हैन भने म गैरजिम्मेवार हुनेछु ।

दोस्रो दिन नै सेट छोडे  
साइन्स नपढी कमर्स पढेका, पहिलो सिनेमा आफैँ गरेका प्रदीपलाई मनमौजी भन्दा सायद उनलाई त्यति धेरै अन्याय हुँदैन । तर, अरूको सिनेमामा अरूकै हैकम । एक्सनभन्दा सुरु, कटभन्दा बन्द । सहज किन हुन्थ्यो र ! सोचेजस्तो भएन नै ।

डान्सको वर्कसप भइरहेको थियो । वर्कसप सकेर आएका प्रदीपलाई छायाकार राजेश श्रेष्ठ र निर्देशकले सोधे, ‘वर्कसप कस्तो चलिरहेको छ ?’

‘मलाई त नाच्न खासै आउँदैन । कटिङ गरेर यताउता गर्दा मिल्छ होला,’ प्रदीपले जवाफ मात्रै के दिन भ्याएका थिए, राजेशले भने, ‘कटिङको कुरा तिमीले गर्ने ? तिम्रो काम के हो थाहा छ तिमीलाई ? तिमी आफ्नो काम सिरयसस्ली गर ।’

प्रदीप झस्किए । 

प्रेम गीतको डे–१ को छायांकन थियो । हिरोइनको ड्रिम सिक्वेन्समा बेडमा सुतेर हाँस्नुपर्ने सिन थियो । क्लोज सर्ट खिचिरहेको देखेका प्रदीपलाई लाग्यो, ‘क्लोज फ्रेम लागिरहेको छ, खुट्टा देखिने होइन । जुत्ता लगाएर सुत्दा पनि हुन्छ होला । तर, यही सिनले भोलि काममा समस्या हुनु हुँदैन ।’ त्यसैले प्रदीपले सोधे– जुत्ता लगाएर सुतौँ कि खोलेर ?

राजेश झनक्क रिसाएर चर्को स्वरमा भने, ‘जुत्ता लगाएर पनि कोही सुत्छ ?’

५०/६० जनाको बीचमा गरेको त्यो गालीले प्रदीपको मोरल डाउन भयो । हाँस्नुपर्ने सिनमा नमुस्कुराउने । तीन घण्टा लगाएर बल्लबल्ल सिन सकाए ।

साँझ सुदर्शनले सन्तोषलाई फोन गरे, ‘हिरोले एक्टिङ गर्न सक्लाजस्तो छैन । आज हाँस्ने सिनमै हाँस्न सकेन । बर्बाद हुने भयो के गर्ने होला ?

‘गाली खाएर काम कसले गर्छ, जान्नँ ।’ भोलिपल्ट प्रदीप सुटिङ सेटमै गएनन् । सुटिङ छोडेर म्युजिक भिडियो निर्देशन गर्न गोदावरी पुगे । साँझ सन्तोषको फोन आयो । भने, ‘प्रदीप, तिमीले केही चिन्ता लिनु पर्दैन । तिमीलाई भोलिबाट कसैले गाली गर्दैन । तिमी सेटमा आऊ मात्रै, सिनेमा प्रमोसन गरेरै हिट बनाउँछु ।’

फिल्म लिएर सन्तोष र प्रदीप खुब घुमे । यसले उनीहरूको बोन्डिङ बलियो बनायो । जिम्मेवारी थपिएको अनुभूत भएपछि राम्रो काम गरौँ भन्ने हुँदै गयो । ‘प्रेम गीत–२’ थाइल्यान्ड, म्यानमार र रारामा सुट गर्ने निर्णय गरे । पैसाभन्दा पनि काम राम्रो गर्नुपर्छ भन्ने दुईजनाकै विचार मिल्यो । प्रदीपले पारिश्रमिक नै नलिने भए ।

तर, सन्तोषले वचन दिए, ‘प्रेम गीत–२ बाट नाफा भयो भने म तिमीलाई गाडी किन्दिन्छु ।’

यद्यपि, सिनेमा सकिँदासम्म प्रदीप र सन्तोष प्रोडुसर र नायकभन्दा पनि दाजुभाइजस्तो नजिक भइसकेका थिए । त्यो घनिष्टतामा पैसाको के मूल्य ?

‘तिमीलाई धेरैले चिन्ने भइसके । तिमीले आफ्नो स्ट्यान्डर मेन्टेन गर्न पनि गाडी चढ्नुपर्छ । म तिमीलाई गाडी किन्दिन्छु,’ सन्तोषले भनेका थिए । नभन्दै सन्तोषले ५२ लाखको गाडी उपहार भने पनि पारिश्रमिक भने पनि प्रदीपलाई किन्दिए ।

प्रेम गीत–२ रिलिज भयो । राम्रो नाफा कमाएपछि उनीहरू भन्थे– यो पैसा अर्को राम्रो चलचित्र बनाउन खर्चिनुपर्छ । त्यही बेला हो प्रदीपले सन्तोषलाई भनेको, ‘साउथका कति कमजोर सिनेमा भारतका टेलिभिजनले लिन्छन् । यतिका चलचित्र त हाम्रोमा पनि छन् । हामी पनि हिन्दीमा डब गरेर ट्राई त गरौँ ।’

त्यही आइडियामा आज ‘प्रेम गीत–३’ मुम्बईका गल्लीहरू चाहरेर अन्ततः हिन्दीमा डब भएको छ । ओटीटी र हल रिलिजको सम्झौता भइसकेको छ । 

...अनि प्रकाश 
प्रेम गीत–३ होल्डमा थियो । आएका अफर यही चलचित्रका लागि भनेर इन्कार गरेर बसेका प्रदीप खाली थिए । काम नगरी बस्नै नसक्ने प्रदीपले लकडाउनका सुरुका एक साता त सिनेमा हेरेरै कटाए । त्यसपछि भने कसरी समय कटाउने छटपछि सुरु भयो ।

त्यहीबीचमा कोरोनाको समयमा नागरिकलाई चेतना र सचेतना जगाउने गीतको भिडियोका लागि उनलाई बोलाइयो । म्युजिक भिडियोमा त उनले काम गरेका थिएनन्, तर सन्देशमूलक छ भने जिम्मेवारी पनि हो । उनी गए ।

त्यही गीतको भिडियो छायांकनका क्रममा अशोक शेरचनसँग उनको भेट भयो । जो उक्त गीतका गीतकार पनि थिए । प्रवेश पौडेलसँग मिलेर अशोकले फिल्म बनाउने तयारी गरिरहेका रहेछन् । अशोकले भने, ‘मिलेर फिल्म बनाऔँ, प्रदीप ।’

प्रदीपलाई व्यस्त हुनु थियो । हुन्छ भने । बायोपिक बनाउने अशोक र प्रवेशको सोच रहेछ । त्यसमै मिसिए प्रदीप ।

डाइरेक्टर को हुनसक्छ ? कुरा चल्यो । प्रदीपलाई लाग्यो– यो मुभीका लागि प्यासनेट निर्देशक चाहिन्छ ।

काम नगरे पनि उनले दिनेश राउतबारे सुनेका थिए । त्यसैले उनले सुझाए, दिनेश राउतको नाम । समय थियो लकडाउनको ।

प्रवेशसँग मिडियाको पास थियो । त्यसैले प्रवेश र प्रदीप दिनेशलाई भेट्न थानकोट पुगे । विषय सुनाए । तर्क, बहस र छलफल भयो । विषयले निर्विकल्प फणा फिजाएर रिसर्च खोज्थ्यो । त्यसमा सबै सहमत थिए । दिनेशले भने– यो बायोपिक कम्तीमा अहिलेको समयमा सहज छैन ।

तर, काम सुरु गरे । प्रदीप, दिनेशसहति चारजना धुलिखेलमा बसेर स्क्रिप्टको काम गरिरहेका थिए । त्यही बेला दिनेश र महेन्द्र अधिकारीको नयाँ चलचित्रको काम पनि एक चरणमा पुगेको थियो । महेन्द्र दिनेशलाई भनिरहेका थिए, ‘काम छिटो गर्नुपर्‍यो ।

त्यो भेटले प्रदीपलाई दिनेशसँग नजिक बनाइदियो । दिनेश पनि काम नगरी बस्न नसक्ने मान्छे । सतहमा देखिने काम ढिलै किन नहोस्, उनी काम गरिरहेकै हुन्छन् । त्यही बेला दिनेशले प्रदीपलाई भने, ‘...यो आइडियामा फिल्म गर्ने हो ?’

प्रदीपलाई मन पर्‍यो । उनले ‘ओके’ गरेपछि दिनेशको सिनेमामा प्रदीप जोडिए । चलचित्र थियो– प्रकाश ।

प्रदीप पूर्ण कमर्सियल मुभीबाट आएका । प्रकाश त्योभन्दा केही फरक थियो । क्यारेक्टर विशेषमा काम गर्नुपर्ने थियो । तर, प्रदीप आँटी मान्छे । उनले केही सोचेनन् । मात्र सोचे– यो मेरा लागि चुनौती मात्रै होइन, अवसर पनि हो । गर्नुपर्छ ।

प्रदीपले आफूलाई प्रमाणित पनि गर्नु थियो । पाँचवटा चलचित्र गर्दा उनले सधैँ सामना गर्ने आरोप थियो, ‘प्रदीपलाई अभिनय आउँदैन । चकलेटी हिरो हो । लुक्स मात्रै हो, गुदी छैन ।’

प्रमाणित गर्ने यही उपयुक्त समय हो भन्ने उनलाई लाग्यो । पुग्नुपर्ने ठाउँ त्यही हो भने किन ढिलो गर्ने ? उनको ब्रह्मले भन्यो ।

डर लागेपछि...
कन्टेन्ट फरक छ भन्ने आइडिया सुन्दै प्रदीपले थाहा पाइसकेका थिए, त्यसका लागि कडा मिहिनेत चाहिन्छ । त्यो उनले आफूलाई भर्सटाइल हुन पनि छोड्नु हुँदैन थियो ।

त्यही समय उनले सोचे– निर्देशक, निर्माता, लेखकको मिहिनेत । हृदयको तार झंक्रित भयो, ‘कम्फर्ट जोनबाट बाहिर निस्किन म त प्रयास गरौँला, तर यदि मैले काम गर्न सकिनँ भने म मात्रै होइन, निर्देशक, निर्माता र लेखक फेल हुन्छ । मैले प्रयोग गर्ने नाममा मान्छेको पैसा, समय र सोच बबार्द गर्दिने कि होइन ?’

अनि, उनको मनले भन्यो, ‘यो रिस्क लिन हुन्नँ । आफू त प्रयास थियो सफल भइनँ भनौँला अथवा दर्शकले मलाई पुरानै रूपमा हेर्न चाए भनेर फुत्किऊँला । तर, म फेल हुँदा मसँगै निर्देशक, निर्माता र लेखक असफल भए के हुन्छ ?’ लाइनअपमा सन्तोषको ‘हु.तु.तु.’ छँदै छ, त्यही गर्छु भन्ने सोचे ।

दिनेशको भरोसा
त्यसपछि दिनेशको अफिस पुगेर प्रदीपले भनेँ, ‘दाइ, म यो सिनेमामा काम गर्न सक्तिनँजस्तो लाग्यो । मभन्दा अर्को बेटर पात्र लिनुस् ।’

उनले दिनेशलाई भने, ‘मेरो कारणले डिरेक्टरको भिजन, राइटरको थर्ट र प्रोडुसरको साढे दुई करोड डुब्यो भनेको म सुन्न सक्तिनँ ।’

दिनेशले जवाफमा भने, ‘६ महिना अगाडि भए त म तिमीलाई फिल्म नै अफर गर्दिनँ थिएँ । तर, यो ६ महिनामा मैले तिमीलाई बुझेँ, तिम्रो सोच र लगाव बुझेँ । तिमीले कस्तो खालको फिल्म रुचाउँदो रहेछौ भन्ने पनि बुझेँ । त्यसैले तिमीलाई अफर गरेको हुँ । तिमीले गर्न सक्छौ । तर, तिमीले एक्टिङ क्लास लिनुपर्छ । बुझेर कथा पोट्रे गर्नुपर्छ । एक्टिङ क्लासका लागि म व्यवस्था मिलाइदिन्छु ।’

दिनेशको प्रस्ताव पनि उनलाई नराम्रो लागेन । त्यसैले भनिदिए, ‘ओके ।’

दिनेशले अनुप बराललाई एक्टिङ क्लासका लागि आग्रह गरे ।

अभिनयको क्लास र अनुप बराल
पोखराको एक होटेलमा बोलाएर अनुपले प्रदीपलाई सोधे, ‘तिमीले किन एक्टिङ सिक्न लागेको ? म भोलि तिमीलाई रोडमा हिँड्न लगाऊँला, तिमीले म यत्रो स्टार रोडमा हिँड्ने भन्यौ भने ?’

बोल्नमा माहिर प्रदीपले आफू थप फराकिलो हुन चाहेको आशयको जवाफ दिए । अनुप कन्भिन्स भए । सिकाउन तयार भए । अनुपलाई कन्भिन्स गर्न प्रदीपलाई कठिन पनि थिएन । बीबीए/बीआईका लागि एस कलेजमा प्रदीपले पढ्नका लागि नाम निकालेको प्रसंग सुनाए । उनी त्यो बेला गाजल लगाएर, कपाल गुजुल्टो पारेर काँडैकाँडा भएको चुरा लगाएर कालो लुगामा हिँड्थे । हेर्दा एडिक्डजस्तो देखिन्थे । राइटिङमा नाम निकालेका उनलाई अन्तर्वार्तामा सोधियो, ‘भाइ, हेर्दा त तिमी पढ्ने मान्छेजस्तो लाग्दैन त ?’

प्रदीपले जवाफ दिए, ‘एउटा मान्छे कहिल्यै एउटै हुँदैन । एउटा मान्छे तीनवटा हुन्छ । म आफूले आफूलाई के सोच्छु, त्यो एउटा भयो । अरूले मलाई के सोच्छन्, त्यो अर्कै हो । तर, वास्तवमा म के हो भन्ने कुरा मलाई पनि थाहा छैन र अरूलाई पनि थाहा छैन । त्यसैले मेरो यो बाहिरी आवरण हेरेर तपाईंहरूले मलाई जज गर्न सक्नु हुन्न ।’

जज कन्भिन्स भए । प्रदीपले एडमिसन पाएका थिए । ती प्रदीप बोल्नमा अझै खारिइसकेका थिए । अनुपले उनमा भरोसा गरे/गरेनन्, त्यो उनलाई नै थाहा होला । तर, अनुपले नकारेनन् ।

क्लास सुरु भयो । बाहिरी रूपमा त प्रदीप अभिनय सिक्न तयार थिए, तर मनोवैज्ञानिक रूपमा तयार थिएनन् । के गर्नुपर्ने हो र तयारी कसरी गर्ने न थाहा थियो न चासो नै । चासो नै नभएपछि कसरी हुन्थ्यो तयारी ? गरेनन् ।

पहिलो दिन अनुपले प्रदीपलाई अब्जरबेसनमा पठाए । प्रदीप दिनभर दिनेशसँग बसे ।

अर्को दिन अनुपले सोधे, ‘के गर्‍यौ हिजो ?’

गरेको भए पो केही भन्नु । अनुपको मुड अफ भ’को उनको अनुहारमा प्रदीपले प्रस्टै देखे ।

दोस्रो दिन अनुपले बुक दिएर भने, ‘यो डाइलग प्राक्टिस गर । भोलिबाट डाइलगमा प्राक्टिस गर्नुपर्छ ।’

दिनभरि दिनेश राउतसँग डुल्यो । गफ गर्‍यो । केको कण्ठ गर्नु डाइलग ।

भोलिपल्ट अनुपले भने, ‘ल, कति डाइलग कण्ठ गर्‍यौ, सुनाऊ त ।

पढेको भए पो सुनाउन सक्थे । डिस्करेज भएर फर्किए अनुप ।

अनि, प्रदीपलाई फिल भयो– ‘कस्तो लफडा लिइएछ । कसरी यत्रो कण्ठ गर्नु ?

चौथो दिन अनुपले भने, ‘प्रदीप, तिमीले सिरियस्ली लिएका छैनौ । तिम्रो दिमागको कताकति यो आवश्यक हो भन्नेचाहिँ छ । तर, सिरियस्ली लिएका छैनौ । एक्टिङ के हो तिमीलाई बुझ्न मन छ । तर, सरफेसमा यो सम्भव छैन, क्राफ्टका लागि साधना नै गर्नुपर्छ ।’

प्रदीप सुनिरहेका थिए । अनुपले भने, ‘तिमीले याद गरेका छौ ? रोनाल्डो वर्ल्डवाइड त्यति धेरै पपुलर र स्किलफुल भए पनि ऊ दिनकै दौडिन्छ । आफ्नो स्किल बचाइराख्न दौडिएको हो । एउटा सिंगर हरदिन बिहान उठेर रियाज गर्छ । आफ्नो कलालाई पोलिस गर्दै गएन भने सधैँ तिमीले आज पाएको चिज रहिरहन्छ भन्ने छैन । तिमी आज चलेको छौ । तिमीले आफ्नो यो क्राफ्टलाई साधना गरेनौ भने यसले तिमीलाई छोडेर जान्छ ।’

यति भनेर अनुप हिँडे । प्रदीपको दिमाग हल्लियो । ‘हो त है ! रोनाल्डो  हरेक दिन फुटबलको प्राक्टिस किन गर्छ, मैले के गरिरहेको छु ? केही छैन ।’

“अनुप सर हिँडेपछि मलाई रुन मन लाग्यो । मैले त ग्रान्ट लिइरहेको रहेछु । यतिकै मलाई कसैले मन पराइदिइरहेको छ । म त्यसैलाई भयंकर भनेर रमाइरहेको छु । तर, कहिलेसम्म ? एक दिन त यो रोकिन्छ । र, त्यति बेलासम्म समयले मलाई धेरैपछि छोडिसकेको हुनेछ भन्ने भयो,” प्रदीप आफूलाई आफैँले मूल्यांकन गरेको सम्झिन्छन्, “त्यसपछि मैले कण्ठ गर्न थालेँ । अल्छीपन हटाएँ । ९ बजे सर आउनुहुन्थ्यो । म उहाँ आउनुभन्दा अगाडि नै गार्डेनमा टेबुलकुर्सी तयार पारेर रेडी भएर बस्थेँ ।”

दिमागको दियो जल्यो । प्रदीप आज्ञाकारी छात्र भए । अभिनयको बाह्रखरी सिक्न थाले । सिक्न धेरै थियो । सिक्दै गए ।

अभिनय सिके । तर, ‘प्रकाश’का लागि उनी छनोट भइसकेका थिएनन् । त्यसका लागि अडिसन दिन बाँकी नै थियो ।

फ्यान फलोइङ राम्रो बनाइसकेको, डिमान्डेड एक्टर । त्यसमा पनि प्रकाशकै लागि भनेर अभिनय सिकिसकेपछि फेरि अडिसन ? तयार थिए प्रदीप ?

“थिएँ,” एक वाक्यमा जवाफ दिन्छन् उनी ।  

त्यो सर्त 
अडिसन अगाडि कास्टिङ डिरेक्टर अनुप बराल र निर्देशक दिनेश राउतसँग प्रदीपले सर्त राखेका थिए ।

कस्तो ?

“यदि, म प्रकाशको अडिसनमा फेल भएँ भने प्रदीपले प्रकाश छोड्यो नभन्नु । मैले छोड्यो भन्यो भने स्क्रिप्ट नराम्रो रहेछ र छोड्यो भन्ने हुनसक्छ । यसले फिल्म डुब्दा प्रोडुसरले मलाई गर्ने गाली म सहन सक्तिनँ । त्यसैले कन्फिडेन्स नभएर छोड्यो भन्दिनुहोला भनेको थिएँ,” प्रदीपले प्रकाशको अडिसन सम्झिए ।

अनुपले ‘प्रकाश’का लागि प्रदीपको ब्याकअपमा आर्टिस्ट राखेका थिए । अडिसन दिन नै आएका थिए । तर, अनुपले प्रदीपलाई नै छाने । र, प्रदीप भए, प्रकाश । अनि, लागे आफूमाथि लागेको स्टोरियोटाइप चकलेटी हिरो, अभिनय गर्न नजान्ने हिरोको ट्याग मेटाउन जुम्लातर्फ ।

पाँचवटा चलचित्रले दिएको ट्याग ‘प्रकाश’ले मेटाउला/नमेटाउला त्यो त चलचित्र रिलिजपछि दर्शकले भन्ने नै छन् । तर, फर्स्टलुकदेखि ट्रेलरसम्म आइपुग्दा उनले क्यारेक्टर आर्टिस्टमा पनि लोभलाग्दो प्रशंसा बटुलिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement