काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार चार वर्ष पूरा भएको छ । तर, अझै अभियुक्तको पहिचान हुनसकेको छैन ।
०७५ साउन १० गते ‘साथीको घर जान्छु’ भन्दै घरबाट निस्किएकी निर्मला त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । साउन ११ गते घरनजिकैको उखुबारीमा उनको शव फेलापरेको थियो । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।
०७५ भदौ ४ गते प्रहरीले भीमदत्त–१९, बागफाटाका दिलीप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, डीएनए ‘म्याच’ नभएपछि उनी छुटेका थिए ।
दिलीप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी अधिकारीहरू समेत कारबाहीमा परेका थिए । सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।
निर्मला हत्याकाण्डको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली सक्रिय छ । जसको नेतृत्व डीएसपीले गर्दै आएका छन् । तर, अपराधीसम्म पुग्ने ‘क्लु’ नै प्रहरीले फेला पार्न सकेको छैन ।
विभिन्न समयमा अनुसन्धानमा संलग्न अधिकारीहरू अपराधी पत्ता लाग्न मुस्किल हुँदै गएको बताउँछन् । उनीहरू प्रहरीकै कमजोरीका कारण अनुसन्धान कमजोर हुँदै गएको स्वीकार गर्छन् ।
उनीहरू भन्छन्, “म्यानुअल रूपमा अनुसन्धान गरिरहेका छौँ । तर, क्लु भेट्टाउन सकिएको छैन । यो घटनामा सफलता पाउन कठिन छ । त्यसमाथि हामीसँग पर्याप्त स्रोतसाधन समेत छैन ।”
प्रहरीले हालसम्म ६०० जनासँग सोधपुछ गरेको छ । ११० जनाको डीएनएन परीक्षण गरिसकेको छ । केहीको रिपोर्ट आउन बाँकी छ । हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन ।
पछिल्लो समय प्रहरीले लागुऔषध प्रयोगकर्तामाथि निगरानी बढाएको छ । सामान्य व्यक्तिबाट वा चिनजानकै व्यक्तिबाट घटना भएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीले यसअघि सयौँ घरका सदस्यको विवरण समेत संकलन गरेको थियो ।
घटनाको समयमा केही व्यक्ति भारत गएकाले उनीहरूलाई पनि प्रहरीले निगरानीमा राखेको छ । निर्मला हत्याकाण्डपछि चार आईजीपी फेरिएका छन् । सबैजसो आईजीपीले निर्मला हत्याकाण्डको अनुसन्धान उच्च प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राई सुरुदेखि नै यो घटना उच्च प्राथमिकतामा राखिएको बताउँछन् । उनी भन्छन्, “अनुसन्धान जारी छ । तर, नतिजा नआएसम्म अनुसन्धान शून्यमै हुन्छ । यो घटनामा विशिष्टकृत अनुसन्धानविज्ञहरू सक्रिय छन् । उच्च प्राथमिकतामा राखिएको घटना हो । ढिलोचाँडो अपराधी कानुनको दायरामा आउँछ ।”
बलात्कारको घटनामा चार वर्षसम्म अपराधीको पहिचान र पक्राउ नपरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।