काठमाडौं । ‘एक घर, एक विदेश !’ लगभग यो हरेक नेपाली घरको वर्तमान सत्य हो । फरक यति छ, कोही खाडीमा छन् त कोही अस्ट्रेलिया, अमेरिकातिर । तर जुन मुलुकमा भएपनि उनीहरू आफ्नो परिवार, साथीभाइ, आफ्नो बाल्यकाल र जन्मभूमिबाट हजारौँ हजार कोस टाढा छन् ।
पछिल्लो सयम त १२ कक्षाको पढाइ पूरा हुन बित्तिकै विदेशिने ट्रेन्ड बढ्दो छ । जुन अब कुनै नौलो कथा रहेन ।
तर, यही कथालाई निर्देशक अशेष मल्लले ‘सपना अनेक–अनेक’बाट नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
कोरोना महामारीपछि सर्वनाम थिएटर 'कमब्याक' भएको छ । सर्वनाम मल्लको ‘सपना अनेक–अनेक’ गीतिनाटकमार्फत 'कमब्याक' भएको हो ।
नेपाली रंगमञ्चमा गीति नाटकको यात्रा नयाँ होइन । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, माधवप्रसाद घिमिरेको मालती मंगले, जीवन शर्माको ठुली, प्रदीप ज्ञवालीको नेपाल गाथाजस्ता गीति नाटक पहिले नै मञ्चन भइसकेका छन् ।
तर, ती नाटकले चार दशकको यात्रा तय गरिसकेका छन् । निर्देशक मल्लले भने अहिलेका दर्शकलाई अहिलेको जल्दोबल्दो विषयमा रंगमञ्चको फरक स्वाद चखाउने कोसिस गरेका छन् ।
मल्लको निर्देशन र परिकल्पना रहेको ‘सपना अनेक–अनेक’ गीता खत्रीको ‘आमा हुन् आमा’ खण्डकाव्यमा आधारित गीतिनाटक हो । जुन सर्वनाम थिएटर र निर्देशक मल्ल दुवैको रंगमञ्चको यात्रको पहिलो अनुभव हो ।
विना कुनै संवाद कथा भन्न सकिन्छ त ? भन्ने जिज्ञासामा मल्ल भन्छन्, “संवादले मात्रै दर्शकसम्म पुग्न सकिन्छ भन्ने सोच्नु गलत हो । मेरा लागि नाटकमा कला, सौन्दर्य, हामी भन्छौँ नि ‘एस्थेटिक’ त्यो हुन जरुरी छ । विषय त हामीसँग थुप्रै छ तर त्यसलाई कलात्मक ढंगले दर्शकसम्म पुर्याउन सक्नु नै नाटक हो जस्लो मलाई लाग्छ ।”
वास्तवमा निर्देशक मल्लले भनेजस्तै संवाद मात्रै जरुरी नहुने रहेछ । आफ्नो जन्मभूमि, हुर्किएको, खेलेको पाखापखेखी र आफ्नी जननी आमालाई छोडेर सपनाका भारी बोकेर 'सपनाको देश' अमेरिकाको न्यूयोर्कमा पुगेका दुई युवा युवतीको कथा बोल्ने ‘सपना अनेक–अनेक’ हेरिरहँदा मल्लको कुरामा विश्वास लाग्छ ।
तर यति भनिरहँदा उनका लागि चुनौती नै यही बनिदियो । थुप्रै नाटक निर्देशन गरिसकेका मल्ललाई ‘सपना अनेक–अनेक’ मार्फत विना संवाद दर्शकसम्म भावलाई पुर्याउनु थियो ।
विनासंवाद निर्देशकले चलाएको कुचीमा यसका कलाकारले गरेको सांगीतिक प्रस्तुति र हाउभाउ, गायन टोलीले भरेको मामिर्क आवाज, कोरियोग्राफरले भरेको कलात्मक प्रस्तुति र संगीतकारले भरेको मनै छुने भावसहितको संगीतले नाटकलाई चित्रण गरिरहेको हुन्छ ।
अनेकौँ सपना बोकेर विदेश पुगेको तर त्यहाँ पुगेपछि भोक र प्यास नभनी गर्नुपर्ने रातदिनको संघर्षलाई नाटकमा देखाइएको छ । त्यस्तो परिस्थितिमा आफ्नी आमाको अमूल्य काख, मायाले आफ्नै हातले खुवाइदिने दुई छाक र पराइ सहरमा साथीसंगीसँगको हाँसखेल गर्दै गरेका मेलापात र खेलहरू सम्झिएर आफ्नो जन्मभूमि टेक्न छटपटिने युवाहरूको पीडालाई नाटकले मिहिन ढंगले प्रस्तुत गरेको छ ।
निर्देशकले सम्झनाका झलकहरूमा देखाएका मेलापात र आमाको काखका दृश्यहरूबाट दर्शकले विना संवाद कथा बुझ्न सक्छन् । अमेरिकाको परिवेशमा बुनेको कथा भएपनि गीतका शब्दलाई पछ्याउँदै निर्देशकले दृश्यमार्फत नेपाल र नेपालीपनलाई झल्काएका छन् । त्यसमाथि एकपछि अर्को भावलाई जोडेर कथा बगिराख्न कोरियोग्राफीको शिल्पले पनि नाटकलाई सुन्दर बनाएको छ ।
यही फरक स्वाद पस्किने तयारी निर्देशक मल्लले करिब तीन वर्ष अघिदेखि नै थालेका थिए । लामो तयारी हुँदा पनि मल्ललाई नाटक मञ्चन नहुँदासम्म कस्तो हुने होला भन्ने डर थियो ।
“पब्लिकमा नजाउन्जेलसम्म एउटा छुट्टै डर थियो । नाटक कस्तो हुने होला, दर्शकसम्म पुग्छ कि पुग्दैन होला भन्ने डर लागिरहेको थियो । तर मञ्चन भएपछि आएका प्रतिक्रियाबाट एकदमै खुसी छु,” मल्ल भन्छन्, “यसमा मेरो कलाकारदेखि सबै टिमले नै एकदमै राम्रो काम अनि सहकार्य गरिदिनुभएको छ ।”
गीतिनाटक भएकाले सांगीतिक पक्षमा विशेष बल पुग्नु पनि नाटकको विशेषता हो । यसका लागि उनले राजु सिंहसँग बसेर संगीतमा धेरै काम गरेका छन् । फलस्वरूप नतिजा सुन्दर देखिएको छ ।
नाटकको अर्को पक्ष भनेको नृत्य हो । यसमा पनि मल्ल नेपालकै मौलिक चरिया, शास्त्रीय, लोक र आधुनिकको फ्युजन चाहन्थे ।र, कोरियाग्राफर प्रमिला कार्की उप्रेतीले मल्ले भनेजस्तै सुन्दर फ्युजन भरिदिइन् ।
आफ्नो स्वर भरेका नाटकलाई जीवन्त बनाइदिएका गायकगायिका हुन्, सत्यराज आचार्य र बानिका प्रधान ।
करिब ८ वटा गीत समेटेको यस गीति नाटकलाई अझै बलियो बनाउन बिचबिचमा कविता र न्यारेसनलाई पनि स्थान दिइएको छ ।
समग्रमा नाटकले आफ्नै देशमा विकल्प खोज्न प्रेरित गरेको छ ।
मञ्चमा मनोज महर्जन, धीरज थापा मगर, शू–गूँ, रविना परियार, निरीक्षा घतानी, भावना उप्रेती, मिलन शाक्यको अभिनय देख्न सकिन्छ ।
साउन ५ गतेदेखि २१ गतेसम्म कालिकास्थान स्थित सर्वनाम थिएटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः५० बजे र शनिबार अक्तिरित्त सो दिउँसो १ बजे हेर्न सकिन्छ ।