पोखरा । पोखराका मेयर धनराज आचार्य करोडौँको सम्पत्तिका मालिक हुन् । उनी आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको खुद आम्दानी मात्रै ४० करोड ७६ लाख ४५ हजार रुपैयाँ भन्दा बढी छ । यसमा उनको बुवाको सम्पत्ति उल्लेख गरिएको छैन ।
त्यसमा पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख नगद पनि छ । पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा छन । पोखराको वडा नम्बर ९ मा २८९ वर्गमिटर जग्गामा ९ करोड २५ लाख रुपैयाँका दुईवटा घर छन् । ती दुवै घर श्रीमती पुष्पाकुमारी पौडेल आचार्यको नाममा छन् । श्रीमतीकै नाममा काठमाडौं सीता पाइलामा एक करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको घर ९२५ वर्गफिटको जग्गामा रहेको छ ।
दुई करोड रुपैयाँ बराबरको कार, भ्यान र तीनवटा स्कुटर रहेको खुलाएका छन् । टोयटा र्याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एउटा र तीनवटा स्कुटर आफूसँग रहेको विवरणमा उल्लेख छ ।
पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मेयरकै नाममा दोलखामा ५८ रोपनी ७ आना जग्गा छ । त्यसलाई ८७ लाख रुपैयाँमा खरिद गरेको उनले उल्लेख गरेका छन् ।
मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा सेयर रहेको छ ।
४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति र दुई करोड ८५ लाख रुपैयाँ उनको ऋण छ ।
प्रोभिजनल स्टोर्स, हेलो स्टेशनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी जस्ता साना ठूला दुई दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व छ ।
हेलो स्टेसनरीको नाममा महालेखाले सिधै खरिद गरेको भनेर प्रतिवेदनमा कैफियत पनि उठाएको छ । उनको स्टेसनरीबाट महानगरले टुक्रे योजना बनाएर सार्वजनिक खरिद ऐन विपरीत सामाग्री किनेको उल्लेख छ ।
अनेरास्ववियुबाट राजनीतिमा लागेका आचार्य एमाले फुटेपछि तत्कालीन माले र फेरि एमालेमै फर्किएका थिए । पछि माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि उनी पनि त्यतै लागे । पोखराको मेयर पाउनका लागि उनले माधव नेपालमार्फत गठबन्धनमा व्यापक दबाब दिएका थिए । एमालेको अन्तरविरोध र गठबन्धनको बलमा अहिले उनी पोखरको मेयरमा छन् ।
जेठ १२ गते पदभार सम्हालेको उनले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।