पोखरा । गण्डकी प्रदेश सरकारले साउन ६ देखि ८ गतेसम्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’को आयोजना गर्दै छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो ।
तर, पत्रकार सम्मेलनमा सोधिएको प्रश्न ‘गण्डकीमा कति बेरोजगार छन् ?’ भनेर सोधिएको प्रश्नमा जवाफ दिइयो– यकिन तथ्यांक छैन ।
यही कार्यक्रमले २०० जनालाई रोजगारी प्रदान गर्न सक्ने अनुमान सरकारी अधिकारीहरूको थियो ।
गण्डकीमा कति छन् बेरोजगार ?
मन्त्रालय अनभिज्ञ रहेपनि यसको जवाफ दुई ठाउँमा छ । एउटा नीति तथा योजना आयोगले २०७५ मा प्रकाशित गरेको प्रदेशको स्थितिपत्रमा र अर्को अर्थ मन्त्रालयले निकालेको आर्थिक वर्ष २०७८/०७९ को ‘आर्थिक सर्वेक्षण’मा ।
आर्थिक सर्वेक्षणअनुसार प्रदेशमा बेरोजगारीको संख्या ६० हजार छ । तीन वर्षअघि प्रकाशित स्थितिपत्रमा भने यो तथ्यांक ५६ हजार थियो । तीन वर्षपछिको आर्थिक सर्वेक्षणले गण्डकीमा बेरोजगारको संख्या बढेर ६० हजार पुगेको देखाएको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०१९ अनुसार गण्डकीमा काम गर्ने उमेर समूहको जनसंख्या १८ लाख ६८ हजार रहेको छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार प्रदेशको कुल जनसंख्या २४ लाख ७९ हजार ७४५ को ७५ प्रतिशत हुन आउँछ ।
तर, काम गर्ने उमेर समूहको यो जनसंख्याको ६४ प्रतिशत जनसंख्या चाहिँ श्रमशक्तिमा समावेश भने छैन । बाह्र लाख दुई हजारजना श्रमशक्तिमा समावेश नहुँदा काम गर्ने उमेर समूहका जम्ममा छ लाख छ हजारजना रोजगारीमा छन् । श्रमशक्तिमा समावेश भएका ६० हजार बेरोजगार छन् । जुन ९ प्रतिशत बेरोजगार दर हुन आउँछ ।
काम गर्ने उमेर पुगेका पुरुष भन्दा महिलाको संख्या बढी छ । बेरोजगारी दर पनि पुरुषको नै बढी छ । गण्डकीमा पुरुष भन्दा महिला रोजगारमा बढी छन् । काम गर्ने उमेर पुगेकाको कुल संख्या १८ लाख ६८ हजारमध्ये महिलाको संख्या १० लाख ९८ हजार छ । पुरुषको संख्या महिलाको भन्दा तीन लाखले कम छ । गण्डकीमा काम गर्ने उमेर पुगेका पुरुषको संख्या सात लाख ७० हजार मात्र छ । उनीहरूमध्ये तीन लाख ९५ हजारजना श्रमशक्तिमा समावेश नै छैनन । समावेश भएका तीन लाख ४० हजार रोजगारीमा छन भने ३५ हजार पुरुष बेरोजगार छन् ।
१० लाख ९८ हजार जना महिला काम गर्ने उमेर समूहका रहेपनि उनीहरूमध्ये आठ लाख सात हजारजना श्रमशक्तिमा समावेश नै छैनन् । संख्या धेरै भएतापनि जम्मा दुई लाख ९१ हजार जना महिलालाई काम गर्ने उमेर समूहमा राखिएको छ ।
यसमध्ये पनि तीन लाख ४० हजार महिला रोजगारीमा आबद्ध छन् । २४ हजार महिलाले रोजगार नै पाएका छैनन् ।
यो तथ्यांकले गण्डकीमा पुरुषको तुलनामा २४ हजार कम महिलाले रोजगारी पाएका छन् भने ११ हजारजना पुरुष महिलाको तुलनामा बढी बेरोजगार छन् ।
६७ हजार विदेशमा, प्रदेश राजधानीबाट सबैभन्दा बढी महिला विदेशमा
गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ सम्म विदेशिनेको संख्या बेरोजगारको संख्या भन्दा बढी छ । वैदेशिक रोजगार विभागकाअनुसार उक्त आर्थिक वर्षको ९ महिनामा नै ६७ हजार जना विदेशिएका छन ।
विदेशिनमा पुरुषको संख्या धेरै छ । अन्तिम तथ्यांकलाई हेर्दा नौ महिनामा विदेशिने पुरुषको संख्या ६३ हजार ७८७ जना रहेका छन भने महिलाको संख्या जम्मा तीन हजार ४४४ सहित कुल ६७ हजार २३१ जना विदेश गएका छन् ।
यो संख्या आर्थिक वर्ष २०७५/०७६ को भन्दा १५ हजारले बढी हो ।
२०७९/०७९ मा सबैभन्दा बढी तनहुँ र स्याङ्जाबाट विदेश गएका छन् । तनहुँबाट उक्त समयमा ४८२ जना महिला र ११ हजार ३२४ जना पुरुष गरी ११ हजार ८०६ जना विदेशिएका छन् ।
स्याङ्जाबाट चाहिँ १० हजार ८२७ पुरुष बाहिर जाँदा ४६२ महिला गरी ११ हजार २८९ जना विदेशिएका छन् ।
त्यसपछि बढी विदेश जानेमा कास्कीका ६२३ महिला र सात हजार १२० पुरुष सहित सात हजार ७४३ जना, गोरखाका ५७५ महिला र छ हजार ८९४ पुरुष सहित सात हजार ४६९ तथा नवलपुरका ३९९ महिला र सात हजार २८८ पुरुष गरी सात हजार ६८७ जना छन् ।
बागलुङबाट १९० महिला र सात हजार ५४२ पुरुष गरी यो अवधिमा सात हजार ५४२ जना विदेशिँदा सबैभन्दा कम मनाङबाट २३ र मुस्ताङबाट चाहिँ ७९ जना विदेशिएका छन् । यी दुई जिल्ला मध्ये मनाङबाट ६ महिला र १७ पुरुष तथा मुस्ताङबाट चाहिँ १८ महिला र ६१ जना रहेका छन् ।
लमजुङबाट ३०३ महिला तथा पाँच हजार ५५७ महिला सहित पाँच हजार ८६० जना, पर्वतबाट चार हजार २८८ पुरुष र १६९ महिला गरी चार हजार ४५७ जना विदेश गएका छन् भने अर्को हिमाली जिल्ला म्याग्दीबाट २१७ जना महिला र तीन हजार ५९ जना पुरुष सहित तीन हजार २७६ जना विदेश गएको तथ्यांकले बताउँछ । यो तथ्यांकअनुसार कास्कीबाट सबैभन्दा बढी महिला विदेशिएका छन् भने स्याङ्जाबाट सबैभन्दा बढी पुरुष विदेशिएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा भने कोभिडका कारण विदेश जानेको संख्यामा कमी आएको थियो ।
श्रमशक्ति सर्वेक्षणअनुसार गण्डकीमा औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमशक्तिको संख्या बढी रहेको छ ।
तथ्यांकअनुसार अनौपचारिक क्षेत्रमा तीन लाख ६६ हजार जनाले काम गर्छन् । अनौपचारिक क्षेत्रमा पनि ग्रामीण क्षेत्रमा एक लाख ५५ हजार जना र सहरी क्षेत्रमा दुई लाख ११ हजार जनाले काम गर्ने गरेका छन् । ग्रामीण क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको संख्या ५४ हजार र सहरी क्षेत्रमा चाहिँ एक लाख १५ हजार रहेको छ ।
अनौपचारिक क्षेत्रमा काम गर्ने पुरुष सहरी क्षेत्रमा भन्दा बढी छन् । एक लाख एक हजार पुरुषले ग्रामीण क्षेत्रमा काम गरिरहँदा सोही अनौपचारिक क्षेत्रमा काम गर्ने सहरी पुरुषको संख्या चाहिँ ९६ हजार रहेको छ ।
औपचारिक क्षेत्रमा दुई लाख ४० हजार जनाले काम गर्ने गरेका छन् । औपचारिक क्षेत्रमा काम गर्नेमा पुरुष अगाडि छन् । ग्रामीण क्षेत्रमा ३८ हजार पुरुषले काम गर्छन् भने सहरी क्षेत्रका पुरुषको संख्या एक लाख पाँच हजार रहेको छ । यो तथ्यांक पुरुषको हकमा अनौपचारिक र औपचारिक क्षेत्रको तुलना ग्रामीण र सहरी क्षेत्रमा काम गर्नेको संख्यासँग विपरीत छ ।
औपचारिक क्षेत्रमा काम गर्ने महिलाको संख्या ९८ हजार छ । जसमध्ये २६ हजारले ग्रामीण र ७२ हजार महिलाले सहरी क्षेत्रमा कार्यरत छन् ।
प्रदेशले रोजगार मेला गर्दै
सरकारले आगामी शुक्रबारदेखि त्रिदिवसीय ‘वृत्ति परामर्श तथा रोजगार मेला’ को आयोजना गरेको छ ।
मेलामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरू, प्राविधिक धार सञ्चालित विद्यालयहरू, इन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरूबाट वृृत्ति विकासका बारेमा अवलोकनकर्ताहरूलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
पत्रकार सम्मेलनमा नै मन्त्रालयले जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक गरेको जनाएको छ ।
‘तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली’ (टीईएमआईएस) नामक यो एप्लिकेसनमार्फत सिपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सिप परीक्षण गर्न चाहनेहरूका लागि छुट्टाछुट्टै जानकारी लिनेदेखि फर्म भर्नेसम्मको व्यवस्था गरिएको मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।
उनले उक्त एफ जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नै मन्त्री श्रेष्ठले अहिले विद्यार्थीहरू एसईई र कक्षा १२ पछि कुन विषय अध्ययन गर्ने भनेर अन्योलमा रहेको बताए ।
“विद्यार्थीहरू एसईई र कक्षाको परिक्षा पछि कुनकुन विषय अध्ययनपछि आफूले रोजेको विषयमा दक्ष हुन सकिन्छ भनेर निर्णय लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै रोजगारको मेलाको आयोजना गरेको हो,” पत्रकार सम्मेलनबारे प्रष्ट पार्दै उनले भने ।
मन्त्री श्रेष्ठकाअनुसार मेला अवधिभर सहभागीहरूले रोजगारीका सम्भावित क्षेत्रहरूका बारेमा जानकारी हासिल गर्नेछन् ।
मेलालाई स्विस सरकारको सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरू र राइट फर चिल्ड्रेनको समन्वयमा सञ्चालन हुनेछ ।