काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । सोमबार एन्फा तीन बजेका लागि तय गरिएको बैठक अध्यक्ष पंकज नेम्वाङ अचानक बिरामी भएपछि अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
तर, एन्फाले आज नयाँ कार्यसमितिको दोस्रो बैठक बिहीबार बस्ने जनाएको छ । बैठक ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ बजे सुरु हुने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष नेम्वाङको मुटुमा समस्या देखिएपछि मेडिसिटी अस्पलातमा भर्ना गरिएको थियो । एन्फाले कार्यसमिति बैठकका लागि संस्थापन पक्षले १२ वटा एजेन्डा तय गरेको छ । त्यसमा उपाध्यक्ष दिर्घकुमार केसीले पाँच एजेन्डा थप्न माग गरेका छन् । जसमा सस्थापन पक्ष समहत भएको बताइएको छ ।
एन्फा कार्यसमिति बैठकमा विभिन्न पदाधिकारी नियुक्तीको मुद्दा पेचिलो बन्ने भएको छ । पदाधिकारीमा विशेष गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने विषयमा थापा पक्ष र नेम्वाङ पक्ष बीच विवाद छ । त्यसबाहेक महिला साफ च्याम्पियनसिप आयोजनाको तयारी, विवादित नेपाल सुपर लिग (एनएसएल), लगायतका विषयमा छलफल हुनेछन् ।