site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई नत्थी लगाएर राख्नुपर्ने ?
SkywellSkywell

काठमाडौं । जब–जब तिज नजिकिन्छ, अनि सुरु हुन्छ गीतका शब्दलाई लिएर बहस । सर्जक मात्र होइन, दर्शकसमेत पक्ष/विपक्षमा विभाजित हुन्छन् । पछिल्ला केही वर्षयता यो समस्या हरेक वर्ष दोहोरिँदै आएको छ । तर, न समस्याको समाधान भएको छ न त त्यति धेरै उपलब्धि नै देखिएको छ ।

यद्यपि, हरेक वर्ष राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लोकले लाज मान्ने शब्द लोकगीत तथा पर्व गीतमा समावेश नगर्न आग्रह गर्दै आएको छ । प्रतिष्ठानले आग्रह मात्र होइन, चेतावनीको शैलीमा निर्देशनात्मक विज्ञप्ति नै जारी गर्दै आएको छ ।

यो वर्ष पनि तिज नजिकिँदै छ । तिजका गीत स्टुडियोमा धमाधम रेकर्ड भइरहेका छन् । त्यसैले प्रतिष्ठानले पनि विज्ञप्ति जारी गरिसकेको छ । “सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र नियतवश दिअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत–संगीत प्रस्तुत नगर्न अनुरोध गर्दछौँ,” प्रतिष्ठानले विज्ञप्ति जारी मात्र गरेको छैन, उसले निर्देशनात्मक शैलीमा लेखेको छ, “संस्थागत अपिललाई बेवास्ता गरी समाजमा अपाच्य किसिमका सिर्जनाहरू प्रस्तुत गरेको पाइए साधारण सदस्यतालगायत सम्पूर्ण संस्थागत सेवा–सुविधाबाट समेत वञ्चित गर्न सकिनेछ ।”

KFC Island Ad
NIC Asia

हरेक वर्ष ठूलो संख्यामा तिज गीत व्यावसायिक रूपमा बजारमा आउँछन् । कतिपय तिज गीतका नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्यप्रति दर्शक तथा स्रोताको गुनासो बर्सेनि आइरहेको प्रतिष्ठानले जनाउँदै आएको छ । त्यसैले प्रतिष्ठानले विकृति, विसंगति न्यूनीकरण कार्यदल नै बनाएर अपाच्य शब्द तथा दृश्य गीत र भिडियोमा नराख्न वा कम गर्न प्रयास गर्दै आएको छ ।

गीतमा प्रयोग हुने शब्द, भाषा र संगीतलाई लिएर कोही कसैले वर्जित गर्न पाउँछ ? यो बहसको विषय हो । तर, लोकगीतका नाममा लोकले नै लाज मान्ने शब्द, दृश्य तथा संगीतको प्रयोगलाई स्वीकार्न नसकिने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन् । प्रतिष्ठानले हार्दिकतापूर्वक आग्रह मात्र गरेको तर निर्देशन नदिएको उनी स्पष्ट पार्छन् । प्रतिष्ठानले गायक/गायिकालाई नत्थी लगाउने वा कण्ठी नै लगाउन भने नसक्ने उनी बताउँछन् ।

Royal Enfield Island Ad

“हामीले बारम्बार भन्दै आएको तिज जोगिन्छ कि भनेर मात्रै हो । अन्यथा, यो गर त्यो नगर भन्ने अधिकार हामीलाई छैन । मान्दिनुहुन्छ कि भन्ने मात्रै हो,” अध्यक्ष रमेश भन्छन्, “हामी असारमा छौँ । अहिले असारे गीतको समय हो । यसपछि मात्रै तिज गीत आऊन् भन्ने पनि हाम्रो आग्रह छ । तर, स्रष्टा नै इमानदार नभएपछि यी समस्या आएका हुन् । हामीले एउटै कुरालाई बारम्बार आग्रह र अनुरोध गर्दै आउनुपरेको हो । हामी आफैँलाई यो राम्रो लागिरहेको छैन ।”

लोकगीत त्यसमा पनि तिज गीतमा विकृति देखिनुको मुख्य कारण उच्च व्यावसायिकता र ठूलो महत्त्वाकांक्षा भएको रमेशको ठम्याइ छ । करिब १०/१५ दिन मात्र बज्ने तिज गीतमा पनि अरू गीतसरह नै लगानी हुने भएकाले जति सकेको चाँडो ल्याऊँ र जसरी हुन्छ ‘नोटिस’ भइहालौँ, लगानी उठाइहालौँ भन्ने चाहना नै विकृतिको मुख्य कारकतत्व भएको उनको ठहर छ । यदि, लगानी सहजै उठ्ने सुनिश्चित भइदिए यस्तो विकृति नहुने उनी बताउँछन् ।

“गाली गरे पनि ठिकै छ, अरूले जे भने पनि ठिकै छ । तर, जसरी हुन्छ नोटिस हुनुपर्छ भन्ने मनोविज्ञानले काम गरिरहँदा पनि यो समस्या आइरहेको छ,” उनी भन्छन्, “यो दुस्साहसले पनि काम गरिरहेको छ । त्यसैले यो खराब काम नहोस् भनेर हामीले आग्रह गर्दै आएका हौँ । कसैले केही नभन्दा कसैले केही भनेको छैन भन्ने हुँदो रहेछ । त्यसैले आफैँ आबद्ध भएको संस्थाले यस्तो आग्रह गरेको छ, नगरौँ न त भन्ने पनि हुन्छ कि भन्ने विश्वासले पनि हामीले आग्रह गरिरहेका छौँ ।”

कसैलाई निर्देशन वा सेन्सरसिपभन्दा पनि तिजलाई फोहोर नबनाउने मात्र प्रतिष्ठानको उद्देश्य रहेको उनी स्पष्ट पार्छन् । संस्कृति झल्काउने पर्व गीत अपाच्य र दिअर्थी लाग्ने नहून् र यसको वास्तविक स्वरूप तथा चिनारी नै नमरोस् भन्ने चिन्ता प्रतिष्ठानलाई रहेको रमेश बताउँछन् ।

गायक तथा संकलक दुर्गा रायमाझी प्रतिष्ठान नियमनकारी निकाय नभएकाले यसका लागि सरकार स्वयं अग्रसर हुनुपर्नेमा जोड दिन्छन् । तर, राज्यको प्राथमिकतामा गीत–संगीत एवं कला–साहित्य कहिल्यै नपरेको उनको गुनासो छ । “राज्यलाई मोटा–मोटा कुरा उठाउन त फुर्सद छैन भने गीत–संगीत प्राथमिकतामा पर्ने कुरै भएन,” उनी भन्छन्, “एकेडेमी तथा सरोकारवाला निकायले भने चाहेको खण्डमा छलफल तथा बहस चलाउन सक्छन् । तर, यो काम पनि भइरहेको छैन ।” यद्यपि, गीत–संगीतमा देखिएको विसंगति रोक्न राज्यले मात्र सक्ने उनी प्रस्ट पार्छन् ।

नेपाली लोकगायन क्षेत्रमा दुई खालका सर्जक रहेको दुर्गाको ठम्याइ छ । पहिलो, इमानदार र दोस्रो, पानी धमिल्याएर माछा मार्न खोज्ने सर्जक । दोस्रो दर्जाका सर्जक गीत कसरी राम्रो बनाउनेभन्दा पनि कसरी भ्युज बटुल्ने भन्नेमा केन्द्रित हुने गरेको उनको निष्कर्ष छ ।

“कस्तो गीत हेरिन्छ भनेर सिर्जना गर्ने प्रवृत्ति हावी भयो । जसरी हुन्छ कमाउनुपर्छ भन्ने कुराले गीतका शब्दमा लगाम लगाउन छोडियो,” प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका दुर्गा भन्छन्, “यहाँ ६ महिनाअगाडि तिज गीत निकालेर चैत–वैशाखमा हुने मेला–महोत्सवमा तिनै गीत गाउने गरेको पाइन्छ । यसैले समस्या सिर्जना गरेको छ ।”

युट्युबको भ्युज र स्वदेश तथा विदेशका मेला–महोत्सवमा जानु नै सर्जकको पहिलो उद्देश्य हुँदा लोकगीत त्यसमा पनि विशषगरी तिज गीतमा समस्या देखिएको उनको भनाइ छ । पहिला–पहिला तीनदेखि पाँचदिन मात्र तिजका गीत बज्ने गरेको उनले स्मरण गरे । लक्ष्य नै पैसा र विदेश हुनु विकृतिको मुख्य जड भएको र यो मनोविज्ञानबाट बाहिर नआउँदासम्म तिजको मर्ममा रहेर मात्र तिज गीत नआउनेमा उनी प्रस्ट छन् ।

एकेडेमीले सरोकारवालासँग छलफल चलाउन सक्ने तर के विकृति हो र के होइन, कसरी निर्क्योल गर्ने भन्नेमा पनि समस्या रहेको दुर्गा बताउँछन् । गीत–संगीत तथा कला–साहित्यमा सेन्सर गर्न नहुने, सर्जक स्वयंले सेल्फसेन्सरसिप गर्ने बहस पनि अनौपचारिक रूपमा हुँदै आएको छ । दुर्गा भन्छन्, “प्रतिष्ठानले अनुरोध मात्रै गर्ने हो र गर्दै आएको पनि त्यही हो । त्यसैले यो काम सरकारको हो ।”

गायिका प्रीति आले अग्रज पुस्ताले असामान्य मान्ने शब्द तथा वाक्यलाई नयाँ पुस्ताले सामान्य सम्झिएर गीत–संगीतमा प्रयोग गरिरहेको र त्यही नै कमजोरी भइरहेको बताउँछिन् । युट्युबकेन्द्रित नहुने हो भने धेरै हदसम्म समस्या समाधान हुने उनको भनाइ छ ।

“व्यावसायिक रूपमा मात्रै जान खोज्दा यस्तो भइरहेको भन्ने लाग्छ । कतिपय कन्टेन्ट एटिन प्लस भनेर राख्नुपर्ने अवस्था छ,” उनी अगाडि थप्छन्, “यसका लागि निजी संस्थाहरूले त गर्ने आग्रह र अनुरोध मात्रै हो । सरकारले नै विशेष व्यवस्था तथा पहल गरेको खण्डमा अपेक्षित कन्टेन्ट मात्रै आउने थिए ।”

कुन सामग्रीलाई कसरी ‘कन्ट्रोल’ गर्ने भन्ने सरकारको नियम नभएकाले स्वतन्त्रताको उपयोग भइरहेको छ । त्यसैले व्यक्ति स्वयं सचेत नभएसम्म यसले बढावा पाउने उनको बुझाइ छ । कारबाही गर्ने अधिकारप्राप्त संस्था नभएका कारण व्यक्तिले आफूअनुकूल सिर्जना बजारमा ल्याइरहेको उनी बताउँछिन् ।

“आफूलाई ठिकै लागेको कुरा अर्कोलाई बढी भयो भन्ने लागिरहेको हुन्छ । आफ्नो सिर्जनाजत्तिकै अरूको सिर्जना आए त्यसमा औँला उठाइरहेको पाइन्छ,” प्रीति भन्छिन्, “व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हुन्छ, त्यसैले यो वा त्यो भएन भन्न पनि कठिन हुन्छ । नीति–नियमले नै यो ठिक, यो गलत भन्ने अवस्था नआएसम्म यस्तो अवस्था रहिरहन्छ ।”

प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा भन्छन्, “राज्य तहबाट आचारसंहिता जारी नभएसम्म विद्यमान समस्या न्यूनीकरण गर्न कठिन छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro