काठमाडौं । केही दिन अगाडि रिलिज भएको चलचित्र ‘चिसो मान्छे’ आम रूपमा बन्दै आएका भन्दा केही फरक थियो । यो रोड मुभीले नेपाली सिनेमाका दर्शकलाई केही फरक स्वाद दियो ।
यही असार २४ गते ‘दोख’ रिलिज हुँदै छ । अनुप बरालले निर्देशन गरेको यो चलचित्रले तत्कालीन माओवादी र सरकारबीचको दशवर्षे जनयुद्धको पृष्ठभूमिमा रहेर कथा भन्दै छ । द्वन्द्वको पृष्ठभूमि भए पनि सामुदायिक जंगलका विषयमा दुई गाउँबीच भएको विवाद यो चलचित्रको मुख्य कथानक हो ।
यसलगत्तै साउन १३ गते ‘पानी फोटो’ रिलिज हुनेछ । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा रहेको यो चलचित्रले पनि द्वन्द्वको कथा नै भन्दै छ । १७ वर्षदेखि बेपत्ता छोरो गाउँ फर्कने आसमा पर्खिरहेका आमा–बुवाको कथा यो चलचित्रले देखाउनेछ ।
भदौ १० गते चलचित्र ‘प्रकाश’ रिलिज हुनेछ । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रले शिक्षक हुनका लागि जुम्लाको एक युवाले गरेको संघर्षको कथा पर्दामा देखाउनेछ । जनयुद्धको पृष्ठभूमि पनि यसको ट्रेलरमा देखिन्छ ।
‘चिसो मान्छे’ चलचित्रको खिच्दै बाजुरा पुग्यो । रोड मुभी भएकाले त्यहाँका धेरै कुरा त यसले भन्न सकेन, तर अटायर र भाषामै भए पनि काठमाडौं र पूर्वका दर्शकले केही नयाँ कुरा देख्न पाए ।
‘दोख’ सुदूरपूर्वी जिल्ला खोटाङको कथा भन्न भोजपुर पुग्यो । केन्द्रबाट हेर्दा सानो लाग्ने जंगलका नाममा भएको झगडालाई चलचित्रको कथा बनायो ।
‘पानीफोटो’ पहिलोपटक चलचित्र खिच्न रोल्पा पुग्यो । स्थानीय प्रशासन छक्क पर्दै छायांकन युनिटलाई स्वागत गर्दै सहयोगसमेत गर्यो । यो चलचित्र रोल्पामा मात्रै भने खिचिएको छैन ।
‘प्रकाश’ कथा खोज्दै जुम्ला पुग्यो । त्यहीँ छायांकन भयो । यसमा ‘चकलेटी ब्वाई’को ट्याग पाएका प्रदीप खड्का जुम्ली युवा भएर चरित्रमा बाँचेका छन् ।
छायांकनका लागि काठमाडौं र मनाङ–मुस्ताङमा भीडभाड लाग्ने नेपाली चलचित्रको अब फरक कथा र पन खोज्न थालिएको हो ? नेपाली चलचित्रको सोसियो–पोलिटिकल–जोग्राफिक कन्डिसनको दायरा फराकिलो भएको निर्देशक मीन भाम बताउँछन् ।
“नेपाली चलचित्र अहिले मुस्ताङ मात्रै सुटिङ गर्न जाँदैनन् । प्रकाश जुम्लाबाट आउँदै छ । चिसो मान्छेले बाजुरासम्मको कथा भन्छ,” मीन भन्छन्, “भौगोलिकसँगै कथा खोज्न चलचित्रकर्मी काठमाडौंबाट बाहिर जान थाल्नुभएको छ, यो राम्रो संकेत हो ।”
भूगोल र पात्र परिवर्तनको चेत नेपाली सिनेमामा देखिनु सकारात्मक पक्ष भएको उनी बताउँछन् । चिसो मान्छे बाजुरा र प्रकाश जुम्लाको भाषामा आउँदा कथ्यशैलीलाई फराकिलो बनाइदिएको उनको बुझाइ छ ।
यद्यपि, कतिपय चलचित्रले लोकेसन क्यास गरे पनि कथ्यशैली काठमाडौंकै अपनाउनु गलत भएको उनी सुनाउँछन् । कसैले यस्तो गर्छ भने व्यापारिक प्रयोजन मात्र भएको बताउँदै उनी भन्छन्, “कलाकार र मेकर दुवैका लागि यसो गर्न हुन्छ कि हुँदैन भन्ने नैतिक प्रश्न पनि हो यो ।”
काठमाडौं खाल्डो छिचोलेर बाहिरका कथा र कथ्य चलचित्रले समेट्नु राम्रो संकेत भएको मीन बताउँछन् । यसले निरन्तरता पाउनुपर्नेमा उनी जोड दिन्छन् । तराई, पोखरा, भोजपुर, जुम्ला, बाजुराका कथा उठ्न थाल्नु सकारात्मक संकेत भएको उनको धारणा छ ।
यद्यपि, स्थानीय भाषा र संस्कृति कथाको स्वरूपभित्र ल्याउन नसके त्यो अन्याय हुने उनी सुनाउँछन् । “जस्तै, कथा काठमाडौंको भन्ने तर गीतको सिन खोज्न मुस्ताङ कुद्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । फिल्म मुस्ताङमा खिच्ने तर भाषा काठमाडौंको भयो भने त्यसले गलत सन्देश दिन्छ,” मीन सचेत गराउँदै भन्छन्, “चिसो मान्छे र प्रकाश जुन होराइजनमा पुग्यो, त्यो ठूलो रिस्क लिएको पनि हो । तर, यसले फिल्ममेकरको ग्रोथ पनि बढाउँछ र चलचित्र उद्योगको आयाम पनि फराकिलो बनाउँछ ।”
भूगोल, भाषा, परिवेश र लवजको विविधताले नेपाली फिल्म उद्योगलाई फराकिलो बनाउने उनले बताए । उनी यसमा मेकरले ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।
काठमाडौंबाट बाहिर निस्किएको चलचित्र सुरुमा गण्डकी प्रदेशको आञ्चलिकतामा घुमेर विस्तारै फैलिँदो क्रममा रहेको अभिनेता तथा निर्देशक खगेन्द्र बताउँछन् । सुदूरपश्चिम प्रदेशमा कहिल्यै नपुगेको सिनेमा अहिले त्यहाँको आञ्चलिकता बोक्न पुगेको उनले बताए । यसलाई उनी नेपाली सिनेमाको सुन्दर पक्ष मान्छन् ।
“हिमालको स्टोरी भन्न थालियो । सुदूरपश्चिमका कथा आउन थाले । सुदूरपूर्वका कथा पनि आउन थालेका छन् । तराईका कथा समेटिन थाले, यो नेपाली सिनेमाको सुन्दर पक्ष हो,” उनी अगाडि थप्छन्, “समग्रमा हाम्रो देशको फरकफरक ठाउँबाट भिन्नभिन्न कथा आउँदै छ । अहिले जसरी नेपाली मेकरले काम गरिरहेका छन्, यसले दायरा फराकिलो हुँदै छ । यसको अर्थ हाम्रा कथा अब बलियोसँग आउनेछन् ।”
मेकहरहरूमा आफ्नै कुरा भन्नुपर्ने रहेछ भन्ने महसुस हुन थालेको खगेन्द्र बताउँछन् । पहिला बन्द कोठाभित्र बसेर कथा लेखिन्थ्यो भन्ने सुनिने गरेको बताउँदै उनी भन्छन्, “अहिले हामी आफ्नै कथा खोज्न थालेका छौँ ।”
भलै, कुन तहमा खोजी भइरहेको छ र त्यो कुन स्तरको छ, त्यो मूल्यांकनको विषय भएको उनको भनाइ छ । तर सुरुआत हुनु नै अहिलेका लागि ठूलो कुरा भएको उनी बताउँछन् ।
“सुरुआत हुनु भनेको गन्तव्यमा पुग्ने लक्ष पनि हो । बाटोमा हिँड्न सुरु गरेपछि कति थाकिएला, लडिएला, खुट्टा भाँचिएला तर भाँचिएको खुट्टा प्लास्टर गरेर भए पनि पुग्ने ठाउँ त्यहाँ हो भनेर हिँडेपछि गन्तव्यमा पुगिन्छ,” खगेन्द्र भन्छन् ।
नेपाली मेकरलाई तिमीहरूको सिनेमा के हो र कुन हो भनेर विदेशीले सोधे हाम्रो सिनेमा यो हो भनेर देखाउन सक्ने अवस्था थिएन । कारण, बलिउडसूत्रमा सिनेमा बनिरहेका थिए । त्यसैले जवाफ फर्काउन सक्ने अवस्था थिएन । तर, अब नेपाली सिनेमा उद्योगले हाम्रो सिनेमा यो हो भनेर जवाफ दिने मात्र होइन, देखाउन सक्ने अवस्थामा पुग्न थालेको खगेन्द्र बताउँछन् ।
दक्ष जनशक्तिको विकास पनि हुँदै गएको र यसले थप आफ्ना कथाको खोजी गर्दै चलचित्र बनाउँदै जानेमा उनी ढुक्क छन् ।
नेपाली चलचित्र नेपाली दर्शकले मात्र होइन, ग्लोबल अडियन्सले पनि हेरोस् भन्ने चाहना हुने गरेको र यसका लागि आफ्नै कथा धेरैभन्दा धेरै आउनुपर्नेमा नायिका बेनिशा हमालको जोड छ । नेपाली चलचित्रलाई ग्लोबलाइज गराउन बलिउडबाट इन्स्पायर भएको स्टोरी भनेर नहुने र यसका लागि आफ्नै कथा चाहिने उनी बताउँछिन् ।
“बाहिरको अडियन्सले हेर्दा चलचित्र हाम्रो आफ्नैजस्तो देखिनुपर्छ । पछिल्लो समय सहरी क्षेत्रमा बस्ने युवा पुस्तालाई कति नेपाली कथा भए पनि नयाँ लाग्छ । जानकारी भए पनि त्यसको विस्तृत जानकारी कम हुन्छ,” बेनिशा भन्छिन्, “अहिले अडियन्स स्मार्ट भइसक्नुभएको छ । दुई वर्षको कोभिडको समयमा नेट्फिल्क्समा सहज पहुँचका कारण दर्शक बौद्धिक भइसक्नुभएको छ । त्यसैले हाम्रा आफ्नै स्टोरी भन्न जरुरी छ ।”
जुन ठाउँको स्टोरी हो, सोही ठाउँमा पुगेर आफूले उठाउन खोजेको विषयमा रिसर्च गरेर चलचित्र बनाउने मेकरको संख्या बढेको भन्दै यो सकारात्मक पक्ष भएको बेनिशा बताउँछिन् । चलचित्र व्यापार पनि हो, तर कलात्मक पक्षमा मेकरकेन्द्रित हुनु सिनेमा क्षेत्रका लागि सकारात्मक पाटो भएको उनको ठहर छ ।
“सिनेमालाई गम्भीर रूपमा लिएर विषयको गहिराइमा पुगेर चलचित्रमा प्रस्तुत गर्नु सकारात्मक पक्ष हो, यसले गुणस्तर बढाउँछ,” उनी भन्छिन्, “कुनै गम्भीर विषय उठान गर्नुपर्नेछ भने त्यस्तै खालका कलाकार खोजिन्छ । अभिनयलाई गम्भीर रूपमा लिएर काम गर्ने कलाकारको संख्या पनि न्यून छ । यदि, ती कलाकारले पनि म चरित्र दोहोर्याउँदिनँ, यस्तो चरित्रमा पहिला नै काम गरिसकेको छ भनेर भन्यो भने मेकरलाई पनि विविधता सिर्जना गर्न दबाब हुन्छ ।”
चुनौतीपूर्ण क्यारेक्टर गर्न कलाकार पनि तयार हुनुपर्ने र त्यसका लागि मेकरलाई प्रोत्साहित गर्दै दबाब दिइरहनुपर्ने उनको धारणा छ ।
कथाको सुरुदेखि नै राइटर र डिरेक्टरसँग बसेर कलाकारले पनि काम गर्न पाए वा सकेको खण्डमा अझै धेरै विविधता देखिने उनको भनाइ छ ।