site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शरीर र संगीतको संगम ‘ऐया ! माया’
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी ।

काठमाडौं । ‘ऊ’ कोही एक विशेष व्यक्तिमात्र होइन । ‘ऊ’ समग्र ‘ऊ’ हो, जो समाजले चिनेको र देखेको ‘ऊ’ भन्दा फरक छ । समाजले देखेको ‘ऊ’ र ‘ऊ’ भित्रको उसको परिचय बिलकुल फरक छ । 

‘ऊ’ १४ वर्षको थियो । ऐनामा हेर्दा आफूभित्रको आफू र बाहिरको आफूमा फरक देखिन थाल्यो । ‘ऊ’ हरेक साँझ कैयौँबेर ऐनामा घोरिएर हेरिरहन्छ । आफ्नो बाहिरी रूपलाई नियाल्छ । आफैँलाई घृणा गर्छ । आफूले आफैँलाई चोट पुर्‍याउँछ । फेरि आफैँले मलम लगाउँछ । 

माथिको दृश्य रंगकर्मी सुदाम सीकेको परिकल्पना र निर्देशनमा तयार भएको नाटक ‘ऐया ! माया’को हो । करिब एक घण्टा लामो नाटकमा समाजमा देखिएका जटिल विषयहरू एकपछि अर्कोगर्दै उजागर हुँदै जान्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रंगकर्मी तथा निर्देशक सुदाम नेपाली रंगमञ्चमा प्रयोगात्मक (एक्सपेरिमेन्टल) नाटक निर्देशन गर्न रुचाउने रंगकर्मी हुन् । सुदाम रंगमञ्चलाई आफ्नो प्रयोगशालाको रूपमा लिन्छन् । 

नेपाली रंगमञ्चमा प्रयोगात्मक नाटक गर्न पछि हट्ने समयमा सुदामले यस नाटकमार्फत चुनौती मोलेका छन् । किनभने ‘ऐया ! माया’ शरीर र संगीतको भाषाको विम्बात्मक अभिव्यक्ति हो । नाटकमा संवाद छैन नै भन्दा फरक पर्दैन । बिचबिचमा आउने एकाध एकालाप र दुई प्रेमी बिचको छोटो संवादबाहेक नाटकका मुख्य चार पात्रले शरीरको हाउभाउ र केही गीतमार्फत प्रस्तुति दिन्छन् । 

मञ्च छेउबाट प्रत्यक्ष बजिरहेको शास्त्रीय र आधुनिक लयको तबलाको ताल अनि संगीतले नाटकलाई बलियो बनाएको छ । तर, संवाद नै संवादले भरिएको नाटक हेर्ने दर्शकका लागि ‘ऐया ! माया’लाई दर्शकले कति रुचाउँछन्, समयले देखाउला । नेपाली रंगमञ्चमा देखिने नियमित नाटक हेर्दै आइरहेका दर्शकका लागि नाटकको सुरुवात केही मन्द लाग्न सक्छ भने पात्रहरूले आफ्नो रिस, आक्रोश, भावना पोखिरहँदा प्रयोग हुने हाउभाउ दोहोरिरहँदा केही अत्यास पनि लाग्न सक्छ । 

तर, नेपाली रंगमञ्चमा फरकपन दिन खोज्ने निर्देशक र पात्रहरूको तालमेल भने गज्जबले जमेको छ । रंगकर्मीहरूको प्रस्तुति तारिफयोग्य छ । 

लैंगिक तथा यौनिक अल्पसंख्यको कथा व्यथाबाट सुरु भएको नाटकले देशको अव्यवस्थित व्यवस्था, भत्केको सरकार, अनि कुरीति र विसंगतिले भरिएको समाजलाई छर्लंग रूपमा प्रस्तुत गरेको छ । समाजको कुरीती र कुसंस्कारकै कारण प्रेमिल जोडीहरूको बिछोड र यसकै कारण मृत्युको मुखसम्म पुग्नुपर्ने सत्य घटनालाई पनि नाटकमा प्रस्तुत गरिएको छ । 

नाटकमा एउटा छोटो तर अर्थपूर्ण वाक्यांश प्रयोग गरिएको छ— “फरक हुनु भनेकै एक्लो हुनु हो कि ? एक्लो हुनु भनेकै फरक हुनु हो ?”

जुन नाटकले दिन खोजेको बलियो सन्देशमध्येको एक हो । 

तर, निर्देशक सीकेले नाटकलाई विश्लेषण गर्न दर्शकका लागि खुला छोडिदिएका छन् । दर्शकले आफूलाई आफ्नो भोगाइलाई अनुभूत गर्न सकून् भनेर पात्रहरूलाई कुनै नाम वा एउटा मात्रै घटनाले बाँधिएको छैन । 

मञ्चमा आकास नेपाली, आयान खड्का, पवित्र राई, मुक्ति, शिशिर शिवाकोटी र सरिता कठायतको सशक्त प्रस्तुति देख्न सकिन्छ । नाटक यही असार ३२ गतेसम्म सोमबार र मंगलबारबाहेक हरेक दिन अपराह्न साणे ५ बजे तथा शनिबार दिउँसो २ बजे पनि कौशी थिएटरमा मञ्चन भैरहेको छ । 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्