site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायनमा सफल नभए विदेश जाने सोच थियो
तस्बिर : हरिशजंग क्षेत्री/ बाह्रखरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं‌ । यदि, तपाईंले केही गर्छु भनेर मनैदेखि इच्छा, चाहना राख्नुभयो भने त्यसले एक दिन अवश्य मूर्त रूप लिने छ । त्यो कुराले पूर्णरूप मात्रै लिँदैन त्यो क्षेत्रमा तपाईं एक सफल व्यक्तिको रूपमा खडा पनि गरिदिने छ । यो भनाइमा हामीभन्दा पनि पछिल्लो समयकी लोकप्रिय गायिका अस्मिता अधिकारी बढी विश्वास गर्छिन् ।

उनी आफ्नै उदाहरण दिँदै भन्छिन्, “यसका चुनौतीहरू के–के हुन्छ भनेर सोच्नेभन्दा पनि मैले आफूले चाहेको कुरा हो जसरी पनि पूरा गर्छु भनेर लागे र आज यो स्थानमा छु । आत्मविश्वासका साथ आफ्नो सपनाको बाटोमा हिँड्दै गइयो भने अवश्य पूरा हुने रहेछ । त्यसैले, मैले मेरो पढाइ र गायन दुवैलाई सँगसँगै अघि बढाउन सकेँ ।”

सानैदेखि गुनगुनाउने, स्कुलमा पनि ठूलो स्वर भएकै कारण सर मिसले पनि गायन भनेपछि अस्मितालाई नै अगाडि बोलाउँथे । उनलाई पनि गाउने रहर । ‘ठूलो भएपछि के बन्छौ ?’ भनेर कसैले सोधिहाले भने मसँग रेडिमेड जवाफ हुन्थ्यो ‘गायिका’ । त्यसैले, गायिका बन्ने सपना बुनेर ९, १० कक्षामा हुँदै थुप्रै प्रतियोगिताहरूमा भाग लिन्थेँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“त्यो बेला अहिलेजस्तो प्लेटफर्म थिएन, गाउँघरतिरकै सानातिना प्रतियोगिताहरूमा भाग लिन्थेँ । तर, कम आत्मविश्वास अनि सानै उमेर भएका कारणले होला म रिजेक्ट हुन्थेँ । त्यसैले, एक मनले मेरो गायिका बन्ने सपना पूरा हुन्न कि जस्तो पनि लाग्थ्यो । तर, मैले मेरो सपनालाई मर्न दिइनँ,” उनले सुनाइन् । अस्तितामाथि उनको परिवारको विश्वास थियो । साथ थियो । त्यसैले त उनको गायन र पढाइलाई साथ दिन उनको परिवार नै काठमाडौं आयो ।

Royal Enfield Island Ad

नेपाल आइडल सिजन–२ मा प्रतिस्पर्धी भएर गायन क्षेत्रमा प्रवेश गरेकी उनले टाइटल त जितिनन् । तर, धेरै दर्शकको मन अनि संगीत जगतका व्यक्तिहरूको नोटिसमा परिन् । त्यसैले, त होला अरूभन्दा युनिक अनि सुमधुर आवाजकी धनी उनका ‘तिम्रो मायाले बाँधेर राख’ पहिलो एकल गीत हरेक संगीतप्रेमीको मुख–मुखमा बस्न सफल बन्यो । यसपछि, गायिका अधिकारीले फर्केर हेर्नुपरेको छैन ।

‘को होला त्यो मसँग आँखा जुधाउने’, ‘रमरम मरौटी’, ‘टाढा भए पनि, लजावती झार, होस वा हालसालै रिलिज भएको बाबरी चलचित्रको ‘बाबरी रंगमा’ नै किन नहोस् उनले गाएका हरेक गीत एकपछि अर्को गर्दै हिट हुँदै गएका छन् । गीत हिट बनाउने ‘नुस्का’ त अस्मितासँग छैन तर उनी यसको श्रेय दर्शक स्रोतलाई नै दिने गर्छिन् । विवादमा कहिल्यै नतानिने, शालिन अनि भद्र स्वभावकी २४ वर्षीया गायिकाको सोच कुनै परिपक्व व्यक्तिको भन्दा कम छैन । 

अस्मिता छोटो समयमा नै नाम र दाम कमाउन सफल अहिलेकी व्यस्त गायिका हुन् । उनको प्रायः हरेक दिन गीत रेकर्ड हुन्छ । अझ कहिलेकाहीँ त दिनकै २, ३ वटा पनि गीत रेकर्ड भइरहेका हुन्छन् । यसबीच, उनी परिवारलाई र साथीभाइहरूसँग भेटघाटका लागि पनि सकेसम्म समय मिलाइरहेकी हुन्छिन् ।

बिहान बेलुकाको समयमा आमासँग भान्छामा सघाउनेदेखि कुराहरू सेयर गर्ने गरिरहन्छिन् । हो, भनेको बेला समय निकाल्न प्रायः सकिँदैन तर बाल्यकालदेखिको आफ्नो सपना भएकाले उनी यसैमा नै खुसी छिन् । घुम्न रुचाउने अस्मिता गाउनमा व्यस्त हुँदाको समयमा पनि उत्तिकै रमाइरहेकी हुन्छिन् ।

धेरै फ्यानफलोअर्स कमाएकी गायिका अस्मितालाई फ्यानहरूको म्यासेज, कल हरेक दिन उत्तिकै आइरहन्छ । उनी सकेसम्म सबैलाई रेस्पोन्स गर्न प्रयास गर्छिन् तर हरेकको फोन म्यासेज रिप्लाई गर्न सम्भव छैन । यस्तो अवस्थामा उनका क्रेजी फ्यानहरूले अस्मिताको आमा, बुबा र दाइलाई समेत फोन गरेर माया पोखिरहेका हुन्छन् ।

“सकेसम्म म सबैको म्यासेज, फोन रेस्पोन्स गर्न प्रयास गर्छु तर बारम्बार त्यो सम्भव हुँदैन । यस्तो अवस्थामा उहाँहरूले कहाँ–कहाँबाट मेरो परिवारका सदस्यहरूको नम्बर पत्ता लगाएर फोन गरेर समेत माया दर्शाउनुहुन्छ,” अस्मिता भन्छिन् ।


उनलाई पुरुष प्रशंसकहरूले भन्दा पनि महिला प्रशंसकहरूले धेरै फोन गर्छन् ।

प्रेमप्रस्ताव पनि नआउने होइन, तर उनी त्यसमा रिसाउने वा फुर्किनेभन्दा पनि साँचो दर्शकको माया सोचेर प्रतिक्रिया दिन्छिन् ।प्रेमकै चर्चा चलिरहँदा अस्मिताको चर्चित गीत ‘लज्जावती झार’ का गायक महेश काफ्लेसँग नाम जोडिएको गाइँगुइँ सुनिएको थियो । तर, अस्मिता यसलाई प्रेमको भन्दा पनि मित्रताको सम्बन्ध भएको बताउँछिन्, “उहाँ मेरो एउटा राम्रो साथी हो । हामी एउटा राम्रो साथी मात्रै हौ त्योभन्दा बढी केही पनि छैन ।” अस्मिता आफू सिंगल नै भएको र एउटै पेसाभन्दा पनि माया गर्ने मन मिल्ने प्रेमी अनि जीवनसाथी रोज्ने बताउँछिन् । 

अस्मिताका प्रायः सबै गीतहरू हिट छन् । तर, उनी आफ्नो टर्निङ प्वाइन्ट पहिलो गीत ‘तिम्रो मायाले बाँधेर राख’लाई मान्छिन् । यसमा उनी आफैँ फिचर्ड पनि छिन् । यसको कारण रहरभन्दा पनि बाध्यता हो । आफूलाई चिनाउनका लागि र नेपाल आइडलबाट पाएको हाइपका कारण पनि दर्शकले चिनून् भनेर फिचर्ड गरिएको उनी बताउँछिन् ।

गायनमा मात्रै नभएर भिडियोमा पनि फिचर्ड हुने अस्मितालाई मोडल बन्ने वा हिरोइन बन्ने भने कुनै रुचि छैन । उनको पहिलो प्राथमिकता भनेकै गायन हो । तर, यसो भनिरहँदा उनी राम्रो गीत वा भनौँ आफ्नो मनखाने छ भने पनि भविष्यमा पनि आफ्नो सोलो गीतमा गायन सँगसँगै भिडियोमा पनि देखिने भने सम्भावना भएको बताउँछिन् । 

नन–म्युजिकल ब्याकग्राउन्डबाट आएकी अस्मिता बच्चैदेखि गायिका बन्ने सपना बुनेर हुर्किएकी हुन् । तर, परिवारबाट पढ्नुपर्छ । भविष्यमा राम्रो कमाइ हुने विषय पढ्नुपर्छ भन्ने थियो । गायिका बन्ने सपना बोकेर हुर्किएका उनलाई अस्पताल जानेक्रममा आफूजस्तै उमेरका केटीहरू नर्स भएको देख्दा उनलाई यतातर्फ पनि रुचि भयो र उनले नर्सिङ विषय लिएर पढिन् ।

दुवै आफूले चाहेको पाटो भएकै कारण उनले दुवै क्षेत्रमा राम्रो गर्न सफल बनिन् । अस्मिताले नर्सिङको पढाइ पूरा गरिसकेकी छिन् । पढाइ पूरा गरेर यसैमा भविष्य बनाउने सोचले यता पनि जागिरको तयारीमा रहेकी उनले त्यही समयमा नेपाल आइडल सिजन–२ मा मौका पाइन् र गायनलाई रोज्दै नर्सिङमा ब्रेक लगाइन् । 

आफ्नो चिनारी भनेकै आफ्नो आवाज भएको बताउने उनी आफ्नो आवाजलाई निखार्न वा जोगाउन ध्यान दिन्छिन् । यसका लागि उनी खानेकुरामा ध्यान दिन्छिन् । तर, कहिलेकाहीँ मनलाई रोकेर राख्न सक्दिनन् र रेकर्डिङबाट केही ब्रेक लिएर उनी च्वास्स अमिलो, पिरो अनि चिल्लो मसालेदार खानेकुरा पनि खान्छिन् । 

भिडियो :

चार सय बढी गीत गाइसकेकी अस्मितालाई हालै ‘छिन्नलता पुरस्कार’ दिने घोषणा गरियो । यो खुसीको खबर उनले सामाजिक सञ्जालमार्फत सबैमा सेयर गरेकी थिइन् । गायक-गायिकाका लागि ‘छिन्नलता पुरस्कार’ पाउनु भनेको एक खालको सपना जस्तै हो । यस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन लागेकी उनी यो खुसीलाई शब्दले बयान गर्न नसक्ने बताउँछिन् ।

“छिन्नलता पुरस्कार भनेको एकदमै प्रतिष्ठित पुरस्कार हो । जब मलाई मैले यो पुरस्कार पाउँदै छु भन्ने खबर आउँदा म अचम्ममा परेँ । किनभने, यो भनेको हरेक गायक-गायिकाको सपना पनि हो । त्यसैले, त्यो खुसी अहिले म बाँड्न पनि सक्दिनँ,” उनी सुनाउँछिन्, “म केही भावुक पनि भएको थिएँ । किनभने हिजोसम्म आफूले सुन्दै आएका गायक-गायिकाले यो अवार्ड पाउनुभयो भनेर भनेर सुन्दै आएको आज आफैँले यो अवार्ड पाउँदै छु ।” 

नेपालमा हेर्ने हो भने नर्सिङ पढेर विदेसिने ट्रेन्ड छ । अस्मिताका प्रायः सबै साथीहरू विदेशमा छन् । उनको पनि ‘यदि, गायनमा राम्रो भएन भने विदेश जान्छु’ भन्ने सोच नआएको होइन । तर, उनको सपना अर्थात् गायनले जित्यो । त्यसैले, उनी आफूलाई चिनाएको पेसामा नै रमाइरहेकी छिन् । तर, भविष्यमा विदेश नै जाने सोच नभए पनि गायन र नर्सिङ दुवैलाई ब्यालेन्समा लैजाने योजनामा अस्मिता छिन् । 

गायनबाहेक अस्मितालाई घुम्न, नृत्य गर्न, चित्र कोर्न र किताब पढ्नमा पनि उत्तिकै रुचि छ । स्टेजमा पनि उत्तिकै डिमान्डमा रहेकी गायिका अस्मिता गायनकै सिलसिलामा अस्ट्रेलिया, दुबई, कोरियालगायत केही देश घुमिसकेकी छिन् । यीमध्ये अस्ट्रेलिया उनलाई सबैभन्दा धेरै मनपरेको देश हो । तर, अझै पनि उनको बकेट लिस्टमा अमेरिका छ । “मलाई जान मन लागेको देश भनेको अमेरिका हो । किनभने, मैले अमेरिका जाने मौका पाएकी छैन र मलाई अमेरिका जान एकदमै मन छ,” उनले आफ्नो इच्छा व्यक्त गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro