काठमाडौं । लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको हो ।
सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।
सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्णरुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो ।’
विवेकका अनुसार एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्यान्डका अन्य सदस्य खुलेर गीत संगीतमा लाग्न पाउने छन् ।
उनले भने, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौं ।’
उनका अनुसार यही वर्ष ब्याण्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ । यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ ।
यी सबै कामको व्यवस्थापकीय जिम्मेवारी 'एनएलईले हेर्ने उनले बताए ।
कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने तयारी भइरहेको हो।
यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्ष एनएलईले हेर्ने छ । यसमा बजार प्रवर्द्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउने छ ।
आजै कन्दरा ब्याण्डले आधिकारीक लोगो पनि सार्वनजिक गरेको छ । लोगो बारे जानकारी दिंदै विवेक भन्छन्, "संगीतको सूचकको रुपमा गिटारको हेडसंग ट्यूनर्स राखिएको छ जुन नेपाली हस्तलिखित अक्षर 'क'संग जोडिएको छ । हाम्रो आधिकारीक अंग्रेजी अक्षर सहितको लोगोलाई जस्ताको तेस्तै नयाँ लोगोमा समावेश गरेका छौं ।"
एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो ।
नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै 'कन्दरा ब्याण्ड'बाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए ।
एनएलईका अर्का संस्थापक आशिष शाहीले भने, ‘कलेज पढ्दा साथीहरुले हङकङ पोखरा गीत खुब गाउँथे । पछि हल अफ फेममा त्यो गीत गाउने गायक विवेक श्रेष्ठ भन्ने थाहा भयो । उहाँ त मेरो ममी डैडीको मनपर्ने ब्यान्डका गायक हुँनुहुँदो रहेछ ।’