
गजल एक
कोहीको त यादमा डुल्दा झन् गाह्रो हुन्छ
तनलाई मनबाट असुल्दा झन् गाह्रो हुन्छ
हजारौँ सपनाहरूले मन हुन्छ जोडिएको
टुक्रिएका सपना बटुल्दा झन् गाह्रो हुन्छ
कुनै मान्छे त मनभित्र बसेको हुन्छ यसरी
खुल्दा गाह्रो हुन्छ नखुल्दा झन् गाह्रो हुन्छ
सुमधुर बन्छ कुनै दिन लागेर मात्रै के गर्नु
कसरी भुलौँ विगत भुल्दा झन् गाह्रो हुन्छ
कोपिलामै भमरा डुले के होला फुलेपछि
फुल्दा पनि गाह्रो नफुल्दा झन् गाह्रो हुन्छ ।
०००
गजल दुई
कतै शिरले पुर्याउँछ कतै भिरले पुर्याउँछ
लाग्छ चिर निद्रासम्म त शरीरले पुर्याउँछ
राम्रो हुन्न केही पनि बोल्ने काम नगर्नु, भो
आफ्नाबाट टाढा तिम्रै जिकिरले पुर्याउँछ
कहिल्यै सोचेको नपुग्ने यस्तै रहेछ जिन्दगी
मिलनपछि बिछोड आफ्नै खातिरले पुर्याउँछ
जति पाइला चाले पनि भेटिएन खास बाटो
हिँड्दै जाने हो जहाँ जहाँ तक्दिरले पुर्याउँछ
घट्लाभन्दा पिर बढ्दै छ झन्झन् किन हो
बरै ! ज्युँदै यमलोकतिर त पिरले पुर्याउँछ ।