
मुना–मदनको डिभोर्स पार्टी
(कथासंग्रह : दीपक समीर)
साहित्यकार दीपक समीर कथा, कविता, गीत र नाटक विधामा कलम चलाउँछन् । उनले नियमित फुटकर रूपमा लेख्दै आए पनि कृतिका हिसाबले पहिलो कथासंग्रह हालै पाठकमाझ ल्याएका छन्, ‘मुना–मदनको डिभोर्स पार्टी’ ।
आफ्नो मन्तव्यमा कथाकार समीरले लेखेका छन्, “पुस्तक लेख्ने अभिलाषा सानैदेखि भए पनि मेरा विभिन्न उल्झन र बहानाका कारण त्यो सपनाले साकार रूप लिन पाएको थिएन । आफैँले लेखेका करिब डेढ हजार रेडियो नाटक, सयौँ कविता, गीत, गजल, केही यात्रा संस्मरण आदिले पुस्तक बन्ने प्रयास नगरेको होइनन् । तर, तिनको जननी अर्थात् मभित्रको दीपक समीरले तिनलाई गर्भमै लुकाइरह्यो ।...।”
यो कथाकृतिभित्र समीरका १५ कथा समेटिएको छ ।
इन्डिगो इन्कद्वारा प्रकाशित १६० पृष्ठको यो संग्रहको मूल्य ४९९/– रुपैयाँ राखिएको छ ।
०००
दुर्बिन
(गजलसंग्रह: दीपक लामिछाने)
विदेशमा बसेर नेपाली गजल लेखनमा सक्रिय स्रष्टा हुन्, दीपक लामिछाने । उनको गजलकृति ‘दुर्बिन’ सार्वजनिक भएको छ ।
मेरा मनका कुरामा लामिछानेले लेखेका छन्, “पढ्न स्कुलदेखि कलेजसम्म जाँदाआउँदा साथीसँगातीसँगका कुराकानी र गफगाफमा पनि मन अचेतन अवस्थामै केही गुन्गुनाउने रहर गरिरहन्थ्यो र केही लेख्ने प्रयास म विनानियम नै गरिरहन्थेँ । त्यसको पनि एक उपज हो यो ।”
यो कृतिभित्र लामिछानेका १०४ गजल समेटिएको छ ।
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित ११६ पृष्ठको यो पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००
आत्माको अदालतमा
(आध्यात्मिक उपन्यास : ऋषिराम पाण्डेय)
आध्यात्मतिर रुचि राख्ने ऋषिराम पाण्डेयको उपन्यास हो, ‘आत्माको अदालतमा’ । बितेको डेढ दशकअघिदेखि आध्यात्मको मार्गमा हिँड्दै आएका पाण्डेयको यो दोस्रो कृति हो । उनको यसअघि ‘सकारात्मक जीवन प्रसंग’ प्रकाशित छ ।
उपन्यासको पुछारतिर पाण्डेयले लेखेका छन्, “म फगत माध्यम मात्र हुँ यो लेखनको । मलाई ऊर्जा भरिदिएर यो धरामा स्वर्गको परिकल्पनालाई सार्थक बनाउने भूमिका निर्वाह गर्ने त्यो असीम र अनन्त सत्तालाई मेरो कोटीकोटी नमन ।”
पुस्तकको ब्लर्बमा लेखिएको छ, “आत्माको अदालतमा पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा आधारित उपन्यास हो । अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुनसक्छ ।...।”
पाँचपोखरी प्रकाशन गृहद्वारा प्रकाशित २३२ पृष्ठको यो उपन्यासको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।
०००
विशृङ्खलित सपना
(कथासंग्रह : गोपी मैनाली)
गोपी मैनालीको आठौँ साहित्यिक कृतिका रूपमा बजारमा उपलब्ध छ, कथासंग्रह ‘विशृङ्खलित सपना’ । उनका नियात्रा दैनिकी, निबन्धकृति, समालोचना गरेर सात पुस्तक प्रकाशित भइसकेको छ ।
पुस्तकको लेखकीयमा मैनालीले लेखेका छन् “...मनभित्र बाँचेको मानिस र मनबाट बाहिरिएको मानिसबीच फराकिलो दूरी छ । यो दूरी घटाउन सक्नेहरू साहसिला र नसक्नेहरू असुरक्षित विशृङ्खलित छौँ । यही कथागर्भमा पोखिएको छ । यो प्रयोग होइन, जीवन हो । समाजको सादा चित्र हो । कथाहरू रहर होइनन् खास अवस्थामा पोखिएका भुल्का हुन् ।”
कृतिको भूमिकामा कथाकार विजय चालिसेले लेखेका छन्, “म लेखकको निबन्ध, समालोचना र कथा सबैको पाठक हुँ । एक पाठकको रूपमा म गोपीजी यी तीनै विधाका सिर्जनामा समाज र पाठकप्रतिको जिम्मेवारीबोध, गम्भीर चिन्तन र असलका निमित्त समर्पणको दरिलो प्रतिबद्धता पाउँदछु ।...।”
मैनालीको यो संग्रहभित्र १७ कथा समावेश छ ।
सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित १७६ पृष्ठको यो कथाकृतिको मूल्य ५५०/– रुपैयाँ राखिएको छ ।
०००
चिकित्साका चौध तारा
(व्यक्तिवृत्त : राजेश खनाल)
पत्रकार तथा लेखक राजेश खनालद्वारा लेखिएको १४ अग्रज चिकित्सकको व्यक्तिवृत्त समेटिएको पुस्तक ‘चिकित्साका चौध तारा’ बजारमा उपलब्ध छ । यसभित्र थप दुई अग्रज चिकित्सकका सम्झना पनि समावेश छ । खनालले यसअघि ‘पाइला आफ्नै आफ्नै’ र ‘घुरको धुवाँ’ पाठकसामु पस्किइसकेका छन् ।
यो पुस्तकभित्र डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितको व्यक्तिवृत्त छ ।
कृतिभित्र चिकित्साजगत्का दुई अग्रज व्यक्तित्व नेपालका पहिलो शल्यचिकित्सक डा. अञ्जनीकुमार शर्मा र दन्त विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरण समावेश छ ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १६० पृष्ठको यो पुस्तकको मूल्य ३९५/– रुपैयाँ राखिएको छ ।