
मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको अफिस नागपोखरीमा थियो । क्षेत्रीय निर्देशक हरिहरप्रसाद वर्मा हुनुहुन्थ्यो विद्धान्, शिक्षामा दीर्घसेवी, अत्यन्त नम्र र व्यवहारवादी प्रशासक । उहाँको सान्निध्यमा काम गर्ने सुअवसर पाउनु मेरा लागि सौभाग्य थियो ।
फेरि, शिक्षामन्त्री पशुपतिशमशेर राणाको निर्देशनमा काम गर्न पनि रमाइलो लाग्यो । आफू शिक्षा क्षेत्रबाट आएको हुँदा शैक्षिक क्षेत्रका धेरै समस्याहरूबाट परिचित थिएँ । अनि, स्कुलका प्र.अ. र शिक्षक शिक्षिकाहरूसँग भेटघाट, अन्तरक्रिया गर्न पाउँदा ममा जागिरबाट मानसिक सन्तुष्टि हुनु स्वाभाविकै भयो ।
त्यहीबीचमा दक्षिण भारतमा पढ्दै गरेका छोराको दुर्घटनाबाट मृत्य भएपछि वर्मा सर विक्षिप्त हुनुभयो । त्यसपछि उहाँले निर्देशनालयको सारा जिम्मेवारी मलाई सुम्पनुभयो ।
वास्तवमा निर्देशनालयमा कामको थुप्रो मात्र होइन, अत्यन्त शक्तिशाली र अधिकार सम्पन्न पनि थियो । त्यस बेला शिक्षा अधिकारीको नियुक्तिदेखि बोर्डिङ स्कुलहरूलाई स्वीकृति दिने, प्राविधिक सरसामान वितरण आदिको जिम्मेवारी र दायित्व पनि निर्देशनालयलाई नै थियो ।
त्यो मेरा लागि आफ्नो काम देखाउने सुअवसर मात्र थिएन, चुनौतीपूर्ण पनि थियो । तर पनि वर्मा सरका यी शब्दहरूले मलाई सधैँ प्रेरित गर्थ्यो, “मेरो जागिरे जीवनमा तपाईंजस्तो काम गर्ने सक्रिय र इमान्दार कर्मचारी मैले पाएको थिइनँ ।”
२०३५–३६ सालको कुरा हो । पञ्चायती व्यवस्थाका विरुद्धमा नेपाली जनता जागरुक भए । खासगरी यसको नेतृत्व नेपाली कांग्रेसका सर्वोच्च नेता बीपी कोइरालाको थियो र अन्यले पनि सहयोग गरे ।
तत्कालीन राजा श्री ५ वीरेन्द्रबाट २०३६ जेठमा बहुदलीय वा निर्दलीय व्यवस्था छान्ने अधिकार नेपाली जनतालाई दिए, अर्थात् जनमतको घोषणा भयो । तत्कालीन मन्त्रीमण्डल खारेज भयो र कीर्तिनिधि विष्टको प्रधानमन्त्रीत्वमा नयाँ सरकारको गठन भयो ।
श्री ५ बाट २०३६ जेठ १० मा घोषणा भई २०३७ को वैशाख २० मा जनमतसंग्र्रह गर्ने मिति तोकियो । गृह मन्त्रालयको जिम्मा कविवर केदारमान व्यथितले पाउनुभयो ।
शपथग्रहण गर्नासाथ उहाँबाट फोन आयो, “परशुजी ! तपाईं मलाई तुरुन्त भेट्न आउनुहोला ।”
म बिहानै उहाँको घरमा पुगेँ र बधाई दिएँ । उहाँले भन्नुभयो, “तपाईंले मेरो पीएको काम गरिदिनुपर्यो ।” मैले नाइँ भन्न सक्ने कुरा थिएन । उहाँले मन्त्रीपरिषद्को बैठकमा मेरो प्रस्ताव राख्नासाथ शिक्षामन्त्री पशुपतिशमशेर राणाले ‘म परशु प्रधानलाई कुनै हालतमा छाड्दिनँ । अरू जो माग्नुहुन्छ माग्नुहोस्’ भन्नुभएछ ।
अर्थात्, दुई मन्त्रीका बीचमा मेरो विषयलाई लिएर चर्काचर्की नै भएको सुनेँ । मन्त्री राणाले मलाई शिक्षा मन्त्रालयमा बोलाएर नै भन्नुभयो, “तपाईंलाई म शिक्षाबाट छाड्दिनँ । तपाईं किन व्यथितको पीए हुन जानुपर्ने ? तपाईंलाई के सुविधा चाहियो ? भन्नुहोस् ।”
म साह्रै दोधारमा परेँ, के भनौँ के नभनौँ । मैले निवेदन गरेँ, “हजुरहरूका बीचमा कुराकानी हुनुपर्यो । म के भनौँ ?”
नभन्दै अर्को मन्त्रीस्तरीय बैठकमा व्यथितजीले जबर्जस्ती निर्णय गराउनुभएछ । काजमा गृहमा सरुवा गरिएको चिठी लिएर तुरुन्तै सिंहदरबारमा ‘व्यथित’ज्यूकहाँ पुगेँ ।
उहाँले भन्नुभयो, “यहाँ आउने सबै फाइलहरू हेर्ने, नियम–कानुनानुसार के कसो हो ? अध्ययन गरी नामसहित भन्नुहोला । फाइलहरूमा नेपाली शुद्धाशुद्धी पनि चेक गर्नुहोला ।”
बहुदलीय प्रजातन्त्रको पक्षमा जनमानस उर्लन थाल्यो । जहाँ त्यहाँ जुलुस, नारा र भिडन्तका खबर आउन लागे । गृहसचिवमा अत्यन्त सफल प्रशासक र व्यक्तित्वपूर्ण अनुभवी सूर्यप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । मैले गृहको काम राम्ररी बुझेको थिइनँ – बुझदै, सिक्दै काम गर्न थालेँ ।
त्यही बेला चितवनमा ठूलो गोलीकाण्ड भयो । व्यथितज्यूसँगै म पनि चितवन पुगेँ । चितवन कर्फ्युमा थियो । जहाँ तहाँ अशान्ति र गञ्जागोलको अवस्था थियो । त्यो बेला त्यहाँका प्रजिअ हुनुहुन्थ्यो बाबुराम पौडेल ।
व्यथितज्यूले भन्नुभयो, “म बाबुरामलाई लिएर काठमाडौं जान्छु, तपाईं यहाँको सीडीओ भई काम गर्नुहोला ।”
मैले हात जोडेँ, “हजुर ! मलाई सीडीओको काम, कर्तव्य र जिम्मेवारी थाहा छैन । यस्तो अशान्तिको समयमा म यहाँ बस्तिनँ । हजुरसँगै जान्छु ।”
अन्य व्यवस्था मिलाई म व्यथितज्यूसँगै काठमाडौं फर्कें । तर, केही दिनमा नै अर्थात् मन्त्रीमण्डल बनेको ४५ दिनमा नै यसलाई खारेज गरी सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा नयाँ मन्त्रीमण्डल बन्यो । नयाँ गृहमन्त्री हुनुभयो, जोगमेहर श्रेष्ठ ।
उहाँसँग मेरो व्यक्तिगत परिचय थिएन । यद्यपि, उहाँ काठमाडौंको अत्यन्त लोकप्रिय र कर्मठ नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँले बहाली गर्नासाथ मैले हात जोडेँ, “मन्त्रीज्यू ! म त शिक्षाबाट काजमा आएको काज फिर्ता पाऊँ ।”
“तपाईं व्यथितज्यूको पीए । मलाई काम गर्ने असल मान्छे चाहिन्छ । तपाईंलाई मेरो पीए भएर बस्न के बाधा ? म तपाईंलाई छाड्दिनँ ।”
म अर्को रनभुल्लमा परेँ । किनभने, शिक्षामा काम गर्ने मेरो रहर पुगेको थिएन । तर, उपाय चलेन । म गृहमा नै बसी इमान्दारीपूर्वक काम गर्न थालेँ ।
जनमत २०३७ मा गराउनुपर्ने । रातोदिन कामको चटारो भइरह्यो । केही महिनामा जनमत गराउने योग्य सीडीओको खोजी हुन थाल्यो । कसलाई कहाँकहाँ पठाउने भनेर गृहको रंगमञ्चमा म नै टड्कारो देखिएँ ।
एक दिन गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “तपाईंले सीडीओ हुनुपर्यो पर्साको अर्थात् वीरगञ्जको ।”
मैले हात जोडेँ, “म नयाँ मान्छे, तराईको पर्साजस्तो अत्यन्त संवेदनशील जिल्लामा मलाई काम गर्न गाहारो हुन्छ मन्त्रीज्यू ! माफ पाऊँ ।”
उहाँले ‘डरछेरुवा नेवार’को उपाधि दिनु भई चुप लाग्नुभयो । अर्को दिन सचिव सूर्यप्रसाद श्रेष्ठले प्रस्ताव राख्नुभयो, “तपाईं इलामको सीडीओमा जानुहोस् ।”
इलामको नाम सुन्नासाथ जाने इच्छा पलाएर आयो । म पूर्वको मान्छे इलामप्रति सानैदेखि ‘नोष्टाल्जिक’ थिएँ । त्यसैले ‘म सोच्छु सचिवज्यू’ भनेँ ।
त्यही समयमा खोटाङका मेरा प्रिय कवि–साथी जसराज किराती र परिचित देवराज ढकाल, रत्न राई आदि मन्त्रीज्यूलाई भेट्न आउनुभयो ।
मन्त्री जोगमेहरलाई भेटेर बाहिर आउँदा उहाँहरू सबैले मलाई एकै स्वरले भन्नुभयो, “तपाईंलाई हामीले खोटाङको सीडीओ पठाइदिन मन्त्रीज्यूलाई भनेका छौँ, तपाईंले अस्वीकार गरिदिनु भएन है ।”
म छाँगाबाट खसेजस्तो भएँ । मनमा लाग्यो, जहाँको भए पनि मै सीडीओ हुनुपर्ने नै लेखिएको रहेछ । मन्त्रीज्यूले अलि रुष्ट भएर भन्नुभयो, “कहाँको वीरगञ्ज, कहाँको दुर्गम खोटाङ ! तपाईंको इच्छा ।”
म मौन रहेँ, अनकन्टार जंगलबीचमा बाटो भुलिएको यात्रीजस्तो । तर, निकास खोज्नु नै थियो । घरमा आएर श्रीमती, इष्टमित्र र छोराछोरीसँग सल्लाह गरेँ । सबै सकारात्मक नै भए ।
श्रीमती कल्पनाले भनिन्, “त्यो मेरो माइती जिल्ला हो, त्यही जाऊँ । त्यस जिल्लालाई आफूले सकेको विकास र उन्नति गरौँ । फेरि, तपाईं पनि त खोटाङका धेरैलाई चिन्नुहुन्छ नि ! काम गर्न सजिलो नै होला ।”
मैले भोजपुरमा आएका थुप्रै बडाहाकिमहरूलाई सम्झेँ – बद्रीविक्रम थापा, गोविन्दप्रसाद सिंह, ध्यानबहादुर राई, युगनाथ शर्मा आदि इत्यादि । म खोटाङको सीडीओमा जाने निर्णय गरेर मेरा वृद्ध मातापितालाई भेट्न र आशीर्वाद लिन गएँ ।
पिता रामबहादुर प्रधान धेरै समय गम्भीर हुनुभयो र आँखाभरि आँसु पारेर भन्नुभयो, “बाबु ! तँ ३५–३६ वर्षको मान्छे । हाम्रो आँखामा केटाकेटी नै छस् । तैँले सीडीओ चलाउन सक्लास् जस्तो लाग्दैन बाबु ! फेरि, समय यस्तो आगो बलेको छ !”
म के भनौँ ? बाआमाको आँखामा छोराछोरी सधैँ नै केटाकेटी नै लाग्छन् । अहिले मलाई आफ्ना छोराहरू प्रतीक, प्रतिबोध र छोरीहरू प्रतिमा, प्रतीक्षा साना नै लाग्छन् ।
म दुर्गम क्षेत्रको नम्बर लिन र केही गर्छु भन्ने संकल्पका साथ खोटाङ जाने निर्णयमा पुगेँ । मन्त्रालयबाट पत्र लिएको केही दिनपछि बिदाबारी हुन बाआमाकहाँ पुगेँ । उहाँहरू केही बोल्नु भएन । मायापूर्ण आँखाले टुलुटुलु हेरिरहनु मात्र भयो । धन्य बाआमाको माया !
अहिले पनि आमाबाका ती पीडादायक अनुहार सम्झँदा कस्तोकस्तो लाग्छ । ती हर्षाश्रुले मलाई धेरै बेर सोच्न बाध्य बनाउँछ ।
त्यस बेला खोटाङमा यौटै मात्र विमानस्थल थियो लामीडाँडा, जसको निर्माणमा चिफ ई. वीरेन्द्रकेशरी पोखरेल (स्व.)को अपूर्व योगदान रहेको छ । म र श्रीमती लामीडाँडामा ओर्लियौँ ।
म आउँदै छु भन्ने खबर दिक्तेलमा गरेको थिइनँ । त्यसैले हामी दुई र कान्छो छोरा प्रतिबोध विस्तारै उकालो लाग्यौँ । सिँचाइको घोडा लिएर हाकिम आएका रहेछन्, उनी विमानबाट काठमाडौं उडे । हामी भने त्यही घोडामा आलोपालो गर्दै अगाडि बढ्यौँ ।
उकालो सकिएपछि त्यसको लेकाली ठाउँ आयो नूनथला । त्यहाँ सानु बजार, केही चिया र भट्टी पसलहरू रहेछन् । निकै जाडो पनि थियो, चिया र केही खाजा खायौँ ।
अचानक त्यहाँ केही प्रहरी र इन्स्पेक्टर रविकान्त अर्यालसँग भेट भयो । खार्पाको हाइस्कुल हड्ताल गराई शान्ति सुरक्षामा खलबल पुर्याएकाले टंक राईसहित केही व्यक्तिहरू पक्राउ गरेर ल्याएका रहेछन् ।
परिचयपछि ई. अर्याल (जो पछि प्रहरीको उच्च पदसम्म पुग्नुभयो)ले तुरुन्त बडीगार्डको व्यवस्था गरिदिनुभयो ।
दिक्तेलबजार पुग्दा साँझ पर्न लागेको थियो । भर्खरै बहुदल पक्षको जुलुस सकिएको रहेछ । मलाई यौटा ससानो युद्धभूमिमा आएको छु र मैले आफ्नो जिम्मेवारी राम्ररी सम्हाल्नुपर्छ भन्ने थाहा भयो ।
सीडीओ क्वार्टर रहेनछ, सीडीओहरू गेस्टहाउसमा बस्दा रहेछन् । हामी पनि बजारको यौटा लजमा बस्यौँ । प्रशासकीय भवन भने राम्रो र उपयुक्त ठाउँमा रहेछ ।
केही दिनपछि बहुदलीय व्यवस्थाका समर्थक टंक राई समेतलाई आवश्यक कारबाहीका लागि राजविराजको अञ्चलाधीश कार्यालयमा पठाउनुपर्ने भयो । त्यो बेला कैदीलाई अड्डासार गरी पैदल पठाउने चलन थियो ।
तर, मैले विचारका कैदी, सिद्धान्तका लागि लडेकाहरूलाई उचित कदर गर्नुपर्छ भनी सबैलाई हवाईजहाजद्वारा पठाउने व्यवस्था मिलाएँ । त्यसपछि टंक राईसँग मेरो कहिल्यै भेट भएन ।
तर, पछि एमाले सरकारका पालामा अर्थात् २०५२ सालमा मैले जागिर छोड्नपर्ने कारण उहाँ नै बन्नुभयो । पक्राउका लागि आदेश दिने म थिइनँ, तर उहाँले जहाँ तहाँ ‘पक्राउ गर्ने उही हो’ भनेर मेरो विरोध गर्नुभएछ ।
बढुवाका लागि योग्य भएर पनि मैले कुनै उचित स्थान नपाउँदा राजीनामा गर्न बाध्य भएँ । त्यसपछि उहाँले गर्व महसुस गर्नुभयो होला सायद ।
सीडीओमा बहाली गर्नासाथ आगोको ज्वालामाथि बसेको अनुभूति भयो । कुन रात, कुन दिन हो ? थाहा पाउन सकिनँ । जिल्ला धेरै ठूलो, पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा र उत्तरमा सोलुसम्म । जनसंख्या पनि धेरै, हरेक घण्टा केही न केही समस्यासँग जुध्नुपर्ने भयो ।
फेरि, जिल्लामा सानोठूलो जुनसुकै विषयको जे समस्या पनि सीडीओकहाँ नै आउने । मैले २४ घण्टा नै सजग हुनुपर्ने भयो । कुनै महिला राति रुँदै गुहार माग्न आइपुग्ने श्रीमान्ले रक्सी खाएर कुट्यो भन्दै, कोही चन्दा माग्न आउने, कोही धम्की दिन आउने । यस्ता सानातिना समस्याहरूसँगै दायित्व जनमतसंग्रहलाई सफल गर्नु थियो ।
ठाउँठाउँमा कुटपिट, लुटपाट, झगडाका मामलाहरू आइरहन्थे । म सबै विषय, घटना वा प्रसंग लेख्ने स्थितिमा छुइनँ, न त क्रमबद्ध नै । तर पनि लगभग तीन वर्ष त्यहाँ बस्दाका भोगाइ र अनुभूतिहरूलाई अझै सम्झन्छु ।
(आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)