
यो कुनै हाचीको जस्तो आफ्नो मालिकलाई उसको मृत्युपछि नौ वर्ष पर्खेर बसेको अविश्वसनीय कुकुरको कथा होइन । न यो भारतीय चलचित्र ‘७७७ चार्ली’को जस्तो अद्भुत लाब्राडोरसँगको रोचक सम्बन्धको कथा हो ।
यो त बच्चामै पोखरीमा फ्यालिएको एउटा साधारण रैथाने छाउरी कुकुरको सम्झना हो । छाउरीको गृहप्रवेश कथाको नायक म नै थिएँ ।
म निकै सानो थिएँ । ठ्याक्कै यति नै वर्षको भनेर याद छैन । हाम्रो घरदेखि अलि परतिर डल्लीडाँडा भन्ने ठाउँमा गाईवस्तुलाई पानी खुवाउन बनाइएको आहाल थियो ।
त्यस आहालमा कवि मञ्जुलको ‘आहालमुनिको हिमाल’ कवितामा जस्तो हिमाल थिएन । तर, वरपरका बाँसका छायाहरू भने जरुर थिए । म ती हावामा झुमिरहेका ढुंग्रे बाँसका अल्लारे पातहरू आहालभित्र हेरेर मन्त्रमुग्ध हुन्थेँ ।
तर, एक दिन त्यसो हुन पाएन । किनकि, मैले आहालभित्र कुकुरको एउटा बच्चा देखेँ, जो कुँ...कुँ... गर्दै कराइरहेको थियो – जसले वातावरणको मौनता भंग गरिदिएको थियो ।
मैले हत्तपत्त त्यसलाई पानीबाट बाहिर निकालेँ । त्यो जाडोले लुगलुग कामिरहेको थियो । मैले केही नसोची बडो खुसी हुँदै त्यसलाई लिएर घरतिर दौडिएँ ।
घरमा पुगेपछि घरका सबै ठूलाबडाले त्यो कुकुरको बच्चा छाउरी भएको र कसैले फ्याँकेको पत्ता लगाए । मलाई जहाँबाट ल्याएको हो त्यहीँ छाडेर आउन आदेश दिइयो ।
मैले आमालाई गुहारेँ, ‘आमा, हामी पालौँ न यो छाउरीलाई । पालौँ न के ! बरु, म आफैँ यसलाई खुवाउँछु, पियाउँछु ।’
बुबालाई कर गर्न डर लाग्यो । बरु, हजुरआमालाई फकाएँ, ‘कोकू, पालौँ न यो छाउरीलाई । आमालाई भन्दिनु न, पालौँ न के !’
मैले आफूले सक्नेजति रुन्चे पाराले अनुनय विनय गरेँ । मेरो आँसुले काम गर्यो । अन्ततः छाउरीले हामीकहाँ आश्रय पाउने भयो ।
त्यो कालो रङको एउटा ज्यादै नै चलाख र मायालु कुकुर थियो । त्यसले इज्जतिलो नाम कहिल्यै पाएन । त्यो छाउरी अर्थात् पोथी जातिको भएकोले त्यसलाई बोलाउने नाम छाउरी नै हुन गयो ।
र, गाउँभरि त्यही नामले प्रख्यात भयो । त्यो मेरो साथीजस्तै थियो र हामी सँगसँगै हुर्कंदै गयौँ । त्यो मसँगसँगै गाउँ डुल्थ्यो । पसल धाउँथ्यो । गोठाला जान्थ्यो ।
मलाई त्यसको खुबै माया लाग्थ्यो । आमाले पनि छाउरीलाई असाध्यै माया गर्नुहुन्थ्यो । त्यो आमालाई पछ्याएर मेलामा जान्थ्यो । गोठमा जान्थ्यो । वल्लो घर पल्लो घर जान्थ्यो ।
ठूलो हुँदै जाँदा घरका सबै सदस्यहरूसँग त्यसको भिन्नभिन्न किसिमको मिलाप बन्दै गयो ।
मलाई थाहा छैन ‘हलुङ छाया’ भन्ने कुनै त्यस्तो शब्द नेपाली शब्दकोशमा छ कि छैन, कुन्नि ! मैले खोज्ने झन्झट समेत गरेको छैन । तर, सानो छँदा आमा मलाई सधैँ भन्नुहुन्थ्यो, ‘मेरो छोरा सारै हलुङ छाया छ ।’ हलुङ छाया अर्थात् बिरामी भइहाल्ने ।
आजभोलि सोच्ने गर्छु कि मातृममताको नजरमा उनका हरेक सन्तान हलुङ छाया हुँदा रहेछन् । एक दिन मैले आमालाई सोधेँ, ‘आमा, छाउरीको पनि हलुङ छाया छ हो ?
आमा बेस्सरी हाँस्नुभो र केही उत्तर नदिई मेरो टाउको मुसारेर भान्सातिर लाग्नुभो ।
बुबा र छाउरीको सम्बन्ध निकै अनौठो थियो । बुबा भान्सामा पस्नुहुँदा ढोकामै बाटो छेकेर बसेको छाउरीलाई हलुका गरेर लात्तीले भ्वाक्कै हिर्काउनुहुन्थ्यो । आमा भित्रबाट बुबालाई हकार्नुहुन्थ्यो, ‘त्यो कुकुरलाई चाहिँ किन पिटेको हँ ? कुकुर–बिरालो नसहने मान्छे त मलाई पटक्कै मन पर्दैन हौ !’
बुबा मुसुमुसु हाँस्दै जवाफ फर्काउनुहुन्थ्यो, ‘अब अहिले मन नपरेर के गर्छस् त ! हाम्रै छोराछोरीको बिहे गर्ने बेला भैसकिगो !’
मलाई राम्ररी याद छ, न बुबाको लात्ती खाएर कहिल्यै छाउरी ढोकाबाट हट्थ्यो न बुबाले कहिल्यै लात्तीको वेग साबिकभन्दा बढाउनुहुन्थ्यो । यो क्रम एवं रीतले चलिरहन्थ्यो । एउटा अघोषित परम्पराजस्तै । मानौँ, छाउरी ढोकाअगाडि खाना ढुक्न होइन बुबाको एक भ्वाक लात्ती खान बसेको हो ।
झमझम पानी परिरहेको एक साँझ खेतालाहरू घर फिर्ने बेला भइसकेको थियो । मकैबारीभित्र कोदो रोपिसक्ने दिन थियो त्यो, अर्थात् मैझारोको दिन । मैझारोमा खेतालाहरूलाई खुवाउन भनेर दिउँसैदेखि एउटा कालो पोथी डोकोले छोपेर राखिएको थियो ।
त्यो पोथीलाई काट्न सबैथोक तयार थियो । तातोपानी उम्लिसकेको थियो । खुकुरी साँधिइसकेको थियो । निकै पहिलेदेखि छाउरी पोथी छोपेको डोको वरिपरि घुम्दै थियो । उसले अचानक बल गरेर डोको पल्टाइदियो । पोथी उम्केर घुर्यानमा भएको इस्कुसको झ्याङभित्र कतै हरायो ।
एक त बर्खाको समयको बाक्लो मकैघारी, अर्कोतिर झमक्क साँझ । अब पोथी भेट्ने सम्भावना लगभग शून्यप्रायः थियो ।
यो सब घटना नियालिरहनुभएको कोकू (हजुरआमा) छाउरीसँग उधुम रिसाउनुभो । कोकूले केही नसोची छेउमै भएको कोदालोको बिँडले छाउरीको घुच्चुकमा जोडले हिर्काउनुभो । त्यो ठाउँको ठाउँ खुत्रुक्कै भयो । त्यसले कुइँक्क आवाज मात्र निकाल्यो । त्यसपछि चल्मलाएन ।
म भने डराएर एक कुनातिर दौडिएँ र खुबै रोएँ । करिब दश मिनेटपछि चामत्कारिक ढंगले ऊ बौरियो । ऊ त्यसरी जागेपछि म खुसी हुँदै उसलाई छुन दौडिएँ, तर ऊ दच्कियो । ऊ कुइँकुइँ कराउँदै घर छोडेर बेपत्तासँग भाग्यो ।
त्यो रात अबेरसम्म हराएको पोथी खोजियो, तर भेटिएन । मासुको सट्टा खेतालाहरूले आलुदममा चित्त बुझाउनुपर्यो । तर, त्यसपछि छाउरी हरायो । छाउरीको बारेमा घरका कसैले सोधखोज नगरेको देखेर मलाई सारै चित्त दुखेर आयो । म भित्रभित्रै निकै रोएँ ।
त्यो पोथी पनि कहिल्यै भेटिएन । मलाई लाग्छ, त्यसको ज्यान जोगिएन नै होला, किनभने मकैबारीमा स्याल र वनढाडेहरूको बिगबिगी हुन्थ्यो । पकाएर खाइनु र काँचै खाइनुमा त्यो निमुखा प्राणीलाई के अन्तर ? उसले त जसरी पनि ज्यान गुमाउनु जो थियो ।
तीनचार दिनपछि एक रात घरको पेटीमा घुत्रुक्क आवाज आयो । मैले थाहा पाएँ, त्यो छाउरीको आवाज थियो । त्यो उसको सुत्ने तरिका थियो । म जब उसलाई हेर्न तल झरेँ, तब देखेँ कि कोकू मजेत्रोको सप्कोले आफ्नो आँसु पुछ्दै छाउरीलाई सुम्सुम्याउँदै हुनुहुन्थ्यो ।
छाउरी भने उसको सिलाबरे थालमा कोकूले दिनुभएको भात खान व्यस्त थियो । कोकू र छाउरीको त्यो पुनर्मिलन परैबाट हेरिरहेँ । मेरा पनि सरर्र आँखाहरू रसाए ।
एक दिन साकेला मनाउन हामीहरू मावली गाउँ नेर्पा गएका थियौँ । नेर्पा निकै टाढाको गाउँ थियो । छाउरी पनि हामीलाई पछ्याएर छसात घण्टाको बाटो मावलीसम्मै पुगेको थियो ।
हामी केही दिन उतै बस्ने भयौँ । तर, छाउरी एक रात मात्र त्यहाँ बसेर भोलिपल्टै घर फर्कियो । हामी सबै चिन्तामा थियौँ ऊ हरायो भनेर । पछि आमाले बताउनुभो, ऊ झिसमिसेमै आमाले गोठमा दूध दुहुनु हुँदै गर्दा घर पुगिसकेको थियो भनेर ।
हामी उसको त्यो बहादुरीप्रति पछिसम्मै छक्क पर्थ्यौं । घर फिर्दा उसले कसरी तर्न सक्यो होला त्यति धेरै खोलाहरू – सम्भाइखोला, घर्तीखोला, छेपेखोला, भालुखोला, खत्रीखोला र बिजुवाखोला !
पछि छाउरीले बच्चा जन्माउन थाल्यो । प्रायः डाँगो र छाउरी बराबरजस्तै जन्मिन्थे । गाउँघरमा डाँगोहरू सुरुमै मागिसकिएका हुन्थे । छाउरीहरू भने कसैले पाल्न चाहँदैनथे । त्यसैले छाउरीहरू कतै दोबाटो या चौबाटोमा लगेर छाडिन्थे ।
उनीहरूलाई अलिकति पानी र खानासहित जुटको बोरामा बेरेर छाडिन्थ्यो र आशा यो राखिन्थ्यो कि उनीहरूलाई कुनै दयालु हृदय भएको मानिसले भेट्टाओस् र आफ्नो घर लिएर जाओस् । पालोस् र प्रेम गरोस् ।
मलाई सम्झना छ, कलेजको कोर्समा बालबच्चा एडप्सनसम्बन्धी ‘द चिल्ड्रेन हु वेट्स’ भन्ने निबन्ध राखिएको थियो । त्यो निबन्ध पढिरहँदा मैले ती अनिश्चिततामा फ्याँकिएका थुप्रै छाउरीहरू सम्झेर धेरैपटक आफ्नो आँखा भिजाएको छु । नमिठो गरी चिमोटिएको छु ।
पछि काठमाडौंमा पनि हामीकहाँ जर्मन सेफर्ड प्रजातिको एउटा अत्यन्तै मायालु सिंगल कोट कुकुर थियो । संयोगले त्यो पनि एउटा छाउरी कुकुर नै थियो । उसको नाम लुसी थियो ।
लुसी धेरै वर्षसम्म हामीमाझ रह्यो । पछि कानमा रगतपानी जम्ने रोगले उसलाई सतायो । सर्जरी गरेर उसलाई ठिक पारिए पनि उसको कानको सुन्दरता भने सदासदाको लागि गुम्यो । र, पछि बिरामी हुँदै जाँदा उसले मृत्युवरण गर्यो ।
छाउरी भने एक दिन गाउँबाट कहिल्यै नभेटिने गरी हरायो । त्यस्तो बाठो र समझदार कुकुर आखिर कहाँ र कसरी हरायो ? त्यो रहस्य बनेरै रह्यो । के उसलाई कुनै वन्यजन्तुले आहार बनायो ? अथवा बाढीपहिरोले बगायो ?
केही पत्ता लागेन । यसरी ती दुई छाउरीहरू मेरो स्मृतिमा आजीवन बास गर्न पुगे ।
म कहिलेकाहीँ सोच्ने गर्छु, के मैले आफ्नो बाल्यकालमा एउटा छाउरीलाई घर ल्याएर उसले जन्माएका अरू थुप्रैथुप्रै छाउरीहरूप्रति अन्याय त गरिनँ ? त्यस्तो स्थितिमा म मिठो कल्पना गर्ने गर्छु ।
कल्पनामा मजस्ता थुप्रै केटाकेटी ‘महरू’ दोबाटोमा अचानक खेल्दै देखापर्छन् अनि जाडोले लुगलुग काँपिरहेका छाउरीहरू एकएकवटा टिपेर रमाउँदै रमाउँदै आफ्नो घरतिर लाग्छन् ।
त्यसपछि मभित्रको मूल ‘म’ खुसीले गमक्क पर्छ । अनि, सन्तुष्टिको लामो श्वास फेर्छ ।