काठमाडौं । कस्ता सिनेमा चल्छन् ? नेपालमा मात्र होइन, विश्वमै कसैलाई थाहा हुँदैन । यद्यपि, हरेक निर्माता तथा निर्देशकले आफ्नो सिनेमा दर्शकले मन पराउँछन् र हलमा चल्छ भनेर नै बनाउने हुन् ।
सिनेमा बनाउने फर्मुला हुन्छ । तर, राम्रोसँग चलाउने सूत्र कसैसँग हुँदैन । त्यसैले प्रदर्शन नहुँदासम्म कसैलाई पनि कुन चलचित्र कति चल्छ भन्ने यकिन हुँदैन ।
कस्ता चलचित्र बन्छन्, त्यो भने समयानुसार मोटामोटी जानकारी हुन्छ । समय, बजार र लगानीअनुसार विभिन्न ठाउँमा विभिन्न खालका चलचित्र बन्छन् । नेपालमा भने चलचित्र निर्माण चलचित्रले नै निर्धारण गरिरहेको अवस्था छ ।
कुनै एउटा चलचित्र बजारमा राम्रोसँग चल्यो भने त्यस्तै चलचित्र नेपालमा बन्न सुरु हुन्छ । कुनै चलचित्रले बजारमा राम्रो व्यापार गरेपछि हुबहु त्यस्तै सिनेमा बन्ने क्रमले तीव्रता पाउँछ ।
०६९ मा चलचित्र ‘लुट’ रिलिज भएपछि नेपालमा त्यस्तै थुप्रै चलचित्र बने । ‘छक्का पञ्जा’ले ऐतिहासिक कलेक्सन गर्यो । त्यसपछि त्यस्तै चलचित्र बन्ने ‘ह्विम’ चल्यो । ‘कबड्डी’ले राम्रो व्यापार गरेपछि त्यस्तै चलचित्र निर्माण हुन थाले ।
“कबड्डीले हालसम्मकै सर्वाधिक व्यापार गर्यो । अब यस्तै चलचित्रको बाढी आउँछ,” निर्देशक विशाल भण्डारी भन्छन्, “अबको दुई वर्षमा कबड्डीजस्ता ४० वटा चलचित्र बन्छन् । त्यो भनेको ४० वटा चलचित्रमा गरेको लगानी डुब्नु हो ।” प्रतिचलचित्र डेढ करोड लगानी हुँदा ४० वटा चलचित्रमा ६० करोड रुपैयाँ लगानी हुन्छ ।
चलचित्र ‘कबड्डी–४’ ले २२ करोड ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले दाबी गरेको छ । चलचित्र अहिले पनि चलिरहेको छ ।
कसैले उकासेकै भरमा र ह्विममा बनाउँदैमा चलचित्र नचल्ने उनको भनाइ छ । मिहिनेत, अध्ययन, अनुसन्धान, अनुभव, विषय र प्रस्तुतिले मात्रै राम्रो चलचित्र बन्ने उनी बताउँछन् ।
ठूलो व्यापारको भ्रामक हल्लाका पछि लागेर चलचित्रमा लगानी गर्ने र हुबहु त्यस्तै बनाउँछु भनेर निर्देशन गर्न आउने निर्देशकको कमी नरहेको निर्देशक दिनेश राउत बताउँछन् । व्यापारको हल्लाका पछाडि दौडिँदा समस्या भइरहेको उनको निष्कर्ष छ ।
“नेपाली चलचित्र क्षेत्रमा कुनै चलचित्रले राम्रो व्यापार गर्यो भने यस्तो चल्ने रहेछ भनेर त्यस्तै सिनेमा बनाउने पुरानै ट्रेन्ड हो,” दिनेश भन्छन्, “यो ट्रेन्ड अझै रोकिएको छैन । जबसम्म यो ट्रेन्ड रोकिँदैन, त्यो बेलासम्म नेपाली चलचित्र उद्योग परिपक्व छैन भन्ने हो ।”
जबसम्म ह्विमका भरमा चलचित्र चल्छन्, त्यो बेलासम्म नेपाली चलचित्र क्षेत्रले फड्को नमार्ने उनको विश्वास छ । विविधता नआएसम्म चलचित्रको गुणस्तरमा सुधार नआउने उनको दाबी छ ।
यद्यपि, यो वर्ष पाइपलाइनमा रहेका चलचित्रले केही आशाको किरण भने छरेको दिनेश बताउँछन् । जसरी हुन्छ चल्नुपर्छ भन्ने मनोविज्ञानभन्दा पनि राम्रो चलचित्र बनाउनुपर्छ भन्ने दृष्टिकोणले बनाइएका चलचित्र आउनु सकारात्मक भएको उनी बताउँछन् ।
‘चिसो मान्छे’, ‘दोख’, ‘पानीफोटो’, ‘पकाश’लगायत चलचित्रले नेपाली चलचित्र क्षेत्रमा आशाको संकेत देखाएको उनले बताए । विषय, प्रस्तुति र भूगोललगायत विषयमा जति धेरै विविधता आउँछ, त्यति नै चलचित्र क्षेत्र धनी हुने दिनेश बताउँछन् ।
अभिनेता विपीन कार्की एकै खालका चलचित्र बन्नु समग्र चलचित्र क्षेत्रकै लागि घाटा भएको बताउँछन् । व्यापारको पछाडि लागेर ह्विममा काम गर्दा त्यसको असर मेकर र समग्र उद्योगमै पर्ने गरेको उनको धारणा छ । भलै, यो नेपालमा मात्र नभएर विश्वभर नै यस्तै हुने गरेको उनको भनाइ छ ।
“ह्विमका पछाडि सबै लाग्छन्, यो नेपाल मात्रै होइन, भारत, अमेरिका, जापान र कोरियामा पनि यस्तै हुँदै आएको छ,” विपीन भन्छन्, “अहिले विश्वमै हरर जानरा सबैभन्दा अगाडि आएको म केही दिन अगाडि मात्रै पढ्दै थिएँ । अहिले भारतमा एक्सन मुभीको ह्विम छ । नेपालमा पनि एउटा चलेपछि अरूले पनि त्यस्तै गर्नु सामान्य भइसकेको छ ।”
चलचित्रको जानरा र कथा मात्र होइन, अभिनय पनि त्यस्तै हुनुपर्यो भन्ने पनि नेपाली चलचित्र उद्योगमा रहेका विपीन सम्झिन्छन् । उनलाई चलचित्र ‘पशुपतिप्रसाद’को भस्मे डन बजारमा नआउँदासम्म ‘छड्के’को जस्तै अभिनय गरिदिनुपर्यो भन्ने मेकरको संख्या ठूलो हुने गरेको उनी स्मरण गर्छन् ।
“जब भस्मे डनको क्यारेक्टर बजारमा आयो, त्यसपछि भने कुनै पनि मेकरले मलाई फलानो फिल्मको जस्तै अभिनय गरिदिनुपर्यो भनेका छैनन्,” विपीन भन्छन्, “मैले हरेक फिल्ममा फरक–फरक चरित्र गर्ने भएकाले पनि होला, क्यारेक्टर दोहोर्याउनुपर्यो भन्दै त्यति धेरै आउँदैनन् । आउने एकाध मेकरलाई आफूले सुझावसहित बुझाएर पठाउने गरेको छु ।”
एउटै कथा, प्रस्तुति, अभिनय र जानरा दोहोरिँदा सिर्जनशिलता मर्ने भन्दै यसबाट समग्र चलचित्र उद्योग नै टाढा बस्नुपर्नेमा विपीनको जोड छ ।