site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘चिसो मान्छे’ एक फरक गन्तव्य  

काठमाडौं । श्रीमान्को शव लिन काठमाडौं जान गाडी भनिरहेका बेला उनी अर्थात् चलचित्रकी मुख्य पात्र (स्वस्तिमा खड्का) भाग्छिन् । श्रीमान्को शव कफिनमा छ, तर उनलाई त्यसप्रति उति धेरै दुःख छैन जति उनीप्रति हलमा सिनेमाका दर्शकको सहानुभूति छ । जिन्दगी बेसाहारा भएको छ, तर उनलाई जिब्रोमा ट्वाक्क लाग्ने पाउँ खानुपरेको छ । सामुन्नेमा श्रीमान्को शव छ, तर उनलाई मासु–भात खानुपरेको छ । श्रीमान्को शव लिएर घर गइरहेकी उनलाई उनमुक्त भएर नाच्नुपरेको छ । श्रीमान्को शव गाडीमा छ, तर उनी चालकसँग होटेल पुगेर बस्न असहज मान्दिनन् । श्रीमान्को शव कुरेर ससुरा बुवा गाडीमा बसेका छन्, तर उनी लुकीलुकी गीत गाउन असहज मान्दिनन् । शव सद्गत गर्न लास काँधमा बोकेर हिँडिरहेकी छन्, तर पनि उनी चालकसँग आँखा जुधाउन छोड्दिनन् । बाँकी र बीचमा के हुन्छ, त्यो जान्न चलचित्र ‘चिसो मान्छे’ हेर्नुपर्छ ।

चलचित्र निर्देशक तथा समीक्षक मनोज पण्डित बेला–बेलामा भन्ने गर्छन्– कुरूप मान्छेको कथामा बनेका चलचित्र नै विश्वका सबैभन्दा सुन्दर र राम्रा चलचित्र हुन् । त्यो भए चिसो मान्छेकी मुख्य पात्र समाजको त्यस्तै कुरूप पात्र हुन् ? जो मनोज बेला–बेला भन्ने गर्छन् ।

होइन । श्रीमान्सँग उनको हृदय नजोडिनुको कारण सिनेमाले प्रस्ट भनेको छ । घर घरजस्तो नलाग्नुको कारण खुलाइदिएको छ । त्यसैले उनी कुरूप पात्र होइनन् । कुरूप पात्र त यो समाज र संस्कार हो । कुन ? निर्देशकले चलचित्रमा देखाइदिएका छन् ।

पोस्टर, टिजर र ट्रेलर हेर्दा तपाईंले अनुमान लगाउनुभएको थियो, चलचित्र विदेश गएर कफिनमा फर्किने मान्छेको संघर्षको कथा हो । त्यसैले यसको नाम ‘चिसो मान्छे’ हो ।

तर, होइन । कथा कोरोनाको कहरको समयको हो । तर, कोरोना कहरकै पनि होइन ।

निर्देशकले वैदेशिक रोजगारमा रहेका बेला ज्यान गुमाएको व्यक्ति, उसको परिवार र समाज तथा कोरोनाको कहरको समयमा देखिएको संवेदनहीन मानव मसुदायको कथा भनेका छन् । दुइटा कथाको बीचमा संवेदना गुमाइसकेको समाज र मान्छेको कथा भन्ने निर्देशकले त्यसैलाई चिसो मान्छे भनेका छन् । चिसो समाजको कथालाई उनले चिसो मान्छेको टाइटल दिएका छन् ।

झट्ट हेर्दा कथा कोरोनाको हो कि कतारमा ज्यान गुमाएको व्यक्ति र उनकी श्रीमतीको भन्ने लागे पनि चलचित्रले यसलाई माध्यम बनाएर चिसिँदै गएको समाजको कथा भनेको छ ।

चलचित्र दृश्य भाषा हो । बोलेर होइन, देखाएरै धेरै कुरा भन्नुपर्छ । यसलाई चलचित्रले आत्मसात् गरेको छ । धेरै संवाद छैनन् चलचित्रमा । जिब्रो होइन, आँखा बोलेका छन् । हाउभाउ र लवजले धेरै कथा भनेको छ । विम्ब र प्रतीक छन् । त्यससँग धेरै कुरा जोडिएर आएका छन् ।

चलचित्रमा भद्दा दृश्यमार्फत रोमान्टिक सिन देखाइएको छैन । शारीरिक समागमका भद्दा दृश्य नदेखाए पनि दर्शकलाई बुझाउन सकिन्छ भन्ने सन्देश पनि नेपाली चलचित्रलाई चिसो मान्छेले दिएको छ ।

चलचित्रले धेरै कुरा संवादमार्फत भन्दैन । दर्शकले आफैँ बुझ्नुपर्छ । आर्ट मुभी हेर्ने दर्शकले बुझुछन् पनि ।

प्रशासनले आफ्नै नागरिकलाई दुःख दिन्छ । गाडीमा छोराको लास बोकेर घर हिँडेको बाउसँग प्रहरीले घुस माग्छ । सहयोग र संवेदना खर्चिनुपर्ने होटेलवाला तर्किन्छ । बाटो देखाइदिनुपर्ने स्थानीय बाटो थुन्छन् । जोरजाम गरेर सहयोगी बन्नुपर्ने गाउँले लाठी र मुंग्री गर्दै आइलाग्छन् । समाज आफ्नै स्वार्थ मात्र हेर्ने भएको छ । त्यसैले त निर्देशकले चिसिएको समाजको कथा भनेका छन् । निर्देशक आफ्नैबाट पाएका पीडा र तिरस्कारका कथा भन्छन् । त्यसबाट विचलित भएर फर्किन नसकेको मनको कथा भन्छन् ।

केही कथा संवादबाट आए, धेरैचाहिँ दृश्यबाट । डुब्दै गरेका घाम । कहिल्यै खुल्न नसकेको मौसम । अनि, सबैभन्दा शक्तिशाली गाडीका पांग्रा । त्यो पनि घरी दुइटा घरी तीनवटा । त्यसमा पनि स्वस्तिमाले गुडाउने एउटा र अर्पणले गुडाउने दुइटा । गाडीमा गुड्दै गरेको कफिन, त्यसको ठिक माथि उड्दै गरेको जहाजमा स्वस्तिमाका आँखा । कथा यसैगरी भन्छन्, निर्देशक । अक्सर नेपाली दर्शक केही बुझ्दैनन् भनेर संवादमाथि संवाद थोपरेर एफएम रेडियोको कार्यक्रमजस्तो सिनेमा बनाउनेका लागि फरक स्वाद दिने प्रयत्न चलचित्रले गरेको छ ।

कथा भन्न निर्देशकले जसलाई रोजे उनीहरु उम्दा देखिए । स्वस्तिमा र अर्पण चरित्रमा पोख्त छन् । देशभक्त खनालले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएका छन् । सहायक पात्रहरू बिझाउँदैनन् ।

त्यसो त बिझाउने पक्ष पनि छन् । एकै प्रकृतिका लामा–लामा दृश्य छन् । जसमा दोस्रो निर्देशक सम्पादकको आँखा पर्न सकेन । गीत गाएर मुख्य पात्र दुःख भुलाउन खोज्दै छे कि आफ्नो सपना, ससुराबाको एउटा संवादले उनको चाह नै नाच्ने–गाउने हो भने पनि त्यसलाई स्थापित गराउन निर्देशकले जोडबल गरेका छैनन् । भागेर जंगलको बीचमा गएर नाचेको दृश्य नाचगानभन्दा पनि स्वतन्त्रताको खुसीका रूपमा बढी अर्थ्याउन सकिन्छ ।

आँखाको भाकाले बोल्न रुचाउने चालकले संस्कृतको लामो श्लोक भनेको त्यति धेरै मिल्दो लाग्दैन, भलै उसले जिन्दगीको सारांश नै भनेको किन नहोस् । निर्देशक दृश्यमा जति खेले साउन्डमा त्यति नै किन खेलेनन् ? प्रश्न खड्किन्छ ।

तर, यति हुँदाहुँदै पनि निर्देशकले फरक बाटो हिँडेरै जित्न खोजेका छन् । आम निर्देशकको मनाङ–मुस्ताङमा भीड लागेका बेला जसरी उनी त्योभन्दा पर बाजुरा पुगेका छन्, त्यसैगरी उनले अरूभन्दा फरक बाटो र गन्तव्य रोजिरहेको चिसो मान्छेले देखाइदिएको छ ।

कलाका विभिन्न विधामध्ये कुन कसलाई मनपर्छ, त्यो व्यक्तिअनुसार फरक पर्छ । चलचित्र पनि कलाको एक विधा हो । यसभित्र पनि थुप्रै विधा छन् । ती थुपै्र विधामध्येको यो पेसको चलचित्र हेर्न रुचाउनेलाई चिसो मान्छे मनपर्छ । तर, एक्सन, थ्रिलर र रोमान्टिक सिनेमा हेर्ने दर्शकका लागि भने यो चलचित्र होइन । 

निर्देशक : दीपेन्द्र के खनाल
निर्माता : शर्मिला पाण्डे
कलाकार : स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाललगायत ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro