site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हल्ला करोड/करोडको वास्तविकता अर्कै 

काठमाडौं । तपाईंले कुनै फिचर फिल्म निर्मातालाई यहाँको चलचित्रको लगानी कति हो भनेर प्रश्न गर्नुभयो भने अधिकांशले तपाईंलाई दिने जवाफ हुन्छ– दुई करोड रुपैयाँभन्दा माथि । दुई करोडभन्दा कम बजेटमा चलचित्र निर्माण गर्नै नसकिने उनीहरू बताउँछन् । यसका पछाडि उनीहरूको तर्क हुन्छ– महँगा कलाकार, प्राविधिक र टाढाको लोकेसन चलचित्रको लागत बढ्नुका मुख्य कारण हुन् ।

केही निर्माता त्यस्ता पनि छन्, जो निर्माण लागत सात करोड नाघेको बताउँछन् । तीन/चार करोड लागत बताउने निर्माताको संख्या पनि ठूलो भइसकेको छ । करोड/करोड लगानी बताउने गरे पनि निर्माताहरूले चलचित्र विकास बोर्डमा देखाउने गरेको लगानी रकम भने निकै कम हुने गरेको छ ।

अधिकांशले करोडौँ लगानी रहेको बताए पनि यथार्थमा उनीहरूले बोर्डमा चलचित्र दर्ता गर्दा उल्लेख गरेको लागत निकै न्यून हुने गरेको बोर्डको तथ्यांकले देखाउँछ ।  

अधिकांश चलचित्रको लागत एक करोड रुपैयाँभन्दा तलै रहने गरेको बोर्डको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका ९५ चलचित्रमध्ये ६७ चलचित्रको लगानी एक करोडभन्दा तल छ ।

२१ चलचित्रको लगानी एक करोडदेखि दुई करोडको बीचमा छ । दुईदेखि तीन करोडको बीचमा लगानी गरिएका चलचित्र चारवटा छन् ।

मनीष ढकालले दर्ता गराएको चलचित्र ‘फूलबारी’को निर्माण लागत तीन करोड २५ लाख हुने उल्लेख छ । यो चलचित्रको निर्देशकमा गणेशदेव पाण्डेको नाम रहेको छ ।

‘एक मुट्ठी बादल’ शारदा शर्माले निर्देशन गर्ने गरी दर्ता गरिएको छ । शारदा शर्मा र अभिमन्यू दीक्षित निर्माता रहने यो चलचित्रको लागत चार करोड ८० लाख हुने उल्लेख छ ।

रामचन्द्र निरौला निर्माता र वसन्त निरौला निर्देशक रहने गरी दर्ता गरिएको चलचित्र ‘द माफिया’को लागत रकम पाँच करोड ७७ लाख रुपैयाँ रहने बोर्डको तथ्यांकमा उल्लेख छ ।

‘चिसो मान्छे’ एक करोड सात लाख, ‘प्रकाश’ एक करोड ५० लाख, ‘कबड्डी–४’ ९५ लाख, ‘दुई नम्बरी’ ५७ लाख, ‘प्रेमगीत–३’ एक करोड, ‘शत्रुगते’ ८० लाख लगात रहने दर्ताका क्रममा बोर्डमा उल्लेख छ । तर, यी चलचित्रका निर्देशक तथा निर्माता योभन्दा धेरै लगानी भएको बताउँछन् ।

किन ?

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका निर्माता अर्जुन कुमार अनुमानित लागत बोर्डमा दर्ताका क्रममा उल्लेख गरिने भएकाले निर्माणका क्रममा केही प्रतिशत खर्च बढ्ने उनी बताउँछन् । “चलचित्र बनाउँदै जाँदा निश्चय नै महँगी पनि बढ्दै जाने भएकाले लागत बढ्छ । आज बेलुका २०० रुपैयाँ रहेको तेलको भाउ भोलि बिहान २३० रुपैयाँ हुन्छ । यसरी दिनकै हुने मूल्यवृद्धिको असरले लागत बढ्छ,” उनी भन्छन्, “दर्ताका क्रममा उल्लेख गरेको भन्दा २० देखि २५ प्रतिशतसम्म लागत रकम बढ्न सक्छ । तर, दुई/तीन गुणा नै बढ्ने भन्ने हुँदैन ।”

७५ लाखमा बनाउने भनेर सुरु गरिएको चलचित्रको लागत बढेर एक करोड पुग्न सक्छ । तर, ७८ लाखमा बनाउने भनेर सुरु गरिएको चलचित्र निर्माण गर्न डेढ/दुई करोड लाग्दैन । “यदि, कसैले ७० लाख लागत भनेर दर्ता गरिएको चलचित्रको लगानी एक करोड ५० लाख वा दुई करोड भन्छ भने त्यो सरासर झुट हो,” उनी भन्छन् ।

निर्माता कथा कलाकार किरण केसी अस्वाभाविक रूपमा लगानी रकम बताउने नेपाली चलचित्र क्षेत्रमा परम्परा नै बसिसकेको बताउँछन् । उनी भन्छन्, “यो गलत परम्परा कसरी किन बस्यो यो त मलाई पनि थाहा छैन । तर, एक करोडमा बनेको सिनेमाको लगानी अढाई करोड बताउने परम्परा नै बनिसकेको छ ।”

यद्यपि, सुरुमा अनुमान गरिएको भन्दा केही लागत बढ्ने उनी बताउँछन् । तर, मोटामोटी निर्माण लागत अनुमान गर्न नसक्नु पनि कमजोरी रहेको उनको भनाइ छ । चलचित्र निर्माण प्रक्रिया र यसबारे पर्याप्त जानकारीको अभावका कारण निर्माताले लागत अनुमान गर्न नसकेको उनको तर्क छ । 

“चलचित्रको काम कसरी हुन्छ, केमा कति खर्च हुन्छ भनेर चलचित्रबारे नबुझेको मान्छेले लगानी गर्दा पनि यस्तो भएको हो भन्ने लाग्छ,” किरण भन्छन्, “पर्याप्त ज्ञान र अनुभवको खाँचो छ भन्ने कुरा यसले पनि प्रस्ट देखाउँछ ।”

सामान्य लागतसमेत अनुमान गर्न नसक्ने निर्माता र निर्देशकको बाहुल्यता रहेका कारण पनि अधिकांशको बजेट बढ्ने गरेको एक निर्माताको भनाइ छ । “कस्तो चलचित्र छायांकन गर्न कति समय लाग्छ र लागत कति हुन्छ भनेर त थाहा नपाउनेले बनाएका चलचित्र कस्तो हुन्छ होला ?,” ती निर्माता व्यंग्य गर्छन् ।

अर्का एक निर्माताको तर्क भने अलि फरक छ । चलचित्रबारे ज्ञान शून्य भएको तर नामका लागि यस क्षेत्रमा आउने नयाँ निर्मातालाई लागत थोरै देखाएर काम सुरु गर्ने र पछि बजेट थप्न लगाउने निर्देशकका कारण पनि यस्तो भएको ती निर्माताको तर्क छ । नेपाली चलचित्र वृत्तमा यस प्रवृत्तिलाई ‘मुर्गा फसाउने’ भन्ने गरिएको ती निर्माता बताउँछन् । 

“हाम्रोमा यस्ता निर्देशकको संख्या पनि कम छैन, जो नामका लागि विशेषगरी विदेशमा बस्ने नेपाली चलचित्रमा लगानी गर्न आउँछन्,” ती निर्माता अगाडि थप्छन्, “उनीहरू करोड/डेढ करोड लाग्छ भनेर सुरुमै भनेको खण्डमा पछि हट्छन् भनेर ७० लाखमा बन्छ भनेर काम सुरु गरेपछि डेढ करोड लागत पुर्‍याउने निर्देशकको हाम्रोमा खाँचो छैन ।” नियतमै खोट भएका निर्देशकका कारण पनि केही चलचित्रको लागत न्यून देखिएको हुन सक्ने उनी बताउँछन् । 

०७६/०७७ मा सुशील पंगेनीले निर्माण र निर्देशन गर्ने भनिएको चलचित्र ‘नालापानी’को लगात ११ करोड हुने उल्लेख छ । बोर्डको तथ्यांकानुसार यो हालसम्मकै उच्च लागत रहेको देखिन्छ । यद्यपि, यो चलचित्र रिमेश अधिकारीले निर्देशन गरेका छन् । 

बोर्डमा दर्ता भएका सबै चलचित्र निर्माण हुँदैनन् । कतिपय निर्माण सुरु भएर बीचैमा अलपत्र पर्छन् । कतिपय निर्माण भए पनि रिलिज हुँदैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro