site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिर्खा मेटाउने क्यारेक्टर 

काठमाडौं । प्रायः हरदिन सञ्चारमाध्यममा छाउपडीको घटना आउँथे । त्यसका कारण महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको दर्दनाक घटना सुनिन्थे । हरदिनजसो सञ्चारमाध्यमका हेडलाइन बनेर यस्ता घटना आइरहँदा स्वस्तिमा (खड्का)लाई लाग्थ्यो, सुदूरपश्चिम प्रदेश पिछडिएको क्षेत्र हो । अनि, दिमागमा एउटा स्पष्ट चित्र बन्थ्यो– त्यहाँका महिला लजालु होलान् । बोल्न धक मान्दा होलान् । मनका जिज्ञासा भन्न नसकेर मनभित्रै गुम्स्याएर राख्दा होलान् । हेलमेल त नयाँ मान्छेसँग के गर्दा होलान् र !

जब उनी अघिल्लो वर्ष बाजुरा पुगिन्, तब सुदूरपश्चिमेली महिलाका बारे दिमागमा बनेको काल्पनिक घर भत्कियो । यो त काठमाडौंले सोच्ने कोरा कल्पना पो रहेछ । दूरदराजलाई हेर्ने केन्द्रीय मानसिकताको अपुरो ज्ञान पो रहेछ । उनको दिमागमा घर गरेर बसेको सोच त्यहाँका महिलाले क्षणभरमा भत्काइदिए । न त्यहाँका महिला काठमाडौंले सोचेजस्तो शाही नेचरका थिए न त नयाँ मान्छे देख्दा नबोल्ने स्वभावका थिए ।

“त्यहाँका महिला दिदीबहिनी त पुरुषभन्दा फरवार्ड पो हुनुहुँदो रहेछ,” स्वस्तिमा भन्छिन्, “हामीले कर्णाली र सुदूरपश्चिमका मान्छेबारे जुन धारणा काठमाडौंमा बसेर बनाइरहेका छौँ, त्यो त गलत रहेछ । त्यहाँका मान्छे न नयाँ मान्छे देख्दा, भेट्दा बोल्न हिचकिचाउँछन् न त घुलमिल हुन समय लगाउँछन् ।”

बाजुरा पुग्दा जब उनले आफ्नो धारणा रुमानी कल्पना मात्रै रहेको अनुभूत गरिन्, त्यसपछि सुरु भयो– आफ्नो कर्म । निर्देशक (दीपेन्द्र के खनाल)ले चलचित्र ‘चिसो मान्छे’मा उनको क्यारेक्टर बताइदिएका थिए । त्यहीअनुसारको चरित्र तयार पार्नु थियो ।

सुदूरपश्चिमको भाषा, संस्कृति, लवज र आवरणले स्वस्तिमालाई सधैँ तानिरहन्थ्यो । भाग्यले त्यही ठाउँको क्यारेक्टरको तिर्खा मेटाउने अवसर जुराइदिएको थियो ।

यसै पनि हरेक चलचित्रका क्यारेक्टर उनलाई विशेष लाग्छन् । भलै, काम गराइको तौरतरिका र प्रक्रिया (प्रोसेस) सबैमा मिल्दैन । त्यसैले क्यारेक्टर १९/२० हुन्छन् । “मलाई हरेक फिल्म साइन गर्दा यो क्यारेक्टरले मेरो करिअरमा यस्तो असर गर्छ होला भन्ने लाग्छ । हरेक क्यारेक्टरमा उत्तिकै हार्डवर्क गर्नुपर्छ भन्ने लाग्छ,” उनी भन्छिन्, “पैसाका लागि फिल्मबाहेक अरू काम पनि गर्छु । रमाइलो गर्ने अरू माध्यम पनि छन् । तर, फिल्मलाई मैले सधैँ उत्तिकै महत्त्वका साथ लिन्छु । त्यसैले हरेक दुई/तीन महिनामा मेरा चलचित्र रिलिज हुँदैनन् ।”

यसमा क्यारेक्टरका लागि उनलाई अपुग्दो केही थिएन । प्रोडक्सनले पहिले नै भाषा सिक्ने व्यवस्था गरिदिएको थियो । आफैँले चाहेको क्यारेक्टर न पर्‍यो, त्यहाँका महिलाले कस्तो लगाउँछन्, उनले पहिला नै नोटिस गरिसकेकी थिइन् । भाषा थोरबहुत सिकिसकेकी थिइन् ।

चाहियो लुगा । दिमागमा यस्तो हुने छ भन्ने खाका बनिसकेको थियो । दीपेन्द्रले कलर संकेत गरेका थिए । लुगा सिलाउने कि स्थानीयसँग मागेर लगाउने ? मागेर लगाउने पक्षमा थिइन्, स्वस्तिमा । किनकि, उनलाई क्यारेक्टरसँग सम्झौता गर्नु थिएन । त्यसैले उनले प्रोडक्सनलाई भनिन्– स्थानीयसँग लुगा मागौँ ।

मञ्जुर भएको प्रोडक्सनले स्थानीयसँग लुगा किन्न माग्यो । सुरुमा आफूले लगाएको लुगा दिन स्थानीय हिचकिचाए । जब प्रोडक्सनले एकजोर लुगा बल्लतल्ल जुटायो, त्यसलाई दिएको पैसा देखेपछि भने स्थानीयले खुसीखुसी लुगा दिए ।

अक्सर क्यारेक्टरको ड्रेस फाइनल भएपछि प्रोडक्सनले सिलाएर तयार पार्छ । तर, स्वस्तिमाले योपटक त्यसो गरिनन् । कारण, ‘बुलबुल’मा लगाएको ड्रेस उनी आफैँलाई थोरै बिझाएको थियो । त्यसैले योपटक त्यही गल्ती दोहोर्‍याउने पक्षमा उनी थिइनन् ।

“म त्यति धेरै घिनाउँदिनँ । अरूको लुगा लगाउन घिनाउने भएको भए म अरूले लगाएको पुरानो लुगा लगाउँदिन थिएँ होला,” स्वस्तिमा हुबहु बाजुरेली महिला देखिन गरेको प्रयास सम्झिन्छिन्, “सबैको स्वभाव एकै खालको हुँदैन । घिनाउनेहरूले लगाउन सक्नु हुन्न होला । तर। मैले धोएर लगाएँ ।”

स्थानीय महिला उनलाई बेलाबेलामा सोधिरहन्थे, ‘तपाईं त हिरोइन मान्छे, नयाँनयाँ राम्राराम्रा लुगा लगाउने मान्छे, यस्तो थोत्रो अरूले लगाएको लुगा लगाउँदा कस्तो भइरहेको छ ?’

तर, स्वस्तिमालाई न अप्ठ्यारो महसुस भइरहेको थियो न त असहज नै । उनी आम स्थानीय महिलासरह नै निर्धक्क गुन्यु चोलो, कुन्या छप्की र फुलेली (बुलाकी)मा आफ्नो काम गरिरहेकी थिइन् । कहिल्यै नलगाएको फुलेली पनि उतिसाह्रो असहज लागिरहेको थिएन । सायद यो क्यारेक्टरको लामो तिर्खा थियो उनलाई, त्यो मेटाइरहेकी थिइन् । 

“अरूलाई झट्ट हेर्दा यो क्यारेक्टर फरक लाग्न सक्छ, तर मलाई त्यति धेरै आश्चर्य लाग्दैन । किनभने, एकएक गर्दै लुगा लगाउँदै हेर्दै क्यारेक्टर निर्माण गर्ने हो,” उनी भन्छिन्, “सुरुमा सारी, चोलो लगाएर हेरेँ होला, त्यसपछि कपालको क्लिप्स, कनकर्नु, बुलाकी, पोते, हुप्सियो थप्दै जाँदा आफैँले बनाएको क्यारेक्टर भएर आश्चर्य लाग्दैन । तर, चार/पाँच वर्षपछि हेर्दा भने म आफैँलाई पनि अनौठो लाग्छ ।” किनकि, छायांकनमा क्लोज भएको क्यारेक्टर त्यो बेला नौलो भइसकेको हुन्छ । आफूबाट टाढिइसकेको हुन्छ ।

“सुदूरपश्चिम आफैँमा कला, संस्कृति र वेशभूषामा सम्पन्न छ । त्यसमा पनि त्यहाँ सोचेभन्दा फरासिला दिनीबहिनी,” स्वस्तिमा भन्छिन्, “सायद म जिन्दगीभर कहिल्यै बिर्सिन्न होला त्यहाँका महिला ।”

स्वस्तिमा जहाँ पुगिन्, त्यहाँ सिनेमा हल छैन । त्यसैले उनीहरू हिरोइनसँगै रहे पनि हलमा आफूलाई देख्न पाउने छैनन् । तर, एन्ड्रोइड मोबाइल र इन्टरनेटको सहज पहुँचले उनीहरू अपडेट भने छन् । फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालमा अभ्यस्त उनीहरू सहरिया महिलाभन्दा कम छैनन् । भलै, तुलनात्मक रूपमा उनीहरूको क्रयशक्ति कम होला । स्कुल र क्याम्पसको सुलभ पहुँचबाट टाढा होलान् ।

स्वस्तिमाले हरेक सिनेमालाई उत्तिकै महत्त्व दिए पनि दर्शकले ‘चिसो मान्छे’लाई फरक तरिकाले हेरेको र त्यहीअनुसार अपेक्षा गरेको उनी सुनाउँछिन् ।

फिल्मको काम कसरी हुन्छ भनेर सोधिरहने जिज्ञासु स्वभाव, पुरुषभन्दा पनि फरवार्ड महिला, नयाँ कुरा जान्न उत्सुक । शाही नेचर होला भन्ने कल्पना गरेकी स्वस्तिमालाई उनीहरू सोधिरहन्थे– हामीलाई पनि फिल्ममा देखाउँछ ? हामीजस्तो बन्दा कस्तो लागिरहेको छ ? हाम्रो लुगा लगाउँदा अप्ठ्यारो हुँदैन ? हिरोइनहरू पनि यस्तो लुगा लगाउँछन् ?

सायद हेरिरहेका सिनेमाभन्दा फरक कन्टेन्ट बोकेर ‘चिसो मान्छे’ आएको छ कि भन्ने दर्शकमा अपेक्षा रहेको उनको बुझाइ छ । कोरोना संक्रमणको त्रासले घरमै थुनिएका बेला दर्शकले वर्ल्ड सिनेमा हेरे । त्यसले सिनेमा लिट्रेसी बढायो । अनि, स्वस्तिमालाई धेरैले सोधे– नेपालमा मौलिक र समसामयिक सिनेमा किन आउँदैनन् ?

“हाम्रो कथामा किन सिनेमा बन्दैन भनेर प्रश्न गरिरहेका बेला सायद जुन भेगको कथा हामीले उठाइरहेका छौँ, त्यो अरूभन्दा केही फरक लागेकाले पनि हुनसक्छ, यो क्यारेक्टरमा भरोसा गरिएको,” स्वस्तिमा भन्छिन्, “जुन फिल्मको प्रोसेसमा इन्जोए गरिन्छ, जुन फिल्मको छायांकनमा जानु अगाडि नै जुन प्रोसस अवलम्बन गरिन्छ, त्यसले राम्रो रिजल्ट दिन्छ । अडियन्सले पनि त्यहीअनुसार मूल्यांकन गर्नुहुन्छ ।”

हरेक व्यक्तिको जीवन अन्तरसंघर्षबाट गुज्रिएको हुन्छ । त्यस्तै तीन पात्रहरूको अन्तरसंघर्षको कथा हो, ‘चिसो मान्छे ।’ तीन पात्रले व्यक्ति र सामाजिक परिवेशका कारण भोग्नुपरेको संघर्ष नै चलचित्रको कथा हो । त्यो कथा स्वस्तिमा, अर्पण थापा र देशभक्त खनाल भन्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro