काठमाडौं । जब–जब सिसडोलमा फोहोरको उच्च समस्या हुन्छ र त्यसको नकारात्मक प्रभावले गाउँलाई पिरोल्छ, तब अर्जुन घिमिरे (पाँडे) १७ वर्ष अगाडिको त्यो दिन सम्झिन्छन्– स्कुलको पोसाकमा हातमा किताब च्यापेर काठमाडौंको फोहोर गाडीमा लिएर आफ्नो गाउँ आइपुगेका व्यक्तिलाई फूलमाला लगाएर स्वागत गरेको ।
उनको मानसपटलबाट अझै मेटिएको छैन त्यो बेला दिएका आश्वासनहरू– गाउँमा सडक थिएन, सडक आउँछ भनेको । दुई घण्टा हिँडेर स्कुल पढ्न काठमाडौं जानु पर्दैन गाउँमै स्कुल बन्छ भनेको । हामीले दुःख गरेर पढे पनि आउँदो पुस्ताले पढ्न दुःख गर्नु पर्दैन भनेको । अब गाउँले मुहार फेर्छ भनेको ।
तर, गाउँमा जसरी फोहोरको डंगुर चुलिँदै गयो, त्यसैगरी सम्झौताका फाइलहरू अग्लिँदै गए । गाउँलेलाई दिएका आश्वासनहरू कार्यान्वयन भएनन् । मात्र समस्याका चाङहरू थुप्रिँदै गए । तर पनि आश्वासन दिन छोडिएन । स्थानीयले सम्झौता गर्न छोडेनन् । काठमाडौं महानगरपालिकाले सम्झौताको मसी नसुक्दै आफैँले जनाएको प्रतिबद्धता उल्लंघन गर्नेक्रम कहिल्यै दोहोर्याउन छोडेन ।
फेरि एकपटक गए राति सरोकारवाला पक्षबीच सहमति भयो । यो सहमतिले समाधानको दिगो उपाय दिन्छ भन्ने अर्जुनको विश्वास छ ।
अब फोहोरमा राजनीति सम्भव नरहेको उनी बताउँछन् । यसमा उनको तर्क छ– कुनै राजनीतिक दल होइन, अहिले स्वतन्त्र युवाले दिगो समाधानको बाटो खोजेका छन् । जबसम्म समस्याको दिगो समाधान हुँदैन, तबसम्म स्वतन्त्र युवा पछि हट्दैनन् भन्नेमा उनी ढुक्क छन् ।
“बाहिर जसरी फोहोरमा राजनीति भयो भनिन्छ, वास्तवमा त्यस्तो हो भन्ने मलाई लाग्दैन । स्वतन्त्र युवाले गाउँले फोहोरका कारण भोगिरहेको समस्याको समाधान खोजेका हुन्,” अर्जुन भन्छन्, “तर, लाग्छ– हिजो राति जुन सहमति भयो, यसको कार्यान्वयन भयो भने अब आन्दोलन र अवरोध हुँदैन । राजनीतिक घुसपैठ भयो भने स्वतन्त्र युवाले स्थानीयस्तरमै समस्याको निराकरण गर्छन् ।”
महानगरपालिका र नगरपालिकालाई कामानुसार १५ दिन, तीन महिना, ६ महिनाको समयसीमा दिइएको छ । त्यसैले यो समय महानगर र नगरपालिकाका लागि काम गरेर देखाउने परीक्षाको घडी भएको उनी बताउँछन् ।
“हामी पीडित नै हो । १७ वर्षदेखि हामी फोहोरमै बसेर, फोहोरमै खेलेर हुर्किएका हौँ । हुन त हिजो गरेको सम्झौता पनि दिगो होइन, क्षणिक सम्झौता मात्रै हो,” अर्जुन भन्छन्, “अझै दिगो समाधान खोज्दै जानुपर्छ । स्थानीय फोहोरले दिएको समस्याबाट पीडित छन् ।”
कागज, फलाम, क्रेट, बोतल एकातिर संकलन गरे बिक्री हुन्छ । प्लास्टिक पनि उद्योगले लिन्छ । पुराना कपडा सुरक्षित र सफा राखे डसना बनाउन मिल्छ । खाना र कुहिने फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन सकिन्छ, त्यो कौसीखेतीका लागि काम लाग्छ । यसलाई महानगरले भिन्दाभिन्दै संकलन गरे फोहोरको संख्या घट्ने उनी बताउँछन् ।
“कुहिने फोहोरको घनत्व कम हुनेबित्तिकै लिच्चड कम हुन्छ । डम्पिङ साइटमा फोहोर घट्नेबित्तिकै ल्यान्डफिलको समस्या कम हुन्छ । ल्यान्डफिलको समस्या कम हुनु भनेको स्थानीयको समस्या कम हुनु हो,” उनी भन्छन् ।
१७ वर्षदेखि स्थानीय एउटै समस्या झेलिरहेका छन् । फोहोरबाट लिच्चड बग्छ । त्यो पानीका स्थानीय स्रोतमा मिसिन्छ । गाउँमा दुर्गन्ध छ ।
“कुन बेला महामारी फैलिन हो थाहा छैन । झाडापखालाले कुन बेला कसको ज्यान लिने हो ठेगान छैन,” अर्जुन भन्छन्, “तर, यी सब कुरा हामीले सहेरै बस्यौँ । अहिले काठमाडौं महानगरमा नयाँ मेयर आएर म डम्पिङ साइटका सबै समस्या समाधान गर्छु भन्नुभएको छ । व्यवस्थित तरिकाले फोहोर फाल्छु भनिरहेकाले अहिले हामीले उहाँले गर्छु भनेको कुरा हेर्नुबाहेक केही विकल्प छैन ।”
सिसडोल डम्पिङ साइटबाट १०० मिटरको दूरीमा आफ्नो घर रहेको बताउँदै उनी भन्छन्, “फोहोरको पहाडबाट त मेरो घर धेरै टाढा हो । मेरोभन्दा तल फोहोरसँगै टाँसिएका घर छन् । सल्लेटार, न्यौपाने गाउँ, उप्रेती गाउँ, सिंखडा गाउँ, पाठक गाउँ, कार्की गाउँलगायत गाउँ पीडामा छन् ।”
जतिसुकै समस्या भए पनि फोहोर फाल्न दिँदै जाने र सम्झौता कार्यान्वयन गर्न सहयोग गर्दै जानुपर्ने उनको धारणा छ । “कुन लेवलमा सम्झौता कार्यान्वयन हुन्छ, त्यो हेर्दै जानु छ,” अर्जुन भन्छन्, “महानगरपालिकाले स्थानीयका माग कसरी सम्बोधन गर्छ, त्यो वेट एन्ड सी नै रह्यो ।”
बिहान सहमति भए बेलुका आन्दोलन, बेलुका सहमति भए राति आन्दोलन सिसडोल र बन्चरेडाँडामा हुँदै आएको छ । यसको कारण स्थानीय जो पीडित छन्, उनीहरूका माग र गुनासो नसुनी माथिल्लो तहबाट सहमति भएको अर्जुन सुनाउँछन् । स्थानीयका गुनासा सम्बोधन नहुँदा यस्तो समस्या पटक–पटक हुने गरेको उनको बुझाइ छ ।