काठमाडौं । ‘भाइ, अनि जग्गा प्लटिङको बिजनेस कस्तो भइरहेको छ, राम्रै चलिरहेको छ ?’ एउटै टेबुलमा बसेर खाना खाइरहेका बेला दयाहाङ (राई) विपीन (कार्की)लाई प्रश्न गर्छन् । (त्यही डाइनिङमा वर्षा राउत पनि सँगै खाना खाइरहेकी छन् ।) ‘कहाँ दाइ, जग्गा प्लटिङको बिजनेस राम्रो भएको भए तपाईंको घरमा यसरी भाडामा बस्नुपर्थ्यो, हैन बेबी ?’ वर्षातिर हेर्दै विपीन दयाहाङलाई जवाफ दिन्छन् ।
दयाहाङ बोल्छन्, ‘म के घरभेटी दुई–तीन वर्षमा एकपटक आइपुग्छु । तिमीहरूले नै घर रेखदेख गरिरहेका छौ, बसेका छौ, तिमीहरू नै घरभेटी हौ नि !’
‘मनाङेहरू त साह्रै दिलदार हुन्छन् नि बेबी, दाइ खुुसी हुनुभयो भने त ला’को सुनको सिक्री खोलेर दिनुहुन्छ नि है दाइ ?’ विपीन दयाहाङलाई उक्साउँछन् । टाइसुटमा सजिएका दयाहाङ टाई खुकुलो पार्दै ‘हो’ संकेत गर्दै टाउको हल्लाउँछन् ।
यो संवाद हो, छायांकनरत चलचित्र ‘के घर के डेरा’को । गएको शनिबार बूढानीलकण्ठको एउटा घरमा इन्डोर सुटिङ भइरहेको चलचित्रको एउटै सेटमा थिए अहिले दर्शकको रोजाइमा रहेका कलाकार दयाहाङ, विपीन र वर्षा ।
आलिसान घरभित्र छायांकन चलिरहेको थियो । निर्देशन गरिरहेका थिए, निर्देशक दीपेन्द्र के खनाल । सँगै थिए, कार्यकारी निर्माता युवराज कार्की । दयाहाङ, विपीन र वर्षा इन्डोर छायांकनमा व्यस्त थिए ।
डाइलगले घरभेटी र कोठाभाडामा बस्नेको कथा चलचित्रले बोकेको प्रष्ट्याइरहेको थियो । आक्कलझुक्कल आउने घरभेटीलाई फुर्काएर फाइदा लिने प्रपञ्चमा रहेको भाडावालको संवाद, हाउभाउ र इसाराले संकेत गरिरहेको थियो ।
जग्गा प्लटिङको कारोबार सुस्ताएर अपेक्षित बिजनेस नचलेको भाडावालले बताइरहे पनि डाइनिङमा ननभेज परिकार थियो, त्यही परिकारको स्वादसँगै चलचित्रका डाइलग प्रस्तुत गरिरहेका थिए । निर्देशक मोनिटरमा बसेर संवाद र दृश्य हेरेर घरी ‘ओके डन’ भनिरहेका थिए घरी ‘रि–टेक’ भनिरहेका थिए ।
डे–१९ को छायांकन घरभित्र भइरहँदा बाहिर पानी परिरहेको थियो । त्यही बेला आइपुगिन्, चलचित्रकी अर्की कलाकार सुरक्षा पन्त । उनको सिन अबेर रातिको थियो । उनी आइपुग्दा नपुग्दै छायांकनरत सिन सकियो ।
निर्देशकले ‘नेक्स्ट सिन’ भने । प्रोडक्सनले त्यसको होमवर्क सुरु गर्यो । अर्को सिन रहेछ, पार्टीको । त्यसका लागि आवश्यक ग्लास, ह्विस्की, कोल्ड ड्रिंक्स, स्न्याक्स जुटाउन प्रोडक्सन लाग्यो ।
त्यो सिनमा दयाहाङ र सुरक्षा मध्यमवर्गीय परिवारको झल्को दिने व्यक्तित्वका रूपमा देखिनुपर्नेरहेछ । दयाहाङ ट्राउजर र टिसर्ट फेरेर आए ।
निर्देशक खनालले भने, ‘दयाको ड्रेस यही हो ? यसमा त खासै गरिब देखिएन त हो !’
‘देखिएन र ? कोट–पाइन्ट लगाउँदा नि धनी, ट्राउजर र भेस्टमा पनि धनी नै देखियो भने के लगाउने होला !,’ दयाहाङले भने ।
‘म गरिब देखिएँ ?,’ सुरक्षाले सोधिन् ।
‘ए, तिम्रो ड्रेस त्यही हो ?,’ दीपेन्द्रले जिज्ञासा राखे ।
‘हो दाइ ।’
‘यो त भएन हो ! अर्को छैन ?’
सुरक्षाले तर्क पेस गरिन्, ‘कहाँ दाइ, यो कोठा सार्नेहरूले के कमाइ गर्छन् होला भन्ने हामीलाई लागे पनि उनीहरूको कमाइ मासिक ७०/८० हजार हुन्छ । उनीहरूको लाइफस्टाइल मात्रै त्यस्तो हो । कमजोर कमाइ होइन नि ।’
सायद दीपेन्द्र कन्भिन्स भए । त्यसमा थप डिस्कस भएन ।
‘लाखौँ कमाइ गर्ने काठमाडौंमा घर र गाडी भएका घरजग्गा एजेन्टहरू पनि त्यस्तै हुन् नि । घरमा गाडी भए पनि सामान्य मोटरसाइकलमा त्यस्तै ड्रेसमा चोकका चियापसलमा घण्टौँ गफ गरेर बिताउँछन्,’ दयाहाङले अगाडि थपे, ‘उनीहरूको कामको प्रकृति नै त्यस्तै हो । म आफैँले घर किन्दा एकजनाले मलाई अनामनगरमा एउटा त्यस्तै भट्टीमा पुर्याए, जहाँ कमिसनबाट महिनामा लाखौँ कमाइ गर्ने भट्टीमा छिरेर खान्छन् । त्यहाँ त्यस्तै मान्छेको ठूलो जमघट हुँदो रहेछ ।’
पालो दीपेन्द्रको, टाई र सुटमा आफ्नै गाडीमा चढेर भट्टीमा छिरेर सेकुवा र रक्सी खानेहरूको जमघटस्थल आफूले सिनामंगलमा देखेको उनले सुनाए । साउथको फिल्मको सेटजस्तै लाग्ने उक्त भट्टीको कथा दीपेन्द्रले सुनाउँदै गर्दा विपीन भने घरको कम्पाउन्डमा रहेका चाण्–रपाँचजनाको समूहमा गफ गरिरहेका थिए ।
वर्षा सोध्दै थिइन्, ‘भोलिको सेड्युल आयो ?’
युवराजले भने, ‘आइसक्यो । तपाईंको दिउँसोको सेड्युल आएको छ ।’
निर्देशकलाई उनका असिस्टेन्ट सुनाउँदै थिए, ‘भोलि बिहान सामान लिएर भाग्दै गरेको पहिलो सिन छ । चाँडै सुरु गर्नुपर्छ नत्र भ्याइँदैन ।’
तस्बिर सौजन्य: युवराज कार्की