site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइलट प्रभाकर सधैँ भन्थे– प्लेनजस्तो सेफ्टी केही हुँदैन  
SkywellSkywell

काठमाडौं । तारा एयरको उडानमा रहेको एउटा जहाज आइतबार एकाएक हराएको खबर आयो । खबरसँगै ज्योति घिमिरे (गायक तथा गिटारिस्ट)ले थाहा पाए, उक्त जहाज आफ्नै भाइ पाइलट (प्रभाकर घिमिरे)ले उडाइरहेका थिए । भाइको उज्यालो अनुहार उनको दिमागमा तरंगित भयो । अनि, उनले सधैँ भन्ने गरेको वाक्य गुञ्जियो, ‘प्लेनजस्तो सेफ्टी केही पनि हुँदैन ।’

भनेका र विश्वास गरेका सबै कुरा सधैँ सत्य किन हुन्थ्यो र ? हुँदैन । र, भएन पनि । अन्ततः प्रभाकरले उडाएको जहाज दुर्घटना भएको खबर आयो । दुर्घटनाको खबर आएको केही समयपछि विमानमा सवार सबैको मृत्यु भएको खबर भुसको आगो झैँ फैलियो । अनि, ज्योतिको मनमा एउटा प्रश्न आयो, ‘प्लेनजस्तो सेफ्टी केही पनि हुँदैन’ भनेर मेरो भाइले मसँग सधैँ झुट बोलेको थियो ?

उसले बोलेको कुरालाई समयले जसरी झुट सावित गरिदियो, त्यस्तै झुट दुर्घटना र प्रभाकरको मृत्युको खबर पनि भइदिएको भए ! तर, किन सम्भव थियो र । यो त आफूलाई चोट पर्दा गरिने रुमानी कल्पना र प्रार्थना मात्रै त थियो । त्यसैले त घिमिरेले लेख्नुपर्‍यो, ‘प्रभाकर ! तिमीले हामीलाई यति निर्दयी रूपमा छाडेर गयौ । यस विषयमा हामी पक्कै पनि कतै फेरि भेटेर कुरा गर्नेछौँ, जहाँ अहिले तिमी आफ्नो त्यही पुरानो घायल पार्ने मुस्कान लिएर डुलिरहेका होलाऊ । तिमीलाई सधैँ माया ।’

KFC Island Ad
NIC Asia

० ० ०

प्रभाकर तारा एयरको सेफ्टी विभागमा रहेर काम गरिरहेका अनुभवी पाइलट थिए । “मेरो भाइ कतिसम्म अनुभवी थियो भने विमान दुर्घटना हुँदा त्यसको कारण पत्ता लगाउन गठन हुने छानबिन समितिमा बसेर उसले थुप्रैपटक काम गरेको थियो । उसकै संयोजकत्वमा पनि यस्ता अध्ययन समिति बनेका थिए,” ज्योति प्रभावकरको अनुभव र दक्षता सुनाउँछन्, “तर, अहिले उसले नै चलाएको जहाज कसरी दुर्घटनामा पर्‍यो म आफैँ छक्क परिरहेको छु ।”

Royal Enfield Island Ad

मुस्ताङमा अक्सर मध्याह्नपछि उडान हुँदैन । कारण, त्यहाँको आकाशमा हावाको वेग यति धेरै हुन्छ, त्यो जहाजले थेग्नै सक्दैन । त्यसैले मुस्ताङका लागि प्रायः १२ बजे अगाडि नै त्यहाँ फ्लाइट हुन्छ । तर, कहिलेकाहीँ सुरक्षित भनिएको १२ बजे अगाडि पनि अनपेक्षित रूपमा मौसम बिग्रिएर लाग्ने बादल, चल्ने हावाहुरी र पर्ने पानीले जहाजलाई दुःख दिन्छ । “सायद यस्तै अलअफसडेन मौसममा बदली भयो । जहाजले त्यसलाई छिचोल्न सकेन । जसका कारण यो दुःखद घटना घट्यो,” ज्योति सुनाउँछन् ।

प्रभाकर सोलु, मनाङ र मुस्ताङका हिमालका काखमा जहाज उडाउँथे । तर, त्यही काखले उनलाई चिसो बनाइदियो । त्यही काखले उनलाई कहिल्यै नफर्किने बाटोको यात्रा तय गरिदियो ।

हिमाली भेगमा उडान कठिन मानिन्छ । विमानले उडान भरिसकेपछि पनि १०/१५ मिनेटमै मौसममा पूर्ण बदली आउँछ । त्यहाँको भिजिबिलिटी शून्यमा पुग्छ । र, पाइलट विलखबन्धमा पर्छन् ।

यसै सन्दर्भमा केही वर्ष पहिले प्रभाकरले एक विदेशी सञ्चारमाध्यमसँग लुक्ला विमानस्थलमा उडान भर्दाको अनुभव साट्दै भनेका थिए, ‘लुक्लाको पाइलट बन्न एकदमै अनुशासित हुनुपर्ने हुन्छ । किनभने, सबै कुरा एकदम सटिक ढंगमा सम्हाल्नुपर्ने हुन्छ । एकपटक लुक्ला भ्यालीमा प्रवेश गरिसकेपछि पहिलो कुरा भनेको तपाईंले आफ्नो आँखाले लुक्लालाई देखिरहनुभएको छ/छैन भन्ने सुनिश्चित गर्नुपर्ने हुन्छ ।”

गन्तव्य फरक भए पनि सायद यस्तै भयो, मौसममा अचानक बदली आयो । सबै कुरा आँखाले ठम्याउनुपर्ने थियो । त्यो सम्भव भएन । उनले भनेजस्तै समय यति धेरै छोटो भइदियो, उनले दुर्घटना टार्नै सकेनन् । 

० ० ०

शनिबार मात्रै प्रभाकरसँग ज्योतिसहित चार दाजुभाइको भेट भएको थियो । संयोग जुराइदिएको थियो मामा–माइजूको चौरासीपूजाको योजनाले । ज्योतिकै घरमा प्रभाकर दाजुहरूसहित आइपुगेका थिए । चारजना भान्जाहरूले मामा–माइजूको चौरासीपूजा गरिदिने छलफल गरे । चारजनामध्ये कसले के गर्ने बाँडफाँड गरे । १५ दिनभित्र पूजा गर्ने भन्दै उनी मासनगल्लीबाट साँझ ६ बजे छुट्टिएर कीर्तिपुर, ट्याङ्लाफाँटतर्फ लागेका थिए ।

सोही छलफलमा प्रभाकरले भनेका थिए, ‘यस वर्ष म कान्छी छोरी विभूतिको बिहे पनि गर्दै छु । सबै मिलेर बिहे राम्रोसँग गर्नुपर्छ । हामी चारैजना बुवाहरू एकै खालको कोटपाइन्ट लगाउनुपर्छ ।’

“मैले भनेँ– म त इस्टकोट लगाउँछु । प्रभाकरले भन्यो– त्यसरी हुँदैन, हामी चारैजनाले एकै खालको कोटपाइन्ट लगाउनुपर्छ,” ज्योतिले भाइ प्रभाकारसँगको अन्तिम भेटको योजना सुनाए ।

० ० ०

प्रभाकर एयर ट्राफिक कन्ट्रोलर हुँदै हवाई क्षेत्रमा प्रवेश गरेका थिए । पाइलटलाई उडान, उडानमा रहेका बेला निरन्तर विमानको अवस्थाबारे जानकारी लिने र अवतरण गर्न अनुमति दिने उनको काम थियो । काम चलिरहेकै बेला सरकारी कोटामा पाइलट कोर्षको अवसर आयो । ९० को दशकको सुरुमा अमेरिकामा पाइलट कोर्ष गरेर नेपाल फर्किए । त्यसपछि सुरु भयो, आकाशमा प्रभाकरको निरन्तर यात्राको दैनिकी ।

सरकारी सेवामा रहँदा जहाज उडाउने सपना अपेक्षित रूपमा सफल हुन नसकेपछि प्रभाकर निजी एयरलाइन्स कम्पनीसँग जोडिएको ज्योति स्मरण गर्छन् । “उसलाई कमर्सियल फ्लाइट उडाउने रहर भएपछि निजी एयरलाइन्ससँग जोडिएको थियो । उडानलाई निरन्तरता दिनुपर्छ भन्ने सोेच भएपछि ऊ निजी एयरलाइन्ससँग आबद्ध भएको थियो,” ज्योति सुनाउँछन् । 

० ० ०

प्रभाकर ‘ए’ डिभिजन क्लब संकटाको फुटबल खेलाडी पनि थिए । जागिर खानुअगाडि करिब १२ वर्ष उनले संकटाबाट फुटबल खेले । “प्रभाकर जति कुशल पाइलट थियो, त्यति नै कुशल फुटबलर पनि थियो,” ज्योति सधैँका लागि बिदा लिएका भाइको विगत सम्झिन्छन्, “ऊ फरवार्ड नै खेल्थ्यो । १० देखि १२ वर्षजति फुटबलमा उसले आफ्नो कौशल देखायो ।”

प्रभाकरले उडाएको जहाज चड्ने ज्योतिलाई भने अवसर जुरेन । तर, उनले आमा र मामा–माइजूलाई आफैँले उडाएर भैरहवा लगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro