काठमाडौं । मतगणनाको पछिल्लो परिणामानुसार काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार बालेन्द्र शाह (बालेन) २० हजारभन्दा धेरै मतान्तरले प्रतिस्पर्धी उमेदवारभन्दा अगाडि छन् । करिब त्यति नै मतगणना गर्न बाँकी रहेकाले उनको जित करिब पक्काजस्तै भइसकेको छ । गणाना गर्न बाँकी रहेको मत मेयरका अरू दुई निकटतम प्रतिस्पर्धीलाई मात्रै गए पनि बालेनले अब मतान्तरका आधारमा जित्छन् ।
बालेनको यो सफलतामा उनको मिहिनेत त निःसन्देह छ नै, यसबाहेक कलाकारको पनि ठूलो योगदान छ । थुप्रै सेलिब्रिटीले उनको पक्षमा भोट मागे । सक्ने र भ्याउनेले मतदाताको घरमै पुगेर भोट मागे । त्यति गर्न नसक्नेले सामाजिक सञ्जालमार्फत पटक–पटक बोलनको चुनाव चिह्न लौरोमा मतदान गर्न आग्रह गरिरहे ।
बालेनको पक्षमा खुलेर अभियान नै चलाउने कलाकारमध्ये एक हुन्, निर्मल शर्मा । उनले बालेनका पक्षमा भोट मात्रै मागेनन्, चुनाव कसरी जित्ने भन्ने प्रि–प्लानदेखि नै आफ्नो दरिलो उपस्थिति र सक्रियता प्रस्तुत गरे ।
काठमाडौं महानगरका स्थायी बासिन्दा निर्मलले थुप्रै राजनीतिक नेतृत्वलाई हेरे । जुन दलको नेता आए पनि उस्तै । अनुहारबाहेक केही फरकपन लिएर मतादातासमक्ष नआउने काठमाडौंका मेयर देखेर उनी दिक्क भइसकेका थिए । धेरै आए, गए । तर, महानगरवासीको समस्या गएन । बरु, थप झाँगियो । तर, कसैले महानगरका जनताका समस्याको गाँठो फुकाउने ह्याउ राखेन । निर्मल काठमाडौंमा विकल्प खोजिरहेका थिए । त्यसैले त अघिल्लो स्थानीय तह निर्वाचनमा उनले वैकल्पिक शक्तिलाई जिताउन रञ्जु दर्शनालाई समर्थन गरे । भलै, उनले जितिनन् ।
निर्मलले पाँच वर्षदेखि काठमाडौंका समस्याको पहिचान र त्यसको समाधानको उपायका लागि अध्ययन गरिरहेको बालेनलाई देखे । काठमाडौंको विकासका लागि हरेक क्षेत्रका विज्ञलाई भेटेर सुझाव लिइरहेको भेटे । त्यसमा पनि बालेन आफैँ स्ट्रक्चरल इन्जिनियर । निर्मललाई लाग्यो– यो मान्छेलाई सहयोग गर्नुपर्छ । त्यसपछि उनले निधो गरे, बालेनलाई तिजाउन लाग्नुपर्छ । पटक–पटक ‘टेस्टेड’ दल र तिनका नेतालाई जिताएर फेरि समस्या जहाँको त्यहीँ रहेको हेर्नुभन्दा स्पष्ट भिजन भएको व्यक्तिलाई एकपटक जिताऊँ ।
करिब आठ महिना अगाडिबाट बालेनको चुनावी रणनीतिमा उनी होमिए । कसरी जिताउने ? र त्यसका लागि अचुक उपाय के–के हुन सक्छन् ? उनीहरूले रणनीतिक योजना बनाए ।
“कहिल्यै पनि राजनीतिप्रति चासो नदेखाउने वर्गमा हामी पुग्यौँ । र, भन्यौँ– तपाईं वडाध्यक्षमा जसलाई भोट हाल्नुस्, तर मेयरमा बालेनलाई हाल्नुस्,” निर्मल चुनावी रणनीति सुनाउँछन्, “हामीले विदेशमा रहेका आफ्ना आफन्तलाई फोन गरेर घरमा रहेका परिवारका सदस्यलाई मेयरमा बालेनलाई मतदान गर्न भन्न लगायौँ । साथीभाइलाई त्यही भन्यौँ ।”
अक्सर कहाँ कसको कति भोट छ भनेर यकिन तथ्यांक लिने चलन नेपालमा छैन । काठमाडौं पनि अछुतो थिएन । “पिपलको रुखदेखि पुलसम्मको ३२ घरको भोट रुखलाई, ढुंगेधारोदेखि स्कुलसम्मको २८ घर एमालेको मतदाता हुन् भनेर हचुवाका भरमा भन्ने चलन छ । तर, हामीले त्यसो गरेनौँ । घरघरमा पुग्यौँ । हरेक वर्ग र क्षेत्रमा पुग्यौँ । आफ्ना भिजन र एजेन्डा सुनायौँ,” उनले भने ।
कहिल्यै भोट नमाग्ने र राजनीतिदेखि टाढै रहेका व्यक्तिलाई समाएर उनीहरूसँग राजनीतिक छलफल र बहस गरे । परिवार र आफन्तलाई बालेनका लागि भोट माग्न लगाए । “म आफैँले आजसम्म कसैसँग भोट मागेको थिइनँ । यसपटक मैले चिनेजानेका, छिमेकी र इष्टमित्रसँग भोट मागेँ,” निर्मल भन्छन्, “मेरो वडाबाट मेयरमा बालेनलाई ५० प्रतिशतभन्दा धेरै मत खस्यो ।”
०७४ को निर्वाचनमा उमेर नपुगेर मतदान गर्न नपाएका जो राजनीतिक रूपमा कोही दलबाट प्रशिक्षित छैनन्, उनीहरूलाई हातमा लिए । “यो उमेरसमूहसँग हामीले अन्तरक्रिया गर्र्यौँ । र, आफ्ना एजेन्डा र भिजन बतायौँ । अनि, एकपटक विश्वास गर्न भन्यौँ,” निर्मल सुनाउँछन्, “यस्ता थुप्रै रणनीतिक योजनामा म पनि सहभागी भएँ । कारण, समस्यैसमस्याको चाङ रहेको काठमाडौंमा कोही त्यस्तो व्यक्ति र आवाज छ, जोसँग भिजन र इच्छाशक्ति छ । इमानदार र जनताको सेवा गर्छु भनेर पाँच वर्षदेखि एक्लै अध्ययन गरेर हिँडिरहेको छ ।”
बालेनले उमेदवारी घोषणा गरेपछि सञ्चारमाध्यममार्फत ‘पब्लिसिटी स्टन्ट’ सुरु गर्ने टोली हो, हास्यटेलिश्रृंखला ‘सक्किगोनी’ । यसका निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाँडे) आफूहरू स्वतस्फूर्त रूपमा बालेनको चुनावी अभियानमा जोडिएको बताउँछन् ।
“उहाँ (बालेन)लाई जतिले सहयोग गर्नुभयो, कसैको आग्रहभन्दा पनि स्वतस्फूर्त रूपमा सहयोग गरेको जस्तो लाग्छ । म आफैँ पनि यो अभियानमा जोडिएको मान्छे हुँ,” अर्जुन भन्छन्, “काठमाडौं महानगरपालिका मात्रै होइन, देशैभर हेर्दा राजनीतिक दलले जनताको सेवा तथा सुख–सुविधाका लागि राहत प्याकेज कसैले ल्याएको देखिएन । त्यसैले राम्रो भिजन र योजना भएको व्यक्तिलाई म र हाम्रो टिमले सहयोग गरेको हो ।”
बेरोजु रकम मात्रै देखाउने र आएको बजेट समेत खर्च गर्न नसक्ने नेताको भीडमा महानगरको विकास गर्छु भनेर तयारीसाथ हिँडिरहेको सिर्जनशील व्यक्ति देखेपछि आफू बालेनको अभियानमा जोडिएको उनी सुनाउँछन् ।
नातावाद, कृपावादले मात्रै अवसर पाउने तर योग्य मान्छेले कहिल्यै ठाउँ नपाउने विद्यमान राजनीतिक संस्कार र चरित्रलाई भत्काउन आफू बालेनको पक्षमा उभिन आइपुगेको उनले स्पष्ट पारे ।
कलाकार भएकै कारणभन्दा पनि काठमाडौंको विकासका लागि उनले अघि सारेका स्पष्ट एजेन्डा र भिजन मन परेको र पाँच वर्षदेखि उनले गरेको तयारी देखेर अपेक्षासहित सहयोग गरेको उनी बताउँछन् ।
“व्यक्ति एउटैले केही गर्न सक्दैन । तर, विकासको प्रभावकारी एजेन्डासहति आउँदा अब उहाँलाई सबैले सहयोग गर्नुपर्छ,” अर्जुन भन्छन्, “निःस्वार्थ भावनाले कार्यकारी पदमा रहेको व्यक्तिले जनताको सेवा र हितमा काम गर्छु भन्दा सहयोग गर्नु सबैको कर्तव्य हो ।”
निर्देशक प्रदीप भट्टराई निर्वाचनमा कसैको पक्षमा बोलेको यो पहिलोपटक हो । अक्सर समान उद्देश्य लिएर आएका दलको पक्ष/विपक्षमा उभिरहनुपर्ने आवश्यकता नदेख्ने प्रदीप योपटक खुलेरै बालेनको पक्षमा उभिए ।
“सायद बालेन पनि कुनै राजनीतिक दलमा आबद्ध भएर चुनाव लडेको भए मलाई पनि उहाँको पक्षमा उभिन कठिन हुन्थ्यो होला,” प्रदीप भन्छन्, “जुन राजनीतिक दल आउँदा पनि काम नगरेपछि उकुसमुकुस भएको थियो । त्यसैले त्यसविरुद्धको यो आवाज हो । युवाको विद्रोहको रूपमा हामीले उहाँलाई सहयोग गर्यौँ भन्ने लाग्छ ।”
कसैको आग्रह नभएर आफूले विद्यमान राजनीतिक दल र उनीहरूको कार्यशैलीप्रति असन्तुष्टिस्वरूप आम नागरिकझैँ बालेनलाई सहयोग गरेको उनी बताउँछन् ।
“सिनेमामा हिरो आएर सबैको समस्या समाधान गरेजस्तो उहाँ आउँदैमा अब सबै समस्याको समाधान हुन्छ भन्ने होइन । तर, गैरजिम्मेवार राजनीतिक दल र उनीहरूका क्रियाकलापप्रति सधैँ मौन बस्न हुँदैन भनेर जनताले विद्रोह गरे । त्यस्तै मैले पनि अनुभूत गरेँ र उहाँलाई सहयोग गरेँ ।”
जनताले आवाज उठाउन थाले भन्ने सन्देश जानुपर्छ भनेर कलाकारहरूले बालेनलाई सहयोग गरेको उनी सुनाउँछन् । “बालेनले जितेपछि सबैथोक हुन्छ भन्ने होइन । तर, केही त हुन्छ,” प्रदीप आशावादी सुनिए ।
निर्देशक तथा कलाकार निश्चल बस्नेत दलीय व्यवस्थामा दलको विकल्प छैन भन्ने सोच रहेका राजनीतिक दलको पनि विकल्प खोज्न सकिन्छ भन्ने सोच र देशको अवस्थाप्रति सधैँ चिन्तित रहने बालेनप्रति विश्वास रहेका कारण आफूले उनलाई सहयोग गरेको बताउँछन् ।
“म उनका गीतहरू सुन्थेँ । उनका गीतमा सधैँ राजनीतिक दल र राज्य संयन्त्रले काम गरेन भन्ने चिन्ता हुन्थ्यो । जब उनलाई मैले भेटेँ, गीत–संगीतभन्दा बाहिर विकास र त्यसप्रति केही गर्नुपर्छ भन्ने सोच रहेको र चाहेको खण्डमा गर्न सकिन्छ भन्ने चिन्ता गरेको मैले पाएँ,” निश्चल भन्छन्, “निर्वाचनको मिति घोषणा नभई जब मेयरमा उनको उमेदवारी घोषण भयो, पहिलो त आफ्नै क्षेत्रबाट काठमाडौं विकास गर्छु भन्दै गरेको मान्छे, दोस्रो– सिस्टमले काम गर्नुपर्छ भन्ने मान्छे भएकाले मैले समर्थन गरेँ ।”
सुरुमा त निश्चलले सामाजिक सञ्जालमार्फत बालेनलाई सहयोग गर्ने बताए । त्यसपछि सहयोग गर्ने/नगर्ने उनका चुनावी एजेन्डामा निर्भर गर्छ भन्ने निष्कर्षमा बसेका थिए । जब बालेनले चुनावी एजेन्डा सार्वजनिक गरे, त्यसमा ठूल्ठूला कुरा केही देखिएन, न्यूनतम आवश्यकताका कुरा मात्रै थिए ।
“सुरुमा सहयोग गरे पनि पछि के गर्ने भन्ने कुरा उनका एजेन्डा हेर्नुपर्छ भनेर म कुरिरहेको थिएँ । जब उनले एजेन्डा ल्याए, त्यसमा राजनीतिक दलका जस्ता ठूल्ठूला कुरा केही थिएन । चाहेको खण्डमा गर्न सकिने कुराहरू मात्रै थिए,” निश्चल अगाडि थप्छन्, “हामीलाई हुनै र गर्नै नसकिने कुरा घोषणापत्रमा चाहिएको छैन । साना–साना कुराहरूको आवश्यकता छ । काठमाडौंको फोहोर नियमित उठिदिए हुन्थ्यो भन्ने छ । धारामा पानी नियमित आए हुन्छ भन्ने छ । गाडी कुदाउँदा खाल्डोमा पर्छ, कम्तीमा त्यस्तो सडक नहोस् भन्ने छ । उनको घोषणापत्रमा नै इमानदारिता छ भन्ने लाग्यो र मतदानको पूर्वसन्ध्यामा पनि मैले सहयोग गरेँ ।”
राज्यको सिस्टमले काम गर्न थाले विकास विस्तारै हुँदै जाने बताउने निश्चल सुरुमा जनताका आधारभूत आवश्यकतामा ध्यान दिए मात्रै पनि पुग्ने धारणा राख्छन् । जनताको दैनिक जनजीवनसँग जोडिएका साना–साना कुरा पहिल्याएको र एजेन्डामै इमानदार देखिएका कारण आफूले बालेनलाई खुलेर सहयोग गरेको उनको भनाइ छ ।
नायिका स्वस्तिमा खड्काले बालेनले चुनाव चिह्न लौरो पाएपछि ‘भोट केमा ? लौरोमा’ भन्दै लौरोसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् । योभन्दा अगाडि नै स्वस्तिमाले बालेनको घोषणापत्रको सारांश भन्दै उनका एजेन्डा नै पोस्ट गरेकी थिइन् ।
“म यसभन्दा अगाडि राजनीतिबारे खासै केही लेख्दिन थिएँ । लेख्नैपर्ने केही गरेजस्तो नलागेर हो । जो–जो लेख्नुहुन्थ्यो, उहाँहरूले पनि नकारात्मक नै लेख्नुहुन्थ्यो । सांसद, मन्त्री, प्रधानमन्त्री जोसुकैको बारेमा पनि प्रायः नकारात्मक कुरा नै आउँथ्यो । त्यसैले नकारात्मक कुरा के लेख्नु भनेर नलेखेको हो,” स्वस्तिमा भन्छिन्, “उहाँ (बालेन)को फ्युचर प्लान नै मलाई मन परेको हो । हामीलाई नेताहरूले सधैँ नेपाललाई अमेरिका, स्वीट्जरल्यान्ड बनाउँछौँ भनेर सपना देखाइरहनुभएको थियो । तर, त्यो एजेन्डा र भाषणमा मात्रै सीमित भयो ।”
अरूले रूमानी सपना देखाइरहेका बेला एक युवक आएर काठमाडौंमा साँच्चै केही गर्न खोजिरहेको देखेपछि आफू उनको पक्षमा उभिएको स्वस्तिमा सुनाउँछिन् । “नेताहरूले फेक सपना बाँडिरहेका बेला कोही एक योङ व्यक्ति आएर साँच्चै इमानदारितापूर्वक काम गर्ने बताएपछि मैले सपोर्ट गरेको हुँ ।” राम्रो काम गर्छु भन्ने व्यक्तिलाई सहयोग गरेको स्पष्ट पार्दै उनले भनिन्, “उहाँका एजेन्डा विश्वासिला लागेर नै अभियन्ताहरूले पनि सहयोग गर्नुभयो होला भन्ने लाग्छ ।”