काठमाडौं । अघिल्लो हप्ता ललितपुरको एकान्तकुनामा नाटक रिहर्सन गर्दै गरेका विमल सुवेदी ‘पल्पसा क्याफे’ नाटकको ‘दृश्य’ चरित्रमा अनुबन्द भएको प्रसंग सुनाउँदै थिए । भन्दै थिए, आफैँ अभिनय गर्छु भनेर मैले यो नाटक सुरु गरेको थिइनँ । १४ वर्ष भइसकेछ अभिनय नगरेको पनि । कास्टिङ डिरेक्टरले तपाईंले नै अभिनय गर्नुपर्छ भनेपछि नाइँ भन्न सकिनँ । यो नै अन्तिम हो कि यसलाई निरन्तरता दिन्छु त्यो पनि थाहा छैन ।
हरेक नाटक अगाडि विमललाई ‘स्ट्रेस’ हुन्छ । छटपटी हुन्छ । के होला र कसो होला भन्ने पिर हुन्छ । उनले भने, “हरेक नाटक अगाडि म पाँचदेखि सात केजी घट्छु नि !”
सायद तनावले जिम्मेवारी बोेध गराइदिन्छ । जिम्मेवारी बोध हुँदा मिहिनेतको ग्राफ उकालो लाग्छ । त्यसले रंगमञ्चमा पात्रहरू जीवन्त देखिन्छन्, दर्शकको दिलचस्पी हुन्छ । तिनै दृश्य हुन्, केही दिनयता मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘पल्पसा क्याफे’का नायक ।
नाटकभरि दृश्यलाई हेरेर दर्शकका आँखा अघाउँदैनन् । उनी नभएका ‘सिन’मा समेत उनको लोभलाग्दो अभिनय दर्शक खोजिरहन्छन् । उनको अभिनय यति अब्बल छ, नाटककी मुख्य पात्र पल्पसा (सृष्टि श्रेष्ठ)समेत छायामा परेकी छन् ।
झुस्स दारी पालेर फ्याङल्याङ्ङ परेको सुरुवाल लगाएको अग्लो कदको दृश्य घरी प्रेमिल गफ गर्छ, घरी राजनीतिका कुरा । डाँडाको घाम भइसकेकी हजुरआमासँग गफ गरून् अथवा बाटामा भेटिएकी सानी फुच्ची (मितिनी)सँग, दृश्य संवाद र अभिनयमा कतै बिझाउँदैनन् । बरु, ओझेल नपरून् भन्ने चाह दर्शकमा जगाइरहन्छन् । लामा–लामा संवाद बोलून् अथवा गीत गाऊन्, दृश्यको गज्जब अभिनय छ ।
अभिनयको निखारता दृश्यमा मात्रै होइन, हजुरआमा (संगीता थापा)मा पनि देखिन्छ । छोटा केही सिनमै उनी दर्शकको मनमा बस्छिन् ।
प्रोडक्सनमा निकैपछि पल्पसाको भूमिकामा भित्रिएकी सृष्टिले चरित्रलाई न्याय गरेकी छन् । भलै, डाइलग डेलिभरी र बडी मुभमेन्टमा उनको सिनेमा हेरेका दर्शकले खासै भिन्नता नदेख्न सक्छन् । तर, निर्देशकले उनीबाट पर्याप्त काम लिएका छन् । निर्देशकले साना–साना कुरामा ध्यान दिँदा सृष्टिको चरित्र पनि दर्शकले रुचाउँछन् । यो नाटकका निर्देशक उनै विमल सुवेदी अर्थात् नाटकमा देखिने दृश्य नै हुन् ।
सिद्धार्थको चरित्रमा देखिएका दीपेश राई तत्कालीन सरकार–माओवादी युद्धको कमान्डरको झल्को दिन्छन् । गाउँमा सपना बाँडेर हिँड्ने माओवादीका स्थानीय कमान्डरको भूमिकालाई उनले न्याय गरेका छन् । तत्कालीन राज्यसत्ताविरुद्ध गाउँगाउँमा माओवादीले सके लोभ्याएर नसके धम्क्याएर कसरी स्कुले बालकालिकालाई युद्धमा लामबद्ध गरेका थिए, युद्ध देखेका दर्शकलाई सिद्धार्थले अतीतमा फर्काइदिन्छन् । नदेखेको नयाँ पुस्तालाई अनुभूत गराइदिन्छन् ।
‘संकटकाल छ, आफ्नो ज्यान आफैँ जोगाउनुस् है’ भन्दै सुरु हुने नाटकले सरकार–माओवादी १० वर्षे युद्धको कथा भन्छ । नाटकले नारायण वाग्लेकृत उपन्यास ‘पल्पसा क्याफे’लाई समराइज मात्रै गर्दैन, त्यसका बाछिटा समेत देखाउँछ । हराएका परिवारका सदस्यलाई कुरी बस्ने हजुरआमामार्फत लास र सास दुवै नदिने राज्यलाई व्यंग्य गर्छ । भव्य अमेरिकामा छिनछिनमा गोरा छालाहरूले गर्ने अपमानको भारी बोक्न फेरि फर्किएर जान्नँ भन्ने पल्पसामार्फत नाटकले सपनाको देशमा गुमाउनुपर्ने पचिहान देखाइदिएको छ ।
गीतले नाटकमा जीवन भरेका छन् । नृत्यले स्वाद थपेका छन् । ध्वनीले नाटकलाई प्रष्ट्याइदिएको छ ।
नाटकको विषय कमेडी होइन, तर युद्ध–राजनीतिभित्र बाँधिएको नाटकले थाहै नपाई धेरै ठाउँमा हसाउँछ । छिनमै हँसाउने नाटकले क्षणभरमै दर्शकलाई ‘स्विच’ गराएर गला अवरुद्ध पारिदिन्छ ।
नाटकमा केही कमजोर पक्ष पनि छन् । युद्ध–राजनीतिमा आधारित नाटकमा युद्धका दृश्यले दर्शकको मथिंगल हल्लाउनुपर्छ । आङ जिरिङ–जिरिङ बनाउन सक्नुपर्छ । नाटकमा यसको अभाव भने देखिन्छ । त्यसो त उनले पुस्तकको समरी यो नाटक होइन भनेर नाटक निर्माणको घोषणामै भनेकाले उनलाई छुट दिने वा नदिने त्यो दर्शककै विवेकमा छ । यति भन्दाभन्दै नाटकको विषयलाई भने नजरअन्दाज गर्न सकिन्न ।