एउटै चलचित्र (चोपेन्द्र) बाट दर्शकको मन जितेका अभिनेता हुन्, मुकुन भुसाल । ‘बुलबुल’बाट नेपाली रजतपटमा डेब्यु गरेका उनका त्यसयता अरू चलचित्र रिलिज भएका छैनन् । भलै, चारवटा चलचित्रमा उनले काम गरिसकेका छन् । यसबाहेक केही चलचित्र साइन गरिसकेका छन् । केही चलचित्रका स्क्रिप्ट पढिरहेका छन् । काम पाइरहेकै छन् । दोस्रो चलचित्र रिलिज नहुँदाको फाइदा पनि हो यो उनका लागि । यद्यपि, दोस्रो चलचित्रको प्रतिक्रिया लिन आफू हतारिएको उनी बताउँछन् । आउँदा चलचित्र, नेपाली चलचित्र बन्ने तौरतरिका, मेकरका सोच र कलाकारको अभिनय, निर्देशकको कुशलता, बक्सअफिस र लक्षित दर्शकलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले अभिनेता भुसालसँग गरेको कुराकानी :
० ० ०
चलचित्र निरन्तर घाटामा गइरहेका छन् । तर पनि चलचित्र बनाउने क्रम घटेको छैन । किन बनाउँदा रहेछन् निर्माताहरूले चलचित्र ?
पहिलो उद्देश्य त व्यापार नै हो । अर्को कुरा, मिडिया कभरेज हो । १५ लाख लगानी गरेको निर्मातालाई मिडियाले करोडौँ रुपैयाँ लगानी गरेको किसानलाई भन्दा धेरै कभरेज दिन्छ । त्यसैले नाम र व्यापार नै मुख्य कारण हो । सयवटा चलचित्र निर्माण हुँदा ९० वटा घाटामा गएका हुन्छन् । नाफा गरेका १० वटाको उदाहरण दिएर लगानीका लागि आग्रह भइरहेको हुन्छ । व्यापारिक सोच भएका मान्छेले नाफा पो हुनेरहेछ भनेर लगानी गरिरहेका छन् ।
कहिल्यै नाम नसुनेका चलचित्र रिलिज भइरहेका हुन्छन् । दर्शकले मन पराउँदैनन् भनेर चलचित्रको पब्लिसिटी नै नहुने हो ?
लगानी गरेपछि अपेक्षा सबैलाई हुन्छ । कतिमा आवश्यकताभन्दा धेरै आत्मविश्वास पनि हुन्छ । चलेका कलाकार छन्, चलिहाल्छ नि भन्ने भ्रम पनि कतिपयमा हुन्छ । फलानो सिनेमा फलानो दिन आउँदै छ भनेर जानकारी दिन सक्नुपर्छ । मेकरले पहिल्यै टार्गेट अडियन्स बनाउन सक्नुपर्छ । कुन समूहलाई चलचित्र देखाउने हो उनीहरूसमक्ष पब्लिसिटी कन्टेन्ट पुर्याउन सक्नुपर्छ । पब्लिसिटीको राम्रो डिजाइन गर्नुपर्छ । यो अभाव अहिले हाम्रोमा छ । हिँड्दाहिँड्दै पर्खालमा पोस्टर देखेर सिनेमा हेर्न कोही पनि जाँदैन ।
गतिलो मार्केटिङ स्टाटेजी छैन ?
छ । तर, के छ के छ भन्नेजस्तो छ । कति सिनेमाले प्रचारमा ठूलै खर्च पनि गरेका छन् । तर, अडियन्ससम्म पुगेको छैन । खर्च हुन्छ, तर कहाँ हुन्छ थाहा छैन ।
‘बुलबुल’पछि दर्शकले तपाईंको सिनेमा हेर्नै पाएनन्, किन ?
चलचित्रमा काम गरेको छु । ‘बुलबुल’पछि मैले ‘झिँगे दाउ’ सिनेमामा अभिनय गरेको छु । भदौमा रिलिज गर्ने कुरा थियो । कोभिड–१९ का कारण यो अहिलेसम्म रिलिज भएको छैन । यसबीचमा मैले सिनेमामा कामचाहिँ गरेको छु । काम गर्ने तर रिलिज नहुने भएको छ । काम गरेका सिनेमा थन्किएर बसेका छन् । अब विस्तारै मेरा चलचित्र पनि मेकरहरूले रिलिज गर्नुहुन्छ होला ।
बुलबुल रिलिज भएको तीन वर्ष भइसकेको छ । दर्शकले बिर्सिए भन्ने डर छैन ?
डर छैन । केही न केही काम गरिरहेको छु । मेरो काम मन पराउने दर्शकले मलाई देखिरहनुभएको छ भन्ने लाग्छ । त्यसैले हरायो भन्ने दर्शकले सोच्नुभएको छैन भन्ने लाग्छ । भदौ ३१ गते ‘झिँगे दाउ’ रिलिज हुँदै छ । अब धेरै टाढा पनि छैन यो समय ।
एउटै चलचित्रबाट नोटिस हुनुभयो । ‘झिँगे दाउ’ले त्यो स्तर कायम राख्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
झिँगे दाउ र बुलबुल जानरा नै फरक हो । झिँगे दाउ कमेडी ड्रामा हो । यो पारिवारिक चलचित्र पनि हो । यस्तो चलचित्रलाई पनि दर्शकले धेरै माया गर्नुभएका थुप्रै उदाहरण छन् । अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको छ । धेरै वर्षपछि अपडेट भएर र सिनेमाको पछिल्लो ट्रेन्डलाई हेरेर आउनुभएकाले दर्शकले यो चलचित्र पनि मन पराउनुहुन्छ भन्नेमा म आशावादी छु ।
‘गणपति’, ‘विच्छेद’ र ‘म राजेश हमाल’मा पनि तपाईंले काम गर्नुभएको छ । नयाँ सिनेमामा काम गर्ने तयारी पनि भइरहेको छ । दर्शकको प्रतिक्रिया लिन ढिलो भएन ?
काम गरिरहेको छु । तर, त्यसको प्रतिक्रिया लिन ढिलो भइरहेको मैले पनि महसुस गरेको कुरा हो । दोस्रो चलचित्रलाई दर्शकले मन पराउनुहुन्छ कि हुँदैन भन्ने चुनौती छ । त्यसपछि मेरो हालत के हो भन्ने थाहा छैन । प्रतिक्रिया लिन ढिलो भएकै हो ।
एउटा कोणबाट त फाइदै होला नि, कम्तीमा दोस्रो चलचित्रको काम मेकरले देख्न नपाउँदा काम त आइरहेको छ !
दोस्रो सिनेमामा मैले राम्रो काम नगरेको भए तेस्रो सिनेमाका लागि गाह्रो हुन्थ्यो । यसअर्थमा फाइदा हो भन्दा पनि हुन्छ । दोस्रो सिनेमा नआउँदा म अहिलेसम्म बुलबुलकै क्रेडिट खाइरहेको छु ।
चारवटा चलचित्रमा काम गरिसक्नुभयो । केही साइन गरिसक्नुभएको छ । केही स्क्रिप्ट हातमा छन् । समग्रमा कस्ता स्क्रिप्ट आउँदा रहेछन् ?
धेरै स्क्रिप्ट आउँछन् । त्यसमा आफैँमा पनि भरपर्छ कस्तो सिनेमामा काम गर्ने भन्नेमा । छानेर काम गरिरहेको छु । छान्ने भनेर भयंकर राम्रोमा मात्रै काम गरिरहेको छु भन्ने पनि होइन । आएका मध्ये राम्रा छान्ने हो ।
जिब्रो नचपाई भन्नुपर्दा आशालाग्दा स्क्रिप्ट आउँदा रहेछन् ?
मैले जति पनि काम गरेको छु, मलाई विश्वास लागेर नै काम गरेको हुँ ।
त्यसो भए कथा राम्रा हुन्छन्, मेकिङमा मात्रै कमजोरी हो भन्ने निष्कर्ष हो ?
कथा आफैँमा राम्रा हुन्छन् । कुरा मात्रै प्रस्तुतिकरण हो । कसले कस्तो प्रस्तुतिकरण गर्छ भन्ने मात्रै हो । मैले अहिलेसम्म जति पनि काम गरेको छु । त्यसमा मैले मेरोतर्फबाट सकेको राम्रो काम गरेको छु । बाँकी त सिनेमा भनेको टिमवर्क हो । हेरौँ, समग्रमा सिनेमा पर्दामा कस्तो देखिन्छ । पूरै टिममा लगाव देखिएकाले चलचित्र राम्रो भएको होला भन्ने लाग्छ ।
चरित्र अभिनेताका रूपमा चलचित्रमा प्रवेश गर्नुभयो । त्यस्तै क्यारेक्टरका कथा बढी आउँछन् कि ‘लार्जर देन लाइफ’का कथा पनि आइपुग्छन् ?
म जे हो र जेमा काम गरिरहेको छु, यसमै खुसी छु । म क्यारेक्टर आर्टिस्ट भएर आएँ । अहिले पनि त्यही गरिरहेको छु । यसको आयु पनि लामो छ भन्ने लाग्छ । लामै यात्रा गरौँ भनेर आएकाले म यसमै सन्तुष्ट छु । अहिले मलाई आइरहेको रोल पनि क्यारेक्टर आर्टिस्टकै हो ।
सिनेमा मेकिङलाई लिएर निर्देशक र प्रोडुसर कत्तिको जिम्मेवार र गम्भीर रहेका पाउनुभयो ?
ठूलो लगानी छ । प्रतिफल सिनेमाबाट नआएको पनि होइन । कति धेरै कमाउने सिनेमा पनि छन् । तर, केही चलचित्र फितलो पनि देखिरहेकै छन् । फितलो मार्केटिङ हुने, टिममै कुरा बाझिने, टिम मेम्बरले नै सहयोग नगर्ने हुन्छ । ठूलो लगानी गरेको निर्मातालाई कलाकारले नै सहयोग नगर्दा त्यसको असर पर्छ । त्यसैले काम सुरु गर्नु अगाडि नै निर्माताले कसरी काम गर्ने भनेर तयारी गरेर आउनुपर्छ । सम्बन्ध बिग्रियो भने सहयोग हुँदैन ।
लगानीकर्ता नै सेटमा बसेर यो र त्यो गरौँ भनेर पनि भनिरहेका हुन्छन् । यसरी हस्तक्षेप गरेर कलात्मक काम हुन्छ भन्ने लाग्दैन । लगानीकर्ताले बजार खोज्नुपर्छ । लक्षित समूह को हो भनेर सुरुमै पहिचान गर्नुपर्छ ।
कतिपय निर्देशक तथा निर्माताहरू आफ्नो सेन्ट्रल क्यारेक्टर के हो भन्नेमै क्लियर हुँदैनन् रे हो ?
मलाई एउटा सिनेमामा कुरा आयो । कथा र क्यारेक्टर के हो भनेर कुरा गर्न गएँ । पाखुरा भएको क्यारेक्टर रहेछ । मैले यो क्यारेक्टरका लागि त मलाई समय चाहिन्छ, जिम जानुपर्छ, बडी बनाउनुपर्छ भनेँ । मलाई मेकरले यत्तिको भए चल्छ भन्नुभयो । म यत्रो भुँडी भएको मान्छेले पाखुरावाला क्यारेक्टर गरेर कहाँ सुहाउँछ ? कुनै–कुनै सिनेमामा अमिल्दो कास्ट देखिन्छ । २२ वर्षको क्यारेक्टर देखाउनुपर्नेमा ४५ वर्षको क्यारेक्टर उठाएर ल्याएर राखिन्छ भने कहाँ राम्रो चलचित्र हुन्छ । यो त तपाईंले भनेजस्तै भइगयो नि ।
बजारले के माग्छ भन्ने पनि हो । मेकरलाई कतिले भन्दिन्छन्, फलानो होइन फलानो क्यारेक्टरचाहिँ राख्नुस्, त्यसो भए चलचित्र चल्छ । नयाँ मान्छेलाई हो त है भन्ने पनि लाग्छ । गलत सुझावले पनि असर गरिरहेको छ ।
यतिका धेरै सिनेमा बन्छन्, अधिकांश त घाटामै जाने हो । बजारको अध्ययन किन हुँदैन ?
अहिले धेरै प्लेटफर्म भएकाले हलबाट लगानी नउठे पनि अरू प्लेटफर्मबाट पनि पैसा आइरहेको हुन्छ । तर, खासमा कलाकार भन्दा पनि निर्देशकले चाहिँ ब्रान्ड बनाउनुपर्ने रहेछ । ‘आरआरआर’को पोस्टरमा कलाकारको फोटो नराखेर एसएस राजामौलीको फोटो राखे पनि चल्छ । त्यसैले कलाकार भन्दा पनि निर्देशकको ब्रान्ड चाहिने रहेछ ।
म भन्दा पनि मलाई निर्देशकले कसरी काम लगाउनुहुन्छ, मेकरले मेरो ब्रान्डिङ कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो । राम्रो निर्देशकको हातमा पर्ने हो भने सबैले राम्रो काम गर्न सक्छन् भन्ने मेरो अनुभव र बुझाइ छ । हुन त सबै मेरो कुरामा सहमत नहुन पनि सक्नुहुन्छ ।
हाम्रा अधिकांश चलचित्र किन फ्लप हुन्छन् ?
दर्शकले नहेरेर ।
दर्शकले किन हेर्दैनन् ?
दर्शकले हेर्नैपर्छ भन्ने के छ र ? दर्शकलाई हेर्न बाध्य बनाउने चलचित्र आउनुपर्छ । कतिपय दर्शक युट्युबमा आएपछि हेर्ने भनेर पनि बस्नुहुन्छ । युट्युबमा ६०/७० लाखले पनि चलचित्र हेर्नुहुन्छ । हलमा गएर नहेर्नु भएको मात्रै हो । हलमा गएर सिनेमा हेर्दा जुन सिनेम्याटिक फिल आउँछ त्यो मोबाइलमा हेर्दा आउँदैन भनेर बुझाउनुपर्छ ।
सिनेम्याटिक फिल दिने सिनेमा बनाउनुपर्छ होला नि त ! तिनै दर्शक होइन र सिनेमा हलमा हिन्दी सिनेमा हेर्न जाने ?
अँ । त्यो त हो । सिनेमा हेरेजस्तो हुनुपर्यो । सिनेम्याटिक फिल दिन सक्ने चलचित्र त बन्नैपर्छ ।
सिनेम्याटिक फिल दिने नेपाली चलचित्र किन बनेन/कम बने ?
ट्रेन्ड हुँदो रहेछ । सिनेमाको इतिहास हेर्ने हो भने कहिले मेलो ड्रामा, कहिले लभस्टोरी, कहिले हरहर, कहिले एक्सन, कहिले थ्रिलर, कहिले बायोपिक हुँदै सोसल ड्रामा, फेमेली ड्रामा चल्दा रहेछन् । एउटा कुनै विधाको सिनेमाले बम्पर व्यापार गर्यो भने त्यस्तै सिनेमा बनाउनेको लहर चल्छ । आफू के गर्दै छु र के गर्न सक्छु भन्दा पनि के र कस्तो चलेको छ भन्नेमा ध्यान जाँदा पनि सायद राम्रा चलचित्र बनेनन् कि ।
राम्रो सिनेमा बनाउने मेकर र राम्रो अभिनय गर्ने कलाकारलाई सिनेमाको विधाले असर गर्छ र ?
हामी मुख्य रूपमा चुकेको नै सबैका लागि सिनेमा बनाउने भनेर हो । भएभरका दर्शक हलमा आइदिऊन् भन्ने सोच राख्छौँ । त्यति ठूलो सोच राख्ने नै होइन । टार्गेट अडियन्स हुनुपर्यो । ड्राइभरको विषयमा सिनेमा बनाउने हो भने उनीहरूको कथाको रिसर्च हुनुपर्छ । उनीहरूका कथाव्यथा के हुन्, देखाउन सक्नुपर्छ । यो विषयमा चलचित्र बनेको छ र यो दिनबाट रिलिज हुँदै छ भनेर प्रचार गर्न सक्नुपर्छ । व्यक्ति फरक भए पनि आफ्नै अनुहार देखिने सिनेमा बनाउनुपर्छ । यो नेपालमा भइरहेको छैन ।
क्यारेक्टरमा अध्ययन गरेर, तयारी गरेर काम गर्ने वातावरण नेपालमा कलाकारका लागि कत्तिको छ ?
अरूको कुरा मैले गरेर हुँदैन । तर, म सुरुमै प्रष्ट भन्छु, कसरी काम गर्ने हो भनेर । मैले आफ्नो विचार लादेर हुँदैन, किनकि सिनेमा भनेको निर्देशकको भिजन हो । निर्देशकको देखाउन खोजेको के हो, मलाई कसरी प्रस्तुत गर्न खोजेको हो, त्यसका लागि म कच्चा भइदिएर जाने हो । म आफैँ जान्ने भएर हुँदैन । मलाई कसरी पाइन लगाउने हो, त्यो उहाँहरूको कुरा हो । जबसम्म उहाँहरू सन्तुष्ट हुनु हुन्न, मलाई काम लगाउनुहुन्छ । मैले गर्नुपर्छ ।
रहर गरेर नबुझी आउने निर्देशक पनि हुँदा रहेछन् ?
रहरैरहरमा आउने पनि हुनुहुन्छ । रहरमा आए पनि सिक्न खोज्ने पनि हुनुहुन्छ । मान्छेका आ–आफना चरित्र छन् । आ–आफना तरिका छन् । हाम्रोमा सिनेमा क्षेत्र सहज पनि छ । बजेट भयो भने सिनेमा बनाउन आइतबार कुर्नु पर्दैन ।
क्यारेक्टरमा काम गर्न समय लाग्छ भन्दा किन भनेर फर्किने मेकर पनि छन् ?
कोही त प्रस्ताव लिएर आएकै दिन १० पछि सुटमा जानुपर्छ भन्ने पनि हुनुहुन्छ । त्यसरी त कुनै पनि हालतमा काम हुन सक्दैन । र, मैले त्यस्ता मेकरसँग काम गरेको पनि छैन ।
नेपाली सिनेमाको अपेक्षित विकास किन हुन सकेन भन्ने तथ्यको जवाफ यो पनि हो त्यसो भए ?
हो । योसँगै अरू कारण पनि होलान् । तर, म नेपाली चलचित्रलाई माया गर्नुस्चाहिँ भन्दिनँ । कला हो, संसारभरका कलालाई माया गर्नुपर्छ । कलाको भूगोल र भाषा हुँदैन । रङ र जात हुँदैन । जुन राम्रो छ, त्यही हेर्ने हो । मैले पनि त्यही गर्ने हो, अरूले पनि त्यही गर्ने हो ।