यही वैशाख ९ गतेबाट मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रूपान्तरणको मञ्चन हुँदै छ । थिएटर भिलेजले नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेलाई नाटकमा रूपान्तरण गर्न लागेको हो । विमल सुवेदीले उक्त नाटक निर्देशन गर्दै छन् । तत्कालीन सरकार–माओवादी द्वन्द्वको समयमा नागरिकले भोगेका समस्या यो उपन्यासको मुख्य कथानक हो । तर, नाटकले द्वन्द्व सकिएको १५ वर्ष बितिसक्दा त्यसबाट किनाराकृत भएका पीडितको कथा भन्नेछ । बन्दुक बिसाए पनि युद्धका बाछिटा अझै समाजमा सर्वत्र रहेको सिमान्तकृतका कथा भन्ने विमल सुवेदी बताउँछन् । उनी एनएसडीमा पढेर नेपाल फर्किई थिएटर भिलेज खोलेर नाटककर्ममा सक्रिय छन् । उनका थुप्रै नाटक विश्वका प्रतिष्ठित नाटक महोत्सवमा मञ्चन भएका छन् । उनै निर्देशक विमलसँग पल्पसा क्याफे नाटकका विषयमा बाह्रखरीका नरेश फुयाँलले गरेको वार्तालाप :
० ० ०
थुप्रै कथा, नाटक, निबन्ध, उपन्यासबीच पल्पसा क्याफे नै किन रोजाइमा पर्यो ?
मैले नेपाली साहित्यमा यसअघि पनि काम गरिसकेको थिएँ । कारण, हाम्रोमा राम्रा नाटक छैनन् । त्यसैले साहित्यलाई नाटकमा रूपान्तरण गर्ने भन्ने हो । ‘मकैको अर्को खेती’, ‘साविति’, ‘सान्दाजुको महाभारत’ लगायत नाटक गरिसकेको थिएँ । योपटक पल्पसा क्याफे मेरो रोजाइमा पर्यो ।
पल्पसा क्याफे नै रोजाइमा पर्नुको कारण ?
अहिले राजनीतिक अवस्थामा यो कथा भन्नुपर्छ भन्ने लागेर नै हो । उपन्यासमा तत्कालीन माओवादी र सरकारबीचको युद्धको कथा छ । जनयुद्ध सकिएको यतिका वर्ष भइसक्दा कति परिवर्तन भयो, कति भएन भन्ने कथा भन्दा राम्रो हुन्छ भन्ने लागेको हो । मलाई यसै पनि सामाजिक–राजनीतिक कथा भन्न मन लाग्छ । यस्तो कथा भन्ने हो भने कुन कथा भन्दा उचित हुन्छ भनेर सल्लाह गर्दा यो पुस्तक आएको हो ।
खास यसको कुन पक्षले तपाईंको मन लोभ्याएको हो ?
पहिलो कुरा त मैले आजसम्म नाटकमा सिभिल वारको कथा भनेको छैन । दोस्रो पक्ष, यो सिभिल वार म आफैँले नजिकबाट देखेको छु, कति कुरा भोगेको छु । तेस्रो पक्ष, राजनीतिक परिवर्तनको १५ वर्षपछि अवस्था कस्तो रह्यो त्यो देखाउन सके राम्रो हुने थियो भन्ने हो ।
‘सिभिल वार’को एउटा पक्ष उपन्यासले समेटेको छ, तत्कालीन समय यसले धेरैको ध्यान खिचेको थियो । त्यसयता धेरै विषय र सन्दर्भ परिवर्तन भइसके, तपाईंको मनचाहिँ परिवर्तन भएनछ नि !
विषय परिवर्तन भयो र पुरानो हुन्छ भन्ने कुरा म कहिल्यै पनि मान्दिनँ । केही वर्ष पहिला थिएटर डिरेक्सन वर्कसप गरेका थियौँ । त्यति बेला हामीले राज्य र तत्कालीन सशस्त्र माओवादीले बेपत्ता पारिएका नागरिकको विषयमा काम गरेका थियौँ । त्यति बेला यसको धेरै तहमा काम गरेका थियौँ । अहिले जनयुद्ध पनि सकियो । माओवादी शान्तिपूर्ण राजनीतिमा पनि आयो । तर, त्यसका धेरै बाछिटाहरू बाँकी नै छन् । त्यसैले हाम्रो नाटकमा एउटा डाइलग छ– बन्दुक बिसाउन त सजिलो छ, सकिएला । तर, युद्ध बिसाउन गाह्रो हुन्छ । बन्दुक बिसाइएको हो, युद्ध बिसाइएको होइन । सायद, युद्ध चलिरहेको होला । कति व्यक्ति रूपान्तरण भए होला, कति परिष्कृत हुँदै निष्क्रिए होलान् । तर, कतिपय मान्छे अझै त्यही अवस्थामा छन् । त्यसैले त्यो सिमान्तकृत समुदायको कथा किन नभन्ने भनेर मैले रिसर्च नै गरेको छु । जब मैले उहाँहरूलाई भेटेँ, मलाई त्यही बेला यो कथा भन्नुपर्छ भन्ने लागेको थियो । बेपत्ता पारिएकाहरूको कोणबाट यो नाटक भनिएको छ ।
पल्पसा क्याफे लेखक नारायण वाग्लेलाई धेरैले यसमाथि फिल्म र नाटक रूपान्तरणका लागि आग्रह गरेका थिए । तर, तपाईंले नै पाउनुको कारण ?
मलाई थाहा छैन । तर, मैले जब उहाँलाई प्रस्ताव गरेँ, उहाँले मलाई केही प्रश्न गर्नुभयो । मैले इमानदारिताका साथ भन्दिएको थिएँ, म किन यही कथामा नाटक बनाउन चाहन्छु । कथा मैले जसरी बुझेको छु, त्यसरी नै नाटक गर्छु । १५ वर्षअघि लेखेको उपन्यासको समराइज गर्ने होइन । त्यो कथालाई अहिलेको समाजसँग जोडेर गर्ने हो भनेको थिएँ । उहाँले जसरी बुझ्नुभएको छ त्यसैगरी गर्नुस् भन्नुभयो । त्यसपछि हामीले यसमा काम सुरु गरेका हौँ ।
तपाईंले यो कथालाई फरक तरिकाले ‘ट्रिट’ गर्नुभएको छ भन्ने सुनिएको छ, उपन्यास पढेर नाटक हेर्न आउने दर्शक सन्तुष्ट होलान् ?
मैले गरेको कामले दर्शक सन्तुष्ट हुनुहुन्छ अथवा हुनु हुन्न त्यो मलाई थाहा छैन । यसमा कहिले पनि कमिटमेन्ट गर्न पनि सक्दिनँ । तर, प्रश्न उठाउन सक्छु भन्नेमा चाहिँ म कमिटमेन्ट गर्न सक्छु । मैले थिएटर गर्ने सन्तुष्टिका लागि होइन, इस्युहरूलाई देखाइदिने मात्रै हो । छुटेका कुरालाई देखाइदिने मात्रै हो । हामीले डिसिजन गरिदिने पनि होइन । किनभने, हामी डिसिजन मेकर पनि होइनौँ । न हामी न्यायालय हौँ न कार्यपालिका वा व्यवस्थापिका हौँ । त्यसैले हामीले भएका कुरालाई जनतामाझ ल्याइदिने मात्रै हो ।
अक्सर नेपाली साहित्यमा बनेका सिनेमा/नाटकलाई झन् धेरै चुनौती हुन्छ भनिन्छ । पहिले त राइटरकै चित्त बुझउनुपर्छ । मनमा कत्तिको त्रास छ ?
पक्कै पनि यो चलेको उपन्यास भएकाले अपेक्षा धेरै छ । नाटक हेर्न आउने धेरैले त यो उपन्यास पढेको पनि हुनुहुन्छ होला । तर, डिरेक्टर हुनुभन्दा पहिला म यो पुस्तकको पाठक हुँ । आमपाठकले यो उपन्यास पढेर आफ्नो दिमागमा जस्तो तस्बिर बनाउनुभयो, सायद मैले पनि त्यस्तै बनाएँ होला । पाठकका हिसाबले मैले कसरी त्यसलाई बुझ्छु र डिरेक्टरका हिसाबले त्यसको क्राप्ट कसरी बन्छ भन्ने हो । कतिपय कुराहरू मेरो बुझाइबाट व्यक्तिगत भएर आउँछन् । नाटकमा सरसरती हेर्दा वार र लभ मात्रै होला । तर, नाटकका रूपमा यसका धेरै तहहरू छन् । कुन–कुन लेयर आउँछ र दर्शकले के–के आउला भनेर कल्पना गर्नुभएको छ, थाहा छैन । उपन्यासको मूल मर्म त पक्कै पनि मर्दैैन । तर, केही फरक प्रस्पेक्टिभबाट आउँछ ।
द्वन्द्वका बाछिटामा नाटककेन्द्रित हुने हो भने यो उपन्यासको सहारा किन लिनुपर्यो ?
हामी यही उपन्यासबाटै त्यहाँ पुग्ने हो । यति सजिलै नाटक लेख्न सकिन्थ्यो भने सायद यो उपन्यासको सहारा लिनु पनि पर्दैन थियो । त्यसैले कुनै न कुनै कृतिलाई आधार बनाएर काम गर्यो भने त्यो साहित्यको रूपान्तरण पनि हुन्छ । र, हामीले भन्न लागेको कथालाई पनि सपोर्ट गर्छ भन्ने मेरो बुझाइ हो ।
नकारात्मक प्रतिक्रिया वा सुझावले कत्तिको विचलित बनाउँछ ? यसमा आउने कमेन्ट सामना गर्न मन त दह्रो बनाउनुभएकै होला ?
म जुन काम गरिरहेको छु, त्यसमा सकेसम्म राम्रो गर्छु । कुनै पनि कसर बाँकी राख्दिनँ । कसैले यसमा यस्तो भएको भए हुन्थ्यो भन्छ भने त्यो उसको धारणा हो । मैले गरेको कामले अरूलाई नबिझाओस् भन्नेमा म सधैँ सचेत हुन्छु । मैले जे भन्न खोजेको हो, त्यही भन्छु । रचनात्मक आलोचनालाई ग्रहण गर्छु । थाहा भएरै मैले गरेको काममा अरूलाई चित्त बुझ्दैन भने मैले स्वीकार गर्नुको विकल्प हुँदैन ।
नाटकमा आबद्ध मुख्य पात्र स्वस्तिमा खड्काले नाटक छोड्नुभयो । ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तै भयो । छोड्नुको कारण ?
यो नाटकसँग त धेरैजना जोडिनुभएको छ । यो नाटक गर्नुपर्छ भन्ने नै गोकर्ण गौतम हो । जो आज हामीसँग यो संसारमा हुनु हुन्न । यो नाटक गर्नुपर्छ भनेर हामी अगाडि बढेपछि यससँग धेरै तीता–मीठा अनुभव जोडिएका छन् । दुई वर्ष भयो हामीले सुरु गरेको । रिहर्सल नै चारपटक गरिसक्यौँ । भनेको समयमा आउन नसक्दा हाम्रै थिएटर भिलेजकै कलाकार आफ्नो समय अभावका कारण काम गर्न नपाउने भएका छन् । देखिरहेको फेस नहुँदा छोड्यो भन्ने मात्रै हो । यो सामान्य हो । कुरा रह्यो स्वस्तिमाको, उहाँले यो समयमा म नभ्याउने भएँ भन्नुभयो । हामीले पटक–पटक विभिन्न कारणले सर्नुपरेकाले अब अझै यसभन्दा पछि जान सक्ने अवस्था थिएन ।
उहाँले रेस्पोन्स नै गर्नु भएनछ । तपाईंको काम गराइको तौरतरिका चित्त नबुझेर हो कि अरू नै केही कारण रहेछ ?
यो त उहाँलाई नै सोध्नुपर्छ । दुई वर्ष अगाडिको योजना हो । काम गर्ने तौरतरिका चित्त नबुझेको भए पहिला नै भन्नुहुन्थ्यो होला । त्यसैले काम गर्ने कुरामा चित्त नबुझको भन्ने त मलाई लाग्दैन । यद्यपि, हुन पनि सक्छ । यो उहाँको कुरा भयो । तर, समय नमिलेरै होला भन्ने लाग्छ ।
स्वस्तिमाको ठाउँमा सृष्टि श्रेष्ठ आबद्ध हुनुभयो । सुरुमा विपीन कार्की हुनुहुन्थ्यो । स्टारकास्टमा किन यति धेरै मोह ?
विपीन कार्की थिएटरबाट आउनुभएकाले हामीसँग काम गर्ने कुरा भएको थियो । बाहिरबाट स्टारकास्टजस्तो देखिए पनि हामी कतिपय काम सम्बन्धका आधारमा पनि गरिरहेका हुन्छौँ । साथी बनाउँदा तँ पत्रकार, तँ कलाकार, तँ वकिल भनेर बनाइँदैन । इन्टरनल सम्बन्ध हुन्छ । बुझाइ मिलेपछि त्यसले सँगै काम गर्ने वातावरण बनिरहेको हुन्छ ।
को स्टार को ननस्टार भन्ने त दर्शकले हेर्ने दृष्टिकोण हो । कसको काम दर्शकले मन पराउनुहुन्छ थाहा हुँदैन । यति सानो क्षेत्र छ, को कुन कित्ताको भन्दा पनि मिलेर काम गर्ने हो । भिन्न–भिन्न क्षेत्रबाट आउँदा झनै राम्रो । सृष्टि नाटकमा आउँदा उसका अडियन्स नाटकमा आए भने त्यसले थिएटरलाई सहयोग नै हुन्छ । उनले थिएटरबाट केही सिक्लिन्, उनले हामीलाई सिनेमाको केही कुरा सिकाए दुवै पक्षलाई फाइदा नै हो ।
पहिलो रोजाइको पात्र निस्किएर अर्को आउँदा नाटकमा त्यसको प्रभाव देखिँदैन ?
अन्तिम समयमा आएर छोड्यो भने त पक्कै असर पर्छ । तर, नाटक प्रोसेसमा गइसकेकाले रोकिएको हुँदैन । एउटा क्यारेक्टर नहुँदैमा नाटक पूरै रोकिने भन्ने त हुँदैन । सृष्टि हामीसँग जोडिँदा नाटकका लागि एक महिना समय थियो । पूरै नाटक त एक महिनामा तयार हुन्छ, हाम्रो त एउटा पात्र मात्रै परिवर्तन भएको हो । समय अभावको समस्या हामीले झेल्नु परेन । नाटकको स्ट्रक्चर पहिला नै बनिकेकाले खासै समस्या नहोला भन्ने विश्वास छ ।
आफ्नो पुस्तकमा मञ्चन हुन लागेको नाटकलाई लिएर नारायण वाग्लेले बेलाबेलामा सुझाव त दिइरहनुभएकै होला ?
उहाँले मलाई कुनै हस्तक्षेप गर्नुभएको छैन । जसरी बुझ्नुहुन्छ त्यसैगरी गर्नुस् भनेर उहाँले सुरुमै भन्नुभएको थियो । मैले मेरो विचार लाद्न थालेँ भने झनै एब्स्ट्रयाक हुन्छ भनेर उहाँले भन्नुभएको थियो । उहाँले यति भनिसकेपछि मैले राइटरको बोझ लिनु पर्दैन । उहाँको बुझाइ र मेरो बुझाइ फरक छ । उहाँ साहित्यको विज्ञ हो । म थिएटरको विद्यार्थी हुँ । मसँग भएको कुरा उहाँमा छैन । उहाँसँग भएको विज्ञता मसँग छैन । त्यसैले उहाँले यसो गरिदिएहुन्थ्यो भन्नु पनि उचित होइन । यदि, मैले नाटक राम्रो बनाउन सकिनँ भने पनि पल्पसा क्याफे नराम्रो कसैले भन्दैन । किनभने, यो राम्रो पुस्तक हो भन्ने सबैलाई थाहा छ । त्यसैले यसले उहाँलाई खासै केही असर गर्दैन भन्ने मेरो बुझाइ छ ।
अक्सर नेपाली नाटक निर्देशकको गुनासो एउटै हुन्छ, राम्रा नाटक नै लेखिएनन् । यो धेरैले मन पराएको विषय र प्रस्तुति । नाटक पनि उत्तिकै मन पराइएन भने रंगकर्मीहरूको कुशलतामा प्रश्न उठ्ने हो कि ?
हुनसक्छ । यसको जिम्मा दर्शकलाई नै दिनुपर्छ । जब हामीले दर्शकलाई नाटक देखाउँछौँ, त्यसपछि मूल्यांकन गर्ने उहाँहरूले नै हो । अपेक्षा पूरा हुन्छ कि हुँदैन, त्यो त हामीलाई थाहा हुँदैन । हामीले हाम्रो बुझाइअनुसार कथा भन्नेछौँ । त्यसलाई कसरी लिनुहुन्छ, त्यो उहाँहरूकै हातमा छ ।
तपाईं ‘रियालिजम’भन्दा ‘सर–रियालिजम’मा रमाउने कलाकार । तपाईंको यो विशेषता दर्शकले यो नाटकमा कसरी देख्न पाउलान् ?
‘इजम’हरूमा म खासै जाँदिनँ । रियालिजमपछि आएका हुन् सबै ‘इजम’ । अब ‘इजम’हरू धेरै पुराना भइसके । रियालिजमको बुझाइका विषयमा कुरा गर्दा ‘क्लिसे’ र ‘स्टेरियोटाइप’लाई रियालिजम भनेर बुझेको पाइयो । एउटै कुुरालाई व्यक्तिअनुसार फरक–फरक तरिकाले हेर्न सकिन्छ । मलाई थाहा छैन, तर मेरोमा ‘इजम’हरू मिक्स हुन्छ होला । मैले वर्ल्डलाई मेरो प्रस्पेक्टिभबाट हेर्छु, मेरो रियालिजम त्यही नै हो ।
न्युयोर्कमा भर्खरै अपेरा हेरेर फर्किनुभएको छ । त्यसको प्रभाव पल्पसा क्याफेमा कसरी देख्न पाइएला ?
अपेरा, युरोपियन थिएटर त मैले पहिला पनि धेरै नै हेरेको छु । पढेको, हेरेको र उनीहरूसँग सहकार्य गरेर काम पनि गरेको छु । विश्वको कमजोरदेखि अपडेटेड आधुनिक थिएटरसम्म हेर्ने मौका पाएको छु । त्यसबारे केही बुझ्ने मौका पाएको छु । हामीले त्यो सोच्न सक्दैनौँ । हाम्रो धेरै कुराले त्यो गर्न दिँदैन । उनीहरूको स्रोतसाधन, बजेट, स्ट्रक्चर नै धेरै माथि छ । हामीले हाम्रा चलचित्र हलिउड सिनेमासँग तुलना गरेजस्तै हुन्छ । तर पनि क्राफ्ट, एस्थेटिक कुराहरू हामीसँग उपलब्ध स्रोतसाधनमा बसेर गर्न सकिन्छ, त्योचाहिँ सिकाइ हुन्छ ।
पछिल्लो समय नाटक सिक्ने सुविधा छ, पढ्ने सुविधा पनि छ । तर, नाटकको स्तर भने झन्–झन् खस्किरहेको छ भनिन्छ नि !
धेरै भइसकेपछि राम्रो/नराम्रो दुइटै हुन्छ । तर, नाटक जति माथि जानुपर्ने हो, त्यति माथि नगएको हो कि भन्नेचाहिँ मैले पनि महसुस गरिरहेको छु । हाम्रो ग्रोथ स्लो भइरहेको छ ।
यसको कारण ?
गुणस्तरीय काम कम भइरहेको छ । नेपालमा फिल्म लिट्रेसी निकै धेरै बढ्यो । ओटीटी प्लेटफर्मले वर्ल्ड सिनेमा हेर्न सहज भएकाले फिल्म लिट्रेसी बढाउन सहयोग गर्यो । तर, थिएटर हेर्ने हामीसँग अप्सन छैन । त्यसैले हामीलाई के लाग्छ भने, हामीले जे गरिरहेका छौँ त्यही नै ठिक हो । र, त्यही नै अन्तिम सत्य हो । दुनियाँमा के–के चिज भइसक्यो र के–के भइरहेको छ भन्नेमा हामी सचेत छैनौँ । थिएटरका कलाकार र अडियन्स जति ग्रो हुनुपर्ने हो, त्यति भइसकेका छैनन् ।
अर्को कुरा, म कति भोको छु भन्ने हो । मलाई अपडेट हुन मन छ र त्यो हुटहुटी छ भने म आफूलाई जसरी पनि ग्रो गर्छु ।
तपार्ईं निर्देशक आफैँ पनि अभिनय गर्दै हुनुहुन्छ नि ?
म अभिनय गर्छु भन्ने थिएन । करिब १४ वर्ष भएछ मैले निर्देशनमा मात्रै काम गरेको । कास्टिङ डिरेक्टरले तपाईंले पनि अभिनय गर्नुपर्छ भनेपछि गरेको हुँ । यो नै अन्तिम हो कि यसलाई निरन्तरता दिन्छु त्यो पनि थाहा छैन ।