site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली रंगमञ्चका लागि वर्ष २०७८ कस्तो रह्यो ?

काठमाडौं । पछिल्लो साढे दुई वर्षदेखि पूरा विश्वलाई कोरोना महामारीले गाँजिरहेको छ । महामारीले जनजीविकासहित विश्व अर्थतन्त्रको तालमेल नमज्जाले हल्लायो । जसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा ०७६ चैतमा पहिलोपटक समुदाय स्तरमा कोरोना फैलिएपछि सबै क्षेत्र ठप्प बने । अरू भन्दा मनोरञ्जन क्षेत्र विशेष मारमा पर्‍यो । 

वर्ष २०७७ को सुरुवातसँगै महामारीको पहिलो वेभ केही मत्थर भयो । सरकारले केही क्षेत्रमा लुजडाउनको फर्मुला अपनाएपनि मनोरञ्जन क्षेत्रलाई भने रातो घेराभित्र नै राख्यो । फेरि ०७७ साल सकिन नपाउँदै दोस्रो लहरको आतंक आयो र पुनः देश लकडाउनमा गयो । 

वर्ष २०७८ को सुरुका महिनाहरू पनि तेस्रो लहरको चपेटामा परे । तर असोजमा तेस्रो भेरियन्टको आतंक मत्थर भयो र रंगमञ्चबाहेक प्राय सबै क्षेत्रले गती लिन थाले ।

नेपाली रंगमञ्च सरकारको 'ग्रिन सिग्नल'को पर्खाइमा थियो । 

सरकारले रंगमञ्चलाई केन्द्रित गरेर कुनै निर्णय नगरे पनि कोरोना महामारीको प्रभाव कम हुन थालेसँगै नेपाली नाटकघरहरू बिस्तारै सञ्चालनमा आए । त्यतिबेलासम्म निजी रूपमा सञ्चालन भइरहेका नाटकघरहरू बन्द भएको एक वर्ष भइसकेको थियो । त्यस्तो कठिन समयमा नेपाली रंगकर्मीहरूले प्रविधिको सदुपयोग गरे र चुनौतीलाई अवसरको रूपमा लिएर भर्चुअल रंगमञ्च सुरु गरे ।

वर्ष २०७८ को पहिलो र दोस्रो महिना भर्चुअल नाटक चले । पछि वर्ष २०७८ को मध्यतिर आउँदा मात्रै नेपाली नाटकघरहरू भौतिक रूपमै सञ्चालनमा आएका हुन् । 

वैशाखमा मण्डला नाटकघरमा दयाहाङ राईको ‘मितज्यू’ युट्युबबाट प्रत्यक्ष प्रसारण गरियो । त्यस्तै जेठ महिनामा केही फरक शैली अपनाउँदै शिल्पी थिएटरले रंगकर्मीहरू आ–आफ्नै घरमा बसेर र दर्शकहरू पनि आ–आफ्नै घरमा बसेर लाइभ नाटक मञ्चन गरियो । 

कोरोना महामारीले विश्व रंगमञ्चलाई एउटा राम्रो अवसर दियो । रंगकर्मीहरले नाटकहरू अनलाइन प्लेटर्फमबाट पनि ल्याउन थाले । 

तेस्रो महामारीको लहर मत्थर भएसँगै कात्तिक महिनादेखि नेपाली रंगमञ्च पहिले जस्तै चलयमान हुन थाल्यो । करिब एक वर्ष दर्शकका लागि बन्द भएको ढोका खोल्दै कौशी थिएटरको कथा घेरा भदौदेखि नियमित मञ्चनमा आयो । 

कथा घेराले कमब्याक स्वरूप आकांक्षा कार्कीको निर्देशन र नेपाली रूपान्तरणमा ‘हरेक बबाल कुरा’ मञ्चन सुरु गर्‍यो । सुदाम सीकेको एकल प्रस्तुति रहेको नाटकले उपस्थित दर्शकलाई यति भावुक बनायो । जसलाई हेरेर दर्शकका आँखा रसाए । 

कात्तिकमै मण्डला नाटकघरले अनामनगरस्थित आफ्नो पूरानो भवनलाई बिदाइस्वरूप अन्तिम नाटक ‘जिजीविषा’ मञ्चन गर्‍यो । सोमनाथ खनालको लेखन तथा राजन खतिवडाको निर्देशन रहेको नाटकले दर्शकको वाहवाही पायो ।

मण्डलाकै ड्रामा स्कुलका पहिलो ब्याचका विद्यार्थीहरूको अभिनय रहेको उक्त नाटकले अभिनय, लाइट, पहिरन पार्श्व संगीतलगायत सबै पक्षमा उत्कृष्ट भएको प्रतिक्रिया मात्रै पाएन, सबै सोहरू हाउसफुल भए ।

मण्डलामा दर्शकको बाक्लै उपस्थित देखिएकोमा सोही महिनामा कौशी थिएटरको कथा घेरामा पनि दर्शकको उत्तिकै घुँइचो देखियो । कौशीमा दोस्रो नाटकको रूपमा ‘पचली भैरव’ मञ्चन भयो । यसमा पनि दर्शकको राम्रौ उपस्थिति देखियो । हरेक सो हाउसफुल भए ।

नियमित मञ्चनस्वरूप मंसिरमा अर्को नाटक ‘एनिमल फार्म’को मञ्चन सुरु भयो । यो नाटकलाई पनि समिक्षक र दर्शकहरूले उत्तिकै रुचाए । त्योसँगै वर्षको अन्तिम नाटक ‘ढल्केको सालैजो’ले पनि दर्शक र समिक्षबाट सकारात्मक नै प्रतिक्रिया पायो । 

कौशी थिएटरकी निर्देशक आकांक्षा कार्की कोरोना महामारीका कारण विकल्पको रूपमा सञ्चालन गरिएको भर्चुअल रंगमञ्चले केही सहयोग गरेको बताउँछिन् । 

“यो वर्ष राम्रै भयो । हाम्रोमा दर्शकको फ्लो राम्रो रहयो नयाँ–नयाँ दर्शकहरू पनि मैले देखेँ । यो कहीँकतै कोरोनाको समयमा भएको भर्चुअल प्रस्तुतिले पनि मद्दत मिलेको हो । कहिले नाटक नहेरेको दर्शकलाई एकखालको क्युरियोसिटी जाग्यो र उहाँहरू अहिले नाटकघर आइराख्नुभएको छ,” कार्कीले भनिन् ।

वर्ष २०७८ नेपाली रंगमञ्चमा सम्झिन लायक अर्को कुरा भनेको निजी क्षेत्रबाट सुरु भएको नेपालको पहिलो रंगमञ्च ‘गुरुकुल’ फेरि ब्युतिनु पनि हो । करिब एक दशकपछि गत पुस १ गतेदेखि एकवर्षको सम्झौतामा कुञ्ज नाटकघरबाट ‘गुरुकुल’ पुनः ब्युँतिएको छ । 

पुरानै नाटक ‘पुतलीको घर’ मञ्चन गर्दै गुरुकुल सुरु भएको हो । गुरुकुल पुनः फर्किएकोमा नेपाली रंगमञ्चमका दर्शकहरू निकै उत्साहित थिए । पूरानो गुरुकुलमा हेर्न नपाएको नाटक पुन: सोही रंगकर्मीहरूको टिममा हेर्न पाउने भएकाले सबैजना उत्साहित हुँदै गुरुकुल पुगे ।

तर कतिले पुनः पूरानै नाटकहरू मञ्चन गर्ने गुरुकुलको निर्णयप्रति भने असन्तुष्टि जनाए । 

पहिलो नाटक पछि दोस्रो नाटकमा पनि गुरुकुलमा पुरानै नाटक ‘तारा बाजी लै लै...’ मञ्चन सुरु भयो । हुन त गुरुकुलले सुरुवातमै भनेको थियो, केही नाटक पुरानो र केही नयाँ दुवै मञ्चन गरिने छ ।

वर्षको अन्तिम नाटकको रूपमा गुरुकुलमा नाटक ‘भवचक्र’ मञ्चन भएको छ । 

मण्डला नाटकघरले भने फागुनमा नयाँ आफ्नै भवनको उद्घाटन गर्दै राजन खतिवडाको निर्देशन र सम्योग गुरागाँइको लेखन रहेको ‘रोगन’ नाटक मञ्चन गर्‍यो । तर सुरुवाती नाटकको रूपमा उक्त नाटकलाई दर्शकले त्यतिर रुचाएनन् । केही फरक र प्रयोगात्मक शैलीको उक्त नाटकमा रंगकर्मीहरूको केही रिपिटेड संवाद र प्रस्तुतिले दर्शकलाई तानिराख्न सकेन ।

तर त्यसपछि मञ्चन भएको नाटक ‘मीतज्यू’ले भने दर्शक र समिक्षक दुवैबाट राम्रो प्रतिक्रिया पायो । यो नाटकमा सोमनाथ खनालको लेखन अनि दयाहाङ राईको निर्देशन रहेको छ । 

वर्षको अन्तिम नाटकको रूपमा मञ्चन भइरहेको नाटक ‘तीन ट्रान्जिट’ले भने फेरि राम्रै प्रतिक्रिया र दर्शक पाइरहेको छ । सोमनाथ खनालको निर्देशन रहेको नाटकमा मण्डलाकै थिएटर ल्याबको नवौँ ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति रहेको छ । 

कीर्तिपुरस्थित ‘थिएटर मल’मा पनि लामो समयपछि दर्शकका लागि ‘शिरिषको फूल’ नाटक मञ्चन गर्दै खुलेको हो । डेर आए दुरुस्त आए भनेजस्तै पारिजातको लोकप्रिय उपन्यामा आधारित यस नाटकले दर्शक र समिक्षकको ताली नै पायो ।

केदार श्रेष्ठको परिकल्पना तथा अन्जान प्रदीपको निर्देशन रहेको यो नाटक यतिबेला देश यात्राको क्रममा पोखरामा छ । 

समग्रमा महामारीपछि नेपाली रंगमञ्चहरूको कमब्याक राम्रै देखिएको छ । यदि कथा र प्रस्तुति राम्रो हुने हो भने नेपाली रंगकर्मीहरूले दर्शकको प्रतिक्षा गरिराख्न पर्ने अवस्था आउँदैन भन्ने यही वर्षका केही नाटकहरूले प्रमाणित गरिसकेका छन् । 

रंगकर्मी राजन खतिवडाकाअनुसार नेपाली रंगमञ्चहरूले राज्यलाई १० देखि १५ प्रतिशत कर तिरेको रेकर्ड छ । काठमाडौं लगायत मोफसल गरी नेपालभर करिब ६० वटा नाटकघरहरू छन् । ती सबै निजी क्षैत्रबाट सञ्चालित  छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro