काठमाडौं । बुधबार गुरुकुलको कुञ्जमा रंगमञ्चका थुप्रै विद्यार्थी कापीकलम लिएर बसेका थिए । त्यसमध्ये एक विद्यार्थी मलिन भावमा भन्दै थिए, “तिमी त मेरो छोराजस्तै रहेछौँ, ऊ पनि लेख्छु भन्थ्यो । खै, के लेखेछ ! उसलाई मृत्युको मुखसम्म पुर्यायो...।”
पहिलोपटक, दोस्रोपटक, तेस्रो, बल्ल चौँथोपटकमा उनको त्यो संवादले ‘गुडगुड’को ताली पायो ।
त्यसपछि भारतका रंगकर्मी अमित बेनर्जीले बाँकी विद्यार्थीलाई प्रश्न गरे ‘तपाईंहरूले पहिलो र अन्तिम संवादमा केही फरक पाउनुभयो ?' उपस्थित सबैले जवाफ फर्काए, ‘धेरै फरक पायौँ ।’
हुन त ती विद्यार्थीले पहिलोपटक गल्ती बोलेका थिएनन् । तर, उनको प्रस्तुतिमा जुन गति हुनुपर्ने थियो, पहिलो, दोस्रो र तेस्रो प्रस्तुतिमा थिएन । उनका अघिल्ला प्रस्तुतिले अभिनय गरिरहेको र अन्तिम प्रस्तुतिले आफ्नै कथा बोलेजस्तो भान गराउँथ्यो ।
यो पृष्ठभूमि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा सञ्चालित ‘अन्तर्राष्ट्रिय ट्रेनिङ अफ भ्वाइस एन्ड स्पिच’ कक्षाको हो । जहाँ ४१ जना विद्यार्थी ‘भ्वाइस एन्ड स्पिच’ प्रशिक्षण लिइरहेका थिए । ‘भ्वाइस एन्ड स्पिच’लाई नेपाली रंगमञ्चको मुटुको रूपमा लिइन्छ ।
पात्रको भाव शब्दमार्फत दर्शकसम्म पुर्याउनेमात्रै नभएर इन्टेन्सिटका साथ प्रष्टसँग पुर्याउन सक्नुपर्ने रंगकर्मी निशा शर्मा बताउँछिन् । रंगकर्मी रंगमञ्चको अभिनयमा आवाज र बोलीको महत्त्वबारे बताउँदै उनी भन्छिन्, “आवाज प्रष्ट हुनुपर्छ । प्रस्तुतिका लागि मात्रै रियल देखिँदैन ।”
शर्माकाअनुसार रंगकर्मीको आवाजमा संगीतमा जस्तै रिदम हुन जरुरी छ । रंगमञ्च कलाको त्यो माध्यम हो । जहाँ कुनै माध्यमको प्रयोगबिना आवाज हाउभाउले मात्रै दर्शकलाई विभिन्न भावको सफर गराइन्छ ।
जहाँ क्यामेरा, माइकजस्ता कुनै प्राविधिक सामग्री र सम्पादन हुँदैन । रंगमञ्चको यही विशेषताका कारण दर्शक पर्दाको चलचित्रभन्दा रंगमञ्चको प्रत्यक्ष प्रस्तुतिमा आनन्द महसुस गर्छन् । तर, रंगमञ्चको यो विशेषता कायम राख्न रंगकर्मीले भ्वाइस, स्पिचको सिद्धान्त बुझ्न जरुरी हुने रंगकर्मीहरू बताउँछन् ।
यसैका लागि गुरुकुलमा भारतका रंगकर्मी बेनर्जीबाट एकहप्ते प्रशिक्षण सञ्चालन भइरहेको छ । उनी कलाकारले मञ्चमा गएर झुटलाई सत्यपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्ने बताउँछन् ।
“एक कलाकार मञ्चमा जान्छ र, झुट बोल्छ । दर्शकलाई पनि थाहा हुन्छ कि कलाकारले झुट बोल्दै छ । तर, दर्शक कलाकारको त्यो झुटमा रुन्छन् र हाँस्छन् । त्यसैले त्यो झुट कसरी सत्यपूर्ण तरिकाले भन्ने र त्यो भावना सिर्जना गर्ने भन्ने कुरा भ्वाइस, एन्ड स्पिचले सिकाउँछ,” उनले भने ।
भ्वाइस र स्पिचबारे मात्रै नभएर भ्वाइसलाई स्पिचमा र त्यो स्पिचलाई कसरी प्रस्तुतिकरणमा बद्ल्ने भन्ने पाटोलाई यो हप्तादिने कक्षामा उनले सिकाउने प्रयास गरेका छन् ।
चलचित्रलाई क्यामेराको पर्दामा जुम गर्न मिल्छ । दृश्यले धेरै भाषा बोल्नसक्ने भएकाले इशाराले पनि काम गर्छ । तर, थिएटर भनेको नेचुरल रंगकर्मीले बोलेको भाव र दृश्य प्रष्टसँग देखेमात्रै रंगकर्मी र समग्र नाटकको उपलब्धि मान्न सकिने उनको बुझाइ छ ।
“तर, यसो भन्दैमा चिच्याएर बोल्न मिल्दैन,” उनी भन्छन् ।
त्यसैगरी, रगंकर्मी शर्मा नचिच्याएर ठूलो प्रष्ट अवाज भावसहित बोल्न सक्नुपर्नेमा जोड दिन्छिन् । “यसका लागि स्वास खुलाउन जरुरी छ । घाँटीबाट बोल्दा स्वास चाँडै सुक्छ त्यसैले पेटबाट बोल्नुपर्छ,” उनी थप्छिन्, “सबैले सुन्नेगरी बोल्नुपर्छ भनेर चिच्याएर बोल्न मिल्दैन । आवाजलाई ठूलो र भरपर्दो बनाउनुपर्छ ।”
साामान्य बुझ्ने भाषामा भन्ने हो भने कसरी हाँस्ने, रुने र बोल्ने भन्ने कुराको शिक्षा ‘भ्वाइस एन्ड स्पिच’ हो । यो सिकाइविना कलाकारको हाँसो र रुवाइ बनावटी लाग्न सक्छ ।
भारतमा रंगमञ्चलगायत कलाको बजार फराकिलो भएको चर्चा नेपालमा हुने गर्छ । तर, उनकाअनुसार समग्र भारतमा त्यो अवस्था छैन । भारतका ग्रामीण भेग, उत्तराखण्ड, मणिपाल, हिमाञ्चल, अरूणाञ्चललगायत क्षेत्रमा रंगमञ्चको विकास अझै नभएको उनी बताउँछन् ।
रंगमञ्चलाई पहिलो प्रेमको रूपमा लिने उनी आफू नेपाली रंगमञ्चका विद्यार्थीको लगनशीलबाट प्रभावित भएको बताउँछन् । नेपालका दिग्गज रंगकर्मी सुनील पोखरेलसँग भारतको ‘नेसनल स्कुल अफ ड्रामा’ मा रंगमञ्च अध्ययन गरेका उनी चार दशकयता रंगमञ्चमा सक्रिय छन् । उनलाई चलचित्रका पर्दा र उनको आफ्नै टेलिभिजनको पर्दामा देख्न सकिन्छ ।