site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
क्रिप्टोमा कसरी जोडिइन् प्रियंका ? भन्छिन्– विकसित देशमा भए चरित्रहत्या गरेको भन्दै उजुरी गर्ने थिएँ 

काठमाडौं । आइतबार अभिनेत्री प्रियंका कार्कीको विषयले मिडियादेखि सामाजिक सञ्जालमा विशेष चर्चा पायो । नेपाल राष्ट्र बैंकले अवैध भनेको क्रिप्टोकरेन्सीमा अभिनेत्री प्रियंकाको लगानी रहेको भन्दै समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि यो विषयमा बहस भएको थियो । उनको नाम जोडिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालयमा अभिनेत्री प्रियंकालाई सोधपुछका लागि बोलाइयो । 

क्रिप्टोकरेन्सीमा प्रियंकाको नाम जोडिएसँगै यो अवैध कारोबारमा प्रियंका पनि संलग्न हो कि भन्ने आशंका धेरैले गरे । प्रायः ट्रोलको शिकार भैराख्ने कार्कीलाई सामाजिक सञ्जालमा गाली गर्नेहरु ह्वातै बढे । 

कसरी जोडियो त एकाएक यसमा उनको नाम ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वास्तवमा इन्भिजिबल फ्रेन्ड्स नामक फेसबुक पेजमा अभिनेत्री प्रियंकाको एउटा फोटो राखेर उनले पनि क्रिप्टो प्रयोग गर्ने संकेतमा क्याप्सनसहितको क्रिप्टोको डिजिटल प्रचार राखिएको थियो ।  

यसकै आधारमा अभिनेत्री कार्कीलाई सीआईबीले अनुसन्धानका लागि आइतबार कार्यालय बोलाएको थियो । यद्यपि अभिनेत्री कार्कीले यो अवैध कारोबारमा आफ्नो कुनै संल्ग्नता नभएको दाबी गरेकी छिन् । 

अझ अभिनेत्री कार्कीले त बिनाअनुमति आफ्नो फोटोको दुरुपयोग भएको भन्दै आवश्यक कारबाहीको माग गर्दै लिखित स्टेटमेन्ट पनि दिएकी छिन् । 

सीआईबीको प्रारम्भिक अनुसन्धानबाट उक्त एनएफटी नामक पेज सिंगापुरबाट संचालन भैरहेको पत्ता लागेको छ । तर त्यही पेजको नेपालबाट क्षेत्रीय विज्ञापन बनाउने व्यक्तिले प्रचारका लागि अभिनेत्रीको फोटो हालेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको कार्कीले जानकारी दिइन् । 

तर आफ्नो क्रिप्टो अकाउन्ट पनि नभएको र यो पेजसँग विज्ञापनका लागि मौखिक र लिखित कुनै किसिमको पनि सम्झौता नभएको र जानकारी पनि नभएको प्रियंकाले दाबी गरेकी छन् ।

फितलो व्यवस्थाको शिकार हुनुपरेको गुनासो 

यो अवैध कारोबारमा आफ्नो कुनै संल्गनता नभएता पनि अभिनेत्री कार्की कानुनी प्रक्रियालाई सम्मान गर्दै आइतबार सीआईबीको कार्यालय पुगेर बयान र लिखित स्टेटमेन्ट दिएको बताउँछिन् ।

तर बिना कुनै प्रमाण, कसैको फेसबुक पेजमा फोटो देखिएकै आधारमा नियन्त्रणमा लिएर अनुसन्धानका लागि बोलाउनु, अनि सञ्चार माध्यमहरुमा यसबारे समाचार फैलाउनु गलत भएको भन्दै चरित्र हत्या भएको दाबी उनले गरेकी छिन् । 

“जुन मलाई हिजो पर्यो त्यो भनेको धेरै लेबलमा मिस्टेक भएको हो । किनभने यदि कोही व्यक्तिको त्यसमा संलग्नता भएको प्रमाणहरु भेटिए सोधपुछका लागि बोलाउनु ठिक हो । तर यहाँ यस विषयमा त्यति बलियो कानुन नभएर वा सम्बन्धित ठाँउका व्यक्तिहरुलाई थाहा नभएर त्यो फोटोको आधारमा इन्ट्रोगेसनका लागि बोलाउनाले हाम्रो देश कति पिछडिएको छ भनेर प्रस्ट देखाउँछ,” उनले फितलो कानुन अनि प्रक्रियाबारे गुनासो पोख्दै भनिन्, “म भनेको त एकजना पब्लिक फिगर हो, म जस्तै अरु थुप्रै आर्टिस्टहरुको फोटो यसरी दुरुपयोग हुन्छ ।”

अभिनेत्री कार्कीका अनुसार सीआईबीबाट त्यो फोटो पठाउँदै यसबारे सीआईबीले सोध्दा पहिला त उनी आफैँ अक्क न बक्क भइन् । किनभने न त त्यो फोटो उनको अनुमतिमा लिइएको थियो न त यस कारोबारमा उनको कुनै संलग्नता नै थियो । 

“यदि यो घटना अरु कुनै नियम कानुन कडा भएको विकसित देशमा भएको भए मैले मेरो चरित्र हत्याको मुद्दा दर्ता गराउन सक्थेँ । किनभने नभएको कुरामा समाचारमा यसरी दिनु अनि नियन्त्रणमा लिनु भनेको मेरो गल्ती प्रमाणित नहुँदै मलाई दोषी प्रमाणित गर्न खोजेको जस्तो भयो । यदि मेलै एक नागरिकको हिसाबले संविधानमा सुनिश्चित मेरो आधारभूत अधिकारलाई प्रयोग गर्ने हो भने म त्यहाँ नजान पनि सक्थेँ,”  उनले बताइन् । 

अव्यवस्थित नियम कानुनप्रति आक्रोश पोख्दै उनी भन्छिन्, “जुन सरकारले नागरिकलाई सुरक्षा दिनुपर्ने हो यहाँ त्यही सरकारले दुःख दिएको देखियो । किनभने नियम कानुन बनाउने माथिल्लो तहमा बसेकाहरु अशिक्षित भएकै कारण, उनीहरुले प्रणाली कसरी सञ्चालन गर्ने भनेर नजानेकै कारण एक आम नागरिक अनि एक कलाकारले दुःख पाउने हो ।” 

तर यति भनिरहँदा पनि अभिनेत्री कार्की देशको कानुनलाई सम्मान गर्दै यो मुद्दामा थप अनुसन्धानका लागि सीआईबीलाई सहयोग गर्ने हर समय तयार भएको बताइन् । 

“यदि मैले मेरो आधिकारिक पेजबाट पोस्ट गरेको भए मलाई यस्तो यस्तो देखियो भनेर बयानका लागि बोलाउन मिल्थ्यो । तर कुनै र्यान्डम व्यक्तिले भोलि जे पनि हाल्ला रे ! भोलि ल प्रियंका कार्कीले १२ जना मान्छे मार्‍यो भनेर कुनै अनलाइन मिडियाले राख्यो भने मलाई पक्राउ गर्न आउनु हुन्छ भनेर पनि सोधेँ उहाँहरु हास्नु भयो र त्यसो गर्न नमिल्ने बताउनु भयो,” प्रियंकाले पुनः फितलो कानुन व्यवस्थाबारे असन्तुष्टि व्यक्त गर्दै भनिन् ।

यतिबेला अभिनेत्री कार्कीका अनुसार सम्बन्धित निकायले उक्त पेज कस्को हो ? बिनाअनुमति किन एक कलाकारको फोटो हाल्यो भन्दै त्यो दोषीलाई खोजेर बयान दर्ता गराउनु पर्नेमा जोड दिइन् । 

आम नागरिकले समाचारमा आएको कुरालाई सत्य मान्ने भएकाले यस आधारमा दोषबिनै दोषी बनेर गाली खाइरहेको भन्दै उनले पीडा पोखिन् ।

दिउँसो तीन बजे श्रीमान् आयुष्मान देशराज जोशीसँग सीआईबीको कार्यालय पुगेकी उनको फोन अनुसन्धानकै लागि भनेर सीआईबीको नियन्त्रणमा छ । मौखिक र लिखित बयानको कार्य एक घण्टाभित्रै पूरा भए पनि सीआईबीले फोनमा भएका डाटाहरु चेकजाँच गर्नुपर्छ भन्दै थप दुई घण्टा उतै राखेको बताइन् ।

सीआईबीले उनीसँगै गएका आयुष्मानको पनि फोन अनुसन्धानका लागि जफत गरेको कुरामा भने कार्कीले असन्तुष्टि व्यक्त गरेकी छिन् । 

कार्कीका अनुसार सीआईबीले आयुष्मानको फोन जफत गर्नुपर्ने कुनै कारण नै थिएन । आफुहरुले नदिने अधिकार भए पनि कानुनलाई सम्मान गर्दै अनुसन्धानमा हातेमालो गरेको उनको प्रतिक्रिया छ ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्